हल्लिएको जन धरातल र त्यसको परिणाम

यही मंसीर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव हुने समय नजिकिंदै छ । तीन दशकदेखि स्वार्थमा लिप्त दलहरुप्रति जनतामा फैलिएको व्यापक वितृष्णाले दलीय संगठनको बन्धन यसपाली चुँडिने सम्भावना बढि देखिन्छ । विचार र सिद्धान्तबाट स्खलित पार्टीहरु आफ्नो अस्तित्व बचाउन शासकवर्गको पार्टीसंग अन्तर्घुलित भई चुनावमा विचार नमिल्ने उम्मेदवारलाई भोट दिन र लिन ह्विप जारी गर्दा हल्लिएको जन धरातल क्रस भोटिङ्गमा जाने निश्चित छ । नियम कानून जनतालाई मात्र लाग्ने कि नेताहरुलाई पनि लाग्ने, यसपाली एक किसिमको साँगठनिक विद्रोह हुने सम्भावना छ । माथिका नेताहरुले गरिने जुन किसिमको निर्णय पनि उचित हुने निर्देशन यसपाली जनताले मान्नेवाला छैनन् ।

हल्लिएको जन धरातलको अनुभूति भएर नै बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी दिन छाडेर अरु बुढा नेताहरुलाई पनि उम्मेदवारी नदिन सचेत गराएका हुन् । उम्मेदवारी दिए सबै बढारिने चेतावनी पनि दिएका हुन्, तर पनि मान प्रतिष्ठा गुमाएका बुढा नेताहरु उम्मेदवार बनेका छन् । जनतामा नवीनतातिरको आकर्षण काठमाण्डौंका नव निर्वाचित मेयरले बढाई दिएका छन् । एक्लैले पनि गर्न सक्ने आभास दिएपछि जनतामा नवीनताको खोजी हुन थालेको छ । गफ दिएर शासन चलाउने, भ्रष्टाचारी, गन्हाएका, गुण्डा, तस्कर, माफिया, हत्याराहरु अहिले विभिन्न पार्टीको टिकट लिएर चुनावी मैदानमा उत्रेका छन् । गठबन्धनको पासोमा जनतालाई बाँध्न खोज्ने दलहरु यसपाली बढारिने निश्चित छ । हाम्रोभन्दा राम्रोलाई मत दिने जनतामा राजनीतिक चेतना जागेको छ ।

मधेशमा चुनावको बेला पैसाको चलखेल बढि हुने गर्दछ । मधेशी जनताको अज्ञानताको फायदा उठाई पैसाले मत किन्ने चालाक उम्मेदवारले चलाएको प्रथा पुरानो हो । त्यसकारण चुनावलाई चाड, पर्वको रुपमा मनाईने मनोविज्ञान मधेशमा बढि छ । चुनावमा पैसाको खोलो बग्ने मधेशमा बढि छ । पहाडको मतदाता चेतनशील, पार्टीप्रति प्रतिबद्ध भएकोले अनावश्यक खर्च गर्नु पर्दैन । मधेशमा पैसा खर्च गर्न सक्ने जुनसुकै पार्टीका उम्मेदवार जित्न सक्छ भन्ने आम धारणा छ । चुनावमा पैसाको कुरा नगर्ने उम्मेदवारसंग मतदाताका दलालहरु कुरै गर्न चाहँदैन । पैसावालसंग सम्बन्ध बनाउने आम मतदाताको चाहना हुन्छ ।

चुनाव घोषणा हुने वित्तिकै आफ्नो पक्षमा माहौल बनाउने उम्मेदवारहरुको खर्चिलो तथा तामझामको प्रचार तथा भोज भतेरबाट जन समर्थन एकत्रित गर्ने प्रथा मधेशमा रहेकोले यसपाली मतदाताको इच्छामाथि तुषारापात भएको छ । जनतालाई वितृष्णाबाट बाहिर निकाल्न धेरै अघिदेखि परिवर्तनको माहौल बनाउने युवा तथा बुद्धिजीविहरुको प्रयास यसपाली सफल रहेको देखिन्छ । जनतामा परिवर्तन चाहने चाहना र निर्वाचन आयोगले ल्याएको कडा आचारसंहिताले मधेशमा पहिले जस्तो चुनावी माहौल छैन । बिग्रेको निर्वाचन प्रणाली नियन्त्रित हुन सक्दैन भन्ने आम धारण यसपाली बदलिएको छ । चुनावलाई २२ दिन बाँकी छ । मतदाताले कतिपय उम्मेदवारलाई हेरेको पनि छैन । तामझामका साथ प्रचार प्रसारमा निर्वाचन आयोगले रोक लगाएदेखि निर्वाचन क्षेत्र सुनसान छ । देशैभरि चलेको परिवर्तनको लहरबाट जनता प्रभावित रहेकोले यसपाली राम्रोलाई मत दिने जन आकाँक्षा तीब्र रुपमा बढेको पाइन्छ । निर्वाचन आयोगले ल्याएको कडा आचारसंहिताबाट बिग्रेको निर्वाचन प्रणालीमा आँशिक सुधार आएको महसूस हुन थालेको छ । फिजुल खर्ची रोकिएको छ । शनैः शनैः यसरी नै सुधार हुँदै जाने आश गर्न सकिन्छ ।

सेन्टीमेन्टको बलमा उठेको मधेश आन्दोलनलाई राजनीतिक अगुवाहरुले दिशा दिन नसकेर न समग्र मधेशको पार्टी बनाउन सक्यो, न आफ्नो राजनीतिक प्रतिष्ठा नै बचाउन सक्यो । शासकसंग मिलेर मधेशलाई जातीवादको दलदलमा लिएर गयो । मधेशमा जाती बाहुल्यको आधारमा जातीगत पार्टी बनाएर राजनीतिक गर्नेहरु केही दिन चम्केर अब पतनको संघारमा पुगेका छन् । अधिकार आन्दोलन गरी प्रतिष्ठा कमाउने मधेशका नेताहरु शासकहरु समक्ष आत्मसमर्पण गरि स्वार्थ पूरा गर्ने नियतबाट बाक्क दिक्क लागेका मधेशका कार्यकर्ता जनता यसपाली पुराना नेताहरुलाई हराउने प्रयासमा छन् । मधेशीलाई मधेशीले नै हराउने प्रयास भई रहेको देखिन्छ । मधेशी सेन्टिमेन्ट पनि अब काम गर्न छोडेपछि नाम चलेका मधेशी नेताहरु यसपाली पराजित हुने आशंका बढेको छ । जसरी पनि जितेर जाने र माथि हैसियत अनुसार भाग खाने एक मात्र उद्देश्य बोकेका मधेशी नेताहरुको प्रतिष्ठा गुमी सकेको छ ।

जनतामा रहेको परिवर्तनको चाहना र निर्वाचन आयोगको कडा निर्देशनबाट आफ्नो जीतको माहौल बनाउन नसकेका उम्मेदवारहरु जीत सुनिश्चित गर्न सकि रहेको छैन । मतलाई पैसामा किन्ने उम्मेदवारहरुलाई अनुकूल वातावरण नभएपछि र आफ्नै पार्टीका कार्यकर्ता पनि नेताहरुप्रति उदासीन रहेको कारण प्रतिष्ठाको सूर्यास्त हुन बेर छैन ।

देशप्रति माया राख्ने बुद्धिजीवि तथा सचेत युवा पुश्ताले जनतामा जागरण गराउन चुनावको पूर्व सन्ध्यामा जनतालाई आह्वान गरि रहेका छन् । चुनावमा कति प्रभाव पर्ने भन्ने कुरा त प्रतीक्षाको विषय नै हो । विशाल आकार भएको शीर्ष दलहरु चुनावमा खुम्चिने त निश्चित छ तर पनि सत्तामा हाली मुहाली उनीहरु कै रहनेछ । शीर्ष नेताहरुको पराजय भयो भने पार्टीभित्रको युवा पुश्ता अगाडि आउने अवसर पाउँछ । किन्चित मात्रा कै परिवर्तन भएपनि यसले बदलावको ठूलो ढोका खोल्छ । देशको गतिहीनता समाप्त हुन्छ ।

कसैले बहुमत नपाएको अवस्थामा मनपरी गर्न न मिल्ने अवस्था आएपछि सहकार्य गर्न करै लाग्छ । सहकार्यले सहिष्णुतालाई जन्माउँछ । अहंकार र निरंकूशतामा अंकूश लाग्छ । युवाशक्तिको आगमन भएपछि निजी स्वार्थको अन्त हुन्छ । देश अग्रगमनको बाटोमा अग्रसर हुन्छ ।

(२०७९ कार्तिक ११ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!