बेथितीमाथिको प्रहार र असफल प्रतिकार

बेथिती कायम रह्यो भने सबको भलो हुन्छ । सबको भन्नाले राज्यसत्ता संचालनमा आउने तीन दाजुभाईका अति विश्वास पात्र जन प्रतिनिधीहरु । सत्ताका भरपूर उपयोग गर्ने यीनै हुन् जसले धन आर्जन गर्छन्, चुनाव जित्न ठाउँ बनाउँछन्, समाज र राजनीतिमा प्रतिष्ठा बनाउँछन् तथा राज्यसत्ता संचालनका विकल्परहित पात्र बन्दछन् । वर्गीय चिन्तनमा यिनी ठुल्ठूला विदेशी डिग्रीका साथ दक्षता पनि हासिल गरेका छन् । राज्य संचालनका सब विषय कंठाग्र गरेका यी पात्रहरु राजतन्त्र आए वा लोकतन्त्र, यिनको नै पूजा हुन्छ । अर्थात् विद्वान सर्वत्र पुजयेत शायद यसैलाई भनिएको होला ।

विदेशी उदाहरण दिएर आफ्नो ज्ञानलाई सर्वोपरि देखाउने विद्वानहरुले देशको कायापलट गर्ने भन्ने भ्रम छरेर आएपनि तीन दशकमा बेथिती कायम गरेबाहेक अरु केही गर्न सकेन । तथापि उनको विद्वता कायम छ । देशको परिणाममुखी कुनै निर्माण कार्य सम्पन्न भएको छैन । अनुकूल वातावरणको अभावमा उद्योगधन्दा बन्द छ । उत्पादन गर्ने उद्योगपतिहरु ट्रेड गरेर बसेका छन् । सत्ता संचालकलाई पाल्दा पाल्दा उद्योग व्यवसाय धाराशायी भएको छ । विपन्नताले समाजमा हरेक किसिमका विषमता ल्याउँछ भन्ने कुरा यी विद्वानहरुको ज्ञान भण्डारमा अटाएको छैन ।

आर्थिक विपन्नताका कारण ६० लाख भन्दा बढि युवाहरु विदेश पलायन भएका कुरा यिनका लागि शर्मनाक होइन रेमिटेन्स भित्रिने गौरवका कुरा हुन् । परनिर्भरतामा बाँचि रहेको नेपाली जनता, बेनियन्त्रित महँगी, समाजमा बढि रहेको अपराध, क्षयीकरणमा परेको सामाजिक सद्भाव, विश्रृँखलित हुँदै सामाजिक मान्यता, अनावरण हुँदै मानवता समाज आदि दुर्गुणले ग्रास बनाएको हाम्रो समाजको अवस्था यी विद्वानहरुलाई दृष्टिगोचर भई रहेको छैन । आर्थिक विपन्नताबारे सजग हुन कसैले संकेत ग¥यो भने यिनले मिथ्या प्रचारबाजी भनेर टार्छन् । अर्थात् बेथिती नै यिनका जीवन बनेको छ । बेथितीले लोकतन्त्रको छविलाई पनि विकृत बनाई दिने कुरासंग पनि यिनलाई सरोकार छैन । तर पनि पूज्य छन् ।

विगत मंसीरको चुनावमा देखिएका नयाँ पार्टीहरुप्रति यी विद्वतवर्गको यस्तो प्रतिक्रिया थियो – “कोही घण्टी बजाएर त कोही हर्न बजाएर संसद प्रवेश गर्न सक्दैन । यो पानीमाथिको ओभानो हो ।” तर अप्रत्याशित रुपमा यिनको उल्लेख्य उपस्थिति देखेर विद्वतवर्ग चिन्तित भए । राष्ट्रिय स्वतन्त्र पार्टी २० सीट, जनमत पार्टी ७ सीट र रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले ५ सीट जितेर आउँदा विद्वतवर्गको आँखामा बालुवा परेझैं भयो । किनकि नयाँ पार्टीहरु बेथिती विरुद्धको आवाज घन्काउन आएका थिए । बेथितीले फैलाएको अन्ध्यारोमा मशाल बाल्न आएका थिए ।

तीन दाजुभाईको अनुमति विरुद्ध संसदमा प्रवेश पाएका पहिलो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाए लगत्तै षडयन्त्रको फन्दामा फँसेर ३२ दिन मै राजीनामा गर्नु प¥यो । दोश्रो अहिले सुरक्षित छ । तेश्रोको एकजना साँसदलाई ट्याक्टरमा आगो लगाएको मुद्दामा पक्राउ गरेको छ । जनमतका लागि मुद्दा खोजिदैछ । सहस्रबाहु भएका तीन दाजुभाई कुनबेला यी नयाँ पार्टीहरुलाई शिकार बनाउने होला थाहा छैन ।

मुसाको बच्चा धागोमा बाँधेर खेल्ने तथा मर्न लाग्दा गोबर सुँघाएर जीउँदो पार्ने जस्तै खेलमा अहिले रवि लामिछानेलाई फँसाईएको छ । रविको समर्थनमा गोहीको आँसू झार्ने एकजना भाई अहिले बडो चित्त बुझ्दो कुरा गरि रहेको छ । रविलाई नागरिकता प्रकरणमा गृह मन्त्रीको पद लगायत सबै पदबाट झारेर भोली पल्टै नागरिकता दिनुको अर्थ बुझि नसक्नु छ । नागरिकता प्राप्त गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जति दबाव दिएपनि प्रचण्ड सो पदमा रवि लामिछानेलाई फिर्ता बोलाउन नसक्ने अवस्थाले निजमाथि अरु शक्तिहरुको कडा दबाव रहेको प्रष्ट छ ।

जसपा सरकारभन्दा बाहिर छ । जनमतले ईच्छाएको मन्त्रालय पाएको छैन । रवि लामिछाने सरकारलाई समर्थन कायम राखी बाहिरिएको छ । गठबन्धनमा विग्रह रहेकोले स्थायित्वमा शंका छ । प्रचण्ड नेपाली काँग्रेसको राष्ट्रपति बनाउन चाहेकोले काँग्रेससंग गठबन्धन बनाई अगाडि बढ्ने उनको आन्तरिक मनसाय केपी शर्मा ओलीले पनि बुझेको छ । काँग्रेससंगको गठबन्धन बनाए प्रधानमन्त्री पद गुम्ने अब कुनै चान्स छैन ।

बेथिती कायम राख्न चारै खम्बा दुरुस्त रहेकोले रवि लामिछानेले मीडियाका १२ भाईसंग दुश्मनी गर्नुको कुनै अर्थ छैन । क्रमिक रुपले सुधारका रणनीति बनाउनु पर्दथ्यो । अनावश्यक आफ्नो उर्जा नष्ट गर्नु उचित पनि होईन । रवि लामिछानेलाई संयमित रह्न आवश्यक छ । बेथिती धमिलो पानी हो, यसमा माछा मार्न सजिलो हुन्छ । यसमा क्षति पु¥याउने जो कोही पनि राज्यको दुश्मन साबित हुन्छ । सबैकुराको अनुभव राखेर पनि रवि लामिछाने उत्तेजनामा आउनु राम्रो होईन । उत्तेजनामा पारि अनावश्यक कारवाहीमा लगेर निस्तेज हुनुभन्दा मौन भएर सुधारका अवसर खोज्नु बुद्धिमानी हो । यसरी असफल प्रतिकारको कुनै अर्थ छैन ।

ठुल्ठूला क्रान्तिकारीहरु पनि राज्य सामुन्ने आएर गुलाम बनेका अनेकौंं उदाहरण छन् । बेथितीबाट मनग्य फायदा लिने तीनै शक्तिको एजेण्डा रहेकोले यस मामिलामा सबै एकमत रहेको कुरा कोही मानोस् वा नमानोस् तर अकाट्य सत्य हो । विकास कार्य नगरि भ्रष्टाचार कसरी हुने भन्ने हेतुले विकास निर्माणका कार्यहरु गरि रहन्छन् र आलोचकलगायत समर्थकहरु विकास कार्यलाई देखाउँदै मौन बसेका हुन्छन् । यही क्रम चलि रहन्छ ।

सबै भ्रष्टाचारीको फाईल बनेर राज्यको संग्रहालयमा संचित रहन्छ । उच्च पदस्थहरु यही फाईलबाट नियन्त्रित रहन्छन् । कुरा नसुन्नेको फायल प्रहरी, अख्तियार वा अदालतमा गएर पनि बन्द रहनुको कारण सरोकारवाला गिरफ्तमा आएपछि नखोलिएको हो । अथवा धेरै भ्रष्टाचार भयो भने पालेर राखेको खसी काटे झैं कतिपयलाई थुनामा पठाएर चोखिने राज्यनीति तीनवटै शक्तिको नियन्त्रणमा रहेको छ । चार खम्बामा बनाईएको दुर्गलाई माओवादी द्वन्द्व, मधेश आन्दोलन, थारु आन्दोलन आदिले किञ्चित पनि बिगार्न नसकेको उदाहरण छँदैछ । त्यसकारण बडो बुद्धिमानीपूर्ण ढंगले नयाँ युवाशक्तिले कदम बढाउने रणनीति लिनु पर्दछ । आम जनता बेथितीको अन्त चाहेको छ । यही उनको अनुकूलता हो । असफल प्रतिकार निस्तेज बनाउने मार्ग हो ।

२०७९ माघ २७ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!