सुधारको दिशामा नेपाल भारत सम्बन्ध

धर्म, संस्कृतिको भावनासंग जोडिएको नेपाल भारत सम्बन्ध आदिकालदेखि प्राकृतिक रुपमा कायम रहि आएको यथार्थलाई यो र त्यो बहानामा नकार्न मिल्दैन । ठूलो सानोको अन्तरले पनि नेपाल भारतको मैत्री सम्बन्धलाई फरक पारेको छैन । नेपाल आफ्नै प्राकृतिक महत्वको आधारमा सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको रुपमा आफ्नो अस्तित्व अक्षुण्ण राखेको छ । दुई महाशक्ति (भारत र चीन) देशबीच सर्वोच्च हिम श्रृँखला र प्राकृतिक सौंन्दर्यले सजिएको नेपाल विश्व सामू आफ्नै महत्वका कारण अस्तित्वमान छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल भ्रमणमा रहँदा नेपालको महत्वलाई बुझ्दै “नेपाल बिना भारत अधुरो छ” सार्वजनिक रुपमा आफ्नो उद्गार प्रकट गरेका छन् । वास्तवमा नेपाल भारतको भावनात्मक सम्बन्धलाई दुबै देशको भौगोलिक सीमाले पनि प्रभाव पार्न सकेको छैन ।

विगत केही वर्षदेखि नेपाल भारत सम्बन्धमा परिस्थितिवश आएको कटुताले दुबै देशबीच राजनीतिक तनाव बढेको दुबै देशले महसूस गरेका छन् । नेपालका प्रधानमन्त्रीले पनि संसदमा विगत ३ वर्षदेखि भारतसंग सम्बन्ध बिग्रेको भन्ने कुरा स्वीकारेको छ । नेपाल भारतबीच सम्बन्ध सुधार्नु पर्ने आवश्यकता सरकारी स्तर, निजीक्षेत्र तथा जनस्तरमा व्यापक रुपमा महसूस भई रहेकोले दुबै देशका प्रधानमन्त्री भ्रमणका दौरान पारस्परिक रुपमा सम्बन्ध सुधार्ने प्रयास पनि गरेका छन् ।

नेपाल भ्रमणमा आएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मीय स्वागत र सत्कारमा प्रदेश सरकार र संघीय सरकारले कुनै कमी राखेन । बडो आत्मीयताका साथ जनकपुर उपमहानगरपालिका र काठमाण्डौं महानगरपालिकाले विकासको साँचो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नहिच्किचाईकन जिम्मा लगाएका छन् । बडो आत्मीय ढंगले संघीय सरकारले नरेन्द्र मोदीको स्वागत गर्दा नेपाल भारतको सम्बन्ध पुनश्च गहिरो मैत्री सम्बन्धमा विकास हुनेमा किञ्चित शंका छैन ।

भारतसंग विगतमा रहेको रुष्टतालाई पन्छाएर संघीय सरकारले भारतसंग पूर्ववत् मैत्री सम्बन्ध बनाउन देखाएको सदाशयता निश्चय पनि उदाहरणीय छ । केही असामाजिक तत्वहरुको विरोध हुन सक्ने आशंकामा कतिपयलाई नियंन्त्रणमा लिनु, विरोधका नारा लेखी राख्ने व्यानरहरु हटाईनु, लम्पसारवादी, भारतीय दलाल आदि आलोचनात्मक वाक्याँश सहेर पनि संघीय सरकारले भारतीय पाहुनाप्रति देखाएको आत्मीय व्यवहारबाट कटुताको सीमारेखा मेटिएको अनुमान गर्न सकिन्छ । आफ्नोतिरबाट सम्बन्ध सुधार्न कुनै कमी नराखेको संघीय सरकार अब भने भारतलाई पर्खेर बसेको छ ।

नेपाल भारत सम्बन्धमा आएका कटुताबारेका केही त्रुटिहरु

(१) नाकाबन्दीः– सरकारमाथि कठोर दबाव सृजना गर्ने उद्देश्यले मधेशले नाकाबन्दी आन्दोलन शुरु      गरेको थियो । यही बेला भारतमा विधान सभाको चुनावका कारण वोर्डरमा कडाई गरिएको थियो । लामो समयदेखि मधेशमा चलि रहेको अधिकारवादी आन्दोलनको जायज माँगप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समर्थन देखाएका कारण तत्कालीन नेपाल सरकार भारतसंग रुष्ट भई नाकाबन्दी भारतले गराएको भनेर भ्रम पाले । आपसी समझदारीबाट समस्याको समाधान गर्ने प्रयासको अभावमा  विरोधका स्वर चर्किदै गएका कारण नाकाबन्दी लम्बिएको हो । भारतले नाकाबन्दी लगाएको न कुनै कारण थियो, न समाप्त गर्ने कुनै कारण । फलतः नेपाल भारत सम्बन्ध अनावश्यक रुपमा कटु बन्दै गयो ।

(२) पारस्परिक विश्वसनीयताको अभावः– भारतले नेपाललाई एकतर्फी रुपमा हेर्दै आएका कारण गर्ने अथवा नगर्ने अवस्थामा पनि नेपाल आफ्नो समर्थनमा रह्ने मान्यता राखेको छ । भारतको कथनी र करनीमा कुनै तालमेल नरहेको कारण भारतले हात हालेको विकास निर्माणका कार्यहरु जहाँ अधुरा रहेको छ भने भारतले घोषणा गरेको सहयोग रकम प्राप्त हुन पनि कठीन रहेको छ । भारतले नेपाललाई हेर्ने परम्परागत दृष्टिकोणमा किञ्चित फरक न ल्याएको अवस्थामा भारतप्रति नेपालको विश्वास विस्तारै कम हुँदै गएकोले सम्बन्धमा कटुता बढ्न थालेको सहजै अनुमान गर्न सकिन्छ । सम्बन्धको कटुताले दृष्टिकोण फरक रहेकोले अपेक्षाकृत रुपमा नेपाल पनि प्रस्तुत हुन नसकेका कारण पारस्परिक विश्वास हटेकाले तनावको स्थिति सृजना भयो ।

(३) नेपालको विकासमा चीनको चासोः– समृद्धशाली चीन ठूलो अर्थतन्त्र भएको देश हो । संसारभरि आफ्नो प्रभाव फैलाउने रणनीति लिएको चीन दक्षिण एशियाका ससाना देशहरुलाई आफ्नो प्रभावमा लिने चीनको रणनीति नै हो । अविकसित नेपालमा चीन विकासका एजेण्डा लिएर प्रवेश गर्नु कुनै अस्वाभाविक पनि छैन । भारतको विश्वसनीयता हटि रहेको अवस्थामा चीनसंग सम्बन्ध बनाउनु नेपालको बाध्यता पनि हो । यसरी नेपालमा संविधान सभाको स्थापनाकालदेखि चीनको सक्रिय उपस्थिति देखिएको हो । चीनले हातमा लिएको कामलाई निर्धारित समयमा पूरा गरि हस्तान्तरण गर्दै आएको कारणले चीनको विश्वसनीयता बढेर गएको हो । भारतको प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदी उदाएको अवस्थामा नेपाल चीनको प्रभावमा रमाई रहेको थियो । विकासका ठुल्ठूला परियोजनाहरु चीनसंग सम्झौता भई रहेको अवस्थामा भारतलाई वेवास्ता गरिएका कारण पनि सम्बन्धमा कटुता आउने एउटा कारण हो । नेपाल सन्दर्भमा भारत चीनको प्रतिस्पर्धी बन्न सकेन । तर नेपाल चीनको प्रभावमा गएको रुचाएन ।

चीन कै सहयोगमा बाम गठबन्धन चुनावमा यति धेरै सीट ल्याएर लीडिङ पार्टीको रुपमा स्थापित भएको छ । बहुमतको स्थाई सरकार बनाएर देशलाई विकासतिर अग्रसर गराउने लक्ष्यको सामू युरोपियन युनियनको नकारात्मक प्रवेश, भारतसंगको कटुता ठूलो चुनौतीको रुपमा उपस्थित रहेकोले नेपालको वर्तमान सरकार भारतसंग सम्बन्ध नबनाई निर्वाध चल्न नसक्ने अवस्था देखेर मोदीको न्यानो स्वागतमा जुटेको देखियो । भारतसंग सम्बन्ध सुधार्ने नेपालको बाध्यता पनि हो ।

(४) भारतको दृष्टिकोणमा परिवर्तन आवश्यकः– बदलिएको परिवेशमा पनि भारतले नेपाललाई हेर्ने परम्परागत दृष्टिकोणमा कुनै परिवर्तन ल्याउन सकेको छैन । नेपाल भारतमाथि प्राकृतिक रुपले निर्भर रहे तापनि प्रतिस्पर्धी रुपमा नेपालमा आफ्नो उपस्थिति दिन नसकेको कारण नेपाल टाढिएको हो । नेपालमा चीनको प्रभाव बढि रहेको अवस्थालाई दृष्टिगत गरि कतिपय कूटनीतिक नियोगका अवकाश प्राप्त व्यक्तित्वहरुले भारत सरकारलाई नेपाललाई हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्त)न गर्नु पर्छ भनेर लेखमार्फत सुझाव दिंदै आएका छन् । जिम्मेवार छिमेकीको हैसियतको भूमिका नरहेको कारण नेपाल उदासीन बन्दै गएको हो । अब नेपालमा चीनको हस्तक्षेपकारी भूमिका स्थापित भई सकेकोले नेपाललाई कसरी विश्वासमा लिने भन्ने दृष्टिकोण बनाउन भारतका लागि आवश्यक देखिएको छ । भारतको प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदी सत्तासीन भएदेखि तेश्रो पटक नेपाल भ्रमणमा आएसम्मको अवधिमा नेपालको राजनीतिमा आकल झुकल भारतको केही उपस्थिति देखिएपनि स्थाई रुपमा पूर्वको जस्तो सक्रियता रहेन । यसै समयमा चीनले नेपालमा आफ्नो बलियो ठाउँ बनाएको हो । भारतले चाहेको भए चुनावमा बाम गठबन्धन यति धेरै सीट ल्याउने थिएन र नेपाली काँग्रेस भित्तामा पुग्ने थिएन ।

(५) कूटनीतिक संयन्त्रको भूमिकाः– नेपालको राजनीतिमा भारतको कूटनीतिक निकायको सकारात्मक भूमिकाको अभावमा पनि नेपालमा भारत विरोधी भावना बढ्दै गएको हो । अविकसित नेपाल, भारतमाथि बढि आश्रित रह्ने भएकोले सोही बमोजिमको जिम्मेवारी बहन गर्न संयन्त्र सबल नदेखिएका कारण भावनात्मक सम्बन्धमा कटौतीको क्रम शुरु भएको हो । भारतको केन्द्रीय नीति अनुरुप कूटनीतिक संयन्त्रको भूमिका नरहेको, दुरदर्शिता नरहेको, आफ्नो मनोकाँक्षाको प्रयोग भएको, धरातलीय यथार्थको अनुभव नरहेको, राजनीतिमा अनावश्यक प्रवेश आदि विभिन्न कारणले भारतप्रतिको रुष्टता बढेको सहजै अनुमान गर्न सकिन्छ । मलाई लाग्छ, यी यथार्थहरु कर्णप्रिय नहोला तर मार्गदर्शक भने अवश्य नै बन्ने छन् ।

अन्तमा,

जसले जेजति प्रभाव बढाएपनि हिन्दू राष्ट्रको हैसियतले नेपाल भारतकै समर्थनमा जाने उसको प्राकृतिक चरित्र हो । नेपालप्रति भारतको जिम्मेवारी अहम् रहेका कारण सम्बन्ध सुधार्ने दिशामा भारतको भूमिका पनि ठूलो छ । दक्षिण एशियाका (खासगरि सार्क राष्ट्र) ससाना देशहरु भारतको बलियो नेतृत्वको खाँचो महसूस गरेका छन् तर त्यहाँ पनि चीनको नेतृत्व विकसित भई रहेको चिन्ताको बिषय हो । ठूलो राष्ट्रको हैसियतले सार्क राष्ट्रमा भारतको भूमिका पनि सबल हुनु पर्दछ । विश्वसामू नेतृत्वदायी भूमिकामा रहेको भारत आफ्ना छिमेकी देशहरु चीनको प्रभावमा जानु अशोभनीय कुरा हो । आफ्नै क्षेत्रभित्र कुशल नेतृत्वको विकास गर्ने भारतसामू ठूलो चुनौती छ ।

२०७५ जेष्ठ १ गते मंगलवार

काठमाडौँ को एउटा कार्यक्रममा प्रस्तुत

Leave a Comment

error: Content is protected !!