नेपाली काँग्रेस वैचारिक अस्पष्टता र ढुलमुले चरित्रका कारण आज किनाराको साक्षी भई आफ्नो निरीह अवस्थामा आक्रोश पोख्दै बसेको छ । लोकतान्त्रिक शक्तिको रुपमा पहिचान बनाई राष्ट्रिय मूल राजनीतिलाई नेतृत्व दिने अभिभारा बोकेको नेपाली काँग्रेस आफ्नै कारणले राजनीतिको मूलधारबाट अलग्गिएर गतिहीनताको अवस्थामा जाँकिएको छ । विगतमा लोकप्रियता गुमाई सकेको, लोकतान्त्रिक शासन पद्धति संचालन गर्न असक्षम भई सकेका व्यक्ति पुनश्च नेतृत्व पंक्तिमा आएकोले सहकर्मी मात्र होइन, जनताद्वारा समेत असक्षम घोषित भई असहयोग पाएका कारण नेपाली काँग्रेसको यो हविगतलाई आत्मालोचनाको माध्यमबाट सच्याउने काम पनि नगरेकाले आकार साँगुरिएको व्यथा भोगि रहेको छ । नितान्त व्यक्तिगत वर्चस्व कायम राख्ने सोचबाट प्रेरित सशक्त गुट उपगुटमा विभक्त नेपाली काँग्रेसले विरासतमा पाएको सोच र सिद्धान्तलाई बिर्सि सकेको छ । जनतालाई लोकतन्त्रको अधिकार अनुभूत गराउने दायित्व बिर्सि सकेको छ । राष्ट्र र जनताप्रतिको जिम्मेवारीको तिलाँजली दिई व्यक्ति स्वार्थलाई सर्वोपरि बुझि त्यसमा आपूmलाई सिमित गरेकोले संकुचित सीमाभित्र कैद हुन गएको छ ।
कुनै बेला लोकतान्त्रिक शासन व्यवस्थाबाट जन अधिकार स्थापित गर्ने जन आस्थाको केन्द्र बनेको नेपाली काँग्रेस सामन्ती अधिनायकवादी पंचायती व्यवस्था विरुद्ध सशस्त्र संघर्ष नै थालेका थिए । नेपाली जनताको अपार समर्थन र जनसहभागिताबाट कमाएको राजनीतिक लोकप्रियताले नेपाली काँग्रेस शीर्ष दर्जाको प्रतिष्ठा पाएको थियो । नेपालमा लोकतन्त्र स्थापना गर्न भारतको भरपूर सहयोग पाएर उत्साहित बनेका नेपाली जनता संघर्षको अग्रपंक्तिमा लामबद्ध भई शहादत दिन र नेपाली काँग्रेसको नाममा मरि मेट्न आफ्नो सौभाग्य बुझ्थ्यो । नेपाली काँग्रेसप्रति आस्थावान तिनै नेपाली जनताको बलिदानी संघर्षले नेपालमा लोकतन्त्रको स्थापना गराई नेपाली काँग्रेसको गौरवपूर्ण इतिहास रचेको हो । संघर्षकालमा नेपाली काँग्रेसका शीर्ष पंक्तिका नेताहरु लोकतन्त्रको विश्वव्यापी मूल्य र मान्यतालाई आत्मसात गरि जनस्तरमा समेत लोकतन्त्रको प्रभाव बढाएर जन समर्थन प्राप्त गरेका थिए । लोकतन्त्रको स्थापनाका लागि त्याग, तपस्या, संघर्षप्रतिको आत्मसमर्पण आदि समग्र पार्टी पंक्तिमा गहिरो प्रभाव रहेको तथा नेतृत्व पंक्तिलाई देवत्वको सम्मानमा राख्ने नेपाली जनताको अनवरत संघर्षको बलमा नेपालमा लोकतन्त्रको स्थापना भयो ।
अग्रज राजनीति पार्टीको रुपमा विकसित भई रहेको नेपाली काँग्रेसको विकल्पमा कम्युनिष्ट पार्टी पनि राजनीतिक हैसियतमा आफ्नो अस्तित्व जनतामाझ ल्याई रहेका थिए । वैकल्पिक शक्तिको विकास नेपाली काँग्रेसलाई कथमपि स्वीकार थिएन । दुबै दलको शत्रुतापूर्ण सम्बन्ध लामो समयसम्म रहेकोले पंचायती व्यवस्था विरुद्धको संघर्ष नतिजामुखी भई रहेको थिएन । कम्युनिष्ट नेतृत्वका कतिपय नेताहरु राजासंग नजिक सम्बन्ध बनाएकोले पनि नेपाली काँग्रेस र कम्युनिष्टबीच सौताको सम्बन्ध कायम रह्यो । शक्तिको रुपमा रहेको नेपाली काँग्रेसलाई निस्तेज गर्न पनि राजाले कम्युनिष्टका कतिपय नेताहरुलाई आफ्नो प्रभावमा राखेका थिए ।
दुबै पार्टीको आफ्नै किसिमको संघर्षले कुनै नतिजा निकाल्न नसकेको र प्रशिक्षित कार्यकर्ताको शहादतले पार्टीलाई क्षति भई रहेको अवस्थामा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीले संयुक्त संघर्षको अवधारणलाई विकसित ग¥यो । पंचायत विरुद्ध संयुक्त संघर्षको नयाँ रणनीति विकसित भएपछिको संघर्ष वास्तवमा पंचायती व्यवस्थालाई सिध्याउने खतरनाक साबित भयो । ०३६ सालको संघर्षले सामन्ती अधिनायकवादी पंचायती व्यवस्थालाई ढाल्न त सकेन, तर नराम्रो किसिमले जरालाई हल्लाई दिएको थियो । ०३६ सालको आन्दोलनले नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीबीचको तिक्ततालाई हटाएर सहकार्य गर्ने अवधारणालाई विकसित ग¥यो र १० वर्षपछि ०४६ सालमा पंचायती व्यवस्थाको अन्त गरि संयुक्त संघर्षले प्रजातन्त्रको पुनस्र्थापना ग¥यो ।
सत्तामा आएपछि नेपाली काँग्रेसका शीर्ष नेताहरुको क्रमिक रुपमा मृत्यु हुँदै जाँदा सशक्त नेतृत्वको क्षीणताले पार्टीभित्र लोकतान्त्रिक मूल्य मान्यताको सैद्धान्तिक धरातल भत्किन थाल्यो । यसको विकल्पमा व्यक्तिगत स्वार्थले आफ्नो साम्राज्य फैलाउन थाल्यो । फलतः पार्टीले लिएको समग्र नेपाली जनताको हक अधिकार दिलाउने, गरिबीबाट मुक्त पारि देशलाई समाजबादको बाटोबाट समृद्धिको दिशातिर लैजाने वैचारिक धरातलको अवसान भयो । त्याग, तपस्या, नैतिकता, इमान्दारिता, अनुशासन, मर्यादा, जनताप्रतिको दायित्व आदि सबैको अवसानपछि गुटबन्दी सिर्जना भएबाट पार्टी अराजक भीडमा परिणत भयो । नेतृत्वको पहिलो पंक्तिको अवसानपछि दोश्रो पंक्तिको अराजक भीडले पार्टीलाई तहस नहस त बनायो नै, विचारहीनताको अंध्यारोमा ढकेलि दियो । सैद्धान्तिक अस्पष्टता, व्यक्तिगत स्वार्थ, गुटबन्दी राजनीति (पार्टीभन्दा पनि व्यक्तिगत वर्चस्व बढाउने प्रवृति) जनताप्रतिको उदासीनता आदि कारणले नेपाली काँग्रेसको लोकप्रियता विस्तारै घट्दै जानु र प्रभावशाली नेताहरुको अवसानले नेपाली काँग्रेस सशक्त नेतृत्वको अभावमा अनियन्त्रित हुँदै गयो ।
स्वनिर्णय गर्न कमजोर तथा गलत निर्णयका कारण जनताको नजरमा नेपाली काँग्रेस सधैं संदिग्ध रह्ने अवस्थाले पनि राजनीतिक प्रतिष्ठा बचाउने समस्यासंग पार्टीलाई सधैं जुध्नु परेको हो । जन अपेक्षा पूरा गर्न गठित संविधान सभामा नेपाली काँग्रेसको अग्रणी भूमिका गौण हुन पुग्यो । नवोदित शक्तिको रुपमा आएको माओवादी पार्टी तथा तत्कालीन एमाले दुबै गणतन्त्रमा जाने निर्णय गरेकाले नेपाली काँग्रेस पनि आफ्नो परम्परागत स्वभावमा परिवर्तन गरि गणतन्त्रमा जान बाध्य भयो । परिस्थितिवश गरिएको निर्णय अनुसार आपूmलाई बदल्न नसक्ने तथा पारम्परिक दर्शनमा पनि अडिग रह्न नसक्ने ढुलमुले चरित्रले नेपाली काँग्रेस न घरको रह्यो न घाटको ।
सधैं शीर्षासनको सम्मान पाएर देवत्वको अनुभूति गर्ने नेपाली काँग्रेस अहिले साँगुरिएर कैदखानामा बसे जस्तै बस्नु पर्दा के गर्नेको द्विविधायुक्त परिस्थिति झेली रहेको छ । एक अर्कामाथि पराजयको दोष थुपार्दै कतिपय अवसरवादीहरु बाम सरकारको प्रभावमा पुगेका छन् । बाम सरकारको सहानुभूति प्राप्त गर्ने कतिपय नेताहरु यता सेवामा संलग्न छन् भने पार्टीभित्र नेतृत्वको आलोचना गर्न पनि महत्वपूर्ण समय खर्चिन पुगेका हुन्छन् । आपूmबाहेक सबै बेकार बुझ्ने कतिपय अवसरवादी नेताहरु पार्टीभित्र वर्चस्व देखाउन अनेक साजिश गरि रहेका कारण पनि नेपाली काँग्रेसको अवस्था दयनीय हुन पुगेको छ । पारस्परिक झैं झगडामा लिप्त रह्ने पार्टीले राष्ट्रिय राजनीतिको अगुवाईलाई पनि बिर्सि सकेको छ अथवा पार्टीको भूमिकालाई गौण बनाई सरकारलाई फायदा पु¥याउने साजिशमा लागेको छ ।
मधेश नेपाली काँग्रेसको वोट बैंकको रुपमा थियो । नेपाली काँग्रेसलाई हुर्काउन बढाउन मधेशको योगदानलाई अवमूल्यन गर्ने नेपाली काँग्रेस संविधान सभामा मधेश विरोधी पार्टीको रुपमा देखिएको एमालेको पिछलग्गू बनेर मधेशको भावनासंग खेलवाड गरेबाट न मधेशको सहानुभूति कायम राख्न सक्यो न वर्गीय राष्ट्रवादको नेतृत्व गर्न सक्यो । दुबै शक्तिबाट विस्थापित नेपाली काँग्रेस सरकारमा रहेको अवस्थामा पनि चुनावमा आफ्नो साख जोगाउन सकेन । चुनावको मिति सार्ने दबाव आएपनि नेपाली काँग्रेसले केही गर्न सकेन । चुनावको मिति सारेको भए नेपाल कम्युनिष्ट पार्टीको अहिलेको जस्तो सशक्तता प्राप्त हुन सक्ने थिएन । नेपाली काँग्रेसको संदिग्ध नेतृत्वलाई जनताले रुचाएन र नेपाली काँग्रेस किनाराको साक्षी हुन पुग्यो ।
नेपाल कम्युनिष्ट पार्टीको सशक्तता तथा नेपाली काँग्रेसको शर्मनाक पराजयले राजनीतिक वृतमा राजनीतिक असन्तुलन ल्याई दिएको छ । देवत्व अनुभूत गरेका, पहाड जस्तो उच्च तथा अडिग महत्वाकाँक्षा राखेका, शीर्षासनको सम्मान पाएका नेपाली काँग्रेसका नेताहरु लामो समयका लागि सत्तासुखबाट बञ्चित रहँदा नेपाली काँग्रेस नै ध्वस्त हुने लक्षणहरु देखा पर्न थालेको छ । दुईतिहाईको मत पाएका विद्यमान सरकारलाई नेपाली काँग्रेसको असन्तुष्टताको सानोतिनो प्रहारबाट किञ्चित फरक नपर्ने अवस्थामा पूर्ववत् अवस्थामा आउन नेपाली काँग्रेसलाई आन्दोलनमार्फत यो सरकार विरुद्ध ठूलो चुनौती दिनु पर्ने बाध्यता छ । डा० गोविन्द्र केसीको एजेण्डाप्रति ऐक्यबद्धता जनाई थालिएको नेपाली काँग्रेसको आन्दोलनलाई डा० केसीको माँगलाई सम्बोधन गरि सरकारले तुहाई दिएको छ । नेपाली काँग्रेसले आन्दोलनका ठोस रणनीति बनाएर यो सरकार विरुद्ध संघर्षलाई तेज गर्नु पर्दछ । नेपाली काँग्रेसले पुनश्च राजनीतिक प्रतिष्ठा स्थापित गर्न आन्दोलनको विकल्प छैन ।
असन्तुष्टताको धरातलमा ल्याईएको यो संविधान तथा बनाईएको दुईतिहाईको सरकारसंग आफ्नै पार्टी पनि असन्तुष्ट देखिएकाले पनि सशक्ततामा प्वाल परेको स्पष्ट छ । भिन्न भिन्न ठाउँमा असन्तुष्ट भई बसेका जन समुदाय पनि आन्दोलनको प्रतीक्षामा रहेकोले नेपाली काँग्रेसको आन्दोलनमा ती शक्तिहरु सहायक बन्ने अनुकूल परिस्थिति छ । नेपाली काँग्रेसले आफ्नो अस्तित्व बचाउन, घून जस्तै पार्टीलाई चाटि रहेको गुटबन्दीबाट निजात पाउन पनि आन्दोलन अपरिहार्य बनेको छ । असन्तुष्टताको जगमा जन्म लिने राष्ट्रिय आन्दोलनको मुख्य भूमिकामा नेपाली काँग्रेसको अगुवाई खोजी रहेको आवश्यकताले नेपाली काँग्रेसले तत्काल यो यथार्थलाई स्वीकार गरि राष्ट्रिय आवश्यकता पूरा गर्नु पर्दछ । जन्माईएका तमाम समस्याको निराकरण गर्ने राष्ट्रिय आन्दोलन उठ्ने पनि सम्भावना उत्तिकै प्रवल देखिन्छ । राष्ट्रिय आन्दोलनलाई उठाउने कर्ता पनि नेपाली काँग्रेस नै हुने सम्भावनालाई नकार्न सकिंदैन । स्वनिर्णय लिन असक्षम देखिएका नेपाली काँग्रेस अहिलेको सम्बेदनशील अवस्थामा निर्णय लिन चुक्यो भने काँग्रेस (आई) को हविगत भोग्नु पर्ने निश्चित छ ।
२०७५ श्रावण २५ गते मधेशवाणीमा प्रकाशित
