विपरीत ध्रुवमा मधेशको मुद्दा र राजनीति

मधेश आन्दोलनको १३ वर्ष भयो । उठान भएका मुद्दाहरु शहीद जस्तो मरेका त छैनन् किनभने राजनीति स्वार्थ पूरा गर्न कहिले काँही संघीय सरकारसंग यसको प्रयोग गरेको देखिन्छ । तर मधेशीहरुको हक, अधिकार सुनिश्चित गर्न यो जीवित पनि छैन । बेलामा प्रहार गर्ने अमोघ अस्त्रको रुपमा मधेश मुद्दालाई थन्काईएको छ ।

मधेश आन्दोलन अवसरको ठूलो द्वार खोल दिएकोले अवसरवादी राजनीतिक अगुवाहरु आफ्ना स्वार्थ पूरा गर्न अग्रपंक्तिमा आउनका लागि हरेक अनैतिक बाटो रोजे । राज्य पनि यही चाहन्थ्यो । राज्यको प्रोत्साहनमा मधेशको अगुवाई गर्न दर्जनौं प्रतिस्पर्धी दलहरु खडा भए । एक अर्कासंग लडाएर मधेश मुद्दालाई निस्तेज पार्ने राज्यको चाहना पूरा हुँदै आएको छ ।

समग्र मधेश एक प्रदेश राज्यको ठूलो चुनौती साबित भएकोले यसलाई ध्वस्त पार्न नेपाली काँग्रेस, नेकपा एमाले तथा माओवादी सबै एकमत भई मधेश तथा मधेशका राजनीतिक अगुवाहरुलाई विभाजनको भड्खालोमा ल्याएर जाँके । मधेशलाई ६ टुक्रामा बाँडेर पाँच टुक्रा राज्यले आफ्नो मातहतमा राखेर ८ जिल्लाको एक टुक्रा मधेशका राजनीतिक दलहरुलाई सुम्पियो । मधेशको अन्यायपूर्ण विभाजनमा महज विरोध कार्यक्रमबाहेक दलहरुले मधेशप्रति आफ्नो नैतिक दायित्व देखाउन सकेन । ८ जिल्लाको सरकार बनाएर रमाए ।

मधेशको राजनीतिक दलहरुमा नेता भनाउँदादेखि कार्यकर्तासम्म निजी स्वार्थ कसरी पूरा हुन्छ त्यसको दावपेंचमा तल्लीन छन् । मधेशको हक, अधिकारको सुनिश्चितता होस् भन्ने चाहना राख्ने क्रान्तिकारी विचारवालाहरु या त सडान्ध बर्दास्त नगरेर बाहिर गई सके या कीडा योनिमा बस्न बाध्य भए । अनैतिक प्रवृतिको दुर्गन्धयुक्त वातावरणमा लामो समय बस्दा बानी बस्ने भएपछि सबै एउटै पाठशालाका शिक्षक र विद्यार्थी भए । बेला कुबेला पार्टीका स्वार्थ पूरा नहुँदा मधेश मुद्दा उठाएर नेतृत्व मण्डलीले अवसर प्राप्त गर्ने दक्षता भने हासिल गरेका छन् ।

चुनाव लड्ने, जसरी पनि जित्ने, सरकार बनाउने, लिप्सा पूरा गर्ने राजनीतिलाई जसरी जीवन्त राखिएको छ सोही अनुपातमा मधेश मुद्दालाई वार्गेनिङका लागि आईसीयूमा राखेको छ । जसरी सत्तासुखको राजनीतिप्रति सबै सजग र क्रियाशील रहन्छन् मुद्दाप्रति त्यतिकै उदासीन रह्नु निश्चय पनि राम्रो मानिदैन । अवसर खोजेर स्वार्थ पूरा गर्ने निजी मनसाय नराखी समग्र मधेशका लागि हुनु पर्दथ्यो, त्यो भएन । राजनीतिक अगुवाहरु कै कारण मधेश यथास्थितिको अवस्थामा पुगेको छ ।

अवसरवादीहरुको जमातको कब्जामा रहेका मधेशका राजनीतिक दलहरु पनि आफ्नो अस्तित्व कायम गर्न सकि रहेका छैनन् । पार्टीका सदस्यहरुलाई बाढीका पानी जस्तो निरुद्देश्य कता बग्ने थाहा छैन । पार्टीको उद्देश्य हुन्छ, सिद्धान्त हुन्छ, एजेण्डा हुन्छ । त्योसंग कुनै सरोकार नराखी चुनाव जितेर वा पैसाले समानुपातिक सीट किनेर जनप्रतिनिधी बनेपछि पार्टीका सदस्यहरुको एकमात्र चाहना मन्त्री बन्ने हुन्छ । तछाडमछाड गरेर पनि नपाए ४० प्रतिशतको तयारीमा लाग्छ र पार्टी विभाजन गरेर मन्त्री खान पुग्छन । यो सोचभन्दा फरक कसैको सोच हुदैन ।

विचार र सिद्धान्त अंगाली राख्दा जोगी, फकीर मात्र हुन्छ । राजनीति मौजमस्तीका लागि हुन्छ, जोगी र फकीर बन्नका लागि हुँदैन । यही सोचबाट सबै प्रेरित छन् । पहिला पनि र जसपा विभाजनको बेलाको तमाशाबाट उपरोक्त पंक्ति उद्धृत छ । विभाजनको बेला महन्थ ठाकुर गुट बहुमतमा रहेको थियो । विभाजनको बेला त्यो बहुमतले उपेन्द्र यादबलाई निष्काशन गर्न सक्थ्यो । तर त्यहीबेला महन्थ ठाकुर गुट सरकारमा जाने बेला आकाँक्षीहरु सबै सरकारमा समावेश हुन नसकेकाहरु विभाजनका बेला उपेन्द्र यादब गुटमा सामेल भई महन्थ ठाकुरलाई नयाँ पार्टी दर्ता गर्न बाध्य गरि दियो । राजेन्द्र महतो, महन्थ ठाकुरका पुराना विश्वासी कार्यकर्ताहरु पनि उपेन्द्र यादवलाई नै विश्वास गरे ।

ओलीको सरकार ढल्यो । शेरबहादुर देउवाको सरकारमा उपेन्द्र यादबको पार्टी सामेल भयो । यहाँ त झन् तीनवटा यादबलाई सरकारमा सामेल गरेपछि अरु जातका आकाँक्षीहरु असन्तुष्ट भएर लोसपाका साथीभाईहरुसंग आपूm पछताई रहेको गुनासा गर्छन् । पार्टीमा बस्दा पनि त्यो पार्टीको नहुनु दलीय राजनीतिको यो कस्तो बिडम्बना ! एउटा पार्टीको पनि सदस्य भएर बस्न नसक्ने भ्यागुता प्रवृतिले मधेशको मुद्दाप्रति के सम्बन्ध बनाउन सक्छ ? मधेशको हकहितप्रति कति गम्भीर हुन सक्छ ? यसकारण पनि मधेशको मुद्दा ओझेलमा परेको हो ।

पार्टीभित्र यस्तो राजनीतिक अराजकता ल्याउने पार्टी अध्यक्ष नै हुन् । पार्टीबाहिरका जित्न सक्ने व्यापारी, डनहरुलाई टिकट दिएर आपूm पार्टी सीट बढाएर नाक फुलाउने तर पार्टीभित्रका ईमान्दार कार्यकर्ताहरुलाई व्यापारी, डनहरुको गुलाम बनाई दिने, उसको योगदानको अवमूल्यन गरि दिने, पार्टीभित्र उसको कुनै महत्व नदिने, चाकडी गर्न सिकाउने तर अरुको गर्न थाल्यो भने पार्टीबाट निष्कासन गर्ने, आफ्नो वरिपरि चाटुकार, चापलुसबाजको जत्था तयार गरि राख्ने, समानुपातिक सीट कि पैसावाल कि आफ्नो परिवारमा बाँड्ने प्रवृतिले पार्टीभित्र अराजक अवस्थाको सृजना हुन्छ । निजी स्वार्थ पूरा गर्ने उन्मादमा यसको नकारात्मक नतीजा आउला भन्ने किञ्चित चिन्ता हुँदैन ।

केही दिन पहिला जन प्रतिनिधीहरुले महन्थ ठाकुरलाई रुवायो भने अब उपेन्द्र यादबको पालो आउन सक्छ । पाटीभित्र कार्यकारिणी सदस्यमा तथा संसदीय दलमा बाबुराम भट्टराईको बहुमत रहेको सुनिन्छ । पार्टीभित्रका धेरै यादबहरु बाबुराम भट्टराईको समर्थनमा छन भन्ने सुनिन्छ । पार्टी विभाजन भयो भने उपेन्द्र यादब महन्थ ठाकुर जस्तै नयाँ पार्टी बनाउने अवसर पाउला जस्तो शंका मानिसहरुले गर्न थालेका छन् । सरकारमा बहुमत यादबलाई पठाउँदा यादब पार्टीको आरोप लागेको थियो । अब त यादबले यादबलाई पनि चित्त बुझाएर राख्न नसक्ने व्यक्ति कसरी जसपाका राष्ट्रिय अध्यक्ष बन्न सक्दछ भन्ने आलोचना हुने बेर छैन ।

राजनीति गर्ने स्तर प्राप्त नहुञ्जेल सबैको यही हविगत हुन्छ । अधिकारका लागि आन्दोलन गरेका पार्टीको संचालन त्यसको उद्देश्य, लक्ष्य, सिद्धान्त अनुसार हुनु पर्दछ । यसो गरेमा पार्टीभित्र अनुशासन, ईमानदारी, निष्पक्षता, लगनशीलता, कुशलता, क्षमता, क्रान्तिकारी चरित्र र बलिदानी भावनाको अनुकरणीय वातावरण रहन्छ र यसले अधिकार आन्दोलनको सही दिशा लिन्छ । नत्र भने अहिलेको जस्तो मधेशको मुद्दा एकतिर र राजनीति विपरित दिशातिर चलि रहन्छ ।
(२०७८ फाल्गुन २७ गते मधेशवाणीमा प्रकाशित)

 

Leave a Comment

error: Content is protected !!