प्रदेश नं. २ मा स्थानिय चुनावको माहौल गरमाएको छ । जीतको महत्वाकाँक्षाले चुनावलाई भोज भतेर र रकमी बनाई दिएको छ । संसदको चुनावमा हुने खर्च अहिले स्थानिय चुनावले लिएको गम्भीर अवस्था छ । स्वच्छ, सही र राम्रो प्रतिनिधिको छनौट सपना बन्दै गएको छ । भ्रष्ट, तस्कर र पैसावालको कब्जा रहेको चुनाव निर्वाचन आयोगको आचारसंहितालाई लत्याउँदै अगाडि बढेको छ । मतदातालाई प्रलोभनमा पारेर मत लिने सबै विधी स्थानिय चुनावमा प्रयोग भएको छ । कोही जित्ने, कोही हराउने, कोही मत काट्नका लागि उम्मेदवारी दिएर धनलाभको वार्गेनिङ्ग गर्ने, कोही मधेश मुद्दालाई सम्बोधन नगरि गराईएको चुनावको कुनै औचित्य नरहेकोले कोठा बाहिर मत हाल्न मतदातालाई आकर्षित गर्ने आदि विभिन्न किसिमको विचारले चुनावी माहौल तातिएको छ ।
मधेश राजनीतिको विफलताले असन्तुष्ट बनेका मधेशका मतदाता शीर्ष तीन दलतिर नै आकर्षित रहेको माहौल पनि छ । मधेशका दलहरुबाट टिकट नपाएर कोही एमाले, कोही माओवादी केन्द्र, कोही नेपाली काँग्रेसमा धमाधम प्रवेश गर्ने लहर पनि प्रशस्तै देखिन आएको छ । राजपाका प्रत्यक्ष चुनाव जितेका सभासद जंगीलाल राय यादब उनको मनोकाँक्षा अनुरुप टिकट वितरण नभएको झोंकमा राजपाबाट राजीनामा गरि एमालेको शरण लिएको छ । त्यसरी नै नाम चलेका फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादब मधेश राजनीतिबाट तिलाञ्जली दिंदै विल्कुल विपरित राजनीतिको भासमा भासिएर माओवादी केन्द्रमा पुगेको छ ।
विगत एमालेको सरकारदेखि विरक्तिएको मधेशको एउटा पंक्ति “एमालेमुक्त मधेश” मधेश बनाउन प्रचारात्मक अभियान पनि चलेको छ । एमाले पनि जनाधार भएका अधिकाँश मधेशी लिडरलाई आकर्षित गरि मधेशमा चुनावी माहौल बनाउन व्यस्त देखिन्छ । पक्ष विपक्षको मिश्रित वातावरणमा चुनावको प्रक्रिया सफलतापूर्वक अगाडि बढि रहेको छ । पहिलो हुने दावाका साथ सबै पार्टीहरु निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै मतदाता आकर्षित गर्न तल्लीन देखिन्छन् । अधिकाँश मधेशी अगुवाहरु गैर मधेशी पार्टीमा गएर आश्रय लिएका छन् । त्यसकारण एमाले मुक्त मधेश अभियानको प्रभाव खासै देखिएको छैन ।
अधिकाँश ठाउँमा गैर मधेशी शीर्ष तीन पार्टीहरुकै कडा प्रतिस्पर्धा भई रहेको छ । मधेशका दलहरु संघीय समाजवादी फोरम र राजपा शीर्ष तीन दलको पछाडि नै देखिने सम्भावना छ । शीर्ष तीन दलले जित्ने उम्मेदवारमा भरपूर लगानी गर्ने रणनीति लिएको छ भने ससफो र राजपाका उम्मेदवार भगवान भरोसे चलि रहेका छन् । मधेशका दलहरु मधेश मै अलोकप्रिय बन्नुको कारण यिनीहरुको ढुलमुले चरित्र हो । सैद्धान्तिक अडानले जहाँ पार्टीलाई लोकप्रिय बनाएको हुन्छ, गलत निर्णयले पार्टीलाई पातालमा पु¥याई दिने प्रशस्त उदाहरण हुँदा हुँदै पनि मधेशका दलहरुले बिना शर्त चुनावमा भाग लिएदेखि अलोकप्रिय बन्दै गएको छ ।
मधेश विद्रोह पश्चात् धरापमा परेको वर्गीय वर्चस्वलाई बचाउन गरिएको राज्य पुनर्र्संरचनाले मधेशलाई टुक्रा टुक्रा पार्दा पनि सैद्धान्तिक अडानबाट स्खलित मधेशका दलहरु व्यक्तिगत स्वार्थ त पूरा गरे तर लोकप्रियता भने हरायो । उपेन्द्र यादब बिना शर्त चुनावमा भाग लिएपछि मधेशको असन्तुष्टता पछिल्लो समयमा राजपाको निर्णयले मधेशको नेतृत्वको असक्षमतालाई सावित नै गरि दियो र मधेश पूर्ण असन्तुष्टिको पीडा भोगि रहेको छ । चुनावको वातावरणमा मधेशीहरुको पलायन यसैको उदाहरण हो । नेतृत्व मण्डलीमा “नेता खडा भए, पंक्ति आफै तयार हुन्छ” भन्ने रुढिवादी सोचका शिकार स्वनामधन्य मधेशका नेताहरु अहिले पनि जनतालाई भेंडा नै बुझि रहेका छन् ।
मधेशका दलहरुलाई एक दशकसम्म राजनीतिक पीङ खेलाएर राज्यले निःवस्त्र मधेशको चुनावमा पठाएको शर्मनाक अवस्थासंग मधेशका दलहरुलाई कुनै सरोकार छैन । राज्यको नैतिकहीन राजनीतिको अभ्यास गर्दा गर्दै स्वयं पनि नैतिकहीन राजनीतिमा खप्पिस भएकोले चुनावपछि फेरि आन्दोलन गर्ने, मधेशमा आफैपनि अल्पमतमा रहेका दलहरुको निर्लज्जतापूर्ण अभिव्यक्ति दिन किञ्चित पनि संकोच हुँदैन । आफ्ै धरातलमा वर्चस्व कायम गर्न नसक्ने, बेसिर पैरका कुरा गरि मधेशमाथि दमन गराएर आफ्नो स्वार्थ पूरा गर्ने क्रियाकलापलाई मधेशले नाङ्गै आँखाले हेरि सकेका छन् । निर्लज्जताको खेती अब बन्द गर्नृ पर्दछ । व्यक्तिगत तथा जातिगत स्वार्थका लागि खोलिएको पार्टीले मधेशको आवाज त उठाउन सक्ला तर अधिकार स्थापित गराउन सक्दैन । कुनै पार्टीको सैद्धान्तिक अडान व्यवहारको धरातलमा कायम रह्न नसकेकोले यिनीहरु अवसरवादी भासमा गई सकेको छ । यसले मधेशको अधिकारवादी आन्दोलनलाई गन्तव्यसम्म पु¥याउन सक्दैन । मधेशको मुद्दालाई अवसरको रुपमा प्रयोग गर्ने नेतृत्व मण्डलीको क्रियाकलाप एक दशकदेखि मधेशका जनताले हेरेका छन् ।
गोर्खाल्याण्डमा आन्दोलनकारीमाथि दमन हुँदा काठमाण्डौंका शासकहरुलाई पीडा हुने तर मधेशमाथिको दमनमा रमाईलो मनाउने शासकीय मनोवृति अन्ततः लोकतान्त्रिक पद्धतिमा हास्यास्पद पात्रको रुपमा स्थापित भएका छन् । लोकतान्त्रिक पद्धतिको खिल्ली उडाई वर्गीय वर्चस्वलाई निरंकूशतापूर्वक लाद्ने अहंकारले राजनीतिक अराजकता कति हदसम्म बढेको आकलन गर्न सकेको छैन । राजनीतिक अराजकताले देशलाई एकपल्ट फेरि द्वन्द्वतिर अग्रसर गराई रहेको परिस्थितिले देखाई रहेको छ । राजनीतिक अराजकताले असन्तुष्टताको जमातलाई तयार पार्दछ र सो जमातले संघर्ष गर्दछ । यहाँ लोकतन्त्रको नाममा तीन दलीय शासकीय वर्चस्वले सिंगै मधेशलाई पीडा दिएको छ । मधेशको आवाजलाई कुनै पनि हालतमा सुन्न नसक्ने तीनै दलको शासकीय मनोवृति देशलाई द्वन्द्वमा धकेलि दिएको छ । भारतीयलाई अंगाल्ने र मधेश (नेपाली) लाई भारतीय भनी अपमान गर्ने यो कस्तो राजनीति हो ?
एमाले मधेश विरोधी पार्टी हो भन्ने कुरा अब एमाले पनि स्वीकार गर्न थालेका छन् । चुनावमा आफे पराक्रमको बलमा नगएर मधेशका जनाधार भएका मधेशका नेताहरुलाई अकल्पनीय प्रलोभन दिई पार्टीमा ल्याउने र चुनाव लडाउने फेरि एकपल्ट निर्लज्ज प्रयास गरेको देखिन्छ । अहिले एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रमा मधेशीहरुको प्रवेश एउटा लहर कै रुपमा आएको छ, तर यो क्षणिक हो । अवसरवादीहरुको कुनै स्थाई घर हुँदैन । तर मधेशमा तीनै शीर्ष दलले गरेको षडयन्त्र मधेशको पार्टीहरुको औचित्य समाप्त पारि आफ्नो वर्चस्व लाद्ने प्रयास हो ।
एक दशक लगाएर मधेश आन्दोलनलाई सम्बोधन नगरि त्यसको सट्टा आफूलाई लाभ हुने मनगढन्ते संघीय प्रणाली लादेर मधेशसंग जो अत्याचार गरेको छ, त्यसबाट असन्तुष्ट बनेको मधेशलाई लालीपाप दिएर आगामी दिनमा विस्फोट हुने परिस्थितिलाई साम्य पार्न सकिन्न । असन्तुष्टताको जगबाट विस्फोट हुने मधेश विद्रोहलाई अवसरवादी मधेशीबाट रोकिने प्रयास विल्कुल गलत रणनीति सावित हुनेछ । मधेशका पार्टीबाट असन्तुष्ट बनेकाहरुलाई प्रलोभन दिई गैर मधेशी पार्टीमा प्रवेश गराउने प्रयासलाई नैतिकहीन कदम नै मानिन्छ । यो काम नेपाली काँग्रेस, एमाले र माओवादी तीनवटै पार्टीले गरेको छ । अनुपात कम बढी होला तर तीनवटै पार्टीलाई मधेश विरोधी भन्नु पर्दछ ।
नेपाली काँग्रेसका शीर्ष नेताहरु प्रदेश नं. २ मा चुनाव प्रचार प्रसारको पहिलो दिन राजविराजमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र रमेश लेखकले एमालेका कारण संशोधन प्रस्ताव फेल भएको, एमाले मधेश विरोधी हो, चुनावपछि हामी फेरि संशोधन प्रस्ताव सदनमा लगेर पास गराउँछौं आदि निर्लज्जतापूर्वक यी कुरा राखेर आफूलाई चोख्याउन खोजेको थियो । राजनीति वास्तवमा निर्लज्जहरुकै कब्जामा गएको छ । बेशर्महरु नै जनतामाझ पुनश्च वाचा गर्न आउँछन् र वोट लिएर जान्छन् । ३८८ सीटबाट प्रधानमन्त्रीमा उक्लिएका शेरबहादुर देउवाले ७ सीट थप ल्याउन चाहेन र संशोधन प्रस्तावसंग लगाव नराख्ने नेपाली काँग्रेस अन्ततः संशोधन प्रस्तावलाई यथास्थितिको शिकार बनाएर सदनबाट बाहिर फालि दियो ।
मधेश आन्दोलन निहूँ खोजि रहेको छ । संविधान घोषणा गरेको विरोधमा मधेशका दलहरुले असोज ३ गते मनाउँदै आएको, तर यसपाली सबै चुनावमा होमिएकोले “कालो दिवस” कसरी मनाउने भन्ने द्विविधा छ । चार दिनपछि मधेशले “कालो दिवस” कसरी मनाउने भन्ने प्रश्न पनि सबैको सामु तेर्सिएको छ । आत्म समर्पण गर्नेहरुले यो दुस्साहस गर्न सक्ला ?
तीनवटै दलहरुले ल्याएको राजनीतिक अराजकता चरम सिमामा पुगेको छ । मधेश आन्दोलित हुनु अस्वाभाविक भने होईन । मधेशको अधिकार आन्दोलन सम्बोधनबिना निभ्न सक्दैन । मधेशमा चाकडी, चापलुसीको संस्कार छ । व्यक्तिगत स्वार्थमा अन्धो बनेकाहरुको जमात छ । अवसरको खोजीमा जो कोहीसंग सम्बन्ध बनाउनेको जमात छ । असन्तुष्टता कै धरातलबाट विस्फोट हुने कतिपय उदाहरणहरु छन् । यी असन्तुष्ट जमात जो तरल बस्तु जस्तै यहाँ वहाँ जाने गर्दछ आन्दोलनलाई उत्कर्षमा लैजाने यही जमात हुन् । सिद्धान्त बोक्नेहरु आन्दोलनको व्यवस्थापकीय भूमिकामा हुन्छ । पुनश्च राज्यबाट षडयन्त्र नहोला, भन्न सकिन्न तर राज्यको अहिलेसम्मको षडयन्त्रात्मक भूमिका नै पथ प्रदर्शक बन्नेमा कुनै शंका छैन । मधेशका युवाहरुबाट संचालन गरिने असोज ३ को “कालो दिवस” कार्यक्रम मधेशका दलहरुका लागि अग्नि परीक्षा सरह नै भएकोले यो परिक्षा दिन को चाहन्छन् हेरौं ।
२०७४ भाद्र ३० गते मधेशवाणीमा प्रकाशित
