नेपालको राजनीतिमा ६ दशक सम्म अथक सक्रिय रहँदै, सकारात्मक नकारात्मक परिस्थितिको सामना गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापनार्थ सबै राजनीतिक दलहरुसंगको सहकार्यको माध्यमबाट निर्धारित समयमा संविधान निर्माण, शान्ति स्थापना गर्ने अटल विश्वास राखेको शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको यही चैत ७ गते, देशमा राजनीतिक गतिरोध कायम रहेको बेलामा दुखद निधन भएको छ । अपार जनसागरले उहाँको पार्थिव शरीरमा फूलको माला चढाएर श्रद्धाँजली दिएको छ । सबै राजनैतिक दलहरुको सहकार्यबाट राजनीतिक गतिरोध हटाएर संविधान निर्माण, शान्ति स्थापना गर्नु नै दिवंगत गिरिजा प्रसाद कोइरालाप्रतिको सच्चा श्रद्धाँजली हुनेछ ।
संविधान सभाको बाँकी ६२ दिनको समयावधी र विद्यमान राजनीतिक गतिरोधले नेपाली जनताको विश्वास टुटन थालेको अवस्थामा राजनैतिक दलहरुले अहिले चमत्कारी भूमिका खेल्नु जरुरी छ । पारस्परिक विश्वासको संकटलाई हटाएर राजनैतिक दलहरु सहकार्यको माध्यमबाट संविधान निर्माणको प्रक्रियामा जुटन आवश्यक छ । हजारौं समस्याबाट देश जुझी रहेको बेला पनि राजनीतिक दलहरु विवेकपूर्ण राजनैतिक दायित्व निर्वाह गर्न न सक्नु देशको लागि दुर्भाग्य नै ठहरिन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक स्वरुप निर्धारण भई सके पछि पनि यसलाई भत्काएर नेपाललाई पुर्वावस्थामा फर्काउने चलखेल शुरु भएको छ । अन्योलग्रस्त राजनैतिक अवस्थाको फाइदा उठाएर संघीयताको विरुद्ध केही तत्वहरु शिर उठाउन थालेको छ ।
देशमा अमन चैन कायम गर्न खटिएको सुरक्षाकर्मीको अनैतिक क्रियाकलापले समाजमा बिषम परिस्थितिको सृजना भई रहेको छ । समाज अपराधोन्मुख र अपराध समाजीकरण भई रहेको छ । राजनैतिक पार्टीको दलीय स्वार्थले पनि टाउको उठाई रहेको अपराधलाई प्रोत्साहन गरी रहेको अवस्था छ । शान्ति स्थापनार्थ बिशेषाधिकार पाएका सुरक्षाकर्मीहरु नैतिक दायित्वबाट तल झरेर समाजमा वितण्डा मच्चाउनु निश्चय पनि समाजमा शान्ति ल्याउने लक्षण होइन । हालै जनकपुरमा उच्च ओहदाका सुरक्षाकर्मीद्वारा गरिएको बलात्कारको घटनाले जनकपुर आज सातौं दिन बन्द छ । यस्ता घटनाहरु सुरक्षाकर्मीले कति पटक घटाई सकेको छ । यी कुराले सुरक्षा निकायको नैतिक धरातल खस्किएको प्रष्ट हुन्छ । के यस्ता घटनाले सरकार बदनाम भई रहेको छैन ? सरकारलाई सहयोग गर्ने संयन्त्रलाई विश्वास गर्न सकिन्छ ?
दिनानुदिन बिग्रिदै गई रहेको देशको स्थिति, असहयोगी मानसिकताले प्रेरित सरकारी संयन्त्रका क्रियाकलाप, प्रतिगामी तत्वहरुको सबलीकरण र समाजमा वितण्डा मच्चाई रहेको अपराध कुनै एउटा राजनैतिक दलको नियन्त्रण क्षमता भन्दा बाहिर छ । देशको परिस्थितिले पनि सबै राजनीतिक दलहरुलाई एक ठाँउमा आउन बाध्य गरेको छ । बिगतमा भए जस्तै देशमा हत्या हिंसा अपराध चर्काएर शासन गर्ने कुटिल प्रवृति अहिले काम लाग्दैन । देश धेरै अगाडी बढि सकेको छ । अहिले त्यो मानसिकताको प्रयोग खतरनाक हुन सक्छ ।
जनता यस्ता प्रवृतिबाट वाकिफ छन । त्यसकारण सबै राजनीतिक दल सबै दलको अस्तित्वलाई स्वीकार गरेर आपसी समझदारी र सहमतीको आधार कायम गरी देशलाई राजनीतिक निकाश दिनु पर्दछ । यही सर्वमान्य लोकतान्त्रिक पद्धति हो । राष्ट्रिय सवालमा सबै पार्टीलाई एक ठाँउमा ल्याएर अगाडी बढनु नै राजनैतिक कुशलता हो र अहिेको रणनीति पनि ।
संघीय लोकतान्त्रिक गण्तन्त्र हाम्रो प्रस्थान विन्दु हो । यसलाई सच्याउनु अथवा पछाडि जानु पश्चगमन हो । अग्रगामी, परिवर्तनकारी शक्तिहरुले यसको विरुद्ध उठी रहेको संगठित आवाजप्रति चनाखो हुन जरुरी छ । यी तत्वहरु देशमा ‘राजतन्त्रको आवश्यकता’ सिद्ध गर्न ठूलो गृहयुद्ध निम्त्याउन प्रयत्नशील छन, यी परिस्थितिको संवेदनशीलतालाई सबै दलहरुले बुझनु पर्दछ ।
नेपालकै इतिहासको एउटा पानामा कम्युनिष्ट र काँग्रेस विपरीत ध्रुवको राजनीतिक दल थियो । एक नदीको दुई किनारा जस्तै कहीं मिलन विन्दु थिएन । समय र देशको परिस्थितिले दुबै विपरीत ध्रुवीय राजनीतिक दललाई राष्ट्रिय सवालमा सहकार्य गर्न एकैठाँउमा उभ्याएको इतिहासको दोश्रो पानामा उल्लेख छ । यसले के देखायो भने दलीय सिद्धान्त भन्दा राष्ट्रिय सवाल महत्वपूर्ण हुन्छ । यस्ता राजनीतिक अभ्यास बिगतमा भई सकेको अवस्थामा अहिले राजनीतिक दलहरुसंग सहकार्य हुन नसक्ने कुनै कारण छैन ।
देशको राजनीतिक अवस्थाको संवेदनशीलतालाई विवेकपूर्ण ढंगले बुझेर सबै राजनीतिक दल आपसी समझदारी र सहकार्यबाट संविधान निर्माण, शान्ति स्थापना तथा देशलाई समस्यामुक्त गर्नु नै राष्ट्रिय दायित्व पूरा भएको ठहरिनेछ ।
(२०६६ चैत्र १३ गते मधेशवाणीमा प्रकाशित)
