नेपाली राजनीतिमा फरक विचार लिएका तीन दलीय (माओवादी, नेपाली काँग्रेस र एमाले) एकाधिकारले जन चाहना तथा परिस्थितिवश आएको संविधान सभालाई बडो नाटकीय ढंगले “तँ कुटे जस्तो गर, म रोये जस्तो गर्छु” भने जस्तो आखिर एक अर्का माथि दोषारोपण गर्दै परिणाम विहिन बनाई छाडन कुनै कसर बाँकी राखेन । राजनीतिक गतिरोध न्यून हुनुभन्दा तीव्रता नै लिएको अवस्था छ । संविधान सभालाई अब ३५ दिन बाँकी छ । संविधान सभाको म्याद १०९५ दिनमा १०६० दिन जनताका लागी संविधान बनाई दिने जनादेश पाएका खासगरी प्रमुख तीन दलले आपसी द्वन्द्वलाई प्राथमिकतामा राखेर यी महत्वपूर्ण समय विताई हाले । जनतालाई सफाई दिन यतिका दिनमा यीनीहरूले प्रशस्त कारणहरू बटुलि सकेका छन । देशले कुनै न कुनै संविधान पाउँछ नै । देश संविधान विहिन अवस्थामा रह्न सक्दैन, तर जनचाहना बमोजिमको संविधान बनाउन अब भन्नु पर्दा यिनीहरू असफल नै रहे ।
जनादेश विपरित सत्ता प्राप्तिलाई आफनो लक्ष्य ठानेका राजनीतिक दलहरू शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता अहम सवाललाई महत्व न दिएकाले यी सवालहरू जो जनताको समस्यालाई समाधान गर्न सक्थ्यो, समाधानको प्रक्रियामा गएन, अथवा भनूँ जान दिइएन । व्यक्तिवादी, दलीय स्वार्थले प्रश्रय पायो र गतिरोधको तीव्रताले २०६६ जेठ १४ को सहमतीलाई पनि धरापमा पारेर सहमतीको अस्तित्व नै मेटायो जस्तो लाग्छ ।
सत्ता प्राप्तिका लागि अतिशय गलत प्रवृतिको प्रयोग र गतिविधीले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूलाई प्रभावित गरयो र नेपाली राजनीतिमा उनको महत्वपूर्ण उपस्थितिले कसैलाई फायदा भयो कसैलाई हानी, तर देश र जनतालाई घाटा नै देखा परि रहेको छ । नेपालको राजनीतिक स्थिति चर्कने सम्भावना प्रबल रूपमा बढेको प्रबुद्घ वर्गले गर्न थालेका छन । देशलाई हाँक्ने यीनै राजनीतिक दलहरू हुन । अहिले देशको बिग्रिदै गई रहेको अवस्थालाई राष्ट्रिय सहमती नै निकाश दिने एकमात्र बाटो हो । यस बाहेक देशको बिग्रेको अवस्थालाई नियन्त्रण गर्न सक्ने क्षमता कुनै पार्टीमा छैन । विविध विचार भएको राजनीतिक दलहरू देशको समस्याको सवालमा सबैको एकीकृत विचार बन्नु नै राष्ट्रिय सहमती हो । एक अर्कालाई गलाउने अभ्यासमा कुप्रवृति यति मात्रामा जन्मि सकेका छन कि यसले राजनीतिक पार्टीलाई पूर्वावस्थामा ल्याएर सहमती हुन दिने अवस्था देखिदैन, र विदेशी शक्तिहरूलाई नराम्रोसंग प्रभावित गरेका कारणले उनको उपस्थितिले राष्ट्रिय सहमती गराएर देशको समस्यालाई सहजीकरणको दिशामा लैजान सहयोगको आशा पनि गर्न सकिन्न ।
माओवादी र सरकारबीच भएको २०६३ मंसीर ५ गतेको सम्झौतालाई माओवादीले “आमूल परिवर्तनको दिशामा पहिलो कदम”को रूपमा लियो भने सरकारले “माओवादीलाई लोकतान्त्रिक पद्घतिमा रूपान्तरण गरि सुधारोन्मुख राज्य व्यवस्था कायम गर्ने” भन्ने मानसिकताबाट राजनीति अगाडी बढयो । फरक मानसिकताको ध्रुवीकरणमा परिवर्तनको स्पष्ट रूपरेखा मधेश आन्दोलनले तयार पारयो – संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल । मधेश आन्दोलनको विपक्षमा उभिएको माओवादीलाई राजनीतिक लाभ नै दिलायो मधेश आन्दोलनले । फरक मानसिकताको ध्रुवीकरण गिरिजा प्रसाद कोईराला जिउदै भंग भयो, तर पनि सहकार्य भने भई नै रह्यो । गिरिजा प्रसाद कोईरालाको अवसान पछि यी दुई फरक विचारले भिडन्तको अनुकूल वातावरण पायो । दुबैले एक अर्कालाई गलाउने रणनीति बनाए । सोही अनुरूप लडाई जारी छ ।
देशको सबैभन्दा ठूलो पार्टी माओवादी एमालेलाई समर्थन दिएर सरकार बनाउन सहयोग गरेर जुन प्रशंसा कमायो, सरकारमा सहभागी हुन मन्त्रीको नाम महिनौं विति सक्दा पनि दिन नसक्नुले देशलाई परिवर्तन गराई छाडने प्रतिबद्घता खोक्रो नारा जस्तै लाग्छ । अवसर पाए पनि अवसरको सदुपयोग गर्न नसक्नु शक्ति क्षीण हुनुको संकेत त होइन ? बैशाख ७ गते पोलिट ब्यूरोको बैठकले “अहिले विद्रोहको होइन, शान्ति स्थापना तथा संविधान निर्माणको आवश्यकता छ” भन्ने सकारात्मक निर्णय गरेको छ तर यसलाई केन्द्रिय कमिटिले के गर्छ ? समयको माँग बमोजिमको अहिलेको निर्णय समसामयिक रहेकोले सराहनीय छ । जनताले शान्ति स्थापना, संविधान निर्माणको जनादेश दिएको छ । त्यो अवसर गुम्यो भने, जनताले पनि माफ गर्दैन र आउने समयमा को कुन अवस्थामा रहने त्यो कुरालाई विर्सनु हुन्न ।
लोकतान्त्रिक पद्घतिमा आई सकेपछि आमूल परिवर्तनको मानसिकताले सबै व्यवहार र शंकालु गतिविधिलाई बढावा दिने भएकोले गतिरोध बढेर जान्छ । सम्झौतामा सह अस्तित्व कायम रहने हुनाले आमूल परिवर्तनको प्रक्रिया अगाडि बढनै सक्दैन, अर्थात भनू अरू राजनीतिक दलले अगाडि बढनै दिन्न । कुनै बेला एमाले पनि ठूलो क्रान्तिकारी शक्तिको रूपमा नेपालको राजनीतिमा उदाएको थियो । कालान्तरमा ऊ राजा, काँग्रेस र माओवादीको समान रूपको मित्र बनेको देखियो । आमूल परिवर्तनको दिशामा हिंडेको एमाले आफैलाई आमूल परिवर्तन गरयो । माओवादीले वर्तमान आवश्यकतालाई महत्व दिएन भने समयले पनि माओवादीलाई महत्व दिदैन, स्पष्ट छ ।
२०६८ बैशाख ९ गते मधेशवाणीमा प्रकाशित
