खस चरित्रका भेदहरु र यसका विकास

(शाहवंश कालदेखि)
पृथ्वी नारायण शाहले राज्य विस्तार गर्न थालिएको अभियानमा उपत्यका र बाहिरका टुक्रे राज्यहरु जित्दै वि.सं. १८२५ आश्विन ९ गते सन् १७६८ सेप्टेम्बर २६ मा नेपालको राजाको रुपमा स्थापित भयो । शाहवंशको उदयसंगै खस राज्य व्यवस्था अस्तित्वमा आएको हो ।सामान्यतया क्षेत्री, बाहुन, ठकुरीलाई खसजाती भनेर चिनिन्छ । यसको उद्गम स्थल भारत हो । राजा सुरेन्द्रले प्रधानमन्त्री जङ्गबहादुर र उनका वंशजहरु भारतको चितौडगढका राजपूत राणाहरु हुन भन्ने प्रमाण हुनाले प्रधानमन्त्री जङ्गबहादुर र उनका वंशजलाई ‘राणाजी’ भन्नु भन्ने वि.सं. १९०५ बैशाख (५ मे १८४८)मा ‘लालमोहर’ भयो जसको साराँश यसप्रकार छ– “तिम्रा पूर्वजहरुमा एकभाई चितौरगढ भारतमा शासन गरि रहेका थिए । अरु तीन भाईहरु चाहिँ त्यहाँ आफनू उन्नतिको पर्याप्त सम्भावना नदेखि पहाडतर्फ लागे । तिनीहरुमध्ये एकजना ‘कत्लाखर’ (उत्तर पश्चिम नेपालको एक ठाउँ) हाल तिब्बत चीनको ईलाकाको राजा भए । अर्का चाहिं जुम्लामा गई बसोवास गरे । बाँकी रहेका तेस्रो यहाँ आएर कास्कीमा बसोवास गरे । तिम्रा बराजु अहिराम कुँवर हाम्रा पूर्वज नरभूपाल शाहको समयमा गोर्खामा आई बसे । तिम्रा पूर्वजहरु राजपूत राजपरिवारका भएकाले आजसम्म ‘कुँवर’ कहलिएका छन् । अहिले म तिमीसंग प्रसन्न छु र यो देखिन आयो कि तिम्रा पूर्वजहरु कुँवर राणाजी हुन् ।” (पुरुषोत्तम शमशेर जबरा, श्री ३ हरुको तथ्य वृतान्त, पृष्ठ ५२) । विभिन्न कालखण्डमा खस भारतको उत्तरी पश्चिमी क्षेत्रबाट पहाडतिर आएको हो । नेपालको पश्चिमी क्षेत्रबाट खस विस्तारै अधिराज्यभर फैलिएको हो । राजा सुरेन्द्रले आफना शाहजादा, शाहजादीहरुको विवाहका लागि वरवधु खोज्न प्रधानमन्त्री जङ्गबहादुरलाई अह्राउन खोज्दा जङ्गबहादुरले आफनो छोराछोरीको प्रस्ताव राख्दा राजा सुरेन्द्र कडकेर भने–“ तँ खसले हाम्री शाहजादीहरुलाई ताक्ने ।” जङ्गबहादुरको पनि पारो चढ्यो । उनले भने–“सरकारले आफूलाई कत्रो जातवाला सम्झिबक्सेको छ ? के सरकार तिरहुतिया ब्राह्मणीतर्फका सन्तान होइबक्सन्न र ? जङ्गबहादुरको जवाफ सुनेपछि राजा सुरेन्द्र आफना शाहजादा, शाहजादीहरुको विवाह जङ्गबहादुरको छोराछोरीसंग गर्न राजी भयो । (पुरुषोत्तम शमशेर जबरा, श्री ३ हरुको तथ्य वृतान्त, पृष्ठ ९१) ।
नेपाल एकीकरण अभियानमा पृथ्वी नारायण शाहले सबै जातजातीको सहयोग लिएर अभियान सफल पारेका थिए । उनको सैन्य संगठनमा खसबाहेक मधेशी (तिरहुतिया) गुरुङ्ग, मगर, खवास आदि सम्मिलित सेनाहरु थिए । विजय अभियानलाई सफल पार्न सामुदायिक समर्थन बढाउन आवश्यक रहेको र एउटा उद्देश्य प्राप्तिको लागि गरिएको प्रयासबाट सेना समावेशी देखिएको थियो । सबै जातजाती समावेश भएको सेनाको बहु चरित्र गोर्खाली खसहरुलाई मान्य थिएन । उद्देश्य पूरा भई सकेपछि अब गोर्खाली खसहरुको निरंकूशतालाई सेनामा अरु जातको उपस्थिति पाच्य थिएन । उनीहरु सेनामा खस वर्चस्व कायम गर्न अनेक प्रयत्न गरि रहेका थिए । सेनाको एकात्मक स्वरुप कायम गर्न भिमसेन थापाको ठूलो योगदान छ । खसहरुलाई विश्वास गरि पृथ्वीनारायण शाहले राज्यसत्ता हस्तान्तरण गरि मृत्यु वरण गरेको थियो । राज्य विस्तारको अभियानमा पृथ्वीनारायण शाहले राजनीतिक रुपले समाजका आफूलाई आवश्यक पर्ने हरेक जातीलाई जगाई सकेको थियो । राज्य व्यवस्थामा खसको प्रधानता रहे पनि खस गोर्खाली, अगोर्खाली दुई गूटमा विभक्त थियो । अगोर्खाली पनि पश्चिमेली, पूर्वेलीमा विभक्त थियो । भिमसेन थापाले सेनालाई आफनो नेतृत्व अर्थात् गोर्खाली खसको वर्चस्वमा राख्न ठूलो योजना बनायो । गोर्खाली खसहरुमा नेपाल जितेको ठूलो अहंकार थियो । यसमा उनी अरुको भूमिकालाई स्वीकार गर्दैनथे । भिमसेन थापाको पालामा गोर्खाली खसगूट तथा अगोर्खाली गूट जसमा बाहिरका खसहरु, मधेशी, नेवार, गुरुङ्ग, मगर खवास आदि जातका सेनाहरु थिए । भिमसेन थापा गोर्खाली गूटको नेतृत्व गरि रहेको थियो भने राज परिवारहरु अगोर्खाली गूटलाई आफनो पक्षमा राखेको थियो ।
पृथ्वीनारायण शाहको निधनसंगै गोर्खालीहरुको अहंकारका कारण अगोर्खाली गुटको जन्म भएको थियो । वि.सं.१८३१ मा २५ वर्षको अवस्थामा प्रतापसिंह शाह राजा भएका थिए । राजकाजप्रति उदासीन तथा भोगविलासी चरित्र राखेका प्रतापसिंह शाहका पालामा भिमसेन थापाको चरम निरंकूशतन्त्रले अत्याचार बढाएर अगोर्खालीहरुलाई गूट तयार पार्न बाध्य पारेका थिए । प्रतापसिंह शाहकी भित्रेनी मैजुरानी आफना दुई छोरा विदुर शाह, शेर बहादुर शाहको सहयोगमा स्वरुपसिंह कार्की, ब्रजनाथ पौडेल, सर्वजीत राणा, परशुराम थापा, त्रिभुवन खवास, भिम खवास, नरसिंह गुरुङ्ग आदि प्रसिद्ध व्यक्तिलाई लिएर अगोर्खाली गूट तयार पारेकी थिईन । ३ वर्षपछि वि.सं.१८३४ मंसीर ६ गते प्रतापसिंह शाहको मृत्यु पश्चात् मैजुरानीका छोराहरु ल्याइतेतर्फको भएकोले राजगद्दीको उत्तराधिकारी विवाहिता तर्फकोले पाउने चलन अनुसार राजेन्द्र लक्ष्मीका अढाई वर्षीय बालक रणबहादुर शाहलाई राजा बनाई राजेन्द्र लक्ष्मीलाई उनको नायबी घोषित गरियो । अघिसम्म मैजुरानीको नायबी चलि रहेकोमा अब राजेन्द्र लक्ष्मीको नायबी कायम भयो । आफनो छोरालाई राजगद्दी दिलाउन नसकेको हारप्रति आक्रोश हुनु स्वाभाविक थियो । गोर्खाली गूटबाट आफनो अस्तित्व बचाउन जन्मिएको अगोर्खाली गूटलाई दरवारिया षडयन्त्रकारीले आफनो लागि प्रयोग गर्ने गरेबाट गोर्खालीको नजरमा स्वतः आउने भएकोले यो दिनानुदिन क्षीण हुँदै गई रहेको थियो । यी सबै प्रक्रियामा एउटा कुरा सार थियो–‘गोर्खाली शक्तिलाई स्थापित गर्ने ।’
वि.सं. १८४२ साउन २ गते विलासी महारानी राजेन्द्रलक्ष्मीको मृत्यु पश्चात् नाबालक राजा रणबहादुर शाहका नजीकका नातेदार बहादुर शाहलाई नजरबन्द मुक्त गरि नायाबी दिईयो । यो झन् उदण्ड राजाको रुपमा देखा पर्‍यो । उनले सर्वप्रथम कास्कीको सुरक्षार्थ खटिएका इमानदार सरदार स्वरुपसिंह कार्कीलाई त्यहीं काट्न लगाए । बलभद्र शाहको चौतरिया पद खोसियो । राजेन्द्रलक्ष्मीका समर्थक काका दलजित शाह सम्भावित कारबाहीको डरले बेपत्ता भए (कृष्ण अविरल, शाहवंशको शल्यक्रिया, पृष्ठ ४९) । बहादुर शाहको नायबीकालमा गोर्खाली सैनिकलाई विजित राज्यमा लूटपाट गर्न प्रोत्साहन गरेर ठूलो अन्याय गरेको थियो । गोर्खाली सैनिकलाई विजित राज्यमा लूटपाट गर्न प्रोत्साहित गर्ने गरिएको कुरा शाही नेपाली जङ्गी अड्डाद्वारा प्रकाशित तथा डा. तुल्सीराम वैद्य र डा. त्रिरत्न मानन्धरद्वारा लिखित “नेपालको सैनिक इतिहास” पुस्तकमा समेत स्वीकारिएको छ, (कृष्ण अविरल, शाहवंशको शल्यक्रिया, पृष्ठ ५०) ।
वि.सं.१८६३ बैशाख १६मा रणबहादुर शाहको हत्यासंगै गोर्खाली तथा अगोर्खालीबीच मच्चाइएको हत्याकाण्ड नेपालको इतिहासमा स्थापित भएको हत्याकाण्डको पहिलो कडी थियो । यसमा ९३ जनाको हत्या भएको थियो ।
यो हत्याकाण्डबारे रुद्र चुडालको “स्थायी राज्यसत्ताको जन्म” भन्ने शीर्षकमा अनलाइनमार्फत आएको लेखका अंश उद्धृत गरिएको छ–
पृथ्वीनारायण शाहको निधनसंगै नेपाल दरवारमा गोर्खाली र अगोर्खाली गुटको निर्माण भएको थियो । प्रतापसिंह शाहकी भित्रेनी श्रीमति मैजुरानी चौदण्डीका स्वरुपसिंह कार्की र रिसिङका ब्रजनाथ पौडेल, सर्वजित राना, परशुराम थापा सम्मिलित एउटा अगोर्खाली गुट बनाएकी थिइन । पछि भिमसेन थापाको उदय हुनु अघिसम्ममा अगोर्खाली गुट शक्तिशाली भई सकेको थियो । अगोर्खाली गुटमा मैजुरानीका दुई छोराहरु बिदुर शाह, शेरबहादुर शाह, त्रिभुवन खवास, भिम खवास, नरसिंह गुरुङ आदि व्यक्तिहरु शक्तिशाली थिए । छोरालाई राजा घोषित गरि बनारसमा जीवन व्यतीत गरि रहेका रणबहादुर शाहलाई गोर्खालीहरुले अनेक षडयन्त्र गरि जबरदस्ती काठमाण्डौ ल्याएको देखिन्छ । रणबहादुर शाह बनारसबाट थानकोट आई पुगेको खबर पाउन साथ श्रीनाथ गण र काली बक्सगण लिई चाँदीको हथकडी सहित दामोदर पाण्डे थानकोट पुग्दा “मलाई मार्न ल्याइस” भनि रणबहादुर शाहले भिमसेन थापालाई गुनासो गरेबाट गोर्खालीहरुले उनलाई जबरदस्ती नेपाल भिर्‍याएका थिए भन्ने प्रष्ट हुन्छ । रणबहादुर शाहसंगै भिमसेन थापा, रंगनाथ पौडेल, काजी दलभन्जन पाण्डे, प्राण शाह आदि महत्वपूर्ण गोर्खाली नेताहरुलाई देखेपछि काली बक्सगण र श्रीनाथ गण उनीहरुसंगै मिल्न पुगे । त्यहाँबाट ज्यान जोगाई भागेका दामोदर पाण्डेलाई गोर्खाली फौजले पीछा गरि भद्रकालीमा मारेको इतिहासमा उल्लेख छ । उनीसंगै भद्रकालीमा भिमसेन खवास, उनका तीन भाई छोराहरु, द्वारे समन सिंग, सुबेदार संखाधर, सुबेदार मानवध, सरदार इन्द्रमान आदिलाई मारिएको थियो । त्योभन्दा पहिले नै रणबहादुर शाहलाई रोक्न भनी सैन्यदल सहित चिसापानी गढी पुगेका नरसिंह गुरुङलाई भिमसेन थापाले आफनो हातमा लिई सकेका थिए । सम्भवतः नरसिंह गुरुङकै आग्रहमा थानकोटमा पनि काली बक्सगण र श्रीनाथ गण गोर्खाली गुटमा मिल्न गएको हुन सक्दछ । त्यो अनुसन्धान गर्न सकेमा यथार्थ कुरो निस्कन्छ । सन् १८०४ मार्च महिनाको यो घटना पछि भिमसेन थापा सर्वेसर्वा हुन थाले । उनी बाल्यकालदेखनै रणबहादुर शाहको सेवामा संगै भएका हुनाले उनलाई हरेक कुरा मनाउन फकाउन सक्थे । यसैबीच भिमसेन थापाले त्रिपुरासुन्दरी नामक थापाकी छोरीसंग रणबहादुर शाहको बिहे गराए । त्यसपछि थापाले सन् १८०६ को १९ अप्रिलमा अर्को खतरनाक षडयन्त्रको रचना गरे । यो षडयन्त्रमा उनले रणबहादुर शाह, उनका दाजु भाईहरु अगोर्खाली गुटका सबैलाई जरैसहित निमिट्यान्न पार्ने योजना बनाए । आफू बलियो हुन गोर्खालीहरुले यो षडयन्त्र गर्न अत्यन्त जरुरी ठानेका थिए । रणबहादुर शाहका ससुराली मधेशी भएको हुनाले मन परेकी श्रीमतिका माइती खलकप्रति उनले सद्भावना सम्बन्ध राख्नेनै भए । उता नेपाल एकीकरणमा मगर, गुरुङहरुको भूमिकालाई वेवास्ता गरेर गोर्खाली क्षेत्रीहरुका कुरा सुन्न रणबहादुर शाह तयार भएनन् । अर्को कुरा गोर्खाले नेपाल जितेको होइन बरु गोर्खालाई नेपालमा मिलाएर आफना हजूरबा काठमाण्डू आएका हुन् भन्ने भावना रणबहादुरमा थियो । बुवा प्रतापसिंह शाहले ललितपुरका भू.पू. मन्त्री वीर नरसिंहकी छोरी मैजुरानीसंग विवाह गरेको, काठमाण्डौमा इन्द्रजात्रामा लिङ्गो गाडने चलन चलाएको आदि भावनात्मक सम्बन्धका कारणले गोर्खालीका मात्र कुरा सुनेर नेवारहरुलाई वेवास्ता गर्न रणबहादुर सक्दैन थिए । फेरि मैजुरानी पट्टिका सौतेनी दाजुभाईहरु बिदुर शाह र शेरबहादुर शाहको नेपाली राजनीतिमा हरेक कुराले महत्वपूर्ण उनी ठान्थे । उता नरसिंह गुरुङप्रति पनि रणबहादुर शाह नरम हुँदै गएपछि गोर्खालीहरु रणबहादुर शाहसंग ज्यादै रिसाए । त्यसकारण सबैलाई एकै चिहान बनाउने षडयन्त्र भयो । अन्ततः भेला बोलाउँदा सबै उपस्थित होलान नहोलान भन्ठानेर विपक्षी त्रिभुवन खवासको घरमा कचहरी बोलाइयो । सो कचहरीमा सवाल जवाफ हुँदा भाई शेरबहादुरले दाजु रणबहादुर शाहलाई तरवार हानेर मारे अनि शेरबहादुरलाई बाल नरसिंह कुंवरले मारे भनि कपोल कल्पित बहाना बनाइयो । त्यो हत्याकाण्डमा त्रिभुवन खवास, बिदुर शाह, पाल्पाका राजा पृथ्वीपाल सेन र नरसिंह गुरुङको पनि हत्या गरियो । त्यत्तिमात्र होइन त्यो हत्याकाण्डको लगतै बिदुर शाह, शेरबहादुर शाह, त्रिभुवन खवास र नरसिंह गुरुङका सम्पूर्ण केटाकेटीहरुलाई समेत गिरफतार गरि भिमसेन थापाले मार्न लगाए । बिदुर शाह, शेरबहादुर शाह, नरसिंह गुरुङका १३ जना र पाल्पाली राजा पृथ्वीपाल सेनका १७ जना २ वर्षदेखि १५ वर्षसम्मका बच्चाहरुको हत्या भयो । त्यसैगरि अरु सम्भावित सबैको खोजी गरि भिमसेन थापाले मार्न लगाए । सो हत्याकाण्डमा ७७ जनाले ज्यान गुमाउनु परेको थियो । त्यतिले मात्र गोर्खाली गुटले चित्त बुझाएन । तिनका विवाह भैसकेका छोरी, स्वास्नी, कुमारीलाई समेत जाति च्यूत गरि देश निकाला गरियो । मारिनेहरुका लाश गिद्ध र कुकुरलाई खुवाउने व्यवस्था मिलाइयो ।
नेपाली राजनीतिबाट दिक्क भई हेलम्बुमा एकान्त जीवन व्यतीत गरि रहेकी, रणबहादुर शाहकी जेठी रानी राजराजेश्वरी समेतलाई हेलम्बुबाट झिकाई सती पठाइयो । रणबहादुर शाहको मृत्युमा १५ जना सती गएका थिए । यसरी रणबहादुर शाहको हत्यासंगै हत्या भएका र सती जानेहरुको जम्मा संख्या ९३ थियो भनि डिल्ली रमण रेग्मीद्वारा लिखित मोडर्न नेपालमा उल्लेख गरिएको छ ।
त्यसपछि आफैले विवाह गराई दिएकी थापाकी छोरी रणबहादुर शाहकी कान्छी श्रीमति ललित त्रिपुरासुन्दरी नाबालक राजा गिर्बाणयुद्ध विक्रमको नायाबी भइन । भिमसेन थापा राजकाजमा सर्वेसर्वा भए र उनी ३१ वर्ष निर्धक्क राजकाज चलाए । यसरी अन्य जातजाति र भाषाभाषीले आफनो अधिकारका लागि चुँइक्क बोल्न समेत डराउने गरि निर्मम हत्याकाण्ड गरि भिमसेन थापाले नेपालको इतिहासमा स्थायीसत्ताको जन्म गराएका थिए । गोपालवंशी राजाहरुका पालादेखिनै काठमाण्डौंमा बसोवास गरेका मैथिल समुदायका धेरै मानिसहरु यही बेला विस्थापित भएका थिए । यसरी स्थाईसत्ता (गोर्खाली राष्ट्रवाद) को जन्म भएको हो ।
२०७० भाद्र २८ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!