परम्परागत शोषण र प्रतिकारात्मक संघर्ष

वस्तुस्थितिमाथि कारक तत्वको आंशिक वा पूर्णरुपको प्रभावले वस्तुको आकार र स्वरुपमा परिवर्तन ल्याउने गर्दछ । प्रभाव पार्ने र प्रभावित हुने दुबैको अन्योन्याश्रित सम्बन्ध हुन्छ । यो प्राकृतिक नियम हो । कारक तत्वबाट प्रभावित वस्तु प्रतिकारात्मक अवस्थामा रहँदा आंशिक प्रभावलाई झेली रहेको हुन्छ भने प्रतिकार गर्न असक्षम वस्तुको लोप हुन्छ । हाम्रो सामाजिक संरचनामा पनि यही नियम लागू हुन्छ । हाम्रो नेपाली समाजमा कारक तत्व (राज्य)को प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव अनुसार कहीं समाजको आधुनिकीकरण भएको छ भने अप्रत्यक्ष प्रभावमा रहेको समाज मन्द गतिले अगाडि बढेको देखिन्छ । अर्थात समान किसिमको विकास देखिदैन । न्यायोचित विकासको अभावमा परेका समाजले यसलाई विभेदको संज्ञा दिई आधुनिकीकरणमा आफूलाई रुपान्तरण गर्नका लागि अपनाइने प्रक्रियालाई नै विद्रोह भनिएको हो । अर्थात शोषक र शोषितको अन्योन्याश्रित सम्बन्धको गर्भमा विद्रोहको भ्रूण विकसित भई रहेको हुन्छ र एकदिन प्रत्यक्ष रुपमा देखा पर्छ । यो प्रकृतिको शाश्वत नियमलाई मानिसले बुझेर पनि सहज रुपले स्वीकार गर्न चाँहदैन । किन चाँहदैन ? त्यही शोषणका कारण ऊ अस्तित्वमान भएकोले आफनो अस्तित्वलाई गुमाउन चाँहदैन । अर्थात आफनो अस्तित्वलाई बचाउन ऊ शोषणलाई निरन्तरता दिन बाध्य छ । समाज प्रतिकारात्मक अवस्थामा पुगी सकेपछि विद्रोहले शोषकको पुरानो ढाँचालाई नष्ट गरि उसको अस्तित्वलाई समाप्त गर्छ । यो क्रमको नयाँ रुपबाट पुनरावृति हुन्छ । अर्थात शोषक र शोषितको नयाँ स्वरुप प्रस्तुत हुन्छ ।
एउटा शोषक र शोषितको अन्तर्द्वन्द्वको अतुलनीय उदाहरण हेरौं । एउटी महिलाको रुप, सौन्दर्य र जवानीलाई उसको भ्रूणले शोषण गरेर बच्चाको रुपमा बाहिर आउँछ र शोषितले कुनै प्रतिवाद गर्दैन । बच्चा अर्थात विद्रोहको सामुन्ने आत्म समर्पण गर्दछ । भावनात्मक सम्बन्धले त्यहाँ शोषक र शोषितको स्वरुपले महत्व राख्दैन तर दुबै त्यहाँ मौजूद रहन्छ । विकास अन्तर्द्वन्द्व कै कारण सम्भव हुन्छ । आमाले बच्चाका लागि ज्यान समेत दिएर बचाउन खोज्छिन । यो आत्मसमर्पण हो ।
नेपालको संदर्भमा जनविद्रोहलाई सम्झौतामा टुंग्याएर पुनश्च यथास्थितिमा पुरयाउने जुन धृष्टता गरिदैछ, निश्चय पनि यो सुखदायी छैन । देशलाई पछाडि धकेलेर पुनः द्वन्द्वमा पठाउने गतिविधीलाई रोक्नु पर्दछ । जनविद्रोहलाई अस्वाभाविक होइन स्वाभाविक रुपमा ग्रहण गर्नु पर्दछ । बलपूर्वक ठेल्यो भने जनविद्रोह अझ परिमार्जित भएर आँधी तूफान भएर आउनेछ र त्यसमा को कहाँ रह्रने भन्ने कुरा कोही भन्न सक्दैन । राजनीतिक दलहरुमा एकर्काको अस्तित्व स्वीकार नगर्ने अलोकतान्त्रिक चरित्रलाई त्याग गर्नु पर्दछ ।
राज्यद्वारा विभेदमा पारिएको मधेशले प्रतिकारात्मक अवस्था परिपक्व भएर मात्र सामाजिक रुपान्तरणका लागि २०६३ माघमा मधेश विद्रोह गरेको हो । आफनो अधिकार प्राप्तिका लागि सहज रुपमा अगाडि बढेको यस विद्रोहलाई असहज रुपमा राज्यले स्वीकार गरयो । मधेशी आन्दोलनकारी बलिदानी भावनाबाट प्रेरित आन्दोलनलाई उत्कर्षमा पुरयाउने प्रयासमा थिए । युवाशक्तिको जोश र जाँगरले सारा मधेशलाई एक सूत्रमा बाँधेर आन्दोलनलाई उँचाईमा ल्याई पुरयाए । अप्रत्याशित मधेश आन्दोलनको उँचाईबाट भयभीत सत्तापक्ष र नेतृत्वको सहज अवतरण गराउने स्वार्थ मिले पछि २२ बून्दे सम्झौतामा आएर टुंगियो । राज्यपक्षले ठग्ने उद्देश्यले सम्झौतामा हस्ताक्षर गरेका थिए भने नेतृत्व पक्ष पूर्ण भयभीत भएर । राज्यपक्षले अप्रत्याशित रुपले उठेको मधेश आन्दोलनलाई अन्ततः बडो चालाकीपूर्वक सम्झौताद्वारा अन्त गरेपछि जातिजातिका बीच, धर्म धर्मका बीच लडाउने राजनीतिक खेलहरु सन्चालन गर्न थाल्यो । थारु र मधेशीबीच फाटो ल्याउन राज्य सफल पनि देखिएको छ । मधेशी एकतालाई विखण्डन गर्न चालिएका अनेक षडयन्त्रका संयन्त्रहरु अहिले सक्रिय छन । मधेशका चारवटा राजनीतिक पार्टी जाज्वल्यमान नक्षत्रको रुपमा उदाए पनि मधेशलाई जातिवादको दलदलबाट बचाउन किन असक्षम देखिई रहेका छन ।
जातिवाद, सामुदायिक संघर्षले मधेशको कहिल्यै कल्याण नहुने कुरा स्पष्ट छ । मधेश आन्दोलन र नेतृत्व गर्ने चारवटा पार्टीबीचको अन्तर्सूत्र टुटेको अवस्थामा मात्र राज्यको षडयन्त्रकारी संयन्त्र मधेशभित्र प्रवेश गर्न सक्यो । यी चारै पालैपालो सरकारमा गएदेखि मधेशको कुरा गर्ने तर मधेशका लागि केही गर्न नसक्ने अवस्थाले मधेशप्रतिको उदासीनतालाई उजागर गर्दछ । मधेश आन्दोलनको मर्मसंगको अन्तर्संम्बन्ध टुटेको प्रतीत हुन्छ । राज्य सुविधा मह जस्तै हो, परे पछि मानिस लक्ष्यविहिन भएर अस्तित्व समाप्त हुन्छ । त्यहाँ अप्रत्यक्ष उपस्थित सयकडौं सूत्रहरुबाट बाँधिदा आफनो लक्ष्य कहाँ याद रहन्छ ? कसैले बल लगाउन खोज्यो भने अनेकौं सूत्रहरु उसलाई तानेर यथास्थितिमा ल्याई पुरयाउँछ । उसले आफनो असक्षमता जनतालाई भन्न डराउछन । कुनै सीप नलागेर ऊ व्यक्तिगत स्वार्थतिर उन्मुख हुन्छन । मधेश मुद्दा सम्बोधन गराउन सकिएन भने पैसा कमाएर जाऔं भनेर यसरी नेताहरु यथास्थितिको शिकार हुन्छन ।
यथास्थितिमा बस्ने नेताहरुको बानी भई सकेपछि मुक्ति आन्दोलनका आवाजहरु अनसूना हुन्छन । मुक्ति आन्दोलनको अभिभारा दोश्रो पुस्तामा जान्छ । किन भने मुक्ति आन्दोलन सधैं गन्तव्यतिर उन्मुख रहने भएकोले यो यथास्थितिमा रह्नै सक्दैन । त्यसकारण यो दोश्रो पुस्तामा सर्दछ ।
२०६८ बैशाख २३ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!