जसपाको एकता र पृथकीकरण

जातिवादको राजनीति गहिरो जरा गाडेर बसेको बिहार र युपी नेपालको तराई भूभागसँग जोडिएकोले तराईमा त्यसको प्रभाव देखिनु स्वाभाविक हो । बिहार र युपीमा केही वर्ष पहिला ब्याकवार्ड र फोरवार्डमा विभक्त समाजले परस्पर मचाएको उत्पात् सर्वविदित छ । साम्प्रदायिक दंगामा दुवै पक्षको मानवीय क्षति लगायत ठूलो संख्यामा सम्पति नाश भयो । घृणाको साम्प्रदायिक आगोबाट प्रान्त जल्यो तर घृणा फैलाउने प्रवृत्ति जलेन । जातिवादको प्रचण्ड ज्वाला दशकौं प्रान्तलाई आफ्नो कब्जामा लिई रह्यो । घाटाबाहेक यसबाट लाभको किञ्चित आश नरहेको परिणामले राजनीतिकर्मीमा केही नरम भाव देखाए पनि जातिवादको राजनीति अक्षुण्ण रुपमा विद्यमान छ ।

यी दुई प्रान्तसँग खुला सिमानाका कारण तथा नाता सम्बन्धका कारण आवत्–जावत् सहज छ । पारस्परिक सम्बन्धले नेपाल भारतको पृथक सम्बन्धको आभाष नै हुँदैन । गहिरो सम्बन्धको प्रभाव प्रत्यक्ष रुपमा मधेशमा देखिनु नौलो कुरो होइन । सकारात्मक र नकारात्मक समान रुपको प्रभाव मधेशमा देखिनु आश्चर्यको विषय होइन । मधेशको राजनीतिमा धेरै पहिलादेखि जातिवादको प्रभाव प्रवेश गरेपनि नेपाली परिस्थितिले अनुकूल वातावरण प्रदान नगरेकाले यो सुशुप्त अवस्थामा थियो । जातिवादकै बाहुल्यताबाट शक्ति आर्जन गर्न सक्ने महत्वाकांक्षा परिपक्व हुँदै गएपछि देश र जनताको समग्र विकासको जिम्मेवारीलाई बिस्र्यो । व्यक्तिवादी सोचले जातिवादको भावनालाई बढाउन धेरै मद्दत ग¥यो ।
शताब्दियौंदेखि राज्यको दोहन, शोषण र बञ्चितीकरणमा परेको मधेश समग्र रुपले ०६३ सालमा विद्रोह गरी राज्यलाई चुनौती दिएको थियो । यो घटना १५ वर्ष पहिलाको हो । विविधतायुक्त मधेशी समाजको समग्र एकताबाट डराएर राज्यले पनि मधेशलाई तोड्ने रणनीति बनायो । मधेशी समाजमा अन्तर्विरोध राख्ने हरेक तत्व ः पहाडी–मधेशी, उच्चनीच, छूत–अछूत, उपल्लो वर्ग, तल्लो वर्ग, ब्याकवार्ड–फोरवार्ड, यादव–बाहुन, यादव–ननयादव, हिन्दू–मुस्लिम, हिन्दू–इसाई आदिलाई सक्रिय बनाउँदै मधेशको राजनीतिक क्षेत्रलाई विषाक्त बनायो । १५ वर्ष पहिलासम्म सहिष्णुताको उदाहरण स्वरुप रहेको मधेशी समाजमा अन्तर्विरोध जगाएर, एक अर्कालाई शोषणका कारण देखाएर राज्य पन्छिन खोजेको कुरालाई मधेशका राजनीतिकर्मीहरु बुझ्न सकेको छैन वा बुझ पचाएका छन् ।

बाह्य र आन्तरिक दुवैतिरबाट मधेशको राजनीतिमा परेको नकारात्मक प्रभावले सहिष्णु समाजको परम्परागत एकतामा चिरा पर्न थाल्यो । भेदभावबाट पीडित समान पीडा भोगिरहेको एकता सूत्रमा बाँधिएको मधेशी समाज पृथकीकरणको थप पीडा भोग्न बाध्य भएको छ । “फुटाएर शासन गर्ने” उखान चरितार्थ भएको छ ।

मधेश आन्दोलनपश्चात् व्यक्तिवादी तथा जातिवादी चरित्रले राज्यसत्तामा सहजै प्रवेशका कारण समग्र मधेशको हकहितको कुरा बिर्सेर जातिगत रुपमा पार्टीको निर्माण शुरु ग¥यो । साना–साना जातीय पार्टीहरुले लाभ र हानी भोग्दै शक्ति क्षीणतालाई महसुस गरे । १५ वर्षको व्यक्तिगत स्वार्थ र जातिवादी राजनीतिको अनुभवले “टुक्रिएर शक्ति क्षीण हुने तथा मधेशको मुद्दा पनि सम्बोधन नहुने” यथार्थलाई बुझ्दै पार्टीहरु एकीकृत हुने क्रम शुरु भयो । ६ वटा पार्टी मिलेर एकातिर राजपा बन्यो भने दुईवटा पार्टी मिलेर समाजवादी पार्टी बन्यो । १ वर्षपूर्व ०७७ बैशाख १० गते राजपा र समाजवादी पार्टीको एकीकरणले जनता समाजवादी पार्टीको जन्म भयो ।

मधेशका पार्टीहरुको एकीकरण मधेशका लागि लाभप्रद रहेपनि पार्टीभित्रका नेतृत्वपंक्ति जातीय अहंकार तथा स्वार्थलाई त्याग्न नसकेका कारण एक वर्ष नबित्दै जसपा विभाजन भएको छ । जसपाको एकता र पृथकीकरणका कारण प्रधानमन्त्री केपी शर्मा ओली नै देखिएका छन् । जसपा ओलीको समर्थन र विरोधमा गएर दुई विचारधारामा विभाजन भएको छ । अनावश्यक रुपमा प्रतिनिधिसभा भंग गरेर देशलाई प्रतिगामी दिशामा लगेको ओलीलाई समर्थन गर्न सकिँदैन भनेर उपेन्द्र यादव समूह नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर विपक्षी गठबन्धनमा लागेको छ भने ओलीले मधेशको केही मुद्दा सम्बोधन गर्ने प्रक्रिया थालेकोले महन्थ–राजेन्द्र समूह उनको समर्थनमा मन्त्रिमण्डलमा सामेल भएका छन् । ओलीको समर्थन र विरोधका कारण जसपा फुटेको सतहमा देखिए पनि असलमा पार्टीमा पहिलेदेखि विद्यमान जातीय अहंकार, स्वेच्छाचारिता, नेतृत्वको निरंकुश शैली, महत्वाकांक्षाको टकराहटले पृथकीकरणको अनुकूल अवसर खोजिरहेको थियो । परिस्थितिवश अनिच्छापूर्वकको एकीकरणले एक वर्ष पुग्दा पनि दुई पार्टीको दूरीलाई झन्–झन् बढाउँदै लगेपछि फुटको संघारमा पुगेको हो ।

मधेशमा एकले अर्काको पुतला दहन गरी अन्तर्संघर्षलाई तीव्र रुपमा बढाएको छ । मधेशीहरुले आफ्नै नेताको पुतला दहन गरी जातीय हिंसा भड्काउने गतिविधि सञ्चालन गरेका छन् । १५ वर्षको राजनीतिक उतार–चढावले मधेशका नेतृत्वकर्तामा परिपक्वता आउनुको सट्टा संकीर्णता नै थपिदिएको कुराले मधेश निराश भएको छ । मधेश अगग्रमनको सट्टा पश्चगमनतिर अग्रसर भएको छ । यो नै राजनीति हो भनेर बुझ्नेले मधेशलाई उपलब्धि दिलाउन त के कुरा मधेशलाई साम्प्रदायिक दंगामा फँसाएर मधेशलाई रक्ताम्य बनाउने काम गर्छ । आफ्नै घर फुकेर आगो ताप्ने देखिएको मधेशी संस्कार हक अधिकार लिने परिपक्वता नपाएसम्म राज्यसत्ताको गुलाम नै रहने कुरा सत्य हो ।

विविधतायुक्त मधेशी समाजले समग्र मधेशको आन्दोलन गरेर नेतृत्वकर्तालाई समग्र मधेश सुम्पेको थियो । यसमा जातको विभाजन नगरी मधेशीका सुपुत्रले बलिदान दिएका थिए । मधेशलाई ८ वटा जिल्लामा सीमित गर्दा पनि उपलब्धि ठान्ने व्यक्तिवादी चरित्रले अन्ततः मधेशलाई जातीय द्वन्द्वमा ल्याएर जाँक्ने काम गरेको छ । यसबाट नै आफ्नो उपलब्धि सुरक्षित पार्ने पार्टीहरुको दिवास्वप्न आगामी चुनावमा धाराशायी हुने निश्चित छ । कुपुत्रहरुका कारण मधेशले लज्जास्पद परिणाम भोगेको इतिहासमा सधैंका लागि अंकित रहनेछ ।

(२०७८ साल जेष्ठ २८ गते मधेशवाणीमा प्रकाशित

 

 

 

 

 

Leave a Comment

error: Content is protected !!