एक अर्काका कार्ड देखाएर छिमेकीहरुलाई नियन्त्रित राखी लाभ लिने राजनीतिकर्मीको संस्कार सधैं एकै नाशको दावमा सफल नहुने कुरा सोचभन्दा बाहिर रहेकोले अहिले असफलताको परिणाम सामुन्ने आउँदा आत्तिनु स्वाभाविक हो । राजनीतिलाई तरल बनाएर रमाउने राजनीतिकर्मीहरुको संस्कारमा किञ्चित परिवर्तन नगरि छल, प्रपंच, जाल, फरेव र धोखाको आधारमा राजनीति गर्दा यो चिरस्थायी नहुने समयले देखाई सकेको हुँदा पनि त्यही धृष्टताको पुनरावृति हुनु दुःख लाग्दो कुरा हो । राजनीतिक पृष्ठभूमिले चारैतिर अराजक, असन्तुष्टताको परिस्थिति सृजना गरेकोले कुनै पार्टी नेपाली राजनीतिलाई सहज अवस्थामा ल्याउला भन्ने जन विश्वास हराउँदै गएको छ । देश दिनानुदिन असहज बन्दै गएको छ ।
छिमेकीहरुको सम्बन्धमा चिसोपना बढदै गएको छ । कूटनैतिक सम्बन्धमा अविश्वास तीव्र रुपले प्रविष्ट गरि रहेको छ । एक अर्काको कार्ड फ्याँकेर छिमेकीसंग अस्थाई लाभकारी सम्बन्ध स्थापित गर्ने राजनीतिकर्मीहरु अहिले बुनेको आफ्नै जालमा फँसेका छन । एउटै वस्तुको समयान्तरमा स्वार्थ बमोजिम परिभाषा गराईले राजनीतिकर्मीहरुलाई जनताले विश्वास गर्न छाडेका छन । अहिले राजनीतिक एजेण्डाको रुपमा आएको एमसीसीलाई पास गर्ने कि फाल्ने विषयमा कुनै पार्टीको धारणा स्पष्ट छैन ।
दुईतिहाईको एमाले सरकार सत्तामा हुँदा एमसीसी पास गराउन कसरत गरि रहेका केपी शर्मा ओली प्रतिपक्षमा पुग्दा एमसीसीको विपक्षमा देखिएका छन । एमसीसी पास गर्न आपूmसंग गठबन्धन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिई रहेको दबाव सत्ता गठबन्धन तोडने प्रयासभन्दा फरक अरु केही होईन । एमसीसीको बहानामा आफ्नो स्वार्थ सिद्ध गर्न चाहने एमालेको दावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले राम्ररी बुझेका छन ।
सत्तासीन नेपाली काँग्रेस एमसीसी पास गराउन स्पष्ट धारणा राखेका छन भने गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी द्वैध विचारमा संघर्ष गरि रहेका छन भने जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादब एमसीसीको विपक्षमा उभिएको छ भने सोही पार्टीका संघीय परिषद अध्यक्ष बावुराम भट्टराई एमसीसीको पक्षमा वकालत गरि रहेका छन । एउटै पार्टीभित्र दुई फरक विचार कडा प्रतिस्पर्धीको रुपमा देखिएको छ । दुबै एक अर्कालाई सहमत गराउन सक्ने अवस्थामा नरहेकोले त्यो पार्टी टुटने सम्भावना बढि छ ।
बेला बेलामा भारतको विरोध गरि अन्धराष्ट्रवादी शक्तिलाई संगठित पारी राजनीतिक फायदा लिन पल्केकाहरुले भारतसंगको मधुर मैत्री कूटनीतिक सम्बन्धको सन्तुलन कायम राख्न चाहँदैन । लाभकारी स्वार्थ बमोजिम तोडने बनाउने कारणले भारतसंगको सम्बन्ध तनावपूर्ण अवस्थामा नै रहेको विगत ७ वर्षको अनुभवले देखाएको छ । त्यस्तै चीनसंगको कूटनीतिक सम्बन्धलाई अस्थिर अवस्थामा राखिएको छ । मन लागे गहिरो सम्बन्ध बनाउने, नलागे तोडी दिने । यस प्रकार चीनसंग पनि कूटनीतिक सम्बन्ध मधुर छैन । भारतको विरोध गरेर चीनसंग असिमित स्वार्थ लाभ प्राप्त गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको हास्यास्पद राजनीतिक अभिनय कसैबाट लुकेको छैन । दुईतिहाईको बहुमत पनि चीन कै कृपाले प्राप्त भयो । भारतबिना पनि तेश्रो मुलुकबाट सामान ल्याएर देखाउन सक्ने वीर साहसी प्रधानमन्त्री केपी शर्मा ओलीले पछि चीनको गहिरो विश्वासलाई तोडदै भारतसंग सम्बन्ध मधुर बनायो । केपी शर्मा ओली मातृसंस्थामा फर्केपछि चीनले नेपालको कम्युनिष्टलाई बडो तीखा व्यंग्य गरेको थियो । नेपालमा चीनले विश्वास गर्ने एउटा पनि कम्युनिष्ट नरहेको अवस्थामा त्यो विश्वास उपेन्द्र यादबमाथि केन्द्रीत भयो । क्षेत्रीय पार्टी नै भएपनि चीनले उपेन्द्र यादबलाई नै विश्वास गर्न बाध्य भयो ।
चीन र भारत जस्तै अमेरिका र ईयूले पनि नेपालमा आफ्नो दह्रो पकड बनाएर राखेको छ । अमेरिकाले एमसीसी पास गराएर छाडने उसको चट्टानी अडानप्रति सबैलाई जानकारी रहेपनि सबैले द्वैध मानसिकता पालेका छन । अपठ्यारो परे पास गर्ने नपरे विरोध गर्ने ढुलमुल विचार राख्ने दलहरु देशको राजनीतिलाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन कठीन छ । ताक परे तिवारी नत्र गोतामे जस्तो चरित्रले देशको स्वाभिमानको रक्षा गर्न सम्भव नरहेको स्पष्ट छ ।
राजनीति चक्रव्यूहमा खेलिने खेलहरुका मुख्य पात्र नेपाली काँग्रेस र एमालेका संदिग्ध गतिविधीबाट सशंकित भएका नागरिकहरु एमसीसीको विरोधमा सडकमा उर्लेका छन । तिनको आवाज पहाड फुटाउने जस्तो भयो भने यिनीहरु आन्दोलनको राप ताप देखाएर आफ्नो इज्जत जोगाउन सफल हुन्छन, होइन भने एमसीसी पास गर्नेतिर जान्छन ।
चारै महाशक्ति देशको पूर्ण प्रभावमा रहेको नेपाली राजनीतिका रोबोट नेताहरुले देशको स्वाभिमानबारे कुरा गर्दा हास्यास्पद लाग्छ । दरिद्र मानसिकता लिएर जन्मेका राजनीतिकर्मीहरु देशले भोगि रहेको दयनीय पीडालाई अनुभूत गर्न सकेको छैन । लामो कालदेखि आफ्नै स्वार्थमा लीन भएकाहरु अब धेरै भयो, देशको लागि पनि केही गर्नु पर्दछ भनेर दिव्यज्ञान नहुने खलपात्रबाट देशले के पाउने ? शक्ति देशका मौसमी गुलामहरु निर्विकल्प राजनीतिक शक्तिको रुपमा अहिले राजनीति कब्जा गरेका छन जसको रिमोट कन्ट्रोल शक्ति देशको हातमा छ । स्वार्थ पूरा गर्ने शक्ति देशको इशारामा हिडने परजीवी राजनीतिकर्मीहरु मौसम अनुसार खेमा बदलि रहन्छन ।
बडो सरल तरिकाले कार्ड प्ले गर्ने नेपालका राजनीतिकर्मीहरुको लागि अहिले नेपालको लागि राजनीतिक परिस्थिति जटिल बन्दै गएको छ । विगतकालमा नेपालमा गहिरो राजनीतिक प्रभाव जमाउन सफल चीन अहिले टुहुरो अवस्थामा रहेको छ । केन्द्रीय राजनीतिमा पकड खस्किएको अवस्था तथा एमसीसी पास गराउन सक्रिय अमेरिकाको बढदो प्रभावले चीनलाई क्रुद्ध बनाएको छ । भारतसंग पुनश्च तनाव बढेको छ । नेपालमा जति अनुपातमा अमेरिकाले शक्ति बढाउँछ, सोही अनुपातमा चीनले पनि शक्ति बढाउने कुरा सार्वजनिक भएको छ । अमेरिकाले नेपालमा सिविल सेना प्रवेश गराएको चर्चाको प्रत्युत्तरमा चीनियाँ सेना नेपाल पठाउने व्यापक चर्चा हुँदैछ । चीनको अमेरिकासंग र चीनको भारतसंगको तनाव युद्धको तयारीसम्म पुगेको स्पष्ट छ । यो तनावको शिकार नेपाल हुने सम्भावना बढदै गएको देखिन्छ । यसमा नेपाली राजनीतिकर्मीहरुको भूमिका कहीं देखिदैन । आफ्नो देशको स्वाभिमानको रक्षाका लागि भूमिका स्पष्ट पार्न पनि आँट देखाउने को आउने जनता हेर्न चाहन्छन ।
(२०७८ माघ १४ गते मधेशवाणीमा प्रकाशित)
