राजनीतिक दलहरूको निम्न स्तरको राजनीतिक सोचका कारण नेपाली राजनीतिमा उत्पन्न राजनीतिक गतिरोध बढाउनमा दलहरू जति सक्रियता देखायो, त्यसका परिणाम स्वरूप देशको राजनीति सहजतातिर होइन, विनाशतिर उन्मुख हुँदै गई रहेको देखिन्छ । सत्ता लिप्साले राजनीतिक दलहरू बीचको आक्रामक संघर्षलाई मात्र बढाएको छैन, प्रत्येक राजनीतिक दलहरू अन्तर संघर्षको पीडा भोगी रहेको छ । देश हरेक क्षेत्रवाट पीडित र गलित भई रहेको छ । राष्ट्रिय सहमतिको नाममा देशलाई कंगाल बनाउने बाहेक केही गरेको देखिदैन । जनभावना र जनादेश विपरित मिथ्या संघर्षमा समय बिताएका यी राजनीतिक दलहरूको पकड बाहिर जान लागेको देशको राजनीतिलाई नियंत्रणमा लिएर सहज अवतरण गराउने के उपाय हुन सक्दछ, त्यो सम्बन्धको चिन्तनमा लाग्नु वेश हुने थियो । पारस्परिक हठवादी चरित्रको अस्वस्थ प्रतिस्पर्धाका कारण लामो समयदेखि देशलाई बन्दी बनाएपछि राजनीतिक गतिरोधले राजनीतिक दलहरूलाई कमजोर बनाएको छ भने अन्तराष्ट्रि शक्तिकेन्द्रलाई पनि खुलेआम आमन्त्रण गरेको छ । राजनीतिक दलहरूको अकर्मण्यता र उच्च महत्वाकांक्षाले देशलाई कमजोर बनाउदै लगे पछि लोकतन्त्रबाट परतन्त्रमा जान कति बेर लाग्ला ? अथवा उपनिवेशमा रूपान्तरण हुन कति बेर लाग्ला ? शक्तिकेन्द्रका प्यादा बनेका राजनीतिक दलहरूले देशको राजनीतिमा शक्तिकेन्द्रको प्रत्यक्ष उपस्थिति आमन्त्रण गरेर आफनो निकम्मापनको प्रदर्शन गर्नुको सट्टा आफनो मौलिक धरातलमा सहमतीको राजनीतिद्वारा देशलाई निकाश दिनु नै बुद्घिमानी हुनेछ ।
अर्काको भरमा आफनो देशको राजनीति गर्नु देशलाई बन्धक बनाउनु सिवाय अरू केही हुँदैन । पृथ्वी नारायण शाहले भनेको “ हाम्रो देश दुई ढुँगा बीचको तरूल हो ” भन्ने यथार्थलाई बिर्सिएर आफनो आफनो स्वार्थलाई स्थापित गर्न शक्तिकेन्द्रलाई गुहार्नु निश्चय पनि स्वस्थकर राजनीति होइन । अनावश्यक रूपले शक्तिकेन्द्रलाई प्रभावित गरेर आफनो स्वार्थ अनुकूल सक्रिय पार्नु राजनीतिक दलहरूको बौद्घिक दिवालियापन नै ठहरिन्छ । चीन र भारत हाम्रा अन्तरंग मित्र हुन । कूटनैतिक मर्यादा र सुमधुर अन्तर्सम्बन्ध कै सन्तुलनको आधारमा दुबै देशसंग हाम्रो मित्रता कायम छ । कमोवेश सम्बन्धले असन्तुलन ल्याइने हुँदा मित्रता सम्बन्धको सन्तुलनको सम्बेदनशीलतालाई बनाई राख्नमा नै हितकर हुनेछ । यसलाई असन्तुलित पार्ने प्रयास निश्चय पनि राष्ट्रको हितमा छैन ।
अहिले मित्रता सम्बन्धको असन्तुलन नेपाली राजनीतिमा स्पष्ट रूपले देखा परि रहेको छ । राजनीतिक दलहरूले संयमित रूपले यसबारे चिन्तन थाल्न आवश्यक देखिएको छ । सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै मौलिक राजनीतिक धरातलमा सहमतीद्वारा देशको समस्या समाधान गर्ने दिशामा राजनीतिक दलहरू अगाडी बढनु पर्दछ । यो नै हितकर बाटो हो ।
जनमुखी संविधान निर्माण गर्ने जनादेश पाएर जनताका लागि ठूला ठूला कुरा गरेर प्रतिबद्घता जाहेर गरेर नथाक्ने राजनीतिक दलहरूको समय अन्त हुन लाग्दा पनि संविधान बनाउन दिशा ध्यान केन्द्रित नरहेको कारणले राजनीतिक दलहरू फटयाईको राजनीतिमा लागेको जनताले बुझन थालेका छन । संविधान सभालाई अब ७० दिन मात्र बाँकी रहँदा पनि राजनीतिक दलहरूबीचको अविश्वासले जन्माएको राजनीतिक गतिरोधका कारण संविधान निर्माण प्रक्रिया अवरूद्घ छ र संविधान बन्न नसक्ने सम्भावना प्रवल देखिएको छ । देशमा विद्यमान संक्रमणकालीन समस्याप्रति दलहरू संवेदनशील बन्न नसकेको र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान नचाहने शक्तिको सक्रियताले देशमा कस्तो परिस्थिति आउला सहजै अनुमान गर्न सकिन्छ । प्रधानमन्त्रीले सपथ ग्रहण गरेको १५ दिन बिति सक्दा पनि सरकारले पूर्णता पाई सकेको छैन । पार्टीहरू अन्तर्संघर्षका कारण मन्त्रीहरूको नामावली दिन सकि रहेको छैन । समय बित्दै गई रहेको छ । दलहरू बीच विश्वास रत्तिभर छैन । विवादै विवादमा फँसेको छ दलहरू । राजनीति अराजकतक व्याप्त छ । संविधान चाहने नचाहने बीचको संघर्ष चरममा पुगेको स्थिति छ । संविधान नचाहने शक्ति प्रवल रूपमा बढदै गई रहेको अवस्था छ । माओवादी गठबन्धनको एमाले नेतृत्वको सरकारको गणितीय समीकरणले स्थिर सरकारको चित्र देखाए पनि सरकारले पूर्णता पनि पाउन नसक्नु हास्यास्पद कुरा भएको छ । दलहरूको कमजोरी स्पष्ट देखाउँछ । संख्यात्मक रूपले सबल रहे तापनि गतिरोधका कारण दलहरू कमजोर भएको छर्लङ छ । राजनीतिक दलहरूको दलीय स्वार्थनीति र शक्तिकेन्द्रहरूको प्रत्यक्ष सक्रियताले देशको राजनीतिलाई दुषित बनाएको कारणले देशमा राजनीति शून्यता आएको छ । अझ पनि राजनीतिक दलमा चेत खुलेको छैन । देशमा बढदै गई रहेको हरेक क्षेत्रको समस्यालाई आफनो बलबूद्घि भएपनि समाधान गराउन शक्तिकेन्द्रमा धाउने मनोबलहीन राजनेताहरूलाई छिट्टै सदबुद्घि आओस । जनताले दिएको ऐतिहासिक अभिभारा समय मै पुरा गरोस, मेरो शुभकामना छ ।
२०६७ चैत ४ गते मधेशवाणीमा प्रकाशित
