संसफो–राजपाको सहकार्यका चुनौतीहरू

भर्खरै नेपाली कांग्रेसको सरकारले संघीय संरचनाको चुनाव गराएको छ । आफू खुम्चिएको अवस्थामा वाम गठबन्धनले राम्रो नतिजा पाएको छ । केन्द्र र प्रदेशमा नयाँ सरकार बनाउने दलहरू हतारिएको अवस्थामा देखिन्छन् । राष्ट्रिय सभा गठनको जिम्मेवारी सम्पन्न गरी कांग्रेसले सरकार छाड्नै पर्ने बाध्यता छ ।

वाम गठबन्धन र राजपा–ससफो गठबन्धन भित्र र बाहिर समीकरण मिलाउन व्यस्त छन् । कुन–कुन पार्टीसँग मिल्दा कति फाइदा र कति घाटा हुने बारेका लेखाजोखा भइरहेकाले गठबन्धनको सीमित दायरामा रहने वा यसलाई अझ फराकिलो बनाउने भन्ने विषय पनि चर्चामा छ । समीकरण मिलाउन पर्याप्त समय रहेकोले अनेक कोणबाट मिलाउने प्रयास भइरहेको छ ।

चुनावी नतिजाले वाम गठबन्धनलाई सरकार चलाउने अभिारा दिएको छ भने नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्न बाध्य गरेको छ । चुनावी नतिजाले राजनीतिक असन्तुलन बढाएको कारण वाम गठबन्धनको सरकार सहज रूपले अगाडि बढ्ला जस्तो लाग्दैन । प्रचण्डलाई वाम गठबन्धनबाट फुटाएर लोकतान्त्रिक गठबन्धनबाट प्रधानमन्त्रीको आमन्त्रण गर्नु, ससफोलाई गठबन्धनबाट अलग्याएर वामसँग जोडेर सरकारमा आउन तयार पार्नु राजनीतिक गतिरोध पैदा गर्ने लक्षणहरू पनि देखा पर्न थालेको छ । आफैले बनाएको गठबन्धन र त्यसैको आचार संहिता मानेर बस्न नरूचाउने व्यक्तिवादी चरित्र कहाँ कति फाइदा हुने भन्ने विषयलाई प्राथमिकता दिएर अगाडि बढ्ने भएपछि राजनीतिमा विषमता पैदा हुनु स्वाभाविक हो ।

जनादेश पाएर पनि निर्वाध सरकारको कार्यकाल पूरा गर्न नसक्नु नेपाली राजनीतिकर्मीको ठूलो अवगुण हो । व्यक्ति विशेषको महत्व मात्र स्थापित गर्ने परिपार्टी लोकतान्त्रिक पार्टीमा पनि कायम रहेकोले विगतमा बहुमत प्राप्त पार्टीले सरकार चलाउन सकेन । सामूहिक नेतृत्वको विकास गरेर पार्टीलाई मजबुत पार्ने धारणा अहिले पनि लोकतान्त्रिक पार्टीमा पाइएको छैन । त्यसकारण पार्टीहरूको धरातलीय मजबुती बन्न सकेको छैन र परावलम्बी बनाइदिएको छ । नेपाल लामो समयदेखि पराश्रित राजनीतिको दुर्दशा भोगिरहेको छ । बाह्य शक्तिको निर्वाध चलखेलका कारण पनि यही राजनीतिकर्मी हुन् । पराश्रित भएर पनि यिनले आफ्नो स्वतन्त्र धरातल बनाउने प्रयास गरेनन् । दुई महाशक्तिको बीचमा कहिले यता कहिले उताको राजनीति गरेर जीवन बिताए ।

वाम गठबन्धनले सरकार बनाउने जनादेश पाएको छ । लोकतान्त्रिक शक्ति कमजोर प्रतिपक्षको रूपमा बस्न बाध्य छ । यो असन्तुलनले ल्याउने व्यवधान आगामी दिनमा देखिन्छन् नै । समस्याको ज्वालामुखी माथि गराइएको चुनाव र प्राप्त गरिएको विजयश्रीबाट सतहमा शान्ति देखिए पनि भित्र उम्लिरहेको जनावाज कुन बेला विस्फोटको रूप लिने थाहा छैन । नेपालको राजनीतिमा वाम प्रभाव बढ्दा लोकतान्त्रिक शक्तिकेन्द्रको रूचि बढ्नु स्वाभाविक हो । नेपालमा ाफ्नो प्रभावको असन्तुलन कसैले बर्दास्त गर्न सक्दैन र यसले द्वन्द्व पैदा गर्छ । यही द्वन्द्व नेपाली राजनीतिमा विभिन्न कोणबाट चित्रित हुन्छन् ।

राजनीतिमा इमान्दारिता, त्याग, दूरदर्शिता आदि आचरणको अभावमा व्यक्तिवादी चरित्र अराजक अवस्थामा रहेकोले आफ्नै सहकर्मीलाई विश्वास गर्न सक्ने अवस्था छैन । एक ढिक्का देखिएका राजनीतिकर्मी स्वार्थको टकराहटमा एकैछिनमा कहाँ पुग्छन् थाहै हुँदैन । यस्तो तरलीकृत मानसिकता पराश्रित राजनीतिको उपज हो । तर, माोवादी केन्द्र र एमालेले वाम गठबन्धन बनाएर चुनावमा जुन आकार प्राप्त गरेका छन् यसलाई त्यागेर यिनी फुट्न चाहँदैन । बरू एकीकृत भएर जाने सम्भावना बढी छ । फुटेर अस्तित्व नै नरहने ठूलो शंका माओवादी केन्द्रलाई रहेकोले उनी अहिले कसैको इशारामा फुट्न चाहँदैन । बरू वाम गठबन्धनलाई बलियो पार्न आफूसँग मिल्ने चरित्रका ससफो अध्यक्ष उपेन्द्र यादवलाई पनि मिलाएर जाने प्रवल सम्भावना छ । वाम गठबन्धनलाई सशक्त रूपमा प्रस्तुत गर्ने र आइपरेका चुनौतीलाई छाडेर सामना गर्ने अठोट लिएर नेपालमा स्थिर सरकार दिने धारणा बनाउनु नराम्रो होइन ।

नेपाली राजनीतिमा एकल नेतृत्वको प्रवृत्ति लामो समय कायम रहेको छ । वाम वा लोकतान्त्रिक पार्टी होस् एकल नेतृत्वको निरंकुशता कायम रह्यो । केही समय यता सामूहिक नेतृत्वको विकास हुन लागेको दृश्यहरू देखा पर्न थालेको छ । केन्द्र र प्रदेश सभाको चुनाव पूर्व मधेशका छ वटा पार्टी एक भएर राष्ट्रिय जनता पार्टीको नामले सामूहिक नेतृत्वको विकास गर्न थाले भने एमाले र माओवादी पनि वाम गठबन्धनको माध्यमबाट सामूहिक नेतृत्वको अभ्यासमा लागेका छन् । यसलाई राजनीतिक विकासको प्रक्रिया भनूँ वा निहित स्वार्थ, आगामी दिनले प्रष्ट गर्नेछ । तर, सामूहिक नेतृत्वको अभ्यास भने राम्रो कुरा हो ।

वाम गठबन्धनको एकीकणमा जाने चर्चा व्यापक रूपमा उठेको छ । त्यस्तै मधेशका दलहरू राजपा र संसफोले गठबन्धन बनाएर चुनाव लडेका छन् । राम्रो नतिजा पनि पाएका छन् । प्रदेश सभामा संसफोले प्रत्यक्ष र समानुपातिक गरी ३० वटा सीट पाएका छन् भने राजपाले २५ वटा सीट पाएका छन् । सरकार बनाउन सक्षम राजाप र संसफो लोकतान्त्रिक गठबन्धनका घटकहरू हुन् । लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस पनि छन् । कतिपय ठाउँमा नेपाली कांग्रेसको राजपा र संसफोसँग तालमेल गरी चुनाव लडेका छन् । राजपा र संसफोको सहकार्य भइरहेकोले वाम गठबन्धन जस्तै यिनीहरू पनिपार्टी एकता गर्ने चर्चा बढिरहेको छ । मधेशले पनि यी दुई पार्टीको एकीकरण हुने इच्छा राखेको छ । राजपा र संसफो मिलेर सरकार बनाउन यथेष्ट सीट प्राप्त गरेको छ । प्रदेश नं. २ मा यिनको एकलौटी सरकार बन्ने सम्भावना रहे पनि विभिन्न कारणले यो समीकरण बन्न नसक्ने सम्भावना पनि छ ।

विगतको चुनावमा संकुचनमा परेको उपेन्द्र यादवले लामो नाकाबन्दी गरेर सरकारलाई कठिन चुनौती दिएका थिए भने विगतको आन्दोलनको अवधिमा संसारका दर्जनौं देशहरूमा आमसभा गरेर आएका थिए । यसपालिको चुनावले यिनको विजयको दायरालाई बढाइदिएको कारणले यिनको महत्वकांक्षा पनि गगनचुम्बी बनेको छ । एकल प्रवृत्तिका धनी उपेन्द्र यादव प्रदेश सरकारमा मात्र सीमित नरही केन्द्र सरकारमा समेत आफ्नो वर्चस्व बनाउने इच्छा राखेकाले राजपा र संसफोको सहकार्यको राजनीति सहज रूपमा बढ्दा जस्तो लाग्दैन ।

यता, राजपामा राजेन्द्र महतो प्रभावका उम्मेदवारहरू (प्रत्यक्ष र समानुपातिक) बढी जितेर आएकाले राजपाभित्र राजेन्द्र महतोको प्रभाव बढेर जानु स्वाभाविक हो । राजेन्द्र महतो र उपेन्द्र यादवबीच ३६ को आँकडा रहेको विगत दिनका घटनाहरूले त्यसै देखाउँछन् । पार्टीभित्र एकल वर्चस्वको प्रवल चाहना राख्ने उपेन्द्र यादव यति सजिलो सामूहिक नेतृत्वको अवधारणालाई सहजै स्वीकार गर्ला जस्तो लाग्दैन । स्थानीय चुनावमा प्रदेश नं. २ मा संसफोको प्रभावभन्दा राजपाको प्रभाव किञ्चित पनि कम नदेखिएकोले अस्तित्व स्वार्थका लागि राजपासँगको गठबन्धन भएको प्रष्ट छ । प्रदेश सरकार बनाउन बहुमत नरहेको अवस्थामा संसफो कसैसँग मिलेर सरकार बनाउन बाध्य छ । मधेशप्रतिको इमान्दारिता कायम राख्ने हो भने संसफोको लागि राजपाको सहयोग उपयुक्त देखिन्छ । कुटिलताको प्रयोगले मात्र राजपालाई नकार्न सकिन्छ । मधेशले ०६४ को चुनाव जस्तै संसफो र राजपालाई जनादेश दिएको छ । मधेशप्रतिको चाहना, व्यवहार र मधेशको आकांक्षा पूर्ति गर्न राजपा र संसफोको अहिले अग्निपरीक्षा नै हो ।

ओलीसँग निकट सम्बन्धका कारण संसफो वाम गठबन्धनमा मिसिने सम्भावनालाई नकार्न सकिन्न । वाम गठबन्धन यसै पनि आफ्नो लोकताप्रियता र सशक्तताका लागि संसफोलाई बढी लाभका आश्वासन दिएर मिलाउने धुनमा छ । आगामी दिनका चुनौतीहरूका लागि पनि वा गठबन्धनका लागि संसफो राजपासँगको सहकार्य आवश्यक मानेको छ । सहअस्तित्व तथा सहकार्यका अभ्यास अगाडि बढेपनि व्यक्तिवादी चरित्र यति छिट्टै साधुत्व ग्रहण गर्ला जस्तो लाग्दैन ।
२०७४ पुस २१ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!