मुक्तिका गीत गाउने युवाहरु

अनन्तकालदेखि शोषण र उत्पीडन झेल्दै आएको मधेशी समाजलाई रूपान्तरणको प्रक्रियामा लैजान समय समयमा मधेशका युवाहरूले जडवत समाजलाई अग्रगतितिर धकेल्न थालेका प्रयासहरूलाई बिर्सनु हुन्न । ‘बाघ र क्रान्तिकारी कसैको सहयोगको अपेक्षा गर्दैन’ भने जस्तै दुर्गानन्द झाले पनि १९ वर्षे कलिलो उमेरमा नाफा नोक्शान केही नसोची मधेशमाथि शोषण, उत्पीडन लादने सामन्ती राज्यसत्ताका नाईके राजा महेन्द्रमाथिको बम प्रहार र आफनो गिरफतारी दिएर निश्चय पनि मधेशलाई जगाउन साहसिक कर्त्तव्य निर्वाह गरेका थिए । मधेशको हक, अधिकारका लागि बलिदान गर्ने दुर्गाननद झा (२०२०), कामेश्वर मण्डल (२०२९), कुशेश्वर यादव (२०२९), मिथिलेश दूबे (२०३६), श्रीधर ठाकुर (२०४२), साकेतचन्द्र मिश्र (२०४२), डा० लक्ष्मी नारायण झा (२०४२), दिलिप चौधरी (२०४२) उदयशंकर मण्डल (२०४६), रामविलास ठाकुर (२०४६) लगायत धेरै युवाहरू थिए ।सामन्ती अधिनायकवादी पंचायतीका जाज्वल्यमान शासन व्यवस्था विरूद्घ यी युवाहरू बलिदानी संघर्षका शंखनाद गरेका थिए । आफनो रगतको आहूति दिएर स्वाभिमान पहिचानका लागि मधेशलाई उठन आह्वान गरेका थिए ।
समय समयमा मधेशका वीर सपूतहरूको शहादतले ‘मधेश विद्रोह’ को सम्पूर्ण तयारी पूरा गर्न इतिहास रच्दै थियो भने मधेशी समाज जागरणको परिपक्वतामा आएर बलिदानी गीत गुनगुनाई रहेको थियो । समाज विकासको सिद्घान्त अनुसार परिवर्तनको क्रममा पूर्ववर्त्ती समाजबाट नयाँ समाजमा रूपान्तरण हुने शाश्वत नियम बमोजिम मधेशी समाजले पनि विद्रोहको माध्यमले २०६३ माघ २ गते सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियालाई अगाडी बढाउने उद्देश्यले मधेश विद्रोह गरेको हो । कुनै पनि आन्दोलन युवावर्गले नै पूरा गर्नु पर्दछ, यस ऐतिहासिक मान्यता अनुरूप विगतका वीर शहीदहरूको प्रेरणा लिएर मधेशका हजारौं युवाहरू ‘जय मधेश’का नारा घन्काएर सम्पूर्ण मधेशलाई सूत्रबद्घ गरे, आन्दोलनका बिगुल फुके र आन्दोलनलाई उर्जा प्रदान गर्न दर्जनौं युवाहरू ज्यानको बलिदान गरेर अमरत्व पनि प्राप्त गरे । रमेश महतो पहिला वीर शहीद हुन जसले मधेशी युवाहरूलाई हौसला बढायो र आन्दोलनलाई उत्कर्षमा पुर्‍यायो । शहादत दिने दर्जनौं वीर शहीद तथा सयकडौं घाईतेको प्रेरणाले अन्ततोगत्वा मधेश आन्दोलनले परिवर्तनको खाका कोर्‍यो – संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल !
परिवर्तनका संबाहक युवाशक्ति भएकोले समाज रूपान्तरणको सबै चरण यसैले पूरा गर्नु पर्दछ । युवावर्गको असल व्यवस्थापन, परिमार्जन र कार्यान्वयनमा नै असल समाजको बिम्ब परिलक्षित हुन्छ । मुक्ति आन्दोलनदेखि लिएर समाज विकास, समृद्घि र स्थायित्व सम्म युवावर्गको अहम भूमिका हुन्छ ।
सिरहाका वीर शहीदहरू रमेश महतो, प्रमोद सदा, बेचन यादब, विजय सहनी, अनीस राईन, मोरङका शहीदहरू तल्लु हस्दा हेमरम, सदानन्द यादब, निर्मल राजबंशी, राजकुमार कामत, दिनदयाल मण्डल, बेचन मियाँ, सुन्सरीका शहीदहरू श्याम सुन्दर मेहता, हरि मेहता, रामस्वरूप मेहता, अनिल ऋषिदेव, भगवती मण्डल, विस्कुट मियाँ, सप्तरीका शहीदहरू लखन साफी, जितेन्द्र मरवैता, राजेश यादब, भगवती मण्डल, रामानन्द मेहता, गुल्टेन दास, छुतहरू मुखिया, भुल्की यादब, गंगा दास, धनुषाका शहीदहरू कारी ठाकुर, शिवशंकर यादब, बह्मदेव ठाकुर, राजेश ठाकुर, महात्तरीका शहीद कैयूम दफाली, सर्लाहीका शहीदहरू आशिफ अली मिकरानी, दिनेश राय यादब, रामनारायण साह, राम एकबाल राय, संजय कुमार राय यादब, जिवधारी यादब, बाराका शहीदहरू शेष अब्दुल असरफ, मजिद महम्मद मंसूर, जमिर आलम, पर्साका शहीदहरू दिपेन्द्र साह, महावीर साह, विरवल मुखिया, रूपन्देहीका शहीदहरू भगवती यादब, असलम पठान, चन्द्रिका यादब, बाँकेका शहीदहरू कोइली कोरी, खोडहे गोरिया, तुलाराम तिवारी, काशीराम हरिजन, माता प्रसाद वर्मा, गुल्जार खाँ, कमल गिरी, नवलपरासीका शहीद जगदीश पासवान तथा बर्दियाका जिलेराम यादब, यी ५५ जना शहीदमा ५० जना युवाहरूले नै शहादत दिएका छन ।
सयकडौं युवाहरू गोली लागि घाइते र अपाङ अवस्थामा कुनै राहत सुविधा नपाएर पीडा भोगी रहेका छन । मधेश आन्दोलनको चौथो वर्षको माघको शुभ अवसर पारेर ज्ञात अज्ञात आज सम्मका सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्घाँञ्जली अर्पण गर्दै घाइते, अपाङ महोत्तरीका विजय ठाकुरदेखि बाँकेका गुडडू हलवाई सम्मको पीडाले मधेश आन्दोलनको सपनामाथि भई रहेको कुठाराघातको विरूद्घ युवावर्गलाई ठूलो प्रेरणा मिलोस यही मेरो शुभकामना छ ।
(२०६७ माघ २१ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!