कति सानो हाम्रो देश नेपाल र कति धेरै बेथिति हाम्रो देशमा ? हजारौंको बलिदान दिएर ल्याएको लोकतन्त्रबाट ३४ वर्षमा कति विकास भयो कि देश एशियाको पहिलो गरिब देशको रुपमा उभिएको छ । देश अहिले धार्मिक अतिवाद, जाति अतिवाद, उग्र राष्ट्रवाद, सामाजिक सद्भाव खलबल्याउने उग्र दक्षिणपंथी अतिवाद लगायत चरम मँहगी, अनावश्यक करको व्ययभार, चरम भ्रष्टाचार तथा दण्डहीनताले देश गिजोलिएको छ ।
तथाकथित भ्रष्टाचारको सुशासनमा राजनीतिकर्मी तथा सरकारी संयन्त्र सबै सक्रिय भएपछि यहाँ बेथितिको ताण्डव शुरु भयो । शक्ति प्राप्त गर्नेले राज्य गरेका इतिहास पढ्नेहरु जन अपेक्षा तथा देशहितका कुरा सबै बिर्सेर व्यक्तिगत स्वार्थको किला बनाउन सक्रिय भए । तीन दशकभन्दा बढि समय हुँदा पनि यिनी अघाएनन् । नैतिक पतनको चरम विन्दुसम्म पनि यिनमा चेत आएन । मिलेर खाने बुद्धि त आयाृे तर मिलेर देशको लागि पनि केही गर्ने भन्ने ज्ञान पलाएन । आपूmले चलाएको शासनलाई नै सुशासन नाम दिएकाहरु अहिले जनतामा अलोकप्रिय भएपनि लाज मानेका छैनन् । छल, कपट, जाल, फरेब, धोखा यी पंचतत्वले निर्माण गरेको नेपाली राजनीति जस्तो सुकै परिणाम दिएपनि यही मान्य रहने विद्यमान तीन दलको (नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी) अभीष्ट रहेको छ ।
उपरोक्त असामाजिक तत्वले गाँजेको हाम्रो समाज र राजनीति आफैमा यथास्थितिबाट बाहिर निस्कन छटपटाई रहेको राजनीतिकर्मीबाहेक सबैले अनुभव गरेको छ । वेथितीको पीडाले गिजोलिएको अनुसन्धान संयन्त्र, पाएको अधिकार प्रयोग गरि नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको अनुसन्धानमा गिरफ्तार भएका पूर्व गृहमन्त्रीहरु, बहालवाला सचिव तथा उच्च पदस्थ व्यक्तिहरुबाट देशको सिर मात्र निहँरिएन संसार सामू देश बदनाम भयो । अझै समातिन बाँकी शिखरका व्यक्तिहरुलाई जोगाउन तथा जेलमा रहेका मन्त्रीहरुलाई बाहिर निकाल्न सरकारी प्रयास जारी छ । नैतिक पतनको यो बाहेक अर्को दृष्टान्त के हुन सक्दछ ?
दोश्रो चरणको अनुसन्धानलाई सरकारले आफ्नो अनुकूल हुने गरि अगाडि बढाएको छ । यसबाट सबै भ्रष्टहरु जोगिने छन् तर राजनीतिक धरातलमा रहेको असन्तुष्टता विस्फोटको अवस्थामा पुग्ने सम्भावना पनि प्रवल छ । देशको विद्यमान संकटग्रस्त अवस्था दृष्टिगोचर नहुने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने कुनै मनसाय नहुने दिग्भ्रमित राजनीतिकर्मीहरु जनताको कोपको भाजन हुने कुराप्रति किञ्चित पनि डर छैन । यिनले डराएर राजनीति पनि हुँदैन बुझेको छ ।
बेथितीले समाजमा अतिवादलाई जन्माएको छ । जसको परिणाम देशको अनेक कुनामा देखा परि रहेका छन् । सरकारको कमजोर पक्षले यसलाई नियन्त्रण गर्न सक्दैन । भ्रष्टहरुलाई जोगाउने रणनीति भएपनि सरकारले समाजभित्र उम्लि रहेको ज्वालामुखीलाई न शाँत गर्न न नियन्त्रण गर्न सक्षम छ । राज्यसत्तामा तस्कर र माफियाको साम्राज्य रहेको र सरकार यिनका गुलाम रहेको कुरा विकृत शासनको स्वरुपले स्पष्ट पारि रहेको छ ।
देशबाट भ्रष्टाचार र कुरीति जबसम्म निर्दयतापूर्वक अन्त गरिंदैन, देश उन्नति, प्रगतिको लयमा फर्किदैन । कमोवेश भ्रष्टाचारमा तीनवटै पार्टी सक्रियतापूर्वक संलग्न रहेकोले कसैले कसैमाथि कारवाही गर्न सक्दैन । तीन दशकदेखि सोमालियाले भोगी रहेको बेथिती, भ्रष्टाचार, लुटपाट, दण्डहीनताको विरुद्ध उठेको जनविद्रोहले आखिर त्यहाँका भ्रष्ट शासकहरुलाई तह लगाए जस्तै नेपालमा पनि भ्रष्टाचार विरुद्ध निष्पक्ष र निर्दयतापूर्वकको छानबीनको आवश्यकता छ । हुनत वर्गीय शासकको हित चिन्तक बुद्धिजीविहरु यी शासकहरुको विकल्प देख्दैन । भ्रष्टाचार गर्न जसरी यिनीहरु मिल्छन् त्यसरी नै यिनीहरु मिलेर देश बनाउने काममा जुटनु पर्दछ भन्छन ।
स्वार्थान्धतामा भास्सिएका राजनीतिकर्मीहरु सच्चिने ठाउँ नै छैन । भ्रष्टाचारमा जेल जाने मन्त्रीहरुको कारवाहीलाई बाँकी बचेका भ्रष्टाचारीहरुले राम्रो कदम मानेका छैनन् अर्थात् भ्रष्टाचार गर्नु उनीहरुको नैसर्गिक अधिकार हो बुझ्छन् । नैतिक पतनको पराकाष्ठामा पुगेका तीनबटै दल जेलमा परेकालाई बचाउन लागि परेका छन् । यिनीबाट देशको सुधार गर्ने विचार भ्रष्टाचारीहरुको मतियारका विचार हुन् जसले यसैमा टालटुले सुधार गरेर निरन्तरता दिन चाहन्छन् । यो असफल प्रयास हो ।
हे, लोकतन्त्रको विकल्प अरु कुनै तन्त्र हुन सक्दैन, यो सत्य हो । लोकतन्त्रको निहुँमा जनतालाई कष्ट दिने शक्तिको विकल्प खोज्नै पर्दछ । धेरै नयाँ तथा स्वच्छ छविका युवाहरु राष्ट्रिय राजनीतिमा उदाएका छन् । लोकतन्त्रलाई जनताको दैलोसम्म पु¥याउन जरुरी छ । लोकतन्त्रको मर्म अनुसार शासन चल्यो भने उसले स्वतः देशबाट बेथिती हटाएर सुशासन बहाल गर्छ । भ्रष्टाचारीहरुलाई कारवाहीको दायरामा ल्याउँछ । अनियमितता गरिएको अकूत सम्पत्ति राज्यकोषमा दाखिला हुन्छ । सुधारका लागि दृढ ईच्छाशक्ति चाहिन्छ जो यिनीहरुमा पाइन्न । त्यसका लागि वालेन शाह जस्तै स्वच्छ छविका युवाहरुको हातमा देशको नेतृत्व जान जरुरी छ ।
विद्यमान शासकहरुले देशको व्यवस्थापकीय प्रणाली यस्तो बनाएको छ कि यसमा यिनी तथा यिनका गुलामबाहेक कोही छिर्न पाउँदैन । नयाँ छिरेपनि शासकको गुलामी नगरि अरु केही गर्न सक्दैन । उनी पनि बाध्य भएर शासकहरुको गुलामी गरेर राज्य सुविधा भोग्न तयार हुन्छन् । नेपाली राजनीतिको यही बिडम्बना हो । यिनलाई थाहा छ, जनविद्रोह नै भयो भने भोलीका शासक पनि हामी नै हो । । संगठनात्मक शक्तिलाई कसैले विस्थापित गर्न सक्दैन । यिनी राम्ररी बुझ्छन् । त्यसकारण पनि जति सुकै गल्ती गरेपनि विकल्पमा कोही नभएपछि अहंकार रहि रहने स्पष्ट छ ।
विविधतायुक्त नेपाली सहिष्णु समाजिक संरचनालाई जसरी बिगारेर राजनीतिकर्मी अराजक अवस्था बनाएको छ र यसले यदि विद्रोह ग¥यो भने राजनीतिमा देवत्व स्थान प्राप्त गर्ने राजनेताहरु नै शिकार बन्छन् । जन आक्रोश पनि यिनीहरु कै कारण समाजमा उम्लि रहेको छ । श्रीलंकाली सरकारको अवस्था नआउला भन्न सकिन्न । मजदूर र विद्यार्थीलाई धपाएर निष्कंटक राज्य गर्ने तीनै दलका राजनेताहरु जन आक्रोशको शिकार हुनेमा कुनै शंका छैन । समाजको आक्रोशित अवस्थाले परिवर्तन अवश्यम्भावी भएको छ । यसले कस्तो स्वरुप लिने यो समयले बताउला ।
२०८० कार्तिक १७ गते मधेशवाणीमा प्रकाशित
