“सतीको श्राप लागेको देश” कति सान्दर्भिक उक्ति ! जहिले पनि सटीक उदाहरण दिन मिल्ने । अहिले नेपाली राजनीतिको चिन्तनीय दुरावस्थामा त झन् महत्वपूर्ण उदाहरणको रुपमा यसको प्रयोग नगरि लेखको औचित्य नै हराउँछ । “सतीको श्राप लागेको देश” लाई ओलीको शक्तिशाली सरकारले घटनाको सत्यतालाई पुष्टि गरि दिएको छ । श्रापको अगाडि शक्तिको के जोर ?
देशमा केपी शर्मा ओलीको शक्तिशाली विशालकाय सरकार रहेको अवस्थामा भ्रष्टाचार चरमोत्कर्षमा पुगेको कुरालाई समय समयमा बुद्धिजीवीहरुले लेखमार्फत भ्रष्टाचारका विभिन्न घटनालाई औंल्याउँदै आउँदा पनि सरकारको कुनै चासो नदेखिदा यसले हरेक क्षेत्रलाई प्रभावित गर्दै देशमा तीनै तहमा आर्थिक अनियमितताको बजार नै देखा प¥यो । हत्याहिंसा, व्यभिचार, दुराचार, बालिका बलात्कार र हत्या, एसिड छ्याप्ने जघन्य अपराध, हरेक वस्तुको कालाबजारी, महँगी, वस्तुको कृत्रिम अभाव आदि अनेक जनविरोधी घटनाहरुबाट राजनीतिक अराजकतामा जनताले लामो समयदेखि सरकारको अनुभूति गर्न सकेको छैेन ।
देशमा व्याप्त कोरोनाको कहर, ९ महिनादेखि लकडाउनमा परेर ठूला साना व्यवसाय सबै ठप्प भएको, भोकमरीको भयावह अवस्थामा बैंकको कडा ताकेता, परिवार पाल्न धौ धौ रहेको अवस्थामा महँगाईको मार, शिक्षा, स्वास्थ्यको झेल्नु पर्ने आदि अनेकन समस्यामा परेको जनताले सरकारबाट कुनै राहत नपाएर जन असन्तोष बढ्नु स्वाभाविक हो । असन्तुष्ट रहेका अहिले देशभरिका मानिस सडक प्रदर्शनमा उत्रेका छन् । “राजा आउ देश बचाऊ” को नारा घन्काउँदै देशका भिन्न भिन्न शहरमा राष्ट्रिय झण्डा उचाल्दै हजारौंको संख्यामा मानिस आन्दोलनमा उत्रेका छन् ।
यता सरकारको दरवारबाट शहंशाहले देशभरिका प्रशासनिक निकायलाई गाथगादी ताक्ने अराष्ट्रिय तत्व पुनरुत्थानवादीलाई नियन्त्रण गर्न उर्दी समेत जारी गरेको छ । वजीरले पनि जनतालाई “जति भोक लागेपनि गोबर नखाउ, बरु २२औं शताब्दिमा राहुल साँकृत्यायनले कल्पना गरेको विभेदरहित संसार एउटै परिवार हुने कालसम्म पर्ख” भनेर अर्ती उपदेश दिएका छन् । एउटा दिवालमा टाउको ठोक्किए मानिस विपरीत दिशातिर जानु स्वाभाविक हो । एउटाले गरेन, अर्कोले गर्छ कि ? भन्ने विश्वास लिएर आन्दोलन जागेको हो ।
७४ वर्षको नेपाली काँग्रेस र ७१ वर्षको नेपाल कम्युनिष्ट पार्टीले न साम्यवाद न समाजवाद बुझ्न सक्यो । यी बूढा पार्टीहरुले ती दुईवटै दर्शन त कण्ठस्थ गर्न सकेन तर कसैले नसिकाएको स्वार्थवादको दर्शन भने आद्योपान्त याद रह्यो । कमाएर परिवारको पेट पाल्ने गरिब निमुखा जनतालाई सामन्तवाद, समाजवाद, साम्यवादसंग के मतलव ? उसको सरोकारको वस्तु होइन । सरकारको निकम्मापनबाट अवसरविहीन अवस्थामा रहेको जनतालाई अहिले रोजगारी चाहिएको छ । होइन भने राहतको आवश्यकता छ । भोकै पेट भएका असन्तुष्ट जमातले कुनै दर्शन बुझ्दैन । प्रगतिशील दर्शनशास्त्रीहरुले जनताको दुःख बुझेन भने वैकल्पिक शक्तिलाई गुहार लगाउनु स्वाभाविक हो । त्यही गुहार आन्दोलनको रुपमा प्रस्फुटित भएको हो ।
तर धरातलीय यथार्थ फरक छ । समस्याको चरम अवस्थामा मानिसलाई मृत्युबाहेक अब कुनै विकल्प देखिएको छैन । भोकमरीमा परि आत्महत्या गर्ने क्रम जारी रहँदा पनि जिम्मेवार पक्षमा मानवताको कुनै संकेत देखिएन । भोकभोकै मर्न दिन्न भनेर दिनहुँ स्याल कराएको त सुनिन्छ तर मर्ने क्रम रोकिएको छैन । समाजमा उदाहरणका लागि बचेका मानवतावादी, समाजसेवीहरुले भोकभोकै रहेका नेपाली नागरिकलाई टुँडिखेलमा भात खुवाउँदा शहंशाहको इज्जत जाने डरले ती सबै भोकानाँङ्गा लखेटिएका छन् । शहंशाहको इज्जत अगाडी ती भोकानाँङ्गाको के महत्व ? शहंशाहलाई जिताउन राष्ट्रवादीहरुले दिएको एकमुष्ट मत पानीमा गएको अनुभव गर्दै होलान् । क्षमताभन्दा बढि शक्ति प्राप्त भएपछि मदोन्मत्त मानिस निष्क्रिय हुने कुरा राष्ट्रवादीहरुले बुझेका छैनन् क्यारे !
देशका बुद्धिजीवीहरुले सरकार दायित्वविहीन भएर देशमा अनैतिक प्रवृति शासन प्रणालीमा हावी भएको, राजनीतिक अराजकता बढि रहेको आदि कुरा गर्दा “हाथी चले बजार कुत्ता लगे हजार” जस्तै सरकारले कुनै वास्ता नगरि हिंडेपछि ट्रान्सपेरेन्सी इन्टरनेशनलले एशियाका १७वटा देशमा भ्रष्टाचार सम्बन्धी मत सर्वेक्षण गरि “ग्लोवल करप्सन बैरोमीटर एशिया–२०२०को प्रतिवेदन सार्वजनिक ग¥यो । त्यसमा ५८ प्रतिशत मत लिएर भ्रष्टाचारमा नेपाल पहिलो स्थानमा रहेको देखाएको छ ।
प्रतिवेदन अनुसार ८४% नेपाली जनताले भ्रष्टाचार नेपालको प्रमुख समस्या हो भनेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार बढेको ५०% जनताको मत रहेको छ । ४३% जनताले साँसद र सरकारी अधिकारी तथा स्थानीय अधिकारी भ्रष्ट रहेको भनेका छन् । भ्रष्टाचार सम्बन्धी विभिन्न प्रकरणका आरोपित व्यक्तिको सार्वजनिक रुपमा प्रतिरक्षा गर्दै देखिनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको निष्ठामाथि ट्रान्सपेरेन्सी इन्टरनेशनले प्रतिवेदनमार्फत गम्भीर प्रश्न उठाएको छ । विगतमा पनि ट्रान्सपेरेन्सी इन्टरनेशनलले साँसद, कर्मचारी, मन्त्री, न्यायालय, सुरक्षा प्रहरी, सेनालगायतको प्रतिशत तोकेरै भ्रष्टाचारको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्योबेला पनि केपी शर्मा ओली नै प्रधानमन्त्री थिए ।
प्रधानमन्त्रीका कारण नेपालको मान प्रतिष्ठा विश्वभरमा बदनाम भएको कुरा चारैतिरबाट उठ्दा केपी शर्मा ओलीले यो मिथ्या आरोप लगाईएको प्रतिक्रिया दिएको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनलको प्रतिवेदन सत्यतथ्यको आधारमा नरहेको प्रतिक्रियाले देश सामान्य अवस्थामा रहेको ओलीको बुझाई छ । अहंकारको अगाडी दुर्योधनलाई पनि आफ्नो विनाश देखिएको थिएन । केपी शर्मा ओलीले त्यही अवस्था प्राप्त गरेको छ ।
चीनसंगको अन्तरंग सम्बन्ध बनाउन, भारतलाई चुनौती दिएर नेपालको गौरव बढाउन, चुनावमा अप्रत्याशित सफलता पाएर नेपालको ऐतिहासिक दुईतिहाईको सरकार बनाउन, नेपाली काँग्रेसलाई धुलोपीठो बनाएर प्रतिपक्षमा राख्न सफल प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वाकाँक्षा संविधानभन्दा पनि माथि गएबाट नेपालमा समस्या बढ्न थालेको हो । आपूmलाई शक्तिकेन्द्रको रुपमा स्थापित गर्ने प्रयास, स्वेच्छाचारी निरंकूश शासकको रुपमा रुपान्तरण गर्ने चाहनाले यत्रतत्र समस्याहरु देखिन थालियोल । गुठी विधेयक, मीडिया विधेयकको हंगामा सर्वविदित नै छ ।
स्वेच्छाचारिताको प्रयोगले नेकपाभित्र भीषण अन्तरसंघर्ष चर्केको छ । चरमोत्कर्षमा रहेको नेकपाको अन्तरसंघर्षका कारक तत्व ओली मात्र हुन् । सगरमाथा जस्तो उँचाई प्राप्त गरेको ओलीको महत्वाकाँक्षा र सोही अनुसार शहंशाहको रवाफबाट आहत आफ्नै सहकर्मीले ओलीको स्वेच्छाचारी व्यवहारलाई औंल्याउँदा परशुराम जस्तै अन द स्पट श्राप दिने ओलीको व्यवहारबाट नेकपा मात्र होइन, नेपाली काँग्रेस, जसपालगायत सबै राजनीतिक दलहरु असन्तुष्ट देखिन्छन् । जनता त विरोधमा आन्दोलित नै छन् । पार्टीभित्र ओली अल्पमतमा परेको कुरा सार्वजनिक हुँदा त सबै छक्क पर्न थालेका छन् ।
भारतसंग सम्बन्ध सुधार्ने बहानामा ओली आत्मसमर्पण गरेको आफ्नै सहकर्मीहरुको आरोप छ । ओली कसैलाई जानकारी नदिई रअ प्रमुख सामन्त कुमार गायलसंग गोप्य वार्ताबाट सहकर्मी चिढिएका छन् । ओलीको आत्म समर्पणबाट चीन पनि चिन्तामा परेको छ । चीनको प्रभावबाट नेपाललाई बाहिर निकाल्ने भारतको चिन्ता र नेपाललाई चीरकालीन प्रभावमा राखि राख्ने चीनको चासोबीच अहिले ओलीका कारण टकराहट शुरु भएको छ । यो घटनाले चीनको विश्वासमा ठूलो धक्का लागेको छ । चीनियाँ राजदूत यान्छीको दौडधूप त्यही चिन्ताको कारण भएको हो ।
भारतसंगको सम्बन्ध सुधार्नु आवश्यक रहेको ठान्ने राजनीतिकर्मीहरुले ओलीको भेंट गर्ने तरिकामा प्रश्न उठाएका छन् । तर ओलीको सोच र चरित्र फरक रहेकोले उनलाई यस्ता आलोचनासंग मतलव हुँदैन । उनले जे सोच्यो, त्यही ग¥यो । प्रचण्डले क्षमा याचना गरेन भने पार्टी फोडि दिने कुरा भनिएकै हो । उधारोको जीवनलाई आफ्नै पाराले प्रयोग गर्ने उनको जिद्दी चरित्रलाई सुधार्न कठीन छ ।
ओली सरकारको निष्क्रियताका कारण देशमा विद्यमान रहेको समस्यासंगै जन्माईएका समस्याहरु समेत अहिले आन्दोलनको रुपमा मुखरित भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टामा संवैधानिक राजतन्त्रसहितको हिन्दु राष्ट्र नेपाल चाहिन्छ भन्ने आन्दोकारीको आक्रमणबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसले बचाउने ? संघीयताको विरुद्ध सबै एकमत रहँदा आन्दोलनको सत्ताधारी पक्षपनि मतियार नै रह्ने भएपछि नेपालमा ठूलो राजनीतिक दुर्घटना आउने सम्भावना प्रवल देखिएको छ । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र वर्तमान संविधानको खारेजी पछि नै आउने हो ।
भिन्न भिन्न समस्याबाट पीडित मानिसहरु एकमुष्ट रुपमा आन्दोलनमा होमिएपछि मधेशमा आँप झार्न सिपालु ओलीले यसरी आन्दोलनलाई चर्काएर लाने सम्भावना बढि छ । सामन्ती चरित्र, जिद्दी संस्कार र उच्च महन्वाकाँक्षाबाट प्रेरित ओलीको व्यवहार नेपाली राजनीति अनुकूल नरहेको मानिसले बुझि सकेका छन् । आफ्नो गुटबाहेक कसैको कुरा नसुन्ने र गुटको कुरा पनि नसुन्ने बरु आफ्नो कुरा सुनाएर समर्थन हासिल गर्ने बानी निश्चय पनि राजनेताको हुनु हुँदैन । शक्तिशाली सरकारको निक्रियताबाट विरोधमा जन्मेको आन्दोलन परालको आगो हो कि काठको धुनि, समयले बताउला । नेपालको राजनीतिक धरातल ओलीको विरुद्धमा रहेको यथार्थलाई ओलीले स्वीकार गर्न सक्ला ?
२०७७ मंसीर १९ गते मधेशवाणीमा प्रकाशित
