निस्कन चाहेको देश पुनः यथास्थितिमा धकेलिंदै

जनताबाहेक जनप्रतिनिधी लगायत देशका सम्पूर्ण संयन्त्र देशलाई लुट्दै, जनतालाई चुस्दै देशलाई कङ्गाल बनाएको अवस्थामा जनता करको भार र महँगीको मार भोग्दै जनजीविका धान्न नसक्ने अवस्थामा पुगेका छन् । साढे १३ सयको खाना पकाउने गैसलाई एक वर्ष नपुग्दै २४ सय असुल्न एनओसी दशैंलाई पर्खेर बसेको छ । आपूर्ति प्रणाली व्यवस्थित गर्न असक्षम रहेको सरकारका कारण खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य अनियन्त्रित भई आकाशिदै गएकोप्रति पनि सरकारको कुनै चासो छैन । अन्तर्राष्ट्रिय मूल्यवृद्धिको नाउँमा कृत्रिम मूल्यवृद्धिले नेपाली जनतालाई दिई रहेको पीडा पनि सरकारले अनुभूत गर्न सकिं रहेको छैन । अनुगमन गर्ने सरकारी संयन्त्र पनि दशैं खर्च निकाल्ने दावमा रहेकोले जनता सबैको प्रत्यक्ष मारमा परेका छन् ।

जनताको दैनिकी समस्याको पनि समाधान दिन नसक्ने सरकार लाज पचाएर आपूm नै देशको कल्याण गर्ने शक्ति रहेको भनेर जनतालाई झुक्याउन पछि परेको छैन । जनतामा तीनवटै राजनीतिक दलको लोकप्रियता घटेको अवस्थामा पनि आफै नेपालको भाग्य विधाता रहेको दावी गर्दैछन् । विदेशी शक्तिको इशारामा टुटेर खसेको पात झैं यता र उता भास्सिदै हिंड्ने नेतृत्व मण्डलीको मौलिक सोच भने केही छैन । पैसाका लागि सबैको इशारामा हिंड्ने भएपछि नेपालमा शक्तिकेन्द्रको स्वार्थ बाझिदा त्यसको समाधान पनि शक्तिकेन्द्रसंगै खोज्न जाने परम्पराले त्यहाँ राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता, सुशासन आदि हाम्रो मौलिक हक र स्वाभिमानको कुनै अर्थ रहँदैन । उपरोक्त सबै कुरा शक्तिकेन्द्रसंग बन्धकी रहेकोले उत्पन्न समस्याको समाधान पनि शक्तिकेन्द्र कै कृपामा निहित छ ।

देशभित्र धार्मिक द्वन्द्व, जातीय विद्वेष पैmलाएर आफ्नो स्वार्थ अनुसारको राजनीति गर्ने शक्तिकेन्द्रको निकृष्ट विचारहरु विगतमा सार्वजनिक नभएका होइनन् । जनस्तरबाट यसको विरोध भएपनि शासकलाई किञ्चित पनि फरक परेको छैन । माग्ने संस्कार भएका नेताहरु दाताको विरोधमा आउनै सक्दैन । सबै शक्तिकेन्द्रलाई नेपालको विकासमा लगानी गर्न आग्रह गर्ने नेताहरुको दिनचर्या रहेको स्पष्ट छ । चीन, भारत, अमेरिकाबीच रहेको आक्रामक अन्तर्विरोध, नेपालमा तीनै शक्तिको बराबरी उपस्थितिले के नेपालको सन्दर्भमा हितकारी हुन सक्दछ ? नेपालमा उनको उपस्थिति आपूmबाहेक अरुलाई रोक्ने हो । दुई विपरित विचार निश्चय पनि नेपाललाई सबैसंग समान सम्बन्ध बनाउन दिंदैन । चीन भारत र चीन अमेरिकाबीचको आक्रामक सम्बन्ध तनावको चरम सीमामा पुगेको छ । चीनलाई नजिकबाट हेर्न र प्रतिवाद गर्न नेपालको भूमि प्रयोग गर्ने नियतले अमेरिका बलपूर्वक नेपालमा हस्तक्षेपकारी भूमिका देखाएका छन् । नेपालमा रहेको खनिज सम्पदामाथि पनि शक्तिकेन्द्रहरुको गृद्धदृष्टि परेको छ ।

पैसाको बलमा दक्षिण एशियामा भारतको प्रभुत्व कम गर्न साना देशहरुलाई शिकार बनाउँदै चीन आफ्नो प्रभाव फैलाउन आक्रामक भूमिकामा सक्रिय छ । यस कारण भारत तनावको अवस्थामा परेको छ । श्रीलंका, पाकिस्तानलाई आफ्नो प्रभावमा पार्दै नेपालमा गहिरो जरा गाडेको चीन भारतको प्रभावलाई हटाउन चाहेको छ । पौराणिककालदेखि नेपाल भारतको प्रभावमा रहेको तथ्यलाई विस्तारवादी शक्ति चीन, भारतलाई अनेक तरिकाले घेरेर पछार्ने नियत लिएको छ । चीनले नेपालमा भारत विरोधी शक्तिहरुलाई धेरै मात्रामा बढाएर संगठित पारेको पनि छ । गरिब मुलुक भएको नेपाललाई पैसाको धेरै खाँचो छ । चर्को ऋण होस् कि अनुदान त्योसंग कुनै मतलब नराखी सहयोग लिन पछि नपर्ने हाम्रा नेताहरुलाई यसको दुरगामी के असर पर्ने कुनै चिन्ता नै हुँदैन । चीनको ऋणको कारणले देश डुब्न लाग्यो भने भारतसंग उपाय खोज्ने, अमेरिकासंग समाधान खोज्ने विकल्प राखेर सहयोग माँग्ने परम्परा त छ नि ? त्यसकारण कुनै डर नराखी सबैसंग भीक्षाटन गर्ने क्षमता बढाएका छन् ।

आज देशको दुरवस्था त्यसै भएको होइन । नेपाली काँग्रेस होस् कि एमाले कि माओवादी तीनवटै पार्टी धन कमाउने तीन दशकदेखि एउटै प्याटर्नमा हिंडेपछि देश अर्थ संकटमा गएको हो । एउटाले अर्कोलाई फँसाउन खोजे आपूm पनि पर्न सक्ने डरले कसैले कसैलाई कारवाही गर्न चाहँदैन । त्यसकारण भ्रष्टाचार निर्बाध चलेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार नै संलग्न भएको देखेर अमेरिकाको दबावमा अनुसन्धान शुरु हुँदा केही ठूला माछाहरु समातिएका छन् । राजनैतिक दबावका कारण अनुसन्धानका प्रक्रिया शिथिल भई कतिपय फाईलहरु बन्द भएका थिए । अनुसन्धानको प्रक्रिया पुनश्च चालु भएको अवस्थामा बन्द फाईलहरु खुल्न थाल्दा राजनैतिक भ्रष्टाचारी आत्तिएर अनुसन्धानमा अंकुश लगाउने. उद्देश्यले सीबीआईको टीमलाई नै सरुवा गराए । अरु न परुन् भन्ने उद्देश्यले अनुसन्धानको प्रक्रिया पुनः शिथिल पारिएका छन् ।

सबै फाईल खुल्न लागेको अनुसन्धान प्रक्रियाबाट जनतामा राजनैतिक शुद्धिकरणको आश पलाएको थियो । तर ठुलाबडा सबै कारवाहीमा पर्ने भयले अनुसन्धानलाई नै शिथिल बनाएकोबाट यो देशको भविष्य राम्रो हुने कुनै उपाय नदेखिएबाट देश पुनश्च यथास्थितिमा जाकिने निश्चित भएको छ । छुट्टै कुनै चमत्कार भएन भने यी तीनै पार्टीबाट देश आक्रान्त हुने पक्का छ ।

अन्तर्राष्ट्रिय स्तरमा विकसित भई रहेको राजनैतिक घटनाक्रमले नेपालमा पनि प्रत्यक्ष नकारात्मक असर पर्ने निश्चित छ । यी तीनवटै दलले देशभित्र जतिसुकै खिचडी पकाएपनि महाशक्ति देशहरुको पारस्परिक तनावको परिणाम नेपालले भोग्नै पर्ने अवस्था सिर्जना भएको छ । चीनको विरुद्ध नेपालमा अमेरिका र भारतको संयुक्त भूमिका रहेकोले नेपाली राजनीतिले न भारत अमेरिकालाई पछाडि धकेल्न सक्दछ न चीनलाई नै मत्थर गर्न सक्दछ । शक्तिकेन्द्रका पारस्परिक विरोधी विचारहरु एकै ठाउँमा उपस्थित भएपछि यसबाट प्रस्फुटित नकारात्मक परिणाम नेपाल कै भूमिले भोग्न पर्ने अवस्थालाई नकार्न सकिन्न ।

जेहोस्, नेपाली राजनीति चरम असन्तुष्टताको पीडा भोगि रहेको छ । यसले के परिणाम देखाउने भन्ने कुरा राजनीतिक अगुवाहरु जान्दैनन् । महाशक्ति देशहरुको इशारामा चल्ने यी प्यादाहरु कुन राजनीतिक अवस्थाको भूमिका पाउने महाशक्ति कै हातमा छ । नेपालको राजनीतिक धरातल परिवर्तन खोजेको छ । शक्तिकेन्द्र पनि यहाँको राजनीतिक धरातलको गर्भमा असन्तुष्टताको ज्वालामुखी उम्लि रहेको थाहा पाएका छन् । यथास्थितिबाट बाहिर निस्कन छटपटाई रहेको देश नयाँ बिहानीमा प्रवेश गर्छ अथवा यथास्थिति मै जाकिन्छ, हेर्न बाँकी छ ।

२०८० कार्तिक ३ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!