मधेशलाई रक्ताम्य बनाउने राज्यनीति शीर्षक दिएर मैले अघिल्लो अंकमा लेखेको लेख अनुसार एमालेले फागुन २३ गते राजविराजमा मधेशीको नरसंहार गरि खूनको होली मनाएको छ । फागुन २३ गते राजविराज सदरमुकामको रंगशालामा कार्यक्रम गर्न हिम्मत जुटाउन नसकेर एमालेले सुन्सरी, मोरङ्गबाट मानिस ल्याएर राजविराज औद्योगिक क्षेत्रमा कार्यक्रम राखे । स्मरण रहोस्, एमाले अध्यक्ष के.पी.शर्मा ओली कुर्ता, पायजामा, गमछा र जवाहरकोटमा सजिएर असल मधेशी, धरतीपुत्र बनेर मधेशीलाई सम्बोधन गर्न उत्रेका थिए । मधेशलाई आफनो ठान्ने एमालेको कार्यक्रम राजविराजमा हुन सक्ने अवस्था नरहेकोले ५ कि.मी. टाढा उत्तरमा बस्ती नभएको ठाउँमा रहेको गजेन्द्र नारायण सिंह आद्योगिक क्षेत्रभित्र भएको थियो । सप्तरीको ३०, ४० बटा कार्यकर्ताबाहेक सो कार्यक्रमा सप्तरीका जनमानसको उपस्थिति थिएन । बाहिर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गरि रहेका थिए । आवश्यकताभन्दा बढि सुरक्षाकर्मीको तैनाथीले सप्तरीमा एमालेको मधेशदम्भ टुटेको जस्तो लाग्दथ्यो ।
शान्तिपूर्ण विरोध प्रदर्शनलाई उत्तेजित पार्न र दमन गर्ने नियतमा रहेको सुरक्षाकर्मी अन्ततः घटनास्थलमा नरसंहार मच्चाई छाड्यो । मानवाधिकारको एकपल्ट फेरि बडो निल्र्लज्जतापूर्वक धज्जि उडाएको छ सप्तरी घटनामा । यो मधेश हो जहाँ शान्तिपूर्ण विरोध प्रदर्शनमा ढाडदेखि माथि गोली हान्ने चलन छ । सिरको गिद्दी देखिने गरि धज्जि उडाएर, पेटको आन्द्रा, भूँडीबाहिर देखाउने गरि गोली हानी हत्या गरिने ठाउँ मधेश हो । १५ जना गोलीका शिकार भएका छन् । घटनास्थलमा एक जनाको मृत्यु भएको थियो भने सोही दिन मृत्यु हुनेको संख्या ३ पुगेको थियो । उपचाररत रहेकाहरुको पनि अवस्था गम्भीर रहेकोले यो संख्या दिनानुदिन बढ्दै जाने सम्भावना छ । विगत नाकाबन्दी आन्दोलनमा एमाले सरकारको बर्बर दमन शैलीको पुनरावृति भएको छ ।
घटनाको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले कार्यक्रमा विरोध प्रदर्शनकारीमाथि गोली नचलाउन मैले सुरक्षाकर्मीलाई निर्देशन दिएको थिएँ भनेर सफाई दिएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले सोझै गृहमन्त्रालयतिर ईशारा गरेको देखियो । गृहमन्त्रालयमा अहिले मधेशी मूलका मन्त्री विराजमान छ । घटनाको दोश्रो दिन २४ गते सप्तरी घटनामा चलेको गोलीबारे जिज्ञासा लिन गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुख नेपाल प्रहरीका निमित्त प्रहरी महानिरिक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी र गृहमन्त्रालयका शान्तिसुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीको संयुक्त बैठक बोलायो । सो बैठकमा सप्तरीको घटनामा सिर, छाती र पेटमा गोली कसरी हानियो भनी प्रश्न गर्दा तीनवटै निकायले परिस्थितिले हामीलाई गोली चलाउन बाध्य ग¥यो भनेर उत्तर दिएपछि गृहमन्त्रीलाई आफनो हैसियतको जानकारी भयो । सप्तरी हत्याकाण्डमा गृह प्रशासन, प्रधानमन्त्री र गृहमन्त्रीको नियन्त्रणमा नरहेको प्रष्ट देखियो । प्रधानमन्त्री र गृहमन्त्रीको असक्षमता देखिएकोले चारैतिरबाट दुवैको राजीनामाको माँग उठ्न थालेको छ । खासगरि गृहमन्त्रीलाई हटाउने प्रधानमन्त्रीको तयारी रहेको समाचार छ ।
यो लेख तयार पार्दासम्म तीन जानाको मृत्यु भएको र घाईतेको विभिन्न अस्पतालमा उपचार भई रहेको छ । घाईते भएका १५ जना निम्न छन् – १. लक्ष्मण यादव– रा.वि. ८ सामान्य घाईते, २. विरेन्द्र महतो– पेटमा गोली लागेको, ३. जितन साह गोरिया–सामान्य ४. इनर यादव जमुनी – आन्द्रा निस्केको, ५. दिलिप यादव, हाटी – छातीमा गोली लागेको ६. सुरेन्द्र साह खरसाल – छातीमा गोली लागेको, ७. दिगम्वर यादव, सिरहा – पिठ्यूँमा गोली लागेको, ८. आनन्द साह रा.वि. टेङ्गरी – मृत्यु ९. पिताम्वर लाल मण्डल मलेठ ४ – मृत्यु १०. सन्जन मेहता मलेठ – मृत्यु ११. पशुपति यादब डुमरी – सामान्य १२. अरुण कुमार यादब डलवा ४ – गोलीको छर्रा लागेको १३. दिनेश साह रा.वि. ३ – सामान्य १४. बिरेन्द्र यादब झुटकी ४ – सामान्य १५. जकु साह लोखरम – सामान्य रहेका छन् ।
घटनास्थलमा उपस्थित पत्रकारहरुको सही तथ्य कुरा विभिन्न संचार माध्यममा आई सकेकाले यसलाई सरकारले ढाकछोप गरि मनगढन्ते समाचारलाई जनताले विश्वास गर्ने छैन । गृह प्रशासनले पानीको फोहोरा र अश्रुगैसलाई नटेरेपछि अनियन्त्रित भीडमाथि गोली फायर खोल्नु परेको भन्ने कुरा झुठो हो । अश्रुगैस प्रयोग भएको त हो तर पानीको फोहोराको गाडी घटनास्थलमा आएपनि प्रयोगबिना नै बसि रह्यो । लगातार ४ घन्टाको घम्साघम्सीमा मोर्चाका कार्यकर्ता पनि थाकि सकेका थिए । कार्यक्रम समाप्तिमा सबै आफनो घरतिर गई रहेको बेला प्रहरीतिर बाट नकावधारी गैर सुरक्षाकर्मीहरुको पथराव जारी रह्यो । मोर्चाका कार्यकर्ता त्यसको जवाफमा खेतमा रहेको माटोको डल्ला फ्याँकेर प्रतिकार गरि रहेका थिए, त्यसैबेला प्रहरीको जवाफी फायर खुल्यो भन्ने कुरा प्रत्यक्षदर्शीहरुले लेखेको कुरा सबैले पढे, बुझे । गृह प्रशासनले घटनाको भोली पल्ट फागुन २३ गते घटनामा मृत्यु हुने प्रति शोक व्यक्त गर्दै अश्रुगैस, पानीको फोहोरालाई आन्दोलनकारीले नटेरेपछि गोली चलाउनु परेको कुरा राखेर प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । आफनो नियतलाई ढाकछोप गर्ने गृह प्रशासन आफू स्वयं संचालित भएको हो वा अरु कसको निर्देशनमा चलेको हो यो अनुसन्धानको विषय बनेको छ । दुवैतिरबाट प्रधानमन्त्री र गृहमन्त्री दोषी रहेको कुरालाई नकार्न सकिंदैन ।
मानवाधिकारको घोर उल्लंघन गरि घटाईएको सप्तरी घटना परिस्थितिवश होइन, नियतवश भएको कुराको न्यायिक अनुसन्धान हुन जरुरी छ । घटनामा संलग्न प्रत्यक्ष वा परोक्ष जुन शक्तिलाई पनि सार्वजनिक गरि न्यायको कटघरामा उभ्याउन प्रचण्ड सरकारको नैतिक जिम्मेवारी बनेको छ । चारैतिरबाट सरकार र एमालेको आलोचना भई रहेको बेला एमालेले आफनो बचावमा अनेक मनगढन्ते लेख लेखेर गृहमन्त्रीलाई दोषी ठहराएर राजीनामाको माँग गरेको छ । मानवाधिकार उल्लंघन गरि सरकारले दमन गरेको कुरामा सरकार मुख्य दोषी त छ नै, अन्धराष्ट्रवादको हतियारबाट मधेशलाई उत्तेजित पार्ने एमाले पनि उत्तिकै दोषी छ । ठूलो पार्टीको रुपमा रहेको एमालेको दायित्व पनि ठूलो हुनु पर्नेमा मधेशप्रति पुर्वाग्रही भएर द्वन्द्व निम्त्याउनु मधेशको जनमतबाट हात धुनु हो । नेपालमा उदाएका जति पनि अतिवादी लक्ष्यविहीन थन्किएको इतिहास छ । आफू मात्र राष्ट्रवादी अरु सबै अराष्ट्रवादी भन्ने चिन्तन देशको लागि स्वस्थकर हुनै सक्दैन ।
लोकतन्त्रको नाममा आफनो अतिवादी चिंन्तनबाट अरुलाई पीडा दिने एमाले स्थानिय चुनावलाई सम्बेदनशील भन्नु र मधेशको कुरालाई विल्कुलै नमान्नु कस्तो लोकतन्त्र हो एमालेले बुझ्नु पर्दछ । १९ वर्षदेखि स्थानिय चुनाव नहुनुमा एमाले, नेपाली काँग्रेस नै दोषी हो, मधेश होइन । मधेशमा एमालेको आम सभालाई रोक्नु अलोकतान्त्रिक भनेर जवरदस्ती गर्न खोज्नु र मधेशको कुरालाई १० वर्षदेखि अन्देखा गरि राख्नु यो अलोकतान्त्रिक चरित्र होईन ? लोकतन्त्र समानताको आधारमा फस्टाउँछ, अतिवादको जयघोषमा होइन । अन्धराष्ट्रवादको नारा घन्काएर एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने मनसाय होला तर यो रणनीतिको कार्यान्वयनमा अरुको अधिकार कुण्ठित हुने कुराको किञ्चित पर्वाह नगर्ने स्थिति नै अतिवाद हो । एमालेको यही अतिवाद मधेशको समस्या बनेको छ । देशप्रतिको दायित्व बिर्सेर, मधेशको संशोधन प्रस्तावलाई भारतीय प्रस्तावबाट सम्बोधन गर्नु, राष्ट्रघाती भन्नु एमालेको अतिवादले ठूलो समस्या खडा गरेको छ ।
संशोधन प्रस्तावलाई पास गराउने नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारको प्रतिबद्धतालाई एमालेले अनेक तिकडम लगाएर खारेज गराई बलपूर्वक चुनाव गराउने कार्यले मधेश आक्रोशित भएको छ । एमाले सरकारको पालामा एमालेको अतिवादबाट मधेशसंग सम्बन्ध बिग्रिदै गएपछि मधेशको कुरालाई बिल्कुल अनसूना गरि मधेशमा सृजना भएको तनावपूर्ण वातावरणलाई वेवास्ता गरि गरिएको सभामा भिडन्त हुने सम्भावनालाई बुझ्दा बुझ्दै पनि सभा गरि नरसंहार गरेको दोष अरु कसलाई जाला ?
मधेशीको रगत बगेको दृश्यलाई हेरि सन्तुष्ट हुने एमाले घटनापछि अहिले मधेशमा सभा नगर्ने निर्णय गरेको छ । यही कुरा पहिले गरेको भए केही मधेशीहरुको अनाहकमा ज्यान जाने थिएन । तनावको सम्बेदनशीलतालाई अनुभूत गरि एमालेले अतिवादको घेराभन्दा बाहिर निस्केन भने देशमा अबाँञ्छित तत्वहरुको उदय हुनुमा कुनै बिलम्ब छैन । यदि राजनीतिलाई “यूटर्न” मा नै लैजाने एमालेको रणनीति हो भने यसले देशलाई अन्तहीन द्वन्द्वमा धसाउने पक्का छ र यसको सारा जिम्मेवारी एमालेले नै बेहोर्नु पर्ने हुन्छ ।
अन्तमा, सप्तरीमा आन्दोलनको क्रममा शहादत दिने वीर सपूतहरुलाई हार्दिक श्रद्धाँजली तथा शोक सन्तप्त परिवारमा हार्दिक सम्बेदना अर्पण गर्दछु तथा घाईतेहरुको उपचार, शहीद घोषणा तथा क्षतिपूर्ति दिनका लागि सरकारसंग जोडदार माँग गर्दछु ।
२०७३ फाल्गुन २७ गते मधेशवाणीमा प्रकाशित
