नेपाल बिजनेस कनक्लेभ र महाथिरका सुझाव

२०७० चैत २१ गते

नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाण्डौंमा आयोजित “नेपाल विजनेस कन्क्लेभ”लाई प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने मलेशियाका पूर्वप्रधानमन्त्री महाथिर बिन मोहमदले भने– “त्याग नगर्ने नेतृत्वले देशको विकास गर्न सक्दैन ।” महाथिर बिन मोहमद दृढ ईच्छाशक्ति भएका आधुनिक मलेशियाका पिता मानिन्छ । बेलायतबाट १९५७ मा अलग भएको मलेशियामा गरिबी र पछौटेपन व्याप्त थियो । यही गरिवीले पछि १९६५ मा सिंगापुरलाई मलेशियाबाट अलग गर्‍यो । १९८१ देखि २००३ सम्म मलेशियाको प्रधानमन्त्रीको रुपमा महाथिर बिन मोहमदले आफनो गरिबीसंग लड्ने दृढ इच्छाशक्ति बनाए । नेपालमा विकास हुन नसक्नुमा प्रधानतः द्वन्द्वको अवस्था र राजनीतिक अस्थिरता भनिएपनि महाथिरले अस्थाई शान्तिको सतहलाई हेर्नुभन्दा नेतृत्व तहमा रहेको कमजोरीको रुपमा बुझ्नु पर्दछ भन्नेतिर औंल्याए ।

द्वन्द्वले निम्त्याउने राजनीतिक अस्थिरतालाई स्पष्ट रुपमा व्याख्या गरि कारणको समाधानतिर दृढ र स्पष्ट राजनीतिक विचार लिएर अगाडि बढ्नु श्रेयस्कर हुने कुरामा जोड दिंदै जातीय भडकावलाई प्रतिरोधक राजनीतिको हिस्सा नबनाएर जातीय एकता, समानता, समान वितरण प्रणालीले नेतृत्वलाई दिशा निर्देश गर्ने विश्वास व्यक्त गरे । मलेशियाले लामो समयसम्म भोगेको जातीय वैमनष्यताको अवस्थालाई नेपालको विद्यमान जातीय मुद्दाहरु सम्बोधन गर्दै नेपालका नीति निर्माता तथा सरकारले यसलाई विकास र समृद्धिका हिस्सा बनाउनु पर्दछ भन्ने महाथिरको मान्यता छ । उनलाई भ्रष्टाचारी, तानाशाहको आरोप पनि लाग्यो तर विकास र समृद्धिको अजेय विचारले ल्याएको महाथिरको आर्थिक मोडेल सफल भयो र मलेशियालाई महाथिरले धेरै कम समयमा विश्वको १७औं आद्योगिक राष्ट्रको रुपमा स्थापित गरेको छ । सरकारको रुपान्तरण र आर्थिक रुपान्तरण उनको आर्थिक समृद्धिमा मुख्यतः यही दुई विचार सामेल थिए । नैतिक दायित्व र कर्त्तव्यबोधको आधारमा महाथिरको सरकारले देशको विकासलाई अग्रणी विचार बनाएका थिए । सरकारको कडा अनुशासन र दायित्ववोधले महाथिर प्रधानमन्त्री हुँदा १२ अर्ब डलरको मलेशियाली अर्थतन्त्र उनकै कालमा २ खर्ब १० अर्ब डलरभन्दा माथि पुग्यो । अहिले मलेशियाको प्रतिव्यक्ति आय १४ हजार ८ सय डलर छ ।

आफनो दृढ ईच्छाशक्ति, दुरदर्शी राष्ट्रिय कार्ययोजना, आर्थिक–सामाजिक बिषमता, प्रशासनिक कुशलताका कारण देशभित्र रहेका जातीय वैमनष्यता आदिलाई हटाएर सबैलाई देशको समृद्धिमा संलग्न गर्नु ठूलो त्यागको विषय हो जुन कुरा आफनो सम्बोधनमा महाथिरले भनी सकेका छन् । चुस्त दुरुस्त र अनुशासित सरकारी संयन्त्रको भरपूर सहयोग पाएर मलेशियाको कायापलट भएको हो । देशभित्र सबै जातजातीमा राष्ट्रिय भावना सञ्चार गरि समृद्धितिर लगाएका हुन् । किसानलाई जमीनमा उनको हक बाँड्नेदेखि लिएर राज्य सुविधामा किसान मजदूरको अधिकारको सुनिश्चितता तथा कृषि उत्पादनमा सरकारी अनुदानको पूर्ण सहयोगले राज्यभित्रका अन्तर्विरोध मात्र हटेनन् निर्यात बृद्धि भई देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनायो ।

देशलाई आद्योगिकरण गर्ने दिशामा महाथिरले उदार अर्थतन्त्रको नीति अवलम्बन गरेका थिए । साना तथा मझौला उद्योगलाई १० वर्षसम्म करमुक्त गरि राज्यद्वारा सघन सहयोग उपलब्ध गराईयो । सरकारी तथा निजीक्षेत्रको मैत्री वातावरणमा साना तथा मझौला उद्योगहरु अनुकूल वातावरणमा राम्रो विकास गर्‍यो । ठूला उद्योगहरुका लागि वैदेशिक लगानी आकर्षित गर्न सहज वातावरणको निर्माण गरि लगानी सुलभ बनायो । सानादेखि ठूला उद्योगमा संलग्न मलाय, चीनियाँ र भारतीय उद्योगपतिहरुको लागि समान सरकारी उद्योग नीति रहेकोले पनि तीब्रताका साथ उद्योग फस्टाएको हो ।

८० को दशकमा औद्योगिकरण शुरु भएको एशियामै उत्कृष्ट औद्योगिक भौतिक पूर्वाधार रहेको मलेशियामा ७ वटा बन्दरगाह र २ सय औद्योगिक क्षेत्रहरु छन् । मलेशियाको जनसंख्याको एकतिहाई जनसंख्यामा रहेका चीनियाँहरु त्यहाँको कुल अर्थतन्त्रको ७०% भाग ओगटेको छ । मूलतः कृषिमा आधारित रहेको मलेशिया सरकारको उदारनीति तथा समान सहुलियत प्रणालीले मलेशिया ३४ वर्षमा आद्योगिक राष्ट्रमा नाम लेखाउन सफल भएको छ । ठूलो त्याग, कुशल शासकीय दक्षता तथा विकासका दुरदर्शी कार्ययोजनाबाट महाथिर बिन मोहमदले मलेशियालाई आद्योगिक राष्ट्रमा नाम दर्ज गराएर अन्तर्राष्ट्रिय स्तरमै कुशल शासकको रुपमा सम्मान कमाए । आज शासकको रुपमा महाथिर छैन तर मलेशिया आफनो समृद्धिको झण्डा अन्तर्राष्ट्रिय स्तरमा फहराई रहेको छ ।

नेपाल बिजनेस कन्क्लेभको मुख्य बक्ताको रुपमा महाथिर बिन मोहमदले देशमा विद्यमान राजनीतिक अस्थिरतालाई इमानदारीपूर्वक सम्बोधन गर्ने कुरा, नेतृत्ववर्गमा त्यागको भावना, देश विकासमा दृढ इच्छाशक्ति, कुशल नेतृत्व क्षमता तथा दिगो कार्ययोजना र असल कार्यान्वनतिर नेपाललाई अघि बढ्ने सुझाव दिएको छ । राजनीतिक नेतृत्वलाई पार्टीभन्दा माथि उठेर देशको आर्थिक विकासलाई प्राथमिकतामा राखेर काम गरे मात्र विकासको कार्य अगाडि बढ्न सक्दछ भनेको छ । मलेशियाको विकास गर्न सफल शासकको रुपमा ख्याति पाएका महाथिरको आर्थिक विकासका मोडेलहरु नेपालको भिन्न परिस्थितिमा सटीक लागू नहोला तर निजको अनुभव निश्चय पनि अनुकरणीय हुनेछ ।

व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेर देशको नीति निर्धारण गर्ने राजनीतिक दलहरुले न राजनीतिक स्थिरता कायम गर्न सकेको हो, न देशको आर्थिक विकास नै । राजनीतिक दलहरुमा देश विकास गर्न त्याग गर्ने भावनाको अभाव, चरम महत्वाकाँक्षा तथा बिग्रेको नैतिक आचरणले देशमा ल्याएको राजनीतिक स्थिरतालाई सम्बोधन गर्न सरकारले साहस जुटाउन सकि रहेको छैन । लामो समयदेखि संस्थागत रुपमा भई रहेको भ्रष्टाचारबारे अख्तियारले अनुसन्धान गर्दा ठूला ठूला ओहदावालहरु भ्रष्टाचारमा डुबेको जनताले बल्ल थाहा पायो । सरकारको हरेक क्षेत्रमा अख्तियारले हात हाल्दा समूहगत रुपमा कर्मचारीहरु समातिएको दैनिक खबरहरु आई रहेको छ । सरकारको सम्पूर्ण निकायहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको अख्तियारको अनुसन्धानले साबित गरि सकेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको अध्ययनले पनि २०१३ को प्रतिवेदनमा सरकारको हरेक अंग भ्रष्टाचारमा लिप्त रहेको देखाएको छ । देशलाई विकास गर्ने इच्छाशक्तिको अभावमा वैदेशिक लगानीले सरकारी कर्मचारीलाई भ्रष्टाचार गर्न नै प्रेरित गरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय शिखर बैठक होस् वा सार्कका बैठक, नेपालको समस्याहरु महत्वका साथ उठेका छन् । वैदेशकि लगानीका अवसरबाट नेपाल कहिल्यै बञ्चित भएको देखिदैन । तर पनि विकासको सूचकाँक परिणाममुखी बन्न सकेको छैन ।

हालै थाइल्याण्डमा चैत ५ र ६ गते बिमस्टेकको ढुवानी, पूर्वाधार तथा बन्दोवस्ती सम्बन्धी अध्ययन    (बी. टी. आई. एल. एस.) को पहिलो बैठक सम्पन्न भयो । सो बैठकमा नेपालले अध्यक्षता ग्रहण गर्दै आफनो १४ परियोजनालाई सामेल गरेको छ । सो परियोजनामा नेपालका पाँच ठूला शहरहरुलाई रेल सेवाको माध्यमबाट कोलकातासम्म जोड्ने, बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, व्यापार सहजीकरणमा प्राथमिकता, चारओटा एकीकृत भन्सार जाँच चौकीको निर्माण र सडकमार्गको विस्तार लगायतका परियोजना पनि रहेका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीका देशको प्रयास (बिमस्टेक) मा नेपालका ती परियोजना सन् २०२० सम्म पूरा गरि सक्ने लक्ष्य राखिएको छ । अहिले पनि कृषि, उर्जा, पर्यटन, पूर्वाधार, हाइड्रोपावर, शिक्षा, स्वास्थ्य र सेवाक्षेत्रका ५३ लगानी योग्य परियोजनाहरु वैदेशिक लगानीको प्रतीक्षा गरि रहेको छ ।

देश विकासको ईच्छाशक्ति नरहेको नेतृत्ववर्ग वैदेशिक लगानीलाई देशको समृद्धितिर प्रयोग नगरिकन अनुत्पादक क्षेत्रमा लगानी गरि सहयोगको दुरुपयोगलाई प्रोत्साहन गर्दै आई रहेकोले पनि देशमा द्वन्द्व सृजना भएको हो । देशमा उठेका समस्याहरुलाई समाधान नगरि देश विकासको कुरा गर्नु निरीह मूर्खता हो । तैपनि वैदेशिक लगानीलाई विकासका कार्यक्रममा प्रयोग गर्न नेतृत्ववर्ग तथा कर्मचारीहरु पछाडि पर्दैन र प्रतिकूल परिस्थिति देखाई विकासका लक्ष्य पूरा हुन नसकेको कुरा राखेर पुनश्च बैदेशिक लागानीलाई गुहार्न तयार रहन्छ । वैदेशिक लगानीको यो चक्रीय नीतिमा विकास आयोजनाले लक्ष्य पूरा गर्न नसके पनि संलग्न सरकारी कर्मचारीहरुलाई धनलाभ भई रहने प्रक्रिया निरन्तर जारी रहेको छ ।

सरकारको फितलो नीति, अदुर्दर्शिता, अनैतिक आचरणमा लिप्त सरकारी निकाय, राज्य नियन्त्रित सरकार आदिका कारण वैदेशिक सहयोग भएपनि यहाँ विकासका पूर्वाधारहरु खडा हुन सकि रहेको छैन । वैदेशिक लगानीको निरन्तरताले राज्यको परम्परागत चारित्रिक विशेषतालाई रुपान्तरण गर्न सकेको छैन । यी प्रवृति रहुञ्जेल न देशमा विकासले गति लिन सक्दछ, न राजनीतिक अस्थिरता हट्न सक्दछ । बदनियतिको यस्तो माहौलमा महाथिरका वचनहरु कति प्रभावकारी हुन सक्दछ, हामीले सहजै अनुमान गर्न सक्दछौं ।

Leave a Comment

error: Content is protected !!