पहिलोपल्ट स्थिर सरकार बनाउन दुई तिहाईको ऐतिहासिक जनादेश पाएको केपी शर्मा ओलीको सरकार आज विश्वासको बहुमत गुमाएर असहज परिस्थितिको सामना गरिरहेको छ । देश र जनताको अपेक्षित विकासको अनुकूल वातावरण पाएका ओली सरकार असहजतातिर लम्किएको अनेकौं कारणहरु होलान् तर देश र जनताले आफ्नो प्रगतिको सुनौलो अवसर गुमाएको छ ।
०४६ सालदेखि अहिलेसम्म सामान्य बहुमतको सरकार, गठबन्धनको सरकार, राजनीति इतरका सरकार कसैले आफ्नो कार्यकाल पूरा गर्न सकेन । राजनीतिक दुर्भाग्य भोगिरहेको नेपाल दुई तिहाइको स्थिर सरकार पनि कार्यकाल पूरा गर्न सकेन । अहिले संसद विघटन भई चुनावको घोषणा गरिएको छ । हालाकि विपक्षीहरु सर्वोच्चलाई संसद पुनस्र्थापनाका लागि आग्रह पत्र दिएको छ ।
यसपाली ओली सरकार विपक्षबाट होइन आफ्नै पार्टी नेकपा एमालेकै सहकर्मीबाट प्रताडित भई यो असहज परिस्थिति निर्माण भएको हो । एमालेकै नेपाल–खनाल समूह फ्लोरक्रस गरेर ओली सरकारकै विरुद्ध शेरबहादुर देउवा नेतृत्वको वैकल्पिक सरकार बनाउन नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपासँग मिलेर गठबन्धन तयार पारी सर्वोच्चमा १४६ जना सांसदको हस्ताक्षरित दावा पेश गरेको छ ।
३२ सांसद भएको जसपा ओलीको पक्ष विपक्ष दुई लाइनको संघर्षमा विभाजित भई १२ सांसदसहित उपेन्द्र यादव नेपाली कांग्रेससँग मिल्न गएको छ भने २० वटा सांसद लिएर महन्थ ठाकुर ओलीको पक्षमा उभिएको छ । ४९ सांसद भएको नेकपा माओवादीलाई एमालेबाट सर्वोच्चले पृथक अस्थित्वमा ल्याइदिएको छ । २६ वटा सांसद लिएर माधव नेपाल समूह पनि एमालेबाट अलग भएर शेरबहादुरलाई वैकल्पिक सरकार बनाउन समर्थन दिएको छ । ओलीसँग अहिले एमालेको ९३ तथा महन्थ ठाकुरको २० गरी ११३ सांसद देखिएको छ । अहिलेसम्म विपक्षको कुनै भूमिका नदेखाइ शेरबहादुर देउवा ओली निकट नै देखिएका थिए । तर १४६ सांसदको विपक्षी गठबन्धन बनेपछि आफ्नो प्रधानमन्त्री बन्ने निश्चित भएपछि शेरबहादुर देउवा खुलेर ओलीको विरुद्ध उत्रेको छ ।
माधव नेपाल समूहलाई पार्टीमा जोड्ने प्रयास ओलीले छाडेको छैन । २६ सांसदको समर्थन फिर्ता भयो भने शेरबहादुर होइन पुनश्चः ओलीको बहुमत सिद्ध हुन्छ । अनेक दुष्प्रवृत्तिका राजनीतिक दाउपेंच एमाले र जसपा तथा विपक्षले खेलिरहेका छन् । पारस्परिक संघर्षले राजनीतिक भविष्यलाई अन्धकारमय बनाउँदै लगेको छ । संघीय गणतन्त्र अवसान हुने घटना भविष्यको गर्भमा जन्म लिएको त होइन, चारैतिर आशंका, महसुस हुन थालेको छ । पाँचवटा भूपू प्रधानमन्त्रीहरुले ओली सरकार विदेशी ईशारामा लोकतन्त्र सिध्याउन लागेको भनेर आक्षेप लगाएका छन् ।
नेपाली राजनीति दुई तिहाईको सहज र अनुकूल परिस्थितिबाट अस्थिरतातर्फ जानी–जानी उन्मुख भई अन्योलग्रस्त परिस्थितिलाई जन्म दिनुको पछाडि निर्देशित कार्ययोजना त होइन ? शंका गर्ने परिस्थिति देखिन्छ । दिनदिनै राजनीति जटिल बन्दै गएपछि घात प्रतिघात पनि तीव्र हुने बेर छैन । सामान्य ढंगले निराकरणको अवस्था नरहेपछि विस्फोट हुने बाध्यता रहन्छ ।
माधव नेपाल समूहलाई समेट्ने प्रयासमा ओलीले ०७५ ज्येष्ठ २ को पूर्वावस्थामा जान तयार भएपनि माधव नेपाल समूहले विपक्षी गठबन्धनबाट २६ वटा हस्ताक्षर फिर्ता ल्याउन मानेको छैन । ओलीको गतिविधि विरुद्ध दिनहुँ जसो सर्वोच्चमा रीट परिरहेको छ । माधव नेपाल समूहको एउटा ठूलो कमजोरी के हो भने पार्टीलाई विभाजनमा लान कोही चाहँदैन । तसर्थ एमालेको मिलन बिन्दू नजिक छ ।
जसपाको पुनर्मिलनको कुनै परिस्थिति छैन । मधेश आन्दोलनको १५ वर्षमा मधेशको राजनीति धरातलमा आएका राजनीतिकर्मीले जातीय आधार तयार पार्न गरेका अभ्यासले मधेशलाई भावनात्मक रुपमा विभाजित पारेको छ । १५ वर्षको अभ्यासमा तमलोपा र सद्भावनासँग एकीकरणको नाटकीय प्रयास कहिल्यै सफल भएन । ओलीको दल विभाजन विधेयकले विपरीत धारको दुई पार्टीलाई एकीकरण गराएका हुन् ।
जातीय अहंकारको शिकार जसपा विभाजनको खाल्टो खनिसकेको छ । विभाजनसँगै मधेशमा यादव, ननयादवको ध्रुवीकरण सुरु भएको छ । अपराधिक मानसिकताका कतिपय भलादमीहरु पार्टी फुट्नेको गोहीको आँसु चुहाएर चोखो व्यक्तित्व प्रदर्शनमा लागेका छन् ।
ओली सरकारको विरुद्ध शक्तिहरुको ध्रुवीकरणले ओलीमाथि ठूलो दबाब बनाएको छ । सर्वोच्च अदालत पनि तथ्यगत रुपमा फैसला गर्ने बाध्यता छ । ऊँट कुन करवट लिने भन्ने परिणाम कसैलाई थाहा छैन । तथापि समस्या ओलीतिर बढिरहेको बुझिन्छ । विजय पराजयले आकाश, पाताल देखाउने भएकोले कुशल शासकले जानी–जानी पराजय स्वीकार गर्दैन । त्यसकारण ओली सरकार पराजयको प्रतीक्षामा नहरने कुरा स्पष्ट देखिन्छ । माधव समूहले अन्ततः २६ हस्ताक्षर फिर्ता लिएर एमालेमा समावेश भयो भने सर्वोच्चले संसद पुनस्र्थापना गर्दा पनि ओलीलाई खासै फरक पर्दैन । तर माधव नेपाल समूहको पुनर्वापसी भएन भने ओलीको समस्या द्विगुणित बढ्नेछ ।
ओलीलाई प्रतिगामीको रुपमा परिभाषित गर्ने विपक्षी गठबन्धन अहिले पूर्ण आक्रामक रुपमा उत्रेको छ । विधिको शासनलाई लत्याएर स्वेच्छाचारी शासन लाद्न खोजेको आदि आरोप लगाएर ओलीलाई सरकार बाहिर गराउने गठबन्धनमा सबै शक्तिहरु मिसिँदै गएका छन् । ओलीलाई एकल्याएर प्रहार गर्ने, परास्त गर्ने यी सबै योजनाबाट ओली जानकार नै हुनु पर्दछ । ओलीको क्रियाकलापबाट छिटफुट रुपमा रहेका राजनीतिक दलहरु गठबन्धन बनाउन सफल भएका छन् ।
ओलीले विपक्षीलाई न सरकार बनाउन दिन्छ न आफू सरकारलाई छोड्छ । आफू कायम रहन विभिन्न शक्ति अभ्यास गर्न पछि हट्दैन । यी शक्ति अभ्यासले कसलाई कहाँ पु¥याउँछ, देशले के पाउँछ यी तमाम कुराहरु भविष्यको गर्भमा छ । राजनीतिक महाभारत युद्ध उत्कर्षमा पुगेकोले यसले भोली के परिणाम दिने भन्ने कौतुहल सबैमा व्याप्त छ । ख्याल ठट्टाबाट शुरु भएको यो संघर्ष बडो अनौठो तरिकाबाट उत्कर्षमा पुगेको छ । यसले के गुमाउँछ र के ल्याउँछ केही दिनमा थाहा हुन्छ, प्रतीक्षा गरौं ।
(२०७८ साल आषाढ ४ गते मधेशवाणीमा प्रकाशित)
