दुईतिहाई बहुमत पाएको अवस्थामा पनि देशको राजनीति तरल अवस्थामा थियो । अहिले कसैले बहुमत नपाएर संंयुक्त सहकार्य गर्ने जनताले अभिमत दिएर नेताहरुलाई फेरि प्रहसन देखाउने मौका दिएको छ । प्रहसन शुरु पनि भई सकेको छ । जग हँसाउने केपी शर्मा ओली र पुष्पकमल दाहाल शीर्ष पात्रमा गनिएका छन् । शेरबहादुर देउवा तेश्रो दर्जाका हुन् । तर राज्य संचालकको रुपमा रहेको तीनै भाई कुनै बेला मिलेर कुनै बेला प्रतिस्पर्धा गरेर राज्य संचालनमा गर्छन् । पानीको माछा जस्तै राज्य सुविधाभन्दा बाहिर एक मिनेट पनि बाँच्न नसक्ने तीनवटैको चरित्र रहेकोले सत्तापक्ष वा प्रतिपक्ष समान भाग खाने गोप्य चलन बनाएका छन् । भागबण्डामा तलमाथि भए एक अर्काको दुश्मनको रुपमा देखा पर्ने, होईन भने मिलेरै सबै काम गर्ने यी खलपात्रहरु देशको जिम्मेवारी लिएको ३३ वर्ष भयो, अहिलेसम्म देशको जिम्मेवारीबोध भएन ।
नैतिकहीनताको धरातलमा बनाएको गठबन्धनको स्थायित्व हुँदैन । नैतिकहीन व्यक्तिहरुबीचको सम्बन्धमा टिकाउपन हुँदैन भन्ने कुरा प्रचण्डको क्रियाकलापबाट स्पष्ट भई रहेको छ । देशको ठूलो पार्टीको रुपमा रहेको नेपाली काँग्रेस सरकार बनाउन अग्राधिकार पाएपनि गठबन्धनका सहकर्मी प्रचण्ड प्रधानमन्त्री पदको दावेदार थिए । तर सहकार्यको संस्कार नभएको काँग्रेस आफ्नै जिद्दमा अडेपछि प्रतिपक्षी केपी शर्मा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन मंजूर गरेपछि प्रचण्ड नेपाली काँग्रेसको गठबन्धनबाट ओलीसंंग गठबन्धन बनाए र प्रधानमन्त्री बने । नेपाली काँग्रेसमा पलाएको ठूलो पार्टीको अहंकार पलभर मै धाराशायी भयो । सर्वस्व गुमाउनुभन्दा अलिकति पाएपनि फायदा नै हो भनेर प्रतिपक्षमा गएको नेपाली काँग्रेस प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पक्ष मै बस्न रुचायो । अब उनले राष्ट्रपतिको माँग गरेको छ । नेपाली काँग्रेस जस्तै अहिले केपी शर्मा ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाव बनाएका छन् ।
पुरानै गठबन्धनमा फर्किन अब प्रचण्डलाई प्रधानमन्त्री पद गुमाउने भय नरहेकोले र नेपाली काँग्रेसको पात्रलाई राष्ट्रपति पद दिएर विश्वासघातको भरपाई पनि हुने भएर प्रचण्ड गठबन्धन तोड्ने एमालेका शीर्ष नेताहरु नै दावी गरि रहेका छन् । प्रचण्डलाई एमालेसंगको गठबन्धनको स्थायित्व नरहेको धेरै शंका छ । जसपा, जनमत, नाउपा तथा रास्वपा पनि पूर्ण असन्तुष्ट रहेको अवस्थामा सरकार टिक्न कठीन देखिएको छ । त्यसकारण पुरानै गठबन्धनमा फकिंदा पूर्ण कार्यकालको ग्यारेन्टी हुने हुँदा स्वार्थवश नेपाली काँग्रेससंग गठबन्धन बनाउन जाने मन बनाएको छ । आफ्नो स्वार्थ पूरा गर्न जेपनि गर्ने यी खलपात्रहरु देश र जनता यस खेलबाट कति आहत भई रहेकोसंग कुनै मतलव हुँदैन । राज्य सुधिाबिना बाँच्न नसक्ने यी परजीविहरुको आफ्नो स्वार्थभन्दा माथि केही दृष्टिगोचर हुँदैन । नैतिकहीन पात्रहरुको यस्तै खेल हुन्छ र यिनमा मित्र र शत्रु केही हुँदैन ।
निर्वाध स्वार्थ दौडाउन असमर्थ शीर्ष दलहरु तिकडम कै आधारमा सहकार्य गर्न तयार रहेकोले स्वार्थलाभ पाउन बञ्चित देखिएका छन् । दुई महिना नबित्दै सरकार परिवर्तन हुने आशंकामा स्थायी रुपमा केही गर्न नपाउने अवस्था छ । नेपाली काँग्रेसको गठबन्धनबाट केपी शर्मा ओलीले प्रचण्डलाई निकालेर शेरबहादुर देउवाको भरे बजारमा धोती खुस्काई दिएर वाहवाहीको उपाधि पायो होला तर प्रचण्ड यिनलाई प्रतिपक्षमा जाँकि दिने खतराबाट ओली भागेर कहाँ जाला । नैतिकहीन अराजक मानसिकताको यस्तै प्रतिफल हुने यिनले राम्ररी जानेका छन् ।
ठूलो सानो गरि ७ बटा पार्टी लिएर संसदभित्र स्वार्थको खेलमा रमाएकाहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग गरेका व्यवहारबाट आम जनता असन्तुष्ट भई सडक तताउन लागेकोप्रति कुनै सरोकार राखेका छैनन । अनावश्यक नागरिकता मुद्दा उठाएर उनको सबै पद खोसेर तल झारेको अवस्थामा फेरि बेमतलवका पासपोर्ट काण्डमा मुछिएर उप चुनावमा अयोग्य घोषित गरि संसदबाट निकाल्ने प्रयासमा सबै लागेका छन् । रविलाई अनावश्यक दुःख दिने व्यवहारले सबै शीर्ष दलप्रति जनता आक्रोश व्यक्त गरि रहेका छन् । निर्विकल्प शासकको रुपमा रहेका यिनी साना तिना आन्दोलनलाई नटेरेको विगतका घटनाहरु उदाहरणका रुपमा प्रशस्त छन् । व्यवस्था परिवर्तन गराउने आन्दोलन आएपनि यिनको खासै केही बिग्रिनेवाला केही छैन । परिवर्तित परिवेशमा पनि यिनको शीर्षासन सुरक्षित रहनेमा यिनी विश्वस्त छन् ।
राष्ट्रपति चयन गरिने अवसरमा भारतीय विदेश सचिवको नेपाल भ्रमणको हस्तक्षेपकारी चर्चाले राजनीतिमा बेग्लै तरंग आएको छ । कथित राष्ट्रवादी खेमामा यसको आलोचनात्मक चर्चा व्यापक रुपमा फैलिएको छ मानौं भारतीय विदेशमन्त्रीको भ्रमणले राष्ट्रवादीहरुको स्वाभिमान कुल्चिएको पीडा अनुभूत भएको छ । बाख्रा हराउनु र स्याल कराउनु जस्तै राष्ट्रवादीहरुको राष्ट्रपति चयन हुन सकेन भने भारतको व्यापक आलोचना हुने पक्का छ ।
दलहरुको कार्यकर्ताबाहेक आम नेपालीमा दलहरुप्रतिको वितृष्णा व्यापक रुपमा फैलिएको छ । देशप्रतिको जिम्मेवारीलाई सधैंं वेवास्ता गरि स्वार्थ लिप्सामा रमाएका दलहरु केही गर्न नसक्ने भएपछि आम जनतामा आक्रोश फैलिनु स्वाभाविक हो । राजनीति तरल अवस्थामा रहेको र यसलाई व्यवस्थित गर्ने कसैसंग कुनै क्षमता नरहेकोले जन आक्रोश फुटने बेर छैन ।
भ्रष्टाचार बढि भयो र यसबारेको आलोचना पनि बढि भयो । तर जनताले कर तिरे पनि उसको जीवनशैलीमा कुनै परिवर्तन भएन । देशले कुनै राहत पाएन । देशमा दिनानुदिन विषम परिस्थिति बन्दै गयो । देशभर अविश्वासको माहौल बनेको छ । राजनीतिक दलहरुले दबाएर राखेका अधिकार आन्दोलनवालाहरु पनि यी शासकहरु विरुद्ध जन उभार ल्याउन आतुर छन् । संविधानबाट हिन्दूराष्ट्र हटाउँदा असन्तुष्ट बनेकाहरु पनि आक्रोशित छन् । सिद्धान्तप्रति आस्था बनाई राखी पार्टीको सुरक्षा गर्ने जिम्मा दिईएको दलका गुलामहरु पनि कित्ता बदल्न थाले । अर्थात् आस्थाप्रति कसैको विश्वास नरहेकोले मानिस बस परिवर्तन चाहेको छ । राजनीतिक दलहरुको निकम्मापनले सीमा नाघी सक्यो । जन चाहना अनुरुपको लोकतन्त्र प्रणालीलाई यी तीन दलले यति विकृत बनाई सक्यो कि मानिस अब जुनसुकै परिवर्तनको चाहना राखेको छ । अबको परिवर्तन यही तीन दलका कारण हुनेमा कुनै शंका छैन ।
२०७९ फाल्गुन ५ गते मधेशवाण्ीमा प्रकाशित
