नेपालको राजनीतिमा छिमेकी सम्बन्ध

दक्षिण एशियाका दुई महाशक्ति देशबीचको सानो तथा जोखिमपूर्ण अवस्थामा रहेको गरिब मुलुक हो नेपाल । सर्वोच्च शिखर, प्राकृतिक सुन्दरता तथा हिमाली श्रृँखला आदिले नेपाल विश्वमा पहिचान बनाएको छ । विश्वका अनेक ठूला देशहरुसंग नेपालको कूटनीतिक तथा मैत्री सम्बन्ध कायम छ ।
भारतसंगको गहिरो सम्बन्धमा ठूलो सानोको असमान व्यवहारका कारण समय समयमा सम्बन्धको असन्तुलनबाट उत्पन्न हुने तनावको अवस्थामा वैकल्पिक मार्ग खोज्ने नेपालको प्रयास अस्वाभाविक होइन । एकपक्षीय रुपमा भारतमाथि निर्भर रहेको नेपाललाई असमान व्यवहारले दिएको पीडाप्रति भारत गम्भीर हुन नसकेको नेपाल पक्षको गुनासोलाई भारतले वेवास्ता गर्नु हुँदैन । नेपालसंगको अन्तरंग सम्बन्धप्रति भारतले पनि समय सापेक्ष नयाँ दृष्टिकोणबाट सम्बन्धको सम्बेदनशीलतालाई मनन गर्नु पर्दछ । सानो भएको कारण अवहेलित हुने, अपमानित हुने, असमान व्यवहारमा पर्ने, आत्मसमर्पणको अवस्थामा प्रस्तुत हुनु पर्ने आदि नेपाल पक्षका आरोपहरुको समय मै निराकरण गरि सम्बन्धको न्यानोपनालाई कायम राख्नु पर्दछ । नेपाल सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको स्वाभिमानलाई अक्षुण्ण राख्ने कुरामा कुनै अवरोध हुनु हुँदैन । नेपाल भारतको गहिरो मैत्री सम्बन्धको सम्बेदनशीलता समान व्यवहारको आधारमा नवीकरण हुदै जाँदा सम्बन्धको सशक्तीकरण हुँदै जान्छ ।
अस्तित्वकालदेखि चीनभन्दा भारतसंग नेपालको गहिरो मैत्री सम्बन्ध रहेको इतिहास छ । नेपाल भोट (तिब्बत) व्यापार नेपाली इतिहासमा जीवित प्रमाण भेटिएपनि चीनसंगको यदाकदा घटनाबाहेक गहिरो मैत्री सम्बन्ध देखिदैन । बितेको १२ वर्षमा दक्षिण एशियामा आफ्नो वर्चस्व देखाउन लिएको रणनीति तहत चीन नेपालसंग एकतर्फी गहिरो मैत्री सम्बन्ध जोड्न युद्धस्तरको प्रयासमा लागेको देखिएको छ । नेपाललाई भारतीय प्रभावबाट निकालेर आफ्नो प्रभावमा लिने मनसायबाट प्रेरित चीन आफ्नो समृद्धिको सहायताले नेपालको गरिबी निवारण गर्ने कुरा गरि रहेको छ ।
चीनको कूटनीतिक सम्बन्धले कहिले पनि नेपालसंग गहिरो मैत्री सम्बन्ध बनाउन सकेन । चीनले नेपालसंग अस्वाभाविक रुपमा गहिरो सम्बन्ध बनाउने औचित्य नै बुझेन । विगतमा भारतसंग सम्बन्धको तनावपूर्ण अवस्थामा शासकहरुले चीनसंग गहिरो मैत्री सम्बन्ध बनाउने प्रयास गर्दा पनि यसले स्थायित्व लिन सकेन । एक दशकदेखि नेपालको राजनीतिमा चीनको अप्रत्याशित हस्तक्षेपकारी चासो बढेको पाईएको छ । नेपाल गरिब मुलुक र राजनीतिकर्मी दरिद्र मानसिकताका भएकोले चीनको आर्थिक सहयोगले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मसमर्पण गरायो ।
काँग्रेस (आई) को सरकारसम्म नेपालको सम्बन्ध ठीक थियो । सन् २०१४ मा नरेन्द्र मोदीको सरकार गठन हुँदा नेपाल एकाएक भारतसंग के कति कारणले आक्रामक भए यसको पुष्ट कारण देखिदैन । त्यतिबेला नाकाबन्दी आन्दोलन पनि थिएन । चीनसंग नेपाल सरकारले यतिबेला गहिरो मैत्री सम्बन्ध विकसित गरि सकेको थियो । भारतलाई नेपालले वैकल्पिक मार्ग प्राप्त गरेको दृष्टान्त पनि देखाउनु थियो । चीनसंग आर्थिक सहयोगको सशक्त माध्यम पाएको उन्माद थियो कि चीनको ईशारा, ओलीले नरेन्द्र मोदीप्रति बिष बमन गर्न शुरु ग¥यो । ओली सरकारले भारतसंगको निर्विकल्प सम्बन्धको सम्बेदनशीलतालाई पनि बुझ्न सकेन । कूटनीतिक मर्यादा, भारतमाथिको परनिर्भरता, निकाशद्वार, नेपाल भारतको विशेष मैत्री सम्बन्धको सदभावना आदि सबैलाई बिर्सेर केपी शर्मा ओली भारतप्रति कठोर व्यवहार प्रदर्शन गरेर चीनको स्थाई विश्वास प्राप्त गर्न चाहन्थ्यो । भारतको अनावश्यक विरोधको कारण राजनीतिक विश्लेषक वृतमा योभन्दा अरु कुनै देखिएन ।
संसदमा बोल्ने क्रममा कूटनीतिक मर्यादालाई वेवास्ता गर्दै “निशान छापमा भारतको सत्यमेव जयते हो कि सिंहमेव जयते” भनेर कति तल्लोस्तरमा ओर्लेर ओलीले भारतको विरोध गरेको थियो । अयोध्यामा राम मन्दिरको निर्माणको व्यापक चर्चा भई रहँदा ओलीले अयोध्या नेपालको ठोरी भन्ने ठाउँ हो र राम नेपाल कै हुन् भनेर अर्को एकघ्नि अस्त्र नरेन्द्र मोदीमाथि दागेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा भुभाग समेटेर नेपालको नयाँ नक्शा संसदबाट पास गरि भारतसंग बढाउँदै लगेको तनावलाई अमिट रुपमा स्थापित ग¥यो ।
भारत सरकारको प्रतिनिधी आउँदा “हस्तक्षेप” भनेर उद्घोष गर्ने यहाँका राजनीतिकर्मी चीनको अतिक्रमणलाई नजरअन्दाज गर्छन् । उत्तरी सीमामा नेपालको भूमिमा बनाएको चीनको घरहरु अतिक्रमणमा नरहेको परराष्ट्रको विज्ञप्तिले प्रष्ट गरेको छ । भारतको विरोधमा चीनले नेपाललाई प्रयोग गरेको कुरा अन्धभक्तिको अन्ध्यारोमा ओलीलाई परिलक्षित हुन सकि रहेको छैन । पाकिस्तानलाई पनि चीनले उचाल्यो र अहिले थेचारेको व्यथा इमरान खानले भोगि रहेको छ । सीपेकको लोभमा पारेर चीनले पाकिस्तानलाई भारतको विरोधमा जति प्रयोग गर्नु पर्दथ्यो, त्यति पाकिस्तान प्रयोग हुन नसकेको कारण अहिले सीपेकको कार्यक्रम चीनले स्थगित गरि दिएको छ । सीपेकबाट हात निकालेपछि पाकिस्तानको हालत रुने सिवाय अरु केही छैन ।
मोदीलाई गाली गरेर राष्ट्रवादीलाई संगठित पारि अप्रत्याशित जीतबाट दुईतिहाई नजिकको सरकार बनाउन सफल ओली आफ्नो लोकप्रियताको भारि बोक्न असफल भएको छ । सरकारलाई स्थायित्व दिएर देश र जनताको कामलाई सुचारु गर्नु पर्ने दायित्व बिर्सेर ओली शक्ति उन्मादमा आफ्नो अहम् स्थापनाका लागि अनेक गलत तिकडम लगाएर आसेपासेलाई फायदा पु¥याउने दिशामा लागे । आफ्नो अहम्बाट प्रेरित ओलीको चारित्रिक निरंकूता तथा अराजक चरित्र प्रयोग हुन थाल्दा शासनको बागडोर छुट्यो । फलतः देश अराजक अवस्थामा पुगेपछि देशमा खुलेआम भ्रष्टाचार, बलात्कार, हत्याहिंसा, एसिड प्रयोग अर्थात् चारैतिर अपराधको ताण्डव व्याप्त भयो । ओलीले देशमा सुशासनको अनुभूति गराउन बिलकूल असफल भयो ।
अहिले आफ्नै पार्टीभित्र पारस्परिक झगडाले विस्फोटको रुप लिएको छ । तत्कालीन माओवादी र एमाले एकीकरणबाट बनेको देशको शक्तिशाली पार्टी नेकपा अहिले विभाजनको अन्तरव्यथामा छटपटाई रहेको छ । पार्टीको नियम कानूनभन्दामाथि रहेको ओली कुनै कुरा मान्न तयार छैन । आरोप, प्रत्यारोप अब छलफलको विषय नरहि दुश्मनीमा रुपान्तरण भएकोले मंसीर १३ अगावै पार्टी दुर्घटनामा पर्ने निश्चित भई सकेको छ । प्रचण्ड गुटपनि आउने अनिष्टका लागि आपूmलाई तयार पारि सकेको छ । केपी शर्मा ओलीको अहंकारले पार्टी संचालनमा पनि ओलीलाई असफल तुल्याएको छ । ओलीलाई देशमा छाएको अराजकता परिलक्षित भई रहेको छैन । पार्टी लहुलुहान भएको देख्दैन । उसले आफ्नो अहम् घायल भएको कुरा मात्र देख्छ । बडो कारुणिक ढंगले ओली शेरबहादुर देउवालाई बालुवाटर बोलाएर सहयोग गर्न आग्रह ग¥यो । एमसीसी पास गराउन पनि ओलीका लागि महत्वपूर्ण कुरा हो ।
चरम खुराफातमा ओर्लेको ओली जनता समाजवादी पार्टीलाई पनि आफ्नो शिकार बनाउने दावमा पुग्न सक्छ । प्रचण्ड गुटको अविश्वासको प्रस्तावलाई फेस गर्नेदेखि लिएर अध्यादेशमार्फत पार्टी विभाजन गरि सबैलाई अलग्याउने ओलीको रणनीति छ । पार्टी विभाजन गरि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसंग मिलेर सरकार बनाउँदा सहज रुपले एमसीसी पास हुने र निर्वाध सरकार चलाउन पनि हुने उद्देश्यले ओली नयाँ समीकरण बनाउने दिशामा अग्रसर छ ।
ओलीलाई नियन्त्रण गर्न चीनको राजदूत होउ यान्छी पनि असफल भएको कुरा अहिलेसम्मको अवस्थामा देखिएको छ । ओलीको पैंतरावाजी बुझि नसक्नु भएको छ । “रअ” प्रमुखसंग भेंट गरेदेखि ओलीको आक्रामक भूमिकाले कहीं त्यहींबाट निर्देशित त होइन भन्ने बुद्धिजीवी, विश्लेषक तथा नेकपाका विपक्षीहरुको आशंका घनीभूत छ । चीनियाँ राजदूतको पार्टी नफोड्ने आग्रहलाई पनि चीनियाँ अन्धभक्त ओलीले नमानेर कहीं यो पुनश्च आफ्नो गडफादरको प्रभावमा त गएन भन्ने शंका लिनु स्वाभाविकै हो ।
यही मंसीर ११ गते नेपाल भारतको सचिवस्तरीय बैठक तय भएर नेपाल भारतको सम्बादहीनता टुटेको छ । यो बैठकमा भाग लिन भारतका विदेश सचीव हर्षवद्र्धन श्रृँगला बिहीवार आउने भएका छन् । नेपाल भारत सम्बन्धमा बढेको तिक्तता कम भएर सम्बन्ध सुधारको दिशामा यो बैठक कारगर सिद्ध होला भन्ने विद्वतवर्गमा ठूलो आशा पलाएको छ । ओलीको पनि सम्बन्ध सुधारतिरको झुकावका केही लक्षणहरु देखा परेका छन् । ओलीमा भई रहेको परिवर्तनबारे बेइजिङ पनि चिन्तित बन्नु स्वाभाविक हो । नेपालमा गरिएको लगानी डुब्ने आशंकामा उ पनि मंसीर १४ गते रक्षामन्त्रीलाई पठाउँदै छ ।
अनुकूल परिस्थिति सधैं रहँदैन । अनुकूल परिस्थिति पाएर ओलीले हदैसम्मको स्वेच्छाचारिता प्रयोग गरेर सम्हाल्न नसक्ने लाभ प्राप्त गरेकै हो । भारतलाई पनि वाकयुद्धबाट ध्यानाकर्षण गराएकै हो । भारतसंग सम्बन्ध सुधार गर्न ओली कतिको साकारात्मक छ भन्ने कुरा बैठकपछि थाहा हुनेछ । नेपाल भारतको प्राकृतिक सम्बन्धको विकल्प खोजियो भने त्यो अवस्था धेरै जोखिमपूर्ण हुने सत्यलाई स्वीकार गर्नै पर्दछ । यी सब कुराको उपलब्धि गराएपनि ओली प्राप्त गरेका कुरालाई व्यवस्थित गर्न असफल देखिएका छन् । आगामी राजनीतिको मार्गचित्र कोर्दा मनोवाँछित परिस्थिति रहन्छ कि रहँदैन, के ठेगान । आफ्नो गुटबाहेक ओली देशमा बिलकूल एक्लिएको छ । ओलीले देश र विदेशमा पनि आफ्नो विश्वसनीयता गुमाएको छ । पार्टी विभाजन ओलीको दुर्भाग्य शुरु भएको दिन हुनेछ ।
२०७७ मंसीर १२ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!