राजनीतिक महाभारत ‘क्लाइमेक्स’मा पुग्यो

कोरोनाका कारण दिनहुँ दुई सयको हाराहारीमा मृत्यु भइरहेको यो महामारीको विकराल अवस्थामा सत्तापक्ष र विपक्ष मानवीय क्षतिलाई रोक्नुको सट्टा सत्ता हत्याउने निकृष्ट खेलमा लागेको छ । जीवनभन्दा सत्ता प्राप्ति नै महत्वपूर्ण ठानी अनेक दाउपेचको प्रयोग गरी प्रधानमन्त्री र मन्त्री बन्ने ध्येयका साथ विपक्षका गठबन्धन (नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जसपाका उपेन्द्र यादव गुट लगायत) सर्वोच्च अदालतको शरणमा पुगेका छन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएर व्यक्तिको रुपमा बहुमत प्राप्त गर्ने जो कोहीलाई प्रधानमन्त्री बन्ने अवसर दिने भनी प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले २४ घन्टे म्याद दिई दरखास्त आह्वान गर्दा विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर साथ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निवेदन शीतल निवासमा पेश गरे । त्यो भन्दापूर्व नै ओली १५३ जनाको समर्थन आफूसँग रहेको दाबी निवेदन शीतल निवासमा दर्ता गराएको थियो ।

सत्तापक्ष नेकपा एमालेका विद्रोही २६ वटा सांसद विपक्षका नेपाली कांग्रेसका उम्मेद्वार शेरबहादुर देउवालाई आफ्नो समर्थन मत दिएका थिए । त्यस्तै जसपाका ३२ जना सांसदमध्ये उपेन्द्र गुटका १२ जना शेरबहादुर देउवालाई र २० जना महन्थ र महतो गुटका ओलीलाई समर्थन गरेका छन् । एउटै पार्टीका सांसदहरु दुइवटै उम्मेद्वारलाई समर्थन गरेको विवादास्पद स्थितिमा राष्ट्रपतिले दुवै पक्षको दाबी खारेज गरी प्रधानमन्त्रीको सिफारिशमा नयाँ जनादेश लिन संसद विघटन गरी कार्तिक २६ र मंसिर ३ गते चुनाव गराउने घोषणा गरिएको छ । तर विपक्षी गठबन्धनले संसद पुनस्र्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषित गरी पाउँ भनेर १४६ सांसदको हस्ताक्षरसहित सशरीर उपस्थित भई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । विपक्षले गठबन्धन बनाई ओलीलाई अपदस्थ गर्न कानूनी लडाई तथा आन्दोलनसमेतमा जाने उद्घोष गरेका छन् ।

विगतमा चुनावको समर्थन गरी ओलीसँग गहिरो समर्थनमा रहेका शेरबहादुर देउवा अहिले ओलीको कदमको विरुद्ध प्रधानमन्त्री बन्न उग्र देखिएका छन् । विपक्षको पार्टीहरुको एकमुष्ट समर्थन पाएर उत्साहित शेरबहादुर देउवा आफूसँग सम्बन्ध तोडेको कुराबाट पीडित केपी शर्मा ओलीले देउवा मर्यादा अनुशासन सबै उल्लंघन गरी राष्ट्रपतिलाई ‘तिमी’ सम्बोधनप्रति आक्रामक भई तीखा प्रहार शुरु गरेका छन् ।

राजनीतिक रस्साकसीका कारण संगठित अनुशासित नेकपा एमाले विभाजन भई माधव नेपाल पक्षले नेकपा एकीकृत समाजवादी दर्ता पनि गराइसकेका छन् । त्यस्तै जसपा पनि विभाजित मनस्थितिमा अन्तरसंघर्ष गरिरहेको छ । कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत र संसदीय दलमा महन्थ र राजेन्द्र पक्षको बहुमतले आघात र प्रतिघातका कारण जसपाको संघर्ष तल्लो स्तरमा मर्यादाहीन बनेको छ । गाली गलौजमा उत्रेका कार्यकर्ताहरु र तिनका उग्र दबाबले दुवै अध्यक्षले पारस्परिक कारबाहीका सिलसिला सुरु गरेका छन् । उपेन्द्र यादवले ओलीलाई किन समर्थन ग¥यो भनेर महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घन्टे स्पष्टीकरण सोधेका छन् । यी चारै जनाले जवाफ दिएको छैन भने ३ दिन बित्दा पनि उनले कुनै कारबाही गरेको छैन । ३ दिनपछि पार्टीको पहिलो अध्यक्षको नाताले महन्थ ठाकुरले ७ बुँदे स्पष्टीकरण सोधेको छ ।

मिल्नै नसक्ने गरी रातारात एकीकरण भएको जसपा सुरुदेखि नै अन्तद्र्वन्द्वमा फँसेको छ । पारस्परिक कारबाहीको प्रक्रियाले पार्टीभित्र नमेटिने चीरा लगाउँदै गएको छ । ओली सरकारबाट अपमानजनक बहिर्गमनका कारण उपेन्द्र यादव मधेशका केही मुद्दा सम्बोधन हुँदा पनि ओलीसँग सम्बन्ध नबनाई विपक्षको गठबन्धनमा गएको छ भने जतिसुकै भएपनि ओलीले मधेशका मुद्दा सम्बोधन गर्दा महन्थ र राजेन्द्र गुट ओलीप्रति सहानुभूति राखी उनलाई समर्थन गरेका छन् । जसपा सत्तापक्ष र विपक्षको समर्थनमा विभाजनको रेखा कोरिन लागेको छ । उग्र जातिवादी अहंकारले अन्ततोगत्वा जसपा फुट्ने निशिचत भएको छ । महन्थ ठाकुर गुट सरकारमा सामेल हुने बित्तिकै जसपा विभाजनमा कुनै शंका अब रहेन ।

मधेशको मुद्दाभन्दा सत्तासँग गहिरो सम्बन्ध बनाएर धन कमाउने लालसाबाट कोही मुक्त छैन । सत्ताका लागि एजेण्डा छोडेको प्रशस्त उदाहरण छन् । एक अर्कालाई दोषी देखाउने मधेशका नेताहरु “चोर–चोर मौसेरे भाई भएकाछन्”, त्यति पनि थाहा छैन । सहोदर नभए मौसेरा भाई पनि बनेर देखाउ त्यो पनि छैन । वैकल्पिक शक्ति बनाउने यात्रामा निस्किँदा बीच बाटैमा डुबेर मर्नेले मधेश मुद्दाको उच्चारण गर्नु पनि ठूलो मुर्खता हो । मधेशमा योगदान दिने अग्रपंक्तिका राजनीतिकर्मी योगदानको हजार गुणा वित्तीय लाभ पाइसकेकोले तिनलाई मसिहाको रुपमा स्थापित गर्नेहरु भाटभन्दा अरु कुनै संज्ञा पाउन सक्दैन ।

अहिले राजनीतिक लडाइ क्लाइमेक्समा पुगेको छ । ओली विरुद्धको मोर्चा सर्वोच्चको फैसला आफ्नो पक्षमा हुने कुरामा पूर्ण आश्वस्त छ । आफूले चालेका सबै दाउ सफल हुँदै गएपछि उत्साहित केपी शर्मा ओलीमा भय मिश्रित खुशी देखिन्छ । पहिलेको संसद पुनस्र्थापनाले ओलीलाई खासै क्षति पु¥याएको थिएन । सर्वोच्चले पूर्ववत् संसद स्थापना गरिदियो भने यसबाट ओलीलाई ठूलो क्षति हुने सम्भावनालाई ओलीले पनि अनुभूत गरेको हुनुपर्दछ । त्यसकारण यो राजनीतिक लडाइ महत्वपूर्ण भएको छ ।

जीवन–मरणको प्रश्नसँग गाँसिएको अहिलेको राजनीतिक लडाइमा ओलीले आफ्नो सम्पूर्ण दाउ लगाउनेमा शंका छैन । हारेपछि ओलीको राजनीति नै सिध्याउने विपक्षको रणनीति तीव्रतर रुपमा ओली केन्द्रित छ । कोरोना संकटले ओलीलाई दाउपेच खेल्न अनुकूलता प्रदान गरेका कारण आफ्नो अभिष्टमा सफलता पाउने आश देखिन्छ । हेरौं ऊँट कुन करवट लिन्छ ।

(२०७८साल जेष्ठ १४ गते मधेशवाणीमा प्रकाशित)

 

 

 

 

 

Leave a Comment

error: Content is protected !!