देशमा “संघीय लोकतान्त्रिक गणतन्त्र” शासन प्रणाली छ तर पक्ष र विपक्षका दलहरु भने यस अनुकूलको आचरण राखेको छैन । लोकतन्त्रलाई सिंह दरवारभन्दा बाहिर जान दिएको छैन । जन अपेक्षा अनुरुप लोकतन्त्रलाई चल्न दिएको छैन । भ्रष्ट आचरण, अनैतिक प्रवृतिले सबैलाई पथभ्रष्ट बनाएको छ । दुष्प्रवृतिमा राजनीतिक दलहरु यतिसम्म डुबेका छन् कि तीन दशक लामो अवधीमा पनि जिम्मेवारीबोध भएको छैन । राजनीतिक अराजकता यति हदसम्म बढायो कि जन धरातल असन्तुष्ट भएर कोई प्रत्यक्ष र कोही मौन रुपमा विद्यमान शासन प्रणालीको विकल्प खोज्ने अवस्थामा पुगेका छन् ।
मधेशलाई राज्यको समान हैसियतमा राख्ने अठोट लिएर उपेन्द्र यादब मधेश आन्दोलनबाट उदाएका पात्र हुन् । शक्ति प्राप्त भएपछि उन्माद र अहंकारमा रमाउने उपेन्द्र यादबले समग्र मधेशको एकता अक्षुण्ण राखेर पार्टीलाई राजनीतिक रुपले संस्थागत गर्ने, समानुपातिक शसक्त संगठन निर्माण गर्ने, मधेशको हक अधिकारको आवाजलाई जीवित राख्ने, राज्यसंग सन्तुलित दूरी बनाएर राख्ने, शक्तिकेन्द्रसंग सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने, राज्य संचालक राजनीतिक दलहरुसंग मधेशको अग्राधिकार कायम राख्दै सम्बन्ध बनाउने आदि जिम्मेवारी बिर्सेर धनलाभको लिप्सालाई अगाडि बढायो । पार्टीभित्र अवसरवादी प्रवृतिको बाहुल्य रहेकोले उसको स्वार्थलिप्सालाई प्रोत्साहन मिल्यो र पार्टी राज्यको ईशारामा तहस नहस भयो । धनलाभ गर्ने प्रवृतिले पार्टीमा अवसरवादी धनाढ्य व्यक्तिहरुले महत्व पाए । पार्टीका ईमान्दार, आन्दोलनकारी कार्यकर्ताहरु ओझेलमा परे । यसले पनि पार्टीलाई अराजक बनायो । मधेशलाई हक अधिकार दिलाउने पार्टी, कसैसंग कुनै मतलव नराख्ने रेल्वे प्लेटफार्म जस्तै भयो । आगमन र प्रस्थानको खुला ढोकाबाट बेरोकटोक मानिसको आहोर दोहोरबाट पनि उपेन्द्र यादब असन्तुष्ट भएर शासकवर्गसंग सम्बन्ध बनाउन प्रेरित भयो । तर पार्टीभित्र यस्तो अवस्था ल्याउने मुख्य पात्र उपेन्द्र यादब नै हुन् ।
आन्दोलन अथवा हक अधिकारका कुराभन्दा शासकवर्गसंगको सहकार्य बढि आरामदेह, लाभकारी रहेको कुरा थाहा पाएपछि उपेन्द्र यादबको मधेशप्रतिको परिभाषा नै बदल्यो । म मधेशवादी होइन भनेर बडो शानदार ढंगले कारोवार दैनिक पत्रिकामा आफ्नो अन्तर्वार्ता दिएर शासकवर्गको विश्वसनीय सहकर्मीमा उपेन्द्र यादबले आफ्नो नाम दर्ज गरायो । मधेशलाई नेतृत्व दिने जसपा र लोसपा दुबै पार्टी अवसरवादी भासमा पुगेपछि निराश मधेश जनमत पार्टीलाई बोक्नु प¥यो । दुबै पार्टीको गैर जिम्मेवार तथा अनैतिक क्रियाकलापबाट असन्तुष्टताको आगोबाट सिके राउत जन्मेको हो । सप्तरी क्षेत्र नं. २ मा उपेन्द्र यादबलाई पराजित गरि वारा क्षेत्र नं. २ मा गठबन्धन नभएको भए जनमत पार्टीले त्यहाँ पनि हराउने सम्भावना थियो । मधेशको राजनीति गर्ने तर एउटा पनि आफ्नो क्षेत्र नहुने उपेन्द्र यादबको राजनीति हावामा चलि रहेको छ ।
अहिले उपेन्द्र यादब घरको रह्यो नघाटको । कैलाली घटनामा निर्दोष रेशम चौधरीलाई जेलमा हालेर प्रतिशोध लिप्सा शान्त पार्ने राज्य आज गौर हत्याकाण्डमा निर्दोष रहेका उपेन्द्र यादबलाई जेल हाल्ने तयारी गर्दैछ । गठबन्धन तथा प्रतिपक्ष कसैले पनि उपेन्द्र यादबप्रति सहानुभूति देखाएन । गौर घटनामा उपेन्द्र यादब विल्कुल निर्दोष छ । तत्कालिन अनमिनको मानवाधिकार सेल प्रमुख लैना सुन्धको प्रतिवेदनले पनि उपेन्द्र यादबलाई निर्दोष साबित गरि सकेको छ । तर पनि उनी फन्दामा पर्ने सम्भावना प्रवल भएको छ । कुनै बेला प्रतिशोध साध्न नेपाली काँग्रेसको सरकारले काँग्रेस पार्टी छाडेर मधेशी पार्टीमा आएको जयप्रकाश प्रसाद गुप्तालाई मन्त्री भएकै अवस्थामा भ्रष्टाचार मुद्दामा जेल चलान गरेको थियो । हुनत जेल जानु राजनीतिकर्मीका लागि कुनै अनौठो कुरा होइन । तर निर्दोषलाई जेल हाल्नु सरकारको बदनियत मात्र नभई अन्याय पनि हो । विधीको शासनको विश्वसनीयता यसै पनि खतम हुन्छ ।
गौर घटनाबाट उन्मुक्ति दिलाउन उपेन्द्र यादबले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग मित्रतापूर्ण आग्रह गरे, सरकारबाट समर्थन फिर्ता लिने चेतावनी पनि दिए, तर प्रधानमन्त्री प्रचण्डले अहिले अनुसन्धानको विशेष परिस्थिति भएकोले केही गर्न सकिंदैन भनेर आफ्नो बाध्यता दर्शाएपछि उनी शेरबहादुर देउवासंग सल्लाह गर्न गए । उनी आफै अनुसन्धानमा फँसेको तैपनि उनले प्रचण्डलाई फोन गरेर उपेन्द्र यादबको सिफारिश ग¥यो । तर प्रचण्डको अघि जस्तो उत्तर आएपछि उपेन्द्र यादब ओलीसंग गुहार माग्न पुगे । तपाईं आएपनि सरकार बदल्न साँसद संख्या नपुग रहेपछि केही गर्न सकिन्न भनेपछि उपेन्द्र यादब निराश भएका छन् ।
सबैलाई डोमिनेट गरेर राख्ने उपेन्द्र यादबको जन्मजात संस्कार रहेकोले उनको मिल्ने साथी नै छैन । कसैले उनलाई मसीहा भन्छ भने त्यो स्वार्थ सिद्ध गर्ने चापलुसवाज हो । पार्टीभित्र आफ्नो भन्ने कोही नभएको अवस्थामा उनी निर्दोष छन्, बचाउमा बकालत गर्ने, संगठित आवाज उठाउने कोही छैन । पार्टीभित्र सबै दाव कुरेर बसेका छन् । विगतमा मधेशी जनअधिकार फोरम, (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाश प्रसाद गुप्ता जेल जान लाग्दा भरत जस्तै तपाईंको खडाउँ राखेर म तपाईं नआउञ्जेल पार्टी सञ्चालन गरि दिन्छु भनेर शपथ खाएका राजकिशोर यादबले त्यो अवसरको भरपूर फाईदा उठाएको सर्वविदित छ ।
गौर घटनामा उपेन्द्र यादब निर्दोष छ । निर्दोष व्यक्ति जेल जानु हुँदैन बिहान बेलुका मंत्रोचार गर्ने शासकवर्ग अहिले जानी जानी उपेन्द्र यादबलाई जेल पठाउन खोजि रहेको छ । जेल जानु हुँदैन, मेरो मान्यता हो । कथं कदाचित बदनियतको शिकार भएर उपेन्द्र यादब जेल गयो भने गजेन्द्र नारायण सिंहको नेपाल सद्भावना पार्टीलाई पार्टीकै मानिसहरुले लुछेर सिध्याए जस्तै जसपालाई पनि सिध्याउने बेर छैन । हुनत, जसपा पार्टी अहिले “आधा तितर आधा बटेर” भएर पहिचान गुमाई सकेको छ ।
विधिको शासन भनेर वकालत गर्ने सरकार अपराधीलाई बचाउन निर्दोषको बलि चढाउँदै आएको चलन छोडेको छैन । आज उपेन्द्र यादबलाई तेजोबध गर्न उनलाई शिकार बनाएको छ । गौर घटनाको प्रत्यक्ष अपराधीलाई बचाउन उपेन्द्र यादबलाई बलि दिनु न्यायसंगत मानिदैन । यसको संगठित आवाज उठ्नु पर्दछ । सरकारले बदनाम हुने यस्तो कदम उठाउनु हुँदैन ।
२०८० भाद्र १ गते मधेशवाणीमा प्रकाशित
