अनेक प्रकारको दोहन, शोषण, भेदभावको उत्पीडनलाई अन्त गरि ०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भयो । प्रजातन्त्र पुनस्र्थापनाको नयाँ बिहानीमा प्रजातन्त्रको संस्थागत विकास गर्ने दलहरुको जिम्मेवारी गौण भई भ्रष्टाचारलाई संस्थागत गर्ने दिशातिर सबै शीर्ष दलहरु अग्रसर भए । पैसा नभई दल सवल हुँदैन र पैसाका लागि भ्रष्टाचार मुख्य स्रोत हो भन्ने मान्यता सवल बन्नेसम्म मात्र नभई सधैंका लागि शाश्वत स्थान पायो । फलतः राज्य संचालन गर्ने शीर्ष दलहरुको सहयोगले भ्रष्टाचार संस्था शक्तिशाली किल्लाको रुपमा विकसित भयो । यो किल्लाभित्र जो गए धन कुबेर भएर निस्के ।
एकातिर आम जनताबाहेक तीन दशकदेखि सबैको सहयोग पाएर भ्रष्टाचारको किल्ला अजेय दुर्गको रुपमा परिणत भयो भने यस किल्लाको समृद्धिका लागि जनता कर बुझाएर कङ्गाल भयो । ३ दशकसम्म भ्रष्ट, अनैतिक सोचले विधीको शासन अर्थात् राज्यसत्तालाई निल्यो । चारैतिर भ्रष्ट आचरणको एकाधिकार फैलिएर देशको अर्थतन्त्र त ध्वस्त भयो नै चारैतिर अराजकता व्याप्त भयो । देशको दुर्दशा संसारलाई पनि थाहा भयो । भ्रष्टाचारको मदमा शीर्ष दलहरु कति चूर थिए कि भ्रष्टाचार निवारण गर्न विश्वले सल्लाह सुझाव दिंदा उल्टै मिथ्या तथ्याँक दिएको भनेर उपेक्षा गरेका घटनाहरु धेरै छन् ।
अन्तमा भ्रष्टाचारका तेज रफ्तारका गाडी अन्तिम विन्दुमा ठोक्किएर पल्टेछ । भ्रष्टाचारीहरुको लागि यो दुर्घटना हो भने आम जनताको सौभाग्य जाग्ने दिन । सन्दर्भ नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हो । नेपालको पूर्वी भागमा लामो समयदेखि भुटानी शरणार्थी कष्ट भोग्दै आएका छन् । अमेरिकाले आफ्नै देशमा भुटानी शरणार्थीको व्यवस्थापन गर्ने उद्देश्यले नेपाल सरकारलाई भुटानी शरणार्थी प्रमाणीकरण गर्न आग्रह गरेको थियो । स्वार्थ पूर्ति गर्न हरेक कुरामा अवसर खोजी हाल्ने कलामा सिद्धहस्त नेपाल सरकार यसमा मनग्यै धनलाभ हुने अवसर देख्यो । नेपालीहरुलाई भुटानी शरणार्थी भनेर प्रमाणित गर्दै झण्डै अर्ब रुपैया असुलेर सरकारमा भएका मन्त्री सचिव आदिहरुले भ्रष्टाचार गरे । यसरी सरकार नै मानव बेचविखनमा संलग्न रहेको कुरा अमेरिकाले थाहा पाएपछि प्रचण्ड सरकारमाथि अनुसन्धान गर्न कडा दबाव आयो ।
नक्कली भुटानी अमेरिकामा छिराउने नेपाल सरकारको यस्तो अनैतिक विचारबाट क्रुद्ध अमेरिकाले कडाईका साथ अनुसन्धान भएन भने नेपालको सबै सुविधा रोकि दिने चेतावनीको अगाडि तीनै शीर्ष दलका शीर्ष नेताबीच रहेको सबैले एक आर्कालाई बचाउने भद्र सहमतीको बन्धन चुँडियो । अनुसन्धान अगाडि बढ्दा यसमा सरकार कै गृहमन्त्रीहरु तथा सचिव योजनाबद्ध रुपमा लागेका खुल्न आयो । दुईटा पूर्व यृहमन्त्री वालकृष्ण खाँड र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डे लगायत दर्जनौं पदवाला तथा अन्य समातिए । मानव बेचविखनमा संगठित रुपमा अपराध गर्ने सरकार तथा कर्मचारीको संलग्नताले संसारभरि नेपालको शिर निहुँरिएको छ ।
एक अर्कालाई बचाउने तीनै शीर्ष दलहरु भद्र सहमती अनुसार बीचैमा बन्द भएको ललिता निवासका फाईल बाध्यतावश खुल्यो । त्यसमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बावुराम भट्टराईलाई हिरासतमा लिई अनुसन्धान अगाडि बढाउने सर्वोच्च अदालतको आदेश भई सकेको छ । माधव नेपाल देश छोडेर युरोपतिर लागेको पनि सुनिन्छ । यि अनुसन्धान भई रहँदा त्रिभुवन विमान स्थल बाहिर निस्केर बाटोमा एक क्विन्टल सुन बरामद भयो । पूर्व पनि असंख्य मात्रामा सुन बरामद भएको घटनाहरु सार्वजनिक भएका छन् । अर्थात् नेपाल सुन तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको छ । १ क्विन्टल सुनसंगै चीनियाँ व्यापारी पनि समातिएको छ ।
यी सारा घटनाले अनुसन्धानलाई तीव्रता दिएको छ । निष्पक्ष जाँचको सिलसिला शुरु हुँदा जनता खुशी भएका छन् । ठुल्ठूला तस्करहरु नीति निर्माणको तहमा जनप्रतिनिधीको रुपमा सत्ता कब्जा गरेका छन् । तीनवटै राजनीतिक दलहरुका जनप्रतिनिधीहरु तिनका मतियार बनेका कारण नै भ्रष्टाचारबाहेक देश र जनताको बारेमा केही सोचेन, गरेन । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानले भ्रष्टाचार निवारण गर्न सबै बन्द फाईललाई खोली दिएको छ ।
सबैले संवैधानिक अंगहरुमा आफ्ना मानिसहरु राखेर सेटिङ्गको आधारमा भ्रष्टाचार गर्थे । जनतामा यो कुरा खुलेपछि विरोधीहरुले बदनाम गर्न खोजेको भनेर जनतामा सफाई लिन्थे । पार्टीका संगठित कार्यकर्ता पनि विरोधीको साजिश भनेर विश्वास गर्थे । तर भ्रष्टाचारमा तीनवटै दलका नेताहरुको संलग्नता प्रष्टिएपछि जनता धेरै निराश भएका छन् । साम्यवाद र समाजवादका दर्शन छाँट्नेहरु प्रजातन्त्र स्थापनापछि भ्रष्टाचार गर्नुबाहेक अरु केही गरेन । अहिले भ्रष्टाचार काण्डमा सबै शीर्ष नेताहरु मुछिएपछि जनता ठूलो पाश्चातापमा परेका छन् । जनताको चाहना छ यिनी सबै जेल जाउन । जन धरातलमा यिनले अब जनमत गुमाई सकेका छन ।
भारतसंग सम्बन्ध बनाउन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल अनुसन्धान कार्यमा सवल सहयोग पाएका छन् । अमेरिकामा पनि आफ्नो छवि सुधार्ने प्रचण्डले राम्रो अवसर पाएका छन् । नेपालमा हिरोको रुपमा सत्तारोहण गर्ने प्रचण्ड आफ्नो अहंकारको मदमा तथा शक्तिकेन्द्रसंगको सन्तुलित सम्बन्ध नबनाएका कारण सानो आकारमा खुम्चिएर राजनीतिको एक कुनामा बस्नु परेको पीडाको अनुभव त छँदैछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा एकै पल्ट नाम कमाउने प्रधानमन्त्री पुष्पकमल दाहालको लागि स्वर्ण अवसर आएको छ ।
कनिष्ठ पार्टीको कमजोर पक्षलाई अनेक बाधा, अवरोध भएपनि काठमाण्डौंको मेयर वालेन शाहको जस्तो केही गर्ने अर्जुन दृष्टिका साथ प्रचण्डले भ्रष्टाचार निवारण गर्न निष्पक्ष कारवाही अगाडि बढाउनु पर्दछ । देश र जनताको आर्थिक सामाजिक रुपानतरण ध्येय बोकेर आएका प्रचण्ड जेजति कारणले कार्यभार पूरा गर्न सकेन, समयले पुनश्च मौका दिएको छ । भ्रष्टाचार निवारणका पूनीत कार्य प्रचण्डकै हातबाट सम्पन्न गर्ने समयले जुराई दिएको अवसरको प्रचण्डले भरपूर उपयोग गर्नु पर्दछ । यसबाट (१) जनता खुशी भएर माओवादीलाई ठूलो पार्टी बनाउँछ, (२) तस्कर तथा भ्रष्ट प्रवृतिबाट राज्यसत्ता मुक्त हुन्छ, तथा (३) देश उन्नती प्रगतिको बाटोमा गतिशील हुन्छ ।
समय अनुकूल छ । शक्तिकेन्द्र पनि पक्षमा छन् । त्यसकारण थालिएको अनुसन्धानलाई तार्किक निष्कर्षमा पु¥याउन प्रचण्डले आफ्नो सुखद भविष्यका लागि यो जिम्मेवारी पूरा गर्नु पर्दछ । यही देश र जनताको माँग हो ।
२०८० श्रावण २६ गते मधेशवाणीमा प्रकाशित
