खस चरित्रका भेदहरु र यसका विकास–२

हत्याको ताण्डव मच्चाएर राज्यसत्तामा गोर्खाली खसको वर्चस्व कायम गर्न भिमसेन थापाले कुनै प्रयास बाँकी राखेन । गोर्खाली खसबाहेकका बाहिरिया खससेना, मधेशी, गुरुङ्ग, नेवारी सेनालाई मात्र मारेन, उनको वंशका बालबच्चा, छोराछोरी, भाईबहिनी, विवाहित चेलीबेटी, जहान परिवार, बूढाबुढी सबैलाई समातेर मृत्युदण्ड दिइयो । गोर्खाली खसबाट दीर्घकालसम्म कसैले राज्यसत्ता खोस्न नसकोस् भन्ने भावनाबाट प्रेरित भएर नै भिमसेन थापाले यस्तो नृशंस हत्याकाण्ड मचाएको हो । हुनत यो हत्याकाण्ड रणबहादुर शाहको निरंकूश प्रवृतिले घटाएको भन्ने केही इतिहासकारको भनाई छ । कृष्ण अविरलले आफनो पुस्तक “शाहवंशको शल्यक्रिया” मा राजा रणबहादुर शाहलाई उदण्ड र यौन पिपासु भनेर चित्रण गर्नु भएको छ । रणबहादुर शाहकै सन्काहा प्रवृतिले वि.सं. १८६३ बैशाख १६ गतेको त्यो जघन्य हत्याकाण्ड भएको भनिए पनि त्यही पुस्तकको पृष्ठ ६६ मा लेखिएको छ “निर्दोष भारदारका अढाई तीन वर्षका नाबालक सन्तानहरु हत्या गरेर समेत भीमसेन थापाले चित्त बुझाएनन् । उनले राज राजेश्वरीलाई रातारात हेलम्बुबाट झिकाएर १४वटी सुसारेहरुका साथ जबर्जस्ती साली नदीमा पोल्न लगाए । सती जानु अघि एकपटक राजा गीर्वाण युद्धको मुख हेर्ने अन्तिम ईच्छा पनि पूरा गरिएन । हत्याको १५औं दिनमा काशीबाट आई पुगेकी अर्की भित्रेनीको पनि त्यही गति भयो । भदाहाको हत्याको खबर सुनेर अतालिदै सल्यानबाट आई पुगेकी पृथ्वीनारायण शाहकी छोरी विलास कुमारी पनि दण्डको भागिदार भईन । बिना पुर्पक्ष निर्दोष भाईभारदारको कत्लेआमको विरोध गरे वापत भीमसेन थापाले सल्यान राज्य र पृथ्वीनारायण शाहले दाइजोमा दिएको उनको विर्ता समेत जफत गरे ।……..त्यस बखत अल्मोडामा रहेका नाताले आफनै बाजे पर्ने निर्दोष वीरभद्र थापालाई समेत भीमसेन थापाले काट्न लगाए ।”
यस हत्याकाण्डमा सेनाका अनुभवी पदाधिकारीहरुको निकै संख्यामा हत्या भएका कारण यसै बखत नेपाल अंग्रेज युद्धमा पराजयका साथ नेपालका धेरै ठूलो भूभाग गुमाउनु पर्‍यो । निरंकूश प्रवृतिका कारण कमजोर अवस्थामा रहेको भीमसेन थापाको अज्ञानताका कारण देशले लज्जाजनक पराजय भोग्नु पर्‍यो । देशलाई कमजोर बनाएर भएपनि भीमसेन थापाले गैर गोर्खालीहरुबाट राज्यसत्तालाई मुक्त गराएरै छाडे । भीमसेन थापाको राज्य संचालन पनि त्यति सन्तोषजनक देखिदैन । जेहोस् गोर्खाली खसप्रतिको कट्टरभाव भीमसेन थापामा स्पष्ट देख्न सकिन्छ । पूर्व र पश्चिमको खसलाई पनि उनी रुचाउँदैथे । गैर खसलाई रुचाउने त कुरै भएन । यसरी नृशंस हत्याकै माध्यमबाट भएपनि उनले गोर्खाली खस परम्पराको निष्ठापूर्वक थालनी गर्‍यो । ३१ वर्षको कार्यकालमा भीमसेन थापा (१८०६–३७) सेनाको राम्रो छनौट गरि पृथ्वीनारायण शाहको सपना बमोजिम गोर्खाली खस वर्चस्वको एकात्मक स्वरुप कायम गर्न आफू समर्पित रह्यो । भीमसेन थापाको समाप्ति पछि गोर्खाली नेतृत्वलाई निरन्तरता दिन जङ्गबहादुरको निकै ठूलो योगदान छ ।
गोर्खाली खसहरुको बर्बर निरंकूशताको डेढ शताब्दिसम्मको लामो अभ्यासमा नेपाली राज्यसत्ता पूर्ण रुपले गोर्खाली राज्यसत्ताको नामले आफनो पहिचान बनायो । भारतीय सेनामा प्रवेश गरेका नेपालीहरुको लागि खोलिएको गोर्खा रेजिमेन्ट त्यसैको प्रतीक हो । २००७ सालको क्रान्तिले बर्बर निरंकूशताको कालरात्रिलाई समाप्त पार्‍यो । अब गोर्खाली सेना र राज्यसत्तामा बाहिरका खसहरुको प्रवेश खुला भयो । राणाहरुको जहानियाँ शासनसंगै गोर्खाली खसहरुको बर्बर युग समाप्त भएपछि बाहिरका खसहरुका लागि गोर्खाली खसहरु धेरै सहिष्णु भए । सबै एउटै वर्गमा स्वीकृत भए पनि श्रेणी भने कायम थियो । राणा र राजाको निरंकूशतालाई निरन्तरता दिने कट्टर गोर्खाली खसको एउटा श्रेणी थियो भने यो निरंकूशताको विरोधमा बाहिरका खसहरु पनि दुई खेमामा विभाजित थिए– (क) एउटा कम्युनिष्टको रुपमा सबैखाले कट्टरता र निरंकूशताको विरोधी थियो भने अर्को (ख) प्रजातन्त्रको नाममा राजालाई अस्तित्वमा राखी राज्यसत्तामा आफनो पूर्ण सहभागिता चाहन्थ्यो । यसरी राज्यसत्तामा एउटै वर्गको एकाधिकार देखिएपनि खस तीन श्रेणीमा (निरंकूश सामन्त, महासामन्त र उदारवादी सामन्त) विभाजित थिए । राज्यसत्ता प्राप्तिका लागि तीन खेमामा विभाजित शासकीय प्रवृतिका यी खसहरु भने नेपाली जनताका आवाज त उठाउँथे तर उद्देश्य भने राज्यसत्तामा सहभागिता मात्र थियो । निरंकूश राणा र राजाको शासनको तीब्र विरोध गरि जन अधिकारको बहालीका कुरा गर्ने कम्युनिष्ट र काँग्रेस ०४६ साल पछि सत्ता प्राप्त गरेर जनताका लागि के गरे भन्ने कुरा सर्वविदित छ । प्रजातान्त्रिक सरकारकै पालामा ठूल्ठूला आन्दोलनहरु भए । सरकारमा सहभागिता मात्र चाहने उद्देश्य राखेका कम्युनिष्ट र काँग्रेसले जनतालाई छाडेर आफनो स्वार्थपूर्तिमा लीन भएपछि नै विशाल आन्दोलनहरुको जन्म भएको हो । जनताको कुरा गरेर जन समर्थन प्राप्त गरेर सत्ता प्राप्त गर्न सफल कम्युनिष्ट र काँग्रेसको वर्गीय चरित्र ०४६ सालपछिका सरकारमा देखा पर्‍यो । खसवर्गमा तश्रो तह अर्थात उदारवादी सामन्तहरुको पार्टी (कम्युनिष्ट र काँग्रेस) लाई जनताले विश्वास गरेर सत्तामा पुर्‍याउँदा पनि जनतालाई ठाढै तिरष्कार गरे पछि जहाँ उनको वर्गीय चरित्र उदाङ्गियो, त्यहीं जनताले अर्को आन्दोलनको आँधी बेहरी पनि ल्यायो ।
राणा शासनको अन्तसंगै खसवर्गको सामन्ती बर्बर व्यवहारको अन्त भयो । तर पनि गोर्खाली खसहरुको शासकीय प्रवृतिमा भने परिवर्तन आएन । प्रत्यक्ष रुपमा पहिले जस्तो व्यवहारमा अंकुश त लाग्यो तर निरंकूश मानसिकता भने रहि नै रह्यो । यसको प्रत्यक्ष प्रभाव शासनमा पर्‍यो । पंचायती व्यवस्थाको ३० वर्षे शासन निरंकूश मानसिकताकै परिणाम हो । राजाको प्रत्यक्ष पंचायती शासनको विरोध गरि आएका खसवर्गका एकपक्ष (दोश्रो र तेश्रो तहको) ले प्रजातन्त्रको अभ्यास गरि रहेकाले विधीको शासन अनुसार राजाको वैधानिक अस्तित्व कायम राखी शासन भने आफनो हातमा राख्न चाहन्थे । यी वर्गमा जन्मिएका विभिन्न विरोधी पक्षहरु जनताको पक्षमा जति वकालत गरे पनि जनताका मुक्तिदाता होइनन् भन्ने कुरा समयले छर्लङ्ग देखाई सकेको छ । यिनीहरुको सत्ताप्राप्तिनै प्रमुख अभीष्ट रहेको विगतका समयले हामीलाई सिकाई सकेको छ । राज्यविहीनताको अवस्थामा विभेदको पीडा भोगि रहेका जनताले खसवर्गको छद्यवेशको राजनीतिक चाल स्पष्ट रुपमा थाहा पाएपछि ०६३ सालमा उनी आफनै बलबूतामा परिणाममुखी अधिकार आन्दोलनको सृजना गर्‍यो ।
सत्ताका लागि जसरी राणाहरु तीन श्रेणीमा (ए क्लास, बी क्लास र सी क्लास) विभाजित थिए, नेपाली राज्यसत्ता विगतभन्दा वर्तमानमा महत्वपूर्ण हुँदै गएपछि खसहरु पनि तीन श्रेणीमा वर्गीकृत भए । समाजको राजनीतिक रुपान्तरण गरि एकाईसौं शताब्दिको समाजवादको जनतालाई प्रत्यक्ष अनुभूति दिलाउने जस्ता संसारका सबै दर्शनका नेपालमा राजनीतिक पार्टीको माध्यमबाट खसवर्गले नै अभ्यास गरि रहेकोले सबै जनता यसलाई विश्वास गर्न बाध्य भए । तर ६ दशकसम्म खसवर्गीय राजनीतिक दलहरु जनताका माँगहरुप्रति प्रतिबद्ध रहेर पनि सत्तामा गएपछि त्यसप्रति उदासीन हुनु, जनताको अधिकारप्रति गम्भीर नहुनु आदि कुराले के देखायो भने खसवर्ग एक आपसमा जतिसुकै लडे पनि राज्यको परम्परागत स्वरुपलाई कोही बिगार्न चाहँदैन । ६ दशकको लामो अनुभवले नेपाली जनताको मुक्तिको जति वकालत गरेपनि खसवर्गीय पार्टीहरुको क्रियाकलाप जनमुक्तिको सवालमा बिल्कुलै भिन्न रहेको कुरा बुझ्न सके । शक्ति संचयका लागि मात्र जनता चाहिएको, उसको अधिकार दिलाउन सबै पार्टीहरु एकमत भएर पछि हटे ।
राणाकालीन शासनमा रुने, कराउने, आफनो पीडा अभिव्यक्त गर्ने अधिकार थिएन । २००७ साल पछि यो अधिकार पाए पनि वाक स्वतन्त्रता कुण्ठित नै रह्यो । राणाकालीन निरंकूशताको बर्बर युगको अन्त भए पछि अर्को खाले राजतन्त्रीय निरंकूशताको युग प्रारम्भ भयो । राजासंग कम्युनिष्ट र काँग्रेस (उदारवादी सामन्त) धोखा खाएर उनी विभिन्न राजनीतिक दलको नाममा राजाको विरुद्ध पुनश्च संगठित हुन थाले । यतिबेलासम्म खस चरित्र रहस्यकै रुपमा दबिएर रहेको र जनताको विश्वासको केन्द्रको रुपमा यिनी स्थापित थिए । आफूप्रति जनताको आत्म समर्पण भाव देखेर यिनी एकदिन जनताले निश्चय पनि आफूलाई शासक बनाउने खुशीले गद्गद् थिए । आफनो प्राणको आहूति दिंदै जनताले ०४६ सालको आन्दोलन सफल पारे । जनताका कथित मुक्तिदाता भनिने पार्टीहरु सत्तामा गए । प्रजातन्त्रको नाममा एउटा तेश्रो खाले उदारवादी सामन्ती निरंकूशताको ताण्डव देखेर जनता आश्चर्यचकित नै भए । जनताको घरदैलोमा गुन्द्रुक भात खाएर जनतालाई हरेक शोषणबाट मुक्त गर्ने वाचा, जनअधिकारलाई सुनिश्चित गरि समाजवाद ल्याउने प्रतिबद्धता, सत्तामा गएका यी नेताहरुलाई केही याद रहेन । १० वर्षको तथाकथित प्रजातान्त्रिक सरकारको कुकृत्यको शासनबाट जनता खस चरित्रलाई नजिकबाट पढ्न र चिन्न सके । यी कथित मुक्तिदातासंग धोखा खाएर नेपाली जनता पुनश्च संघर्षको बाटोमा लागे । आफनो जन्मभरिको स्वार्थ पूरा गर्न आतुर तथाकथित मसीहाहरुले प्रजातान्त्रिक सरकारको नाममा ब्रह्मलूट गरि रहँदा देशमा अराजक स्थितिको सृजना हुन थाल्यो । माओवादी द्वन्द्वले समाजबाट सरकारको उपस्थिति हटाएर आफू हावी भई रहेको थियो । प्रजातान्त्रिक भनिने उदारवादी सरकारको अदुर्दर्शिता र व्यक्तिवादी सोचका कारण विस्थापित गोर्खाली खसको स्वाभिमानमा लगातार चोट परि रहेको थियो । उदारवादी खसको हातमा गएको राज्यसत्ताको दुरुपयोग देखेर सुसुप्तावस्थामा रहेको गोर्खाली खसहरु जुर्मुराउन थालेको थियो । सयकडौं नर वलिबाट स्थापित र सिंचित गोर्खाली राज्यसत्ता एकपल्ट फेरि हत्याकाण्डको योजना बनाई रहेको थियो । उदार चरित्रका तत्कालिन राजा वीरेन्द्र योजना कार्यान्वयनमा बाधक रहेकोले उनलाई हटाउन आवश्यक थियो । ०५८ साल ज्येष्ठ १९ गते सपरिवार राजा वीरेन्द्रको हत्या गरियो । दरवार हत्याकाण्ड मच्चाएर गोर्खाली मानसिकता एकपल्ट फेरि सत्ता कब्जा गर्न सफल भयो ।
देशमा व्याप्त रहेको राजनीतिक अराजकताका फायदा उठाएका गोर्खाली खसहरुको लागि सतहमा अलिकति वातावरण अनुकूल देखिए पनि वास्तवमा अवस्था प्रतिकूल नै थियो । नेपाली जनता राजनीतिक रुपले पूर्ण चेतनशील भई सकेको थियो । अब उ राजनीतिको बारिकीय ढंगले अध्ययन गरेका कारण सतहमा उपस्थित राजनीतिको परिणाम के हुने भन्ने सहजै अनुमान गर्ने क्षमता बनाई सकेका थिए । तथाकथित प्रजातान्त्रिक सरकारभन्दा पनि राज्यसत्तामा गोर्खाली खसहरुको बदतर आगमनले दिन थालेको बदतर परिणामका कारण जनताको समर्थनसंगै अन्तर्राष्ट्रिय समर्थन जुटाउन नसक्दा राज्यसत्तामा आएका राजा ज्ञानेन्द्र बिल्कुलै टिक्न सकेन । काम नलाग्ने पुरातन शैलीको चिन्तनलाई एकपल्ट फेरि प्रयोगमा ल्याउन खोजेका कारण प्रतिकूल परिस्थितिले असफल बनाई दियो । तिनको असफलताले अन्ततः नेपालबाट राजतन्त्रलाईनै विस्थापित गर्‍यो । वैधानिक राजतन्त्रको घेराभित्र बस्न नचाहेका राजाहरुको पटक पटक हस्तक्षेपका कारण विभिन्न राजनीतिक दलको रुपमा रहेका उदावादी सामन्तहरुको सामूहिक प्रयासबाट संविधान सभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त गरि सधैंका लागि राज्यसत्ता आफनो कब्जामा लियो । राजा कानूनभित्र बस्न चाहेको भए तेश्रो तहका खसहरुको राजासंग कुनै बैरभाव थिएन । तेश्रो श्रेणीकाले पनि वर्गीय राज्यसत्तामा आफनो ठाउँ खोज्नु स्वाभाविक थियो । कट्टर गोर्खाली चिन्तनका कारण राजतन्त्र अन्त भएको हो । अब निर्बाध रुपमा राज्यसत्ताको रसास्वादन गर्न तेश्रो श्रेणीका खसहरु स्वतन्त्र थियो । उदारवादी सामन्तहरुको सत्तामा एकाधिकार कायम रहेको देखिएपनि राज्यसत्ता भने गोर्खाली खसको पौराणिक कट्टर चिन्तनबाट मुक्त हुन सकेन । विभिन्न राजनीतिक दर्शनको अभ्यास गरि रहेका उदारवादी सामन्तहरु कट्टरपंथी खसहरुबाट अलिक फरक देखिए पनि वर्गीय चरित्रको संकीर्ण चिन्तनको घेराबाट मुक्त छैन ।
जन अधिकारको जतिसुकै वकालत गरेपनि उदारवादी खसहरु जनमुखी हुनै नसक्ने विगतको संविधान सभामा देखाएको संकीर्ण मानसिकताबाट स्पष्ट हुन्छ । जतिसुकै राजनीतिक दर्शनको अध्ययन गरेपनि त्यो सत्ता परिवर्तनका लागि होइन, सत्तामा सहभागिताका लागि मात्र हो । विगतको अनुभवले यही देखाएको छ । संसारको परिवर्तित परिवेशमा आफूलाई विभिन्न राजनीतिक दर्शनको रंगमा रंगिएपनि चारित्रिक विशेषतामा परिवर्तन भएको छैन र यो हुँदैन भन्ने कुरो व्यवहारको लामो अनुभवले देखाएको छ । त्यसकारण २४० वर्षदेखि राज्यसत्ता एउटै वर्गको कब्जामा रहेको हामीले बझ्नु पर्दछ । पहिलो संविधान सभामा बडो चालाकीपूर्वक जन अधिकारका सवाललाई पन्छाउन सफलता पाएको यो वर्ग चाहेको कुरा प्राप्त गरेकाले अब कुनै क्रान्ति गरेर परिवर्तन ल्याउने एजेण्डा छैन ।
२०७० आश्विन ४ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!