प्राकृतिक सम्पदाको भण्डारको रुपमा प्रख्यात नेपाल विश्वमा सर्र्वोच्च शिखर सगरमाथा, हिमश्रृँखला, दुर्लभ जडीबुटी, विश्वमा शान्तिको सन्देश दिने बुद्धको जन्मस्थल लुम्बिनी, विश्वमा आदर्श नारीको प्रतीक सीताको जन्मस्थल जनकपुर आदि ऐतिहासिक सम्पदाले परिपूर्ण नेपालको छुट्टै आकर्षण विश्व समक्ष देखिएको छ । विश्वसामू नेपालको पहिचान खुलेदेखि तथा सन् १९५३ मा तेन्जिङ्ग शेर्पा र एडमण्ड हिलारीको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोहणले नेपालको पर्यटकीय क्षेत्रमा निकै आकर्षण बढ्यो । पर्यटकको आगमनबाट आम्दानीको सुखद स्रोत देखिएको यो क्षेत्र बढो उत्साहित भयो र यसले आर्थिक क्षेत्रमा ठूलै योगदान गर्न सक्ने सम्भावनालाई देखेर सरकार र निजीक्षेत्र आकर्षित हुन थाल्यो । पर्यटनको प्रवद्र्धन, प्रचार प्रसारका लागि “अतिथी देवो भवः” नाराका साथ पर्यटन वर्ष मनाउन थालिएको हो ।
पर्यटन क्षेत्र आफैमा ठूलो आर्थिक क्षेत्र भएको, यथेष्ठ रोजगारी दिन सक्ने क्षमता भएको, विश्व मानव समाजसंग अन्तर्सम्बन्ध बनाउन सक्ने तथा सामाजिक, आर्थिक, साँस्कृतिक, पर्यावरणीय तथा ऐतिहासिक सम्पदाको प्रचार प्रसारमा पारस्परिक सहयोग पुग्ने आशयका साथ विश्वले पर्यटन मेलाको आयोजना गर्दै आएको छ । नेपालले पनि त्यस्ता मेलाको आयोजना गर्दै आएको हो । विश्वभरि पर्यटनलाई टेवा दिने उद्देश्यले संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले पर्यटनको क्षेत्रमा अनेक आकर्षणको माध्यमले पर्यटन विकासमा प्रोत्साहन गर्दै आएको छ । नेपाल विश्वस्तरमा आयोजना हुने पर्यटन मेला एमआईटी (रुस), फिटुर (स्पेन), केडब्लूटीएफ (दक्षिण कोरिया), आईटीई (हङ्गकङ्ग), टीटीएफ (भारत), आईटिबी (बर्लिन), डब्लूटिएम (लण्डन), कटम (चीन) मा आफ्नो स्थाई सहभागिता स्थापित गरि सकेको छ । नेपालमा पनि नेपाल पर्यटन बोर्ड र निजीक्षेत्रको सहभागितामा विभिन्न आकर्षणका साथ पर्यटन भ्रमण वर्ष मनाउँदै आएको छ । सन् १९९८ लाई भ्रमण वर्ष घोषणा गर्दा ४ लाख ६३ हजार पर्यटक नेपाल भित्रिएका थिए । १९९९ मा यो अंक बढेर ५ लाख पुग्यो । माओवादी आन्दोलनमा पर्यटकको संख्यामा केही कमी आएपनि संख्या उल्लेख्य नै थियो । त्यस्तै नाकाबन्दी र भूकम्पले पर्यटकको संख्यामा केही कमी ल्याएपनि पछिका वर्षहरुमा पर्यटकको संख्या निकै बढेर गएको छ ।
१५ लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने उद्देश्यले सन् २०२० लाई पर्यटन भ्रमण वर्षको रुपमा मनाईने तयारी शुरु गरिएको छ । गत वर्ष २०१७ मा ९ लाख ४० हजार २१८ ले नेपाल भ्रमण गरेका थिए । पर्यटन क्षेत्रको हालसम्मको यो उच्च अंक हो । यही संख्यालाई आधार मानेर २०२० मा १५ लाख पर्यटक आकर्षित गर्ने नेपाल पर्यटन बोर्डको योजना छ । अध्यागमन विभागले जानकारी गराए अनुसार २०१८ को जनवरीदेखि मे महिनासम्म हवाई तथा स्थलमार्गबाट आएका पर्यटकको संख्या ५६ हजार ३ सय ९३ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.४०% ले वृद्धि भएको छ ।
नेपालमा बढि संख्यामा भ्रमण गर्न आउने भारतीय पर्यटक हुन् । २०१८ को ५ महिनामा भारतीय पर्यटकको संख्या ७२ हजार ४ सय ७९ छ । सोही अवधिमा चीनियाँ पर्यटक ६५ हजार ६ सय ७० को संख्यामा भ्रमण गरेका छन् । तेश्रो स्थानमा अमेरिका छ । अमेरिकी पर्यटक यही ५ महिनाको अवधिमा ३६ हजार ५ सय ३२ को संख्यामा आए भने चौथो स्थानमा बेलायत रहेको छ । वेलायतबाट आउने पर्यटकको संख्या २५ हजार १ सय ३६ रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
नेपालमा सर्वोच्च शिखर सगरमाथा तथा हिमाली श्रृँखलामा पर्ने अन्य शिखरहरु पर्यटकको आकर्षणको केन्द्र रहेकोले अरु पर्यटकीय स्थलको दाँजोमा पर्वतीय पर्यटन निकै फस्टाएको छ । पर्वतीय क्षेत्रको पदयात्रा गरि आनन्द लिने, जानकारी लिने विदेशीहरुको उत्कट चाहनाले पर्वतीय पर्यटनमा निकै टेवा पुगेको देखिन्छ । वेलायतका बिल टिलम्यान पहिलो पटक सगरमाथा पर्वतीय क्षेत्रको पदयात्रा अभियान शुरु गरेका थिए । त्यसपछि फ्रन्सेली नागरिक मोरिस हरजोगले सन् १९५० मा अन्नपूर्ण क्षेत्रको पदयात्रा गरेका थिए । पर्वतीय क्षेत्रको पदयात्रालाई व्यावसायिक बनाउन सन् १९६४ मा माउन्टेन ट्राभल्स ट्रेकर कम्पनी स्थापना गर्ने कर्नेल जिमी रोबर्टस्, माइक चेनी र दाबा नोर्बु शेर्पाको योगदान अविस्मरणीय मानिएको छ ।
पर्वतीय क्षेत्रमा पर्यटकीय सुविधा उपलब्ध गराउन नसकेकोले पर्वतीय पदयात्रीको संख्या घट्दै गएको पनि देखिन्छ । यस वर्ष सगरमाथा चढ्नेको संख्या ३ सय ४६, ल्होत्से हिमाल चढ्नेहरु १ सय ७, अमादाब्लाम चढ्ने ४९, कंचनजंघा चढ्ने ४४ र नुप्से चढ्ने ४० जना रहेको नेपाल पर्यटन वोर्डले जनाएको छ । सरकारले पदयात्राका लागि खुला गरेको ४ सय १४ हिमालमध्ये १ सय ८६ वटा हिमाल चढ्ने आवेदन नै परेन । यो पहिलेको तुलनामा घट्दो क्रम हो ।
पर्यटकहरुको बसाई अवधि औसतन १४ दिनको छ । प्रति पर्यटक प्रतिदिनको खर्च ५४ अमेरिकी डलर छ । पर्यटन क्षेत्रबाट प्रतिवर्ष ५८ अर्ब रुपियाँ देखाईएपनि पर्वतीय क्षेत्रमा घट्दै गई रहेको पर्यटकको संख्या शुभ संकेत होइन । पर्वतीय क्षेत्रको अवलोकन गर्न आउने अमेरिका, यूरोपका पर्यटक हुन् जो आम्दानीका मुख्य स्रोत हुन् । पर्वतीय क्षेत्रबाहेक अन्य क्षेत्रमा ऐतिहासिक महत्व रहेपनि पर्यटकीय विकासको अपेक्षा पूरा गर्न सकेको छैन ।
लुम्बिनीमा तेश्रो मुलुकका विदेशी पर्यटकहरुको तुलनामा जानकी मन्दिरमा अमेरिका, यूरोपका पर्यटक आउन सकेको छैन । विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेको लम्बिनीमा धार्मिक पर्यटकबाहेकका पनि बुद्धको जन्मथलो अवलोकन गर्न आउँछन् । लुम्बिनीको जुन स्तरबाट पर्यटकीय विकास भएको छ भने जनकपुरको जानकी मन्दिर ऐतिहासिक स्थल भएपनि तेश्रो मुलुकका पर्यटक आकर्षित गर्न सकिएको छैन । पर्वतीय क्षेत्रमा पर्यटकीय विकासको अनुपातमा तराईको पर्यटन क्षेत्रमा अपेक्षित विकास हुन सकेको छैन । डलर आम्दानीमा मात्र केन्द्रीत रह्ने नेपालको पर्यटन क्षेत्रले आन्तरिक पर्यटनलाई विकास गर्न सकेको छैन । सबभन्दा बढि भारतका धार्मिक पर्यटक नेपाल आउने गरेको तथ्याँक छ । भारतीय पर्यटकभन्दा तेश्रो मुलुकका पर्यटकबाट बढि आम्दानी आउने भएकोले आन्तरिक र भारतीय पर्यटकलाई वेवास्ता गरिएको हो । तर २०२० मा “भिजिट टू नेपाल” का लागि १५ लाख पर्यटकको संख्या पु¥याउन नेपाल पर्यटन बोर्डले सहज उपलब्ध हुने भारतीय पर्यटकलाई नै आकर्षित गर्ने बाध्यता छ ।
तराईका साना साना ऐतिहासिक स्थलहरु स्थानीय व्यक्तिको आस्थाको स्थलमा मात्र सिमित भएको छ । इतिहासमा महत्वपूर्ण स्थान ओगटे पनि पर्यटकीय गन्तव्यको रुपमा विकसित हुन सकेको छैन । आफ्नो ठाउँ आफै बनाउँ नीति अन्तर्गत प्रादेशिक सरकारले प्रादेशिक अधिकार प्राप्त गरेकोले सबैको साझेदारीमा ऐतिहासिक महत्वका स्थलहरुको पहिचान गरि पर्यटकीय विकासमा ढिलो नगरि लाग्नु आवश्यक भएको छ । राम जानकीको दर्शनमा आउने श्रद्धालुहरुको चापलाई जनकपुरले व्यवस्थित गर्न नसकेर यात्रुहरु अलपत्र परेको अवस्था पनि देखियो ।
ओझेलमा परेका स्थानीय स्तरमा ऐतिहासिक स्थलहरुलाई पर्यटकीय गन्तव्यमा विकास गर्न अपनाउनु पर्ने केही अवधारणाहरुः–
(क) होम स्टेको व्यवस्थाः– तराईमा पर्यटकीय गन्तव्यको पहुँच भएको ठाउँ ठाउँमा पर्यटकको विश्रामका लागि आरामदायक, आकर्षक होम स्टेको व्यवस्था गर्नु पर्दछ । पर्यटकको आवश्यक सुविधा (घुमफिर गर्न बाहन, पर्यटकीय स्थलको जानकारीका लागि लीफलेट, नक्शा आदि) उपलब्ध गराएर होम स्टेलाई आकर्षणको केन्द्र बनाउनु पर्दछ ।
(ख) विज्ञापनको व्यवस्थाः– स्थानीय पर्यटकीय गन्तव्य स्थललाई सूचीकृत गरि यसका महत्वको बारेमा संक्षिप्त विवरण राखेका लीफलेट वितरण, एफएम, टी.वी. तथा अन्य माध्यमबाट पर्यटकीय स्थलको प्रचार प्रसारलाई निरन्तर रुपमा प्रसारण गराउने व्यवस्था गर्नु पर्दछ ।
(ग) जनशक्तिको विकासः– पर्यटकहरुलाई आफ्नो व्यवहारले आकर्षित पार्ने किसिमको तालिमको व्यवस्था गरि दक्ष जनशक्ति तयार गर्नु पर्दछ जो देश र विदेशमा पर्यटकीय गन्तव्यबारे प्रचार गर्न सकोस् । पर्यटकीय यात्रालाई गन्तव्यसम्म सहज बनाउन व्यवस्था मिलाउनु पर्दछ ।
(घ) हरेक गन्तव्यलाई पर्यटकीय श्रृँखलामा जोड्नेः– हिमाल, पहाड र तराईको विविध वातावरणको पर्यटकीय स्थललाई जोडेर प्याकेजको रुपमा पर्यटकीय भ्रमणलाई विकास गर्नु पर्दछ ।
(ङ) पर्यावरणीय सन्तुलनको आवश्यकताः– तराईको तापक्रम बढि रहेको अवस्थामा पर्यटकीय स्थलसम्मको बाटोमा वृक्षारोपणको व्यवस्था गरि पर्यावरणीय सन्तुलन मिलाउनु पर्दछ ।
प्रादेशिक सरकारलाई प्रदेशको विकास गर्ने अवसर प्राप्त भएकोले अब ढिलो नगरि तराईको पर्यटकीय स्थलको विश्व पहुँच बनाउन प्रयास गर्नु पर्दछ र आयको वैकल्पिक स्रोतको बाटो खोल्नु पर्दछ ।
२०७५ आषाढ १८ गते जनकपुर टुडे दैनिकमा प्रकाशित
