चुनावी दंगलका राजनीतिक पहलवानहरू

देशमा संघीय प्रणाली आई सकेपछि स्थानिय स्तरको चुनावमा पनि शासकीय वर्चस्व कायम राख्ने शीर्ष दलहरूको निरंकूश मनोविज्ञान चुनावको हरेक प्रक्रियामा हावी रहेको देख्न पाईयो । संघको संघीय अधिकारमाथि पनि आफ्नो एकाधिकार लाद्ने प्रयासलाई सघाउने वा सहयोगको संज्ञा दिने पाखण्डलाई के भत्रे ? निर्वाचन आयोगले बनाएको आचारसंहितालाई लत्याएर चुनावी दंगलमा पार्टीलाई पहिलो बनाउने होडवाजीमा खर्चिलो भोज भतेरबाट मतदातालाई आफूतिर आकर्षित गर्ने तीन दलीय अस्वस्थ प्रतिस्पर्धाले राजनीतिको नैतिक आधार नै भत्काएको छ । एकातिर हाम्रो होईन, राम्रो छात्रे मन्त्रोच्चारण गर्ने र अर्कोतिर मासूभातको खोलो बगाएर मतदातालाई आकर्षित गर्ने प्रपंचयुक्त चुनावी खेल देखेर शीर्ष तीन दलको नैतिकहीनता देखेर चुनावको परिणाम त्यसैपनि यिनीहरू कै पक्षमा जाने निश्चित देखिन्छ ।

पहिलो र दोश्रो चरणको चुनावमा पहिलो, दोश्रो र तेश्रो हुने तीन दल प्रदेश नं. दुईमा नेपाली काँग्रेस र एमालेको जीवनमृत्युको प्रतिस्पर्धा भएको छ । देशको अन्य जिल्लामा पहिलो पार्टी बनेका एमाले प्रदेश नं. दुई काग्रेसको बोट बैंक भनिदै आएकोले एमालेलाई उछित्र सक्ने शंकाले उसलाई बढि आक्रोशित बनाएको छ । नैतिकहीनताको धरातलमा देशका समस्याहरू झन् झन् जटिल मात्र बनेका छैनन् अझ समस्याहरू थपिंदै गई रहेको छ । देशको समस्यालाई शासकवर्गले आफ्नो अस्तित्वसंग जोडेर हेर्ने भएकोले यो जटिल बनेको हो । स्थानिय निकायलाई पनि आफ्नो कब्जामा लिने तीन दलीय शासकीय मनोवृतिले समस्याको जटिलतालाई आकलन गर्न सकिं रहेको छैन । निम्नस्तरको विचारमा रमाएका दलहरू परि आए शक्तिकेन्द्रलाई गुहार्ने र समस्याको हल गर्ने मनोविज्ञानलाई छोड्न सकेको छैन । आफ्नो पराक्रमबाट समस्याको समाधान गर्ने परिपार्टी नै बसेको छैन ।
खर्चिलो चुनावी प्रदर्शनमा अन्ततः मधेशमा शीर्ष तीन दल कै वर्चस्व रह्ने कुरामा कुनै शंका छैन । मधेशका दलहरूलाई त्यसपछि नै राखिने प्रपंच रचिएको छ । मधेशका दलहरूलाई आफ्नै धरातलमा नेतृत्वविहीन बनाएर राख्ने तीन दलीय रणनीतिमा नै देशको राजनीति अल्झिई रहेको छ । यसले समस्यालाई झन् जटिल बनाउँदै लगेको छ । शासकीय मनोवृतिले चुनावले विस्तारै सबै समस्यालाई समाधान गर्दै जाने भत्रे बुझेको छ । अधिकार आन्दोलनको समष्टिगत सम्बोधन नभएसम्म यसले स्वरूप फेर्दै पुनश्च सतहमा आउने यथार्थलाई बुझेको छैन । शासकीय कट्टरपनाले मधेशको आन्दोलनलाई अझ परिमार्जित, सशक्त र निर्णायक बनाउँदै गएको छ । मधेशका दलहरू असोज ३ को कालो दिवसमा सामेल नरहेपनि मधेश लगायत राजधानीमा समेत भव्यताका साथ मनाईएको दृश्य सबैले हेरेकै छन् । यथास्थितिवादी चरित्रको कब्जामा एक दशकदेखि गुम्सिएर बसेको आन्दोलनले नयाँ दिशा पाएको छ । अधिकार आन्दोलन जहाँ छोडिएको थियो त्यहाँबाट पुनश्च गन्तव्यको दिशातिर उन्मुख भएको छ । असोज ३ को प्रदर्शन शासकवर्गको अहंकारमाथिको नयाँ प्रहार हो । यसले मधेशको मुक्ति आन्दोलनको पुनश्च नयाँ दिशा तय गरेको छ ।

मधेशको समस्या समाधान नगरि राजनीतिक रूपले सिमित क्षेत्रभित्र कस्सिदै गएको कारण मधेशको राजनीति पुनश्च विस्फोटको स्थितिमा पुगेको छ । राजनीतिक विभेद अव रंगभेदमा रूपान्तरित भएकोले यसले मुक्ति संग्रामलाई अझ परिपक्व बनाई दिएको छ । मधेशलाई सिमान्तीकृत गरिने पुनः प्रयासले मधेशलाई थप आक्रोशित बनाएको छ । विगतमा मधेशप्रति एमालेको सौतेनी व्यवहारले जहाँ मधेश आक्रोशित बन्यो, मधेशको नेतृत्व पंक्तिलाई अपाङ्ग बनाई दियो । नेतृत्व पंक्ति आफ्नो सैद्धान्तिक अडानबाट स्खलित हुँदै गयो । फलतः अधिकार आन्दोलनको दिशाविहीनतामा आन्दोलनकारी मात्र होईन, सिङ्गो मधेश असन्तुष्टताको शिकार भयो । मधेशको राजनीतिलाई दिशाविहीनताको अवस्थामा राखेर समस्यालाई पन्छाउने प्रयासमा लागेको सत्ता राजनीति केही हदसम्म सफल पनि भएको छ । अधिकार आन्दोलन अन्योलग्रस्त अवस्थामा बस्नै सक्दैन । आन्दोलनका नयाँ स्वरूपहरू धारण गरि पुनः गतिशील हुने नैसर्गिक नियमलाई सत्तापक्षले बुझेकै हुनु पर्दछ ।

मधेशले १० वर्षसम्म गरेको लगातार संघर्षलाई राज्यले नजर अन्दाज मात्र गरेनन् अपमानजनक व्यवहार गर्दै पुनश्च सीमान्तीकृत बनाई राख्यो । संघर्ष गरि रहेका मधेशका दलहरूलाई चुनावको नाममा संघर्ष छोडेर चुनावमा जान बाध्य पारियो । संघर्ष छोडेर चुनावलाई उपयोग गर्ने पहिले संसफोले अपेक्षित सफलता पाउन सकेन । नेपाली काँग्रेस एमाले र माओवादी केन्द्र नै हावी रहेको देखियो । तत्पश्चात् राजपाले चुनावमा जाने निर्णय लिएपछि मधेशको चुनावमा यिनै शीर्ष दलहरूको अगुवाई देखियो । मधेशका दलहरू त्यसपछिका पंक्तिमा देखिन्छ ।

नैतिक आधार भत्काएपछि शीर्ष दलहरूले मासूभात र पैसाको खोलो बगाएर स्थानिय चुनावको माहौल बनाएको छ । बृद्धा भत्ता हामीले दिएको, अझ बढाएर दिने निल्र्लजतापूर्वक आश्वासन दिएर मतदातालाई जसरी पनि आफ्नोतिर आकर्षित गर्ने एमालेको नैतिकहीनता सवभन्दा बढि देखियो । चुनावको दृश्यावली अध्ययन गर्न यो पंक्तिकार पनि मधेशका गाउँमा उपस्थित रहेकोले शीर्ष तीन दलको आचारसंहिता उल्लंघन गर्नेको प्रतिस्पर्धा देख्दा “सामथ्र्यको दुःख नाही गोसाईं” तुलसीदासको पंक्ति स्मरण भयो । शीर्ष तीन दलको सामथ्र्यलाई हेर्दा विगतका निरंकूश शासक पनि यिनीहरूको सामुन्ने तृणवत् रहेको स्पष्ट देखियो । मधेशमा आफ्नो वर्चस्व लाद्न शीर्ष तीन दलद्वारा गरिएको नैतिकहीन प्रदर्शन यिनीहरूको बाध्यता थियो । रूष्ट बनेका मधेशी जनता पैसाको भाषा मात्र बुझ्ने भएकोले यिनले चुनावमा डनको भूमिका अख्तियार गरे । मधेशी उम्मेदवार पनि जित्नका लागि यिनीहरू कै सूत्र लागू गरे ।

चुनावको मिश्रित रूप छ । कहीं नेपाली काँग्रेस, कहीं राजपा, कहीं संसफोरम, कहीं एमाले, कहीं माओवादी केन्द्रको अग्रताको अग्रता देखिएपनि समग्रमा शीर्ष तीन दल नै मधेशलाई नेतृत्व गर्ने दृश्य देखिन्छ । मधेशका दलहरू आफ्नो पाकेट एरियामा ध्यान केन्द्रित गरेको छ भने शीर्ष तीन दल मधेशको हरेक जिल्लाको हरेक गाउँपालिका÷नगरपालिकामा समान रूपले हेरि रहेको छ । जहाँ जित्ने सम्भावना छ त्यहाँ पैसाको प्रलोभन दिएको छ भने न जित्ने ठाउँमा माहौल बनाउन खर्च गरेको छ । नैतिकहीनताको प्रदर्शन गरेर जसो तसो विजयश्री हात पार्ने शीर्ष तीन मधेशमा वर्चस्व देखाउन सफल भएको छ भने यिनको नाङ्गो राजनीति छर्लङ्ग देखियो । हुनत निल्र्लजताको चरम सीमाबाट राजनीतिको शुरूवात हुन्छ भनेको यही हो । विजयश्री लिएर गएपनि यिनले थप घृणा मधेशलाई कोसेली दिएको छ ।

चुनाव सकेको भोलीपल्ट मधेशले भव्यताका साथ कालो दिवस मनाएर राज्यलाई अर्को नयाँ संघर्षको चुनौती दिएको छ । हुनत विजयश्रीको अगाडी यसको कुनै महत्व नरहेको उनी ठान्दछन् । तर अन्योलग्रस्त अवस्थामा रहेको अधिकार आन्दोलनलाई बाहिर ल्याई देखाएको युवाशक्तिको साहसलाई प्रशंसा गर्नै पर्दछ । कालो दिवसको थालनी गर्ने मधेशका दलहरू अहिले विजय पराजयको अवस्था भोगि रहेको अवस्थामा कालो दिवस मनाउन नआए पनि मधेशको मुक्ति चाह्ने युवाशक्तिले विरोधको थालनी गरे । नयाँ नेतृत्वलाई अभ्यासमा ल्याए ।

संघीयता विरोधी शक्तिहरू, राजाका पक्षधरहरू, हिन्दूवादीहरू, पार्टीभित्र अल्पमतमा परेका अवसरवादीहरू, यथास्थितिवादीहरू, जुन स्वरूपको भएपनि संघीयता दिएर असन्तुष्ट बनेका एमाले, एमाले कै मानसिकतामा द्वैध भूमिका निर्वाह गर्ने नेपाली काँग्रेस, माओवादी केन्द्र तथा अपेक्षित स्वरूपको संघीयता नपाएको मधेश सबैले आन्दोलन चाहेको अवस्थामा सतहमा आन्दोलन किन न आउने ? चित्र बहादुर केसीले त “संघीयता छिट्टै खारेज हुने” आशयको अभिव्यक्ति दिई सकेका छन् ।

आगामी दिनको यो दृश्यलाई नजरअन्दाज गर्न मिल्दैन । असन्तुष्टताको जगमा जतिसुकै खुशियाली मनाएपनि त्यो क्षणिक हुने कुरा बुझ्नै पर्दछ । राज्यसत्तामा प्रभूत्व लिएर उदाएका त्रिदेवको निरंकूशताले नेपाली समाज पूर्ण असन्तुष्ट बनेका छन् । यिनको स्वेच्छारिताका कारण ५० लाख युवा विदेशिन बाध्य भएका छन् । राजनीतिको मौलिकता हराएको छ । शक्तिकेन्द्रको ईशारामा चल्ने, अपार धनराशि पचाउने, नेपाली जनतामा लोकतन्त्रको विकृत छवि पेश गर्ने, प्रभूको रूपमा उदाएका स्वेच्छाचारीको विरूद्ध समाजका हरेक समुदाय एकत्रित भई उत्रने समयको प्रतीक्षा यिनले गर्नै पर्दछ । शेष समयमा ठुल्ठूला शक्ति निर्वल भएको उदाहरण यहीं छ ।

सुकर्म र कुकर्म, नाम दुबैमा हुन्छ । लोकतन्त्रवादीहरू सुमार्गी बन्न सकेन । शीर्ष तीनै दलहरू अलोकप्रिय भए । नकसैले सुशासन ल्याउन सके, न न्याय नै । चारैतिर अराजकको अवस्था व्याप्त छ । आफ्नो अलोकप्रियतालाई जनतामाथि लाद्ने मूर्ख शासकहरू अहिलेको अवस्थामा पनि जंगबहादुर कै शैलीमा शासन गर्न खोज्छन् । मधेशसंग सीधा टक्करका वातावरण बनाएका कथित लोकतन्त्रवादीहरूले यहाँ भीषण संघर्षको थालनी गरेको छ । मधेश आन्दोलनको अपेक्षा पूरा गर्न नसकेका देवत्व प्राप्त गरेका दलहरूले आफ्नो कुकृत्यका कारण नेपाली समाजका हरेक तप्कालाई असन्तुष्ट पारेका छन् । यो असन्तुष्टता कुन बेला संघर्षको रूप लिने र सद्दाम हुसैनको शैलीमा चलाएको शासनको अन्त गर्ने थाहा छैन । असन्तुष्टताले गन्तव्यको यात्रा गर्छ नै ।
२०७४ असोज ६ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!