नेपालमा लिच्छवीहरूको प्रवेश र यिनका उद्गमस्थल

लिच्छवीहरूको पहिचान वैशाली गणराज्यबाट देख्न पाइन्छ । लिच्छवीवंशबारे भारतीय इतिहासकारहरूमा विभिन्न मत छ । कसैले यो तिब्बतबाट आएको मंगोलियनवंश मानेको छ भने कोही आर्यवंशको क्षत्रियको रूपमा वर्णन गरेको छ । आर्य क्षत्रिय (इक्ष्वाकुवंश) को रूपमा लिच्छवीलाई चित्रित गर्न धेरै विद्वानको मतैक्य देखिन्छ । शाक्यवंशी गौतम बुद्धको मृत्युपछि अस्थि अवशेष लिन मल्ल र लिच्छवीले गरेको दाबाबाट पनि उनी क्षत्रिय भएको वर्णन धेरै इतिहासकारले गरेका छन् । लिच्छवीहरूको वैशालीमा शक्तिशाली गणराज्य रहेको कुरा प्रमाणिक रूपमा स्पष्ट हुन्छ । प्राचीन भारतीय परम्परा और इतिहास, पृष्ठ ४२४ मा राँगेय राघवले लिच्छिवी र मल्ल बशिष्ठ गोत्री थिए भनेर लेखेको छ । कोलिय, लिच्छवी र शाक्यमा धेरै निकटतम सम्बन्ध थियो । लिच्छिवी परम्परामा भाइ बहिनी (सहोदर)का सन्तान थिए (उही, पृष्ठ ४२६) ।

     रामायण अनुसार वैशालीको स्थापना इक्ष्वाकु पुत्र विशालले गरेको थियो । विष्णु पुराणले इक्ष्वाकुको त्रिविन्दुले वैशालीको स्थापना गरेको भनेको छ । जेहोस, वैशाली इक्ष्वाकु वंशीयले स्थापना गरेको प्रमाणित हुन्छ । लिच्छिवीहरूको बज्जिसंघमा सशक्त गणराज्य थियो । बैशालीका लिच्छिवी गणराज्यको सशक्तताका कारण बज्जिसंघमा लिच्छिवीहरूको प्रधानता सबैले स्वीकारेका थिए । लिच्छिवीहरू हिन्दु परम्परालाई माने पनि वेदलाई मान्दैनथे । त्यसैले मनुले लिच्छिवी र मल्ललाई व्रात्य क्षत्रिय भनेको छ । यिनको गौतम बुद्ध र महावीरसंग निकटतम सम्बन्ध थियो । (राँगेय राघव, उही पृष्ठ ४२६) । लिच्छिवीहरू सुन्दर हुन्थे, सुन्दर परिधानमा सजिएर निस्कन्थे । महावस्तुमा लिच्छिवीबारे उल्लेख गरिएको छः– निलो घोडा, निलो रथ, निलो उष्णीश, निलो छाता, निलो छडी, निलो वस्त्र, निलो आभूषण, निलो लगाम, निलो कोर्रा, निलो तलवार, निलो हीरा, (निलम) निलो जूता लगाएर लिच्छिवी युवक घुम्न, शिकार खेल्न तथा बुद्धको उपदेश सुन्न संथागारमा उपस्थित हुन्थे ।

     लिच्छिवी वैभवशाली भएपनि मिहिनेती थिए । बुद्धले लिच्छिवीबारे भनेको छः– “हे भिक्खओ ! लिच्छिवी काठको तकिया लगाएर सुत्छन् । परिश्रम गर्छन् । संगठित छन् । सजग छन् । वैदेही पुत्र मगधराज अजात्शत्रु लिच्छिवीलाई केही बिगार्न सक्दैन । यदि लिच्छिवी नरम ओछ्यानमा सुतेर सुस्त भयो भने यिनको हार निश्चित छ ।” अर्थात् मगधराज अजातशत्रुको वैशालीमाथि गृद्धदृष्टि स्पष्ट हुन्छ । लिच्छिवीको वैभवशाली तथा शक्तिसंग द्वेष राख्ने अजातशत्रु लिच्छिवी गणराज्यलाई मगधमा मिलाउने योजनामा तल्लीन रहन थाल्यो । विदेहको अन्तिम शासक कलार (कराल जनक)को पतनसंगै जनक साम्राज्यको अन्त भयो र विदेह बज्जिसंघको प्रभावमा गयो । लिच्छिवीहरूको बढदो प्रभाव र वैभव देखेर नै अजातशत्रु वैशालीलाई जित्न चाहन्थे ।

     मगध र वैशालीको युद्धको मुख्य कारण हीरा जवाहरात थियो । भनिन्छः मगध नरेश बिम्बिसारले वैशालीको राजा चेटककी कन्या तथा आफ्नी रानी चेल्लना (छलना) का पुत्रलाई आफ्नो प्रसिद्ध हात्ती सेचनक– अभिषेक गर्नेवाला, तथा १८ लडिवाला हीराको हार भेंट गरि दियो । राज्य प्राप्त गर्न पिताको हत्या गरेपछि कूणिय (अजातशत्रु)ले आफनो भाईहरूलाई पिताले दिएको हीरा जवाहरात फिर्त्ता गर्न भन्यो । भाईहरूले हात्ती र हीरा फिर्त्ता गर्न इन्कार गर्‍यो र भागेर आफनो हजूरबुबा कहाँ वैशाली गयो । अजातशत्रुले सहज ढंगले हात्ती र हीरा नपाएपछि उसले वैशाली नरेश चेटकको विरूद्ध युद्धको घोषणा गर्‍यो । वैशाली नरेश चेटकले पनि लिच्छिवी,मल्ल, काशी तथा कोशल लगायत १८ गणराज्यलाई अह्वान गरि भन्यो–“तपाईंहरू या त अजातशत्रुको ईच्छालाई पूरा गर्नोस् होइन भने उनको विरूद्ध युद्ध गर्न मलाई सघाउनोस् ।” चेटकको कथन अनुसार सबै गणराज्यहरू संयुक्त रूपले अजातशत्रुको विरूद्ध मोर्चा बनायो । अवन्तिको प्रद्योतले पनि आफ्नो मित्र बिम्बिसारको मृत्युको बदला लिन यस मोर्चामा सामेल भएका थिए । (डा० हेमचन्द्र राय चौधरी, प्राचीन भारत का राजनैतिक इतिहास, पृष्ठ १५८–१५९) ।

     वैशालीका लिच्छिवीहरूको सशक्तता भंग गर्न अजातशत्रुले आफ्नो महामात्य वस्सकार ब्राह्मणसंग सल्लाह गरि कृत्रिम वैमनष्यता देखाएर वस्सकारलाई वैशाली पठायो । बस्सकारले अजातशत्रुसंग आफनो बैर रहेको कुरा देखाएर लिच्छिवीसंग शरण पायो । आफनो प्रभावको विस्तार गर्दै वस्सकारले लिच्छिवीमा फूट डाल्न सफल भयो । वस्सकारकै सूचनाको आधारमा अजातशत्रुले वैशालीमाथि आक्रमण गरि लिच्छिवीलाई पराजित गर्‍यो ।  (राँगेय राघव, प्रा.भा.प.इ.पृष्ठ ४२८) ।

     वैशालीको युद्धमा कूणिक अजातशत्रुले महाशिलाकण्टग तथा रथमुसल यन्त्रहरूको प्रयोग गरेको थियो । महासिलाकण्टग एक प्रकारको इंजिन थियो जो ठूल्ठुला पत्थरलाई विरोधी सेनामाथि फ्याँक्ने काम गर्थ्यो । त्यस्तै रथमुसल एक विशेष प्रकारको रथ थियो जसमा गदा प्रयोग भएको थियो । रथ दौडाउँदा ती गदाहरू सैकडौं सेनालाई समाप्त पार्थ्यो । यसै युद्धमा आजीविक सम्प्रदायका गुरू गोसाल मखलिपुत्त मारियो । (डा. हेमचन्द्र राय चौधरी, प्रा.भा.प.इ.पृष्ठ १५९) ।

     केही विद्वानहरूले बज्जि गणतन्त्रको सर्वशक्तिमान शाखा, लिच्छिवीवंशलाई विदेशी भनेर प्रमाणित गर्ने प्रयास गरेको छ । डा० स्मिथको मतानुसार उनी तिब्बती थिए । डा० स्मिथले उपयुक्त निष्कर्ष लिच्छिवीहरूको न्याय प्रणाली तथा शव संस्कारको आधारमा निकालेको हो । लिच्छिवीवंश शवको अन्तिम संस्कार जंगली जनावरमाझ फ्याँकेर गर्थे । तिब्बतको सम्बन्धमा तीन अदालतको चर्चा छ । त्यस्तै लिच्छिवीहरूको सात अदालत थियो । महामत्त (inquiring magistrates), बोहारिक (jurist judges), सुत्तधार (masters of sacred code), अट्ठकुलक (the eight clans, possibly a federal courts), सेनापति (general), उपराज (viceroy, vice consul), तथा राजा (the ruling chief) (प्रा.भा.रा.इ., पृष्ठ ९६, डा० हेमचन्द्र राय चौधरी) ।

     मनुले पनि यो श्लोकबाट लिच्छिवीहरूलाई क्षत्रियवंश स्वीकार गरेको छ : झल्लो मल्लश्च राजन्याद् व्रात्यान् निच्छिवीरेव च नटश्च करण्श्चैव खसो द्रविड एव च । भारतमा प्रविष्ट गरेर ब्रह्मण–धर्म तथा ब्राह्मण विधिहरूलाई नमान्ने विदेशीलाई क्षत्रियको कोटिमा राखिन्न्थ्यो । यो निष्कर्षले पनि लिच्छिवीलाई विदेशी ठहराउन सकिदैन । क्षत्रियवंशको रूपमा लिच्छिवीहरू प्रमाणिक रूपमा स्वीकृत रहेको छ । लिच्छिवीहरू हिन्दूको रूढिवादी परम्पराको समर्थक थिएन । उनमा बौद्ध र जैन परम्पराको गहिरो प्रभाव थियो । त्यसैले उनलाई व्रात्य भनेर निम्नकोटिमा मानिएको थियो ।

     लिच्छिवीवंशको स्थापनाको तिथिबारे भारतीय इतिहासकार मौन देखिए तापनि छैठौं शताब्दिको उत्तरार्द्धमा महावीर तथा बुद्धको समयमा यो समृद्धशाली देखिन्छ । आगामी शताब्दि यसको पराभवको युग थियो । बौद्धग्रन्थहरू अंगुत्तर निकाय निपात तथा मज्झिम निकायमा लिच्छिवी राजाहरू – अभय, ओट्ठद्ध (महालि), सेनापति सीह एवं अजित, दुम्मुख र सुनक्खत्तको नाम पाइन्छ (डा० हेमचन्द्र राय चौधरी, प्रा.भा.रा.इ.पृष्ठ ९७) । लिच्छिवी राजा महालि र कोशल नरेश पाटलिग्राममा संगै पढेका थिए । महालि शिल्पकला सिकेर ५०० युवाहरूलाई शिल्पकलाको ज्ञान दिएका थिए, (राँगेय राघव, प्रा.भा.प.इ. पृष्ठ ४२७) ।

     बुद्धको निर्वाणको तीन वर्षपछि (४८० ई०पू०) मगधको अजातशत्रुले लिच्छिवी प्रजातन्त्रलाई समाप्त गरि दियो, (राँगेय राघव, प्रा.भा.प.इ., पृष्ठ ४३०) । लिच्छिवी साम्राज्य समाप्त भएपनि लिच्छिवीको परम्परा भने कायम नै रह्यो । आफ्नो पराजय स्वीकारेर पनि राज्यको सशक्त संगठन कायम राख्न लिच्छिवी सफल नै देखियो ।

     एकपण्ण तथा चुल्ल कालिंग जातकको आरम्भिक अध्यायमा उल्लेख गरिएको छ कि लिच्छिवी राजवंशको कूल संख्या ७ हजार ७०७ थियो । यसको अतिरिक्त सेनापतिहरू, प्रतिनिधीहरू तथा कोषाध्यक्षहरूको संख्या पनि उत्तिकै थियो । धम्मपद टीकाले लिच्छिवी राजवंशको संख्या ६८००० उल्लेख गरेको छ । यो संख्याले लिच्छिवीहरूको शासकको संख्या अत्यधिक थियो भन्ने देखाउँछ । प्रशासनक उत्तरदायित्व खासगरि विदेशनीतिका दायित्व त राज्यको ९ गणराजाहरूको एउटा विशेष समितिमाथि निर्भर थियो । जैन कल्पसूत्र अनुसार ९ लिच्छिवी शासकहरू, ९ मल्ल प्रतिनिधीहरू तथा काशी र कोशलको १८ वंशाधिपतिहरूले एउटा संगठनको निर्माण गरेका थिए । यो संगठन मगधको विरोधी थियो । निरयावली सूत्रबाट थाहा हुन्छ कि कुनै बेला यो संगठनको नेतृत्व चेटक नामको राजाले गरेको थियो । यही चेटक राजाको बहिनी त्रिशाला महावीरकी माता थिईन र यसैको कन्या चेल्लाना      (छलना) अजातशत्रुकी आमा थिईन (डा० हेमचन्द्र राय चौधरी, प्रा.भा.रा.इ. पृष्ठ ९८) ।

२०६९ श्रावण १२ गते मधेशवाणी साप्ताहिकमा प्रकाशित 

Leave a Comment

error: Content is protected !!