सुधारको नाममा बिगारिएको प्रणाली

देशको उन्नती, प्रगति जस्ता आदर्श शब्द कुनै पनि राजनीतिक दल आफ्नो घोषणा पत्रमा लेख्न छुटाउँदैन । सार्वजनिक सभास्थलमा पनि देशको समृद्धि आफ्नो पार्टीको मुख्य एजेण्डा हो भनेर भाषण ठोक्न पछि पर्दैन । खासगरि प्रतिपक्षमा रहेको बेला देशको सुधारका कुरा बढि चर्चामा आउने गरेको देख्न र सुन्न पाइन्छ । सरकारको नेतृत्व गर्न पुग्दा आदर्शका कुरा सबै बिर्सेर स्वार्थ सिद्धि नै दलहरुको मुख्य एजेण्डा हुने अहिलेसम्मको राजनीतिक अभ्यासले देखाएको छ ।

बेथितीलाई बढावा दिएर धमिलो पानीमा माछा मार्न सुखद कार्यमा रमाउनेहरुलाई आपूm गलत कार्यमा अग्रसर रहेको किञ्चित पनि पछुतो नहुने नैतिकहीन राजनीतिक दलका अगुवाहरु आज आफ्नो लोकप्रियता धाराशायी भई रहेको बेला आत्तिएको अवस्था छ । तीन दशकदेखि यी भ्रष्ट नेताहरुलाई काँधमा बोकी देशको संचालन कार्यभार सुम्पिएको अवस्थामा देश र जनता दिनानुदिन गरिब हुँदै जानुप्रति कुनै चिन्ता नहुनु यिनको निर्लज्जताको पराकाष्ठा हो ।

बेथितीको वातावरण स्वार्थ पूर्ति गर्न अनुकूलता प्रदान गर्न सहज हुने भएकोले तीनवटै दल मिलेर बेथितीलाई वैधानिकता प्रदान गरेर शासन प्रणालीको अंग बनायो । फरक फरक विचार राखेपनि स्वार्थसिद्धिमा तीनै पार्टी एकमत हुने र सबै मिलेर पालै पालो भ्रष्टाचार गरि धन कमाउने समान नियत देखियो । तीनवटै शक्तिको विकल्पमा अन्य कुनै शक्ति नरहेकोले राजनीतिमा यिनले दैवत्व प्राप्त गरेको स्पष्ट छ । राजनीतिमा आफ्नो वर्चस्व कायम रहेकोले पनि यिनमा अपरिवर्तनीय अहंकार पलायो । शासनमा जतिसुकै अनैतिक व्यवहार गरेपनि यिनको विकल्प कोई नभएकोले जनता यिनकै पक्षमा रह्ने अभिमान तीनैवटा दलमा छ ।

शक्ति विकेन्द्रीकरणको सिद्धान्त अनुसार देशमा तीनवटा सरकार कायम भयो । तीनवटै पार्टीले चलाएको अनैतिक व्यवहारबाट प्रदेश सरकार र स्थानीय सरकार कोही अछूता रह्न सकेन । हैसियत अनुसार सबैले भ्रष्टाचार गरे । स्थानीय सरकार तीनवटै पार्टीको कार्यकर्ता भएकोले भ्रष्टाचार निर्वाध रुपमा गतिशील भयो । जनताको माँग अनुसार प्रदेश र स्थानीय सरकारको संरचनाले ५ वर्षको अवधीमा केन्द्र जस्तै भ्रष्टाचार गर्न सक्षम रहेको भ्रष्टाचारमा समातिएर जेल जाने घटनाहरुबाट स्पष्ट देखिएको छ ।

स्थानीय स्तरमा पार्टीका कार्यकर्ताको जिम्मा रहेको स्थानीय सरकारले अनावश्यक करको बोझ थपेर, घूस नलिई सेवा उपलब्ध नगराउने, आएको राहतलाई बाँडीचुँडी खाने, आदि अनेक विधी स्वार्थ पूर्ति गर्ने, विकासको कार्यलाई आधार बनाई चुहावट गरि भ्रष्टाचार गर्ने तथा योजनालाई परिणाममुखी हुन नदिने कार्य स्थानीय कार्यकर्ताले कसरी सिके आश्चर्यको कुरा हो । संघीय सरकार जस्तै प्रदेश र स्थानीय सरकारले भ्रष्टाचार गर्न आफ्नो पनि नैसर्गिक अधिकार रहेकोले इमानदारीका साथ सबै मिलेर देशलाई लुटे । पहिले ६०१ धमिराहरु थिए भने संघीय संरचनामा हजारौं धमिराहरु उत्पन्न भए । जसले जे खाएपनि देशलाई नै खाए । जनहितको लागि संघीय संरचना भनिए पनि यो जनताको लागि प्रत्युपादक बन्यो ।

बेथितीले देशको हावा, पानी, माटोलाई आफ्नो कब्जामा पारेको अवस्थामा सुधार कहाँबाट शुरु गर्ने भन्ने निर्णय कसैले गर्न सकि रहेको छैन । सीआईबीले भ्रष्टाचारको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई समातिएको घटना तथा शेरबहादुर देउवाकी श्रीमति आरजु देउवाको नाम पनि समावेश रहेको चर्चाले नेपाली काँग्रेसको देउवा पक्ष प्रचण्डसंग अत्यन्त दुःखी भए । आफ्नै गठबन्धनको सरकार रहेपनि आफ्ना विश्वासी खाँडलाई बचाउन नसकि ठूलो पछुतो लाग्यो । श्रीमति पनि समातिने हो कि भनेर सीआईबीको टीमलाई हटाउने कि सरकार गिराई दिने प्रचण्डलाई दिएको धम्कीबाट सीआईबीको टीमलाई सरुवा गरि आफ्नो प्रभावको टीमलाई ल्याएर सेटिङ्ग मिलायो । भ्रष्टाचार गराउन र जोगाउन तीनै दलको भद्र सहमतीबाट संचालित यिनी शक्तिशाली हुन् तर अलग अलग यिनको कुनै शक्ति नरहेको घटनाक्रमले स्पष्ट पारेको छ । सीआईबी टीमलाई अनुसन्धानबाट बञ्चित गरि किन हटाईयो ।

राज्यसत्ताको लगाम तस्कर र माफियाको हातमा रहेकोले दलहरु भ्रष्टाचार निवारण गर्ने दुस्साहस गर्नै सक्दैन । तस्कर र माफियाको मतियार तीनवटै राजनीतिक दलको आमदानी स्रोत उनै हुन् । उनैको कृपाले यी पार्टीहरु पल्लवित र पुष्पित छन् । सरकारमा भएर तीनवटै पार्टीले भ्रष्टाचारका ठूला ठूला काण्ड गरेर चोर चोर मौसेरा भाई बनेका छन् । पार्टीको अगाडी धेरै विवशताहरु छन् । पैसा नकमाउँ भने पार्टी कसरी चलाउने ? पार्टी चलाउन करोड हैन, अरबको आवश्यकता पर्छ । चुनाव यति महँगो भयो कि करोडौं खर्च नगरि जित्नै कठीन हुन्छ । जितेन भने पार्टी नै रहँदैन । अनैतिक कार्य पार्टीका अगुवाहरुका लागि बाध्यता हो । सुधारका क्रिया थाल्दा अरु पार्टीका नेता समातिने, पछि आपूm पनि जेल जाने अवस्था आउन सक्छ । यही कारण हो कि अनैतिक मानिसले सुधारका कुरा गर्नै सक्दैन । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण तथा सुनकाण्डको अनुसन्धान अगाडि बढ्यो तर मत्थर भयो ।

देशमा बढि रहेको आर्थिक संकट, आर्थिक मन्दी र जनतामा भई रहेको क्रयशक्तिको ह्रास, महँगाईको मार, थपिंदै गएको करभार आदिबाट जनतामा आक्रोशको सूचकाँक तीव्रतर बढ्दै गएको आत्मदाह, आत्महत्या आदि घटनाले प्रष्ट रुपमा संकेत गरि रहेको छ । समाजमा पौराणिक रुपमा सहिष्णुताको बलियो बन्धनमा बाँधिएको विविध संस्कृतिको एकतालाई राजनीतिक फायदाका लागि राजनीतिक दलहरुले सबैलाई उचालेर एक अर्काको बैरी बनाई दिएको अवस्थामा समाज अहिले कुनै स्थिर स्वरुप लिन नसकि अराजक बनेको छ । मन्त्री, साँसदलाई सार्वजनिक स्थल मै खुकुरी हान्नु प्रतिनिधी घटनाहरु घट्दै गएको छ ।

अराजक बनेको समाजमा फैलिएको आक्रोश जहाँ जनताको आवश्यक आवश्यकता पनि पूर्ति हुँदैन, जनता यथास्थितिमा रह्न चाहँदैन । समाजमा उम्ली रहेको जन आक्रोश कुन दिशामा अग्रसर हुन्छ, यो त भन्न सकिंदैन । तर यथास्थितिमा पनि जनता रह्न सक्दैन । जीवन यापन गर्न कठीन रहेको अवस्थामा परिवर्तनका आकाँक्षी जनता यी तीनवटै पार्टीप्रति आक्रोशित छन् । समाजमा उम्ली रहेको परिवर्तनको ज्वालामुखी तीनवटै पार्टीको विकल्प खोज्न नजाला भन्न सकिंदैन ।

२०८० असोज २६ गते मधेशवाणीमा प्रकाशित

 

 

Leave a Comment

error: Content is protected !!