अधिकारका लागि उठेको मधेश आन्दोलन व्यापारमा रुपान्तरण भएको छ । नेतृत्व वर्गमा रहेको राजनीतिक स्तरहीनता तथा दरिद्र मानसिकताले राजनीतिलाई व्यापारको थलो बनाएको छ । केन्द्रमा झैं पैसा भए पार्टी रहने, कार्यकर्ता रहने, केन्द्रसँगको मैत्रीपूर्ण सम्बन्ध रहने सोचले अधिकार आन्दोलनको यसरी परिभाषा गरिएको देखिन्छ । पैसा कमाउने एकाधिकार सोचले नेतृत्वलाई बिल्कुल एकांकी बनाइदिएको छ । सहकार्यको आचरण आउनुभन्दा पूर्व नै अन्त्य गरिएको छ ।
सन्दर्भ, जसपाको जीत र हारको हो । उपेन्द्र यादव जीतको उत्सव मनाइरहेका छन् भने महन्थ ठाकुर समूह पराजित अवस्थाको पीडाबोधमा छन् । राजनीतिक खेलमा खेलाडीहरुको जित्ने हार्ने सामान्य प्रक्रिया हो । राजनीतिज्ञहरुमा मात्तिने र आत्तिने अल्पज्ञानी गुणको अभाव हुन्छ । उ विचलित हुँदैन । बरु पराजयका कारणहरुको समीक्षा साथ त्रुटि सच्याउने प्रयास गरिन्छ । गर्नु पनि पर्छ ।
एजेण्डाविहीन केन्द्रका शीर्ष दलहरु जस्तै मधेशका दलहरु स्वार्थ पूरा गर्ने राजनीतिमा लिप्त भएदेखि मधेशको अधिकार आन्दोलन व्यापारको ठूलो प्रतिष्ठानका रुपमा स्थापित भयो । मधेशको मुद्दालाई उठाउँछन् पार्टीहरु, तर उद्देश्य भने अवसर प्राप्त गर्नका लागि मात्र हुन्छ । यसैलाई राजनीति बुझेर “इजी मनी” कमाउन पार्टीलाई व्यापारिक उद्योगको रुपमा सञ्चालित गरेका छन्, स्वनामधन्य मधेशका नेतृत्व पंक्ति । पैसा खर्च गरेर चुनाव जित्ने, सांसद बनेपछि लगानी असुल गर्न अवसर खोज्ने र फेरि त्यहीं चलनको पुनरावृत्ति गर्ने, यही गोल चक्करमा परेका छन् पार्टीहरु ।
मधेशका मसीहा कहलाउने मधेशका पार्टीहरु अहिले पनि १२% मतलाई मात्र प्रभावित गरेको छ । मधेशमा अहिले पनि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रको वर्चस्व रहेको मतदानले देखाउँदै आएको छ । १२% मत पाएर आफूलाई देवत्व स्थानमा स्थापित गर्ने नेताहरुको राजनीतिक स्तरहीनता नभई अरु के हो ? यही काँचो सोचवालाहरु राज्यको षड्यन्त्रको शिकार भई नव भ्रष्ट भएका छन् ।
समग्र मधेश एक प्रदेश, समग्र मधेशको एकताबद्ध आन्दोलन, समग्र मधेशका सपूतहरुले दिएको शहादत के एक टुक्रा मधेशको लागि थियो ? ८ जिल्लाको एक टुक्रा मधेशमा रमाउने राजनीतिक दलको समग्र मधेशको सोच नै हरायो । क्षेत्रीय राजनीति होइन, राष्ट्रिय राजनीतिमा जानुपर्छ । हामी मधेशवादी होइन, समाजवादी हौं आदि बुझ्न नसक्ने भाषा बोलेर मधेश र केन्द्रलाई झुक्याएर आफ्नो स्वार्थ अनुसारको भाषा बोल्न थालेका छन् । क्षेत्रीय जातीय मतबाट पहिचान बनाएका मधेशका नेताहरु राष्ट्रिय अध्यक्ष कहलाउन गर्व गर्छ । मधेशबाहेक पहाडले कति मत दिएको छ, विगतको चुनावको परिणामले देखाई सकेको छ । मत मधेशको, चाकडी सत्ताको ।
पार्टीको बोझ उठाएका कार्यकर्ताभन्दा पार्टीबाहिरका पैसा दिने मानिसलाई समानुपातिक सीट दिएर नीति निर्माण पंक्तिमा सजाएर राख्ने गैरराजनीतिक व्यक्तिको रजाईका कारण पार्टी अराजक बनेको देखिन्छ । अनुशासनको कोर्राबाट अराजक पार्टीलाई हाँक्ने कोशिस नितान्त पटमुर्खता हो । नेतृत्ववर्गले नै पार्टीलाई अराजक अवस्थामा राखेकाले पार्टीहरु असन्तुलित भएको हो । पार्टीभित्र स्वार्थका समूह मात्र देखिन्छ ।
सत्ताको पक्ष विपक्षमा मत बाँडिएपछि सत्तामा जाने लोभले आकर्षित सांसदहरु महन्थ ठाकुर समूहमा २० जना देखिएका थिए, जसलाई न प्रतिगमनसँग मतलब थियो न अग्रगमनसँग । उनलाई मन्त्रीसँग मतलब थियो । उपेन्द्र यादवसँग १२ जना मात्र सांसद देखिएका थिए । परिस्थितिले १० जनालाई मन्त्री बनाउँदा अरु बाँकी उपेन्द्रतिर भागे । यो कस्तो राजनीति हो । यो अराजक राजनीति हो । यो चलन स्वयं नेतृत्वकर्ताको हो । पार्टीको मर्यादा, पार्टीमा हुने नैतिकता, ईमान्दारिता, सहकार्य, आस्थाको राजनीति आदि सबै गुणलाई अध्यक्षको स्वेच्छाचारिताले समाप्त पारेको छ । डाका र गुण्डा जस्तो समूह बनाएर मधेश मुद्दालाई सम्बोधन गराउने यी प्रवृत्तिबाट सम्भव देखिँदैन । गुट चलाएर स्वार्थपूर्ति भने गर्न सक्छन् ।
पूर्व राजपाका अध्यक्षमण्डलका दुईवटा अध्यक्ष महेन्द्र राय यादव र राजकिशोर यादव, उपेन्द्र यादवसँग मिसिन पुगे । अब उहाँ महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा समूह बाँकी रहेका छन् । आधिकारिक जसपाले यिनलाई कार्यकारिणी समूहबाट पदमुक्त गरेको छ ।
सर्वोच्च अदालत, निर्वाचन आयोग, ओली पक्ष र सत्तापक्ष कसैले महन्थ ठाकुर समूहलाई वास्ता गरेको छैन । कमल थापा रहेको भए सुम्सुम्याउँथ्यो, तर मधेशी समूह भएकोले एकलै पीडा भोग्न बाध्य भएका छन् । उपेन्द्र यादवले आफ्नो पार्टी बचाउन गर्ने कृत्यहरु अस्वाभाविक होइन । तर हारेका खेलाडीको छुट्टै पंक्तिमा रहेका यिनी सबैका केन्द्रबिन्दु बनेका छन् ।
जसपा फुट्नुमा गोहीको आँसु झार्ने धेरै छन् । जसपा मिलेकै थिएन, त्यसकारण फुटले त्यति अर्थ राख्दैन । उपेन्द्र यादवसँगै मधेशी समाजमा रहेको जातीय उन्माद गगनचुम्बी आकार लिएको थियो । उपेन्द्र यादव जति ठूलै विद्वान भए पनि उनी यही जातीय परिधिभित्र आफ्नो सुरक्षित भविष्य देख्यो । जातीय आधारमा हामीले ३÷४ वटा सीट पायौं भने हाम्रो राजनीति चलिहाल्छ भनेर आफ्ना अन्तरंग मित्रलाई (अहिले अर्कै पार्टीमा छ) दिएको दिव्य उपदेशलाई यो पंक्तिकारले महापुरुषका अमरवाणी सम्झेर सुरक्षित राखि दिएको छ ।
चारैतिरबाट प्रताडित पूर्वराजपा अहिले अखाडामा बजारिएको छ । मधेशको राजनीतिमा अहिले प्रकाशमा देखिएका अनुहारहरु मध्ये महन्थ ठाकुर इमान्दार, सहनशील, त्यागी, एजेण्डाप्रति कठोर अडान, निडर र विश्वासिलो सरल व्यक्तित्वको उदाहरण अर्को देखिन्न । मधेश मुद्दाले यस्तै व्यक्तित्वलाई पत्याउँछ । सबैतिरबाट प्रताडितहरुप्रति जनताको सहानुभूति हुन्छ । आगामी दिनमा मधेशका जनताले यिनलाई शिरमौरको रुपमा चयन गर्ने छन् । महन्थ ठाकुरजीले पनि सबै अटाउने पार्टी बनाएर जानु पर्दछ ।
(२०७८साल श्रावण २९ गते मधेशवाणीमा प्रकाशित)
