मधेशमा दलितहरूको अवस्था मानवीय मापदण्डभन्दा तल रहेको छ । छुवाछूतको पौराणिक प्रचलनले दलित समुदायलाई भेदभावमा राखेर उसको सर्वांगीण विकास हुन दिएन । सामाजिक भेदभावको लक्ष्मण रेखाभित्र सिमित यी समुदायको समुचित विकास हुन सकेन । राज्यविहिन अवस्थामा रहेको मधेश, त्यसमा पनि सामाजिक भेदभावमा परेर दलित, समाजको महत्वपूर्ण अंग बन्न सकेन । बहिष्करणको जीवन जीउन बाध्य यी दलित समुदाय शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, न्यूनतम आवश्यकताबाट बंचित भएर कस्तो अवस्थामा होला ? भन्ने बिषयको चर्चा हुनु धेरै आवश्यक ठान्दछु । छुवाछूतमा परेका केही दलित जाति संख्यात्मक रूपमा कुन अवस्थामा छन, हेरौं :—
उपरोक्त दलितहरू वर्ण व्यवस्थाको सामाजिक संरचनामा पानी न चल्ने अछूतको रूपमा परिभाषित गरिएको छ । परम्परागत सामाजिक चलन अद्यावधिक कायम छ । २१सौं शताब्दीको विकसित मानव समाजका यी रोगहरू समाजको उन्नति र देश विकासका बाधक हुन । प्रतिभा जातपात, वंश, कुल, घराना केही देख्दैन । ऊ जहाँपनि जन्मिन सक्दछ । अछूत भनेर ठूलो पर्खालको घेराभित्र सिमान्तीकृत गर्नु सयकडौं प्रतिभालाई बलि दिनु हो । आजका सभ्य मानव समाजले समाजबाट यस्ता दुर्गुणलाई अन्त गर्ने प्रयास थाल्नु पर्दछ । छुवाछूतका विरूद्ध आवाज न उठेका होइनन, जातिको आधारमा छुवाछूत गर्नु हुँदैन भन्ने कानून पनि बनि सकेको छ, तर व्यवहारमा केही परिवर्तन भने ती समुदायले अनुभूति गर्न सकेको छैन । परिवर्तनको नाममा दुबै पक्षको नकारात्मक दृष्टिकोणको प्रयोगले सामाजिक सदभाव खल्बलिएको, द्वन्द्व मात्र दृष्टिगोचर हुन्छ, जो प्रत्युत्पादक हुन्छ । सामाजिक सदभावलाई कायम राखेर पनि दलितलाई हरेक क्षेत्रमा पहुँच बढाउन सबैले प्रोत्साहन दिनु पर्दछ । पहाडको दलितभन्दा मधेशको दलितको अवस्था अत्यन्तै दयनीय छ ।
क्रसं जातिहरु प्रतिशत जम्मा पुरुष महिला
०१ धुनिया ०.०१ १,२३१ ६१४ ६१७
०२ हलखोर ०.०२ ३,६२१ १,८४८ १,७७३
०३ डोम ०.०४ ८,९३१ ४,६३१ ४,३००
०४ कहार ०.१५ ३४,५३१ १८,१०९ १६,४२२
०५ बाँतर ०.१६ ३५,८३९ १८,१३९ १७,७००
०६ नुनिया ०.२९ ६६,८७३ ३५,२२४ ३१,६४९
०७ धोबी ०.३२ ७३,४१३ ३८,३५० ३५,०६३
०८ खत्बे ०.३३ ७४,९७२ ३८,६४३ ३६,३२९
०९ तत्मा ०.३४ ७६,५१२ ३९,६०६ ३६,९०६
१० लोहार ०.३६ ८२,६३७ ४२,२७० ४०,३६७
११ दुसाध/पासवान/पासी ०.७० १,५८,५२५ ८२,१७३ ७६,३५२
१२ मुसहर ०.७६ १,७२,४३४ ८८,०४१ ८४,३९३
१३ चमार/हरिजन/राम १.१९ २,६९,६६१ १,३८,८७८ १,३०,७८३
छुवाछूतको विरूद्ध टी.आर. विश्वकर्मा, हिरालाल विश्वकर्मा, सहश्रनाथ कपाली, प्रतापराम लोहार, मिठाई देवी, मोहन कपाली, धनमान सिंह परियार, जस्ता अग्रज पुस्ताहरूले २००८ सालदेखि नै आवाज उठाएका थिए । छुुवाछूतविहिन समाज, जातिय समानताकालागि वैधानिक रूपले उठेको आन्दोलन क्रमिक रूपले परिवर्तन खोज्दै माओवादी सशस्त्र जनयुद्धमा समाहित भएर अहिले परिवर्तनको नव परिवेशमा प्रवेश गरेको छ । अहिेले पनि पौराणिक चलनमा बाँधिएको जातिय समाजमा परिवर्तनको उज्यालो पर्न सकेको छैन । मानवको नैसर्गिक अधिकारलाई उपभोग गर्नु मानवाधिकार कानूनभित्र पर्ने भएकोले कसैले, कसैलाई यस अधिकारबाट बंचित गर्नु अन्याय हो । हुनत, परिवर्तन क्रमिक रूपले विस्तारै बढि रहेको हुन्छ । झण्डै ६० वर्षदेखि छुवाछूत विरूद्धको आवाज उठदै आउँदाको प्रयासको प्रतिफल अहिलेको परिवर्तन हो । धेरै न्यून परिवर्तन देखिए पनि दलित आन्दोलनले जातिय विभेदको पर्दा च्यात्न भने सफल भएको छ ।
(२०६७ श्रावण १४ गते मधेशवाणीमा प्रकाशित)
