वर्गीय विश्रृँखलतालाई जोड्ने दुस्साहसका साथ राष्ट्रवादको नारा लिएर मेची, महाकाली अभियान लिएर एमाले देशको विविधताको इतिहासलाई मिच्दै अगाडि बढेको छ । यही अभियानको एउटा श्रृँखला थियो– सप्तरीको नरसंहार । संविधान सभाको ८ वर्षे कार्यकालमा मधेश विरोधी छवि बनाएका एमाले मधेशलाई दिएको घाव सुम्सुम्याउन मधेशमा पस्दा सामान्य रुपमा काला झण्डा, विरोध जुलुस, झडप र भिडन्तको अवस्थालाई नै सामना गर्नु परेको छ ।
विगत दोश्रो संविधान सभामा मधेशबाट ४० सीट प्राप्त गरेको एमाले नारदमोहको भ्रममा अहंकारी बनेर मधेशलाई आफनो पक्षमा बुझ्ने नादानी गरेको छ । विगत ८ वर्षमा मधेशप्रति गरेको घृणात्मक व्यवहारबाट एमाले मधेशबाट विस्थापित नै हुन पुगेको कारण यी घटनाहरु भई रहेका छन् । अझ सप्तरीमा प्रहरीले आन्दोलनकारीलाई नमारेको भए हाम्रो सामुहिक हत्या हुने निश्चित थियो भन्ने आशयका अभिव्यक्ति दिएर मधेशप्रतिको कस्तो माया एमालेमा रहेछ, प्रष्ट हुन्छ ।
कुनै बेला आफनो शक्तिमाथि यही अहंकार माओवादीलाई भएको थियो । एमाले पार्टी नै छैन भनेर अभिव्यक्ति दिने माओवादी विगतको चुनावमा संकुचित हुन पुगेको थियो । विगतको चुनावमा नेपाली काँग्रेस र एमालेले जनताको मतभन्दा पनि शक्तिकेन्द्रको चमत्कारी वरदान पाएको थियो । वरदानबाट आएको अहंकारले एमालेलाई धरातलीय यथार्थबाट धेरै टाढा लगि सकेको छ । मधेशलाई तर्साएर फकाउने, राष्ट्रवादको नारा लिएर मधेशीलाई विदेशी भन्ने, खूनको आँसू रोई रहेको मधेशलाई कालो वर्णको, आमा लगाएर गाली गर्ने, होच्याउने, अपमानित गर्ने, मधेशको सहिष्णुतालाई राष्ट्रवादको हण्टरले धुजा धुजा पारि दिने आदि कार्यबाट एमाले मधेशमा कदापि स्थापित हुन सक्दैन । सिंगो मधेशलाई होच्याएर उग्र बनाउने प्रयासलाई नेपालको बलियो राष्ट्रियताको कल्पना गर्नु पटमूर्खता हो । एमालेले आफनै व्यवहारका कारण मधेशमा पस्ने सबै बाटो बन्द गरेको छ । पूर्व सप्तरी, पश्चिम बाँके, रुपन्देही, नवलपरासी हरेक ठाउँमा एमालेसंग भिडन्त, झडप, कालो झण्डा देखाउने काम भएको छ । दुई, चार जना गुलाम मधेशीलाई शोकेसमा राखेर मधेशमा आफनो प्रभाव बुझ्ने भ्रम पालेका नेतृत्व पंक्तिको सामन्ती बर्बरता अहिलेको परिवर्तनीय अवस्थामा कुनै हालतमा सह्य हुन सक्दैन । अरुसंग लोकतान्त्रिक व्यवहार पाउनका लागि सोही अनुसारको व्यवहार गर्नु पर्ने शिक्षा लोकतन्त्रले दिएको छ कि छैन ?
सामन्ती, वर्गीय राज्यसत्ताले बर्बरयुगीन शासनमा पनि मधेशीसंग अहिलेको एमाले जस्तो घृणात्मक व्यवहार गरेको थिएन । एमालेको मधेशीप्रतिको व्यवहारको स्तरहीनताबाट मधेशका बुद्धिजीवि मात्र होईन, गैरमधेशी बुद्धिजीवि पनि आश्चर्यचकित भएका छन् । एमालेको यो कस्तो खाले व्यवहार हो । के यो व्यवहार देशको लागि स्वस्थकर छ । देशको आधी जनसंख्यालाई गाली गरेर आफनो कब्जामा पार्ने प्रयास लोकतान्त्रिक व्यवहार हो ?
मधेश आन्दोलनले मधेशलाई हुत्याएर काठमाण्डौ पठाएदेखि रुष्ट बनेका वर्गीयसत्ता मधेशलाई मधेशमा झार्न ८ वर्ष त लगायो नै, एमालेलाई भिडाएर आत्मसमर्पण गराउन अगाडि बढाएको छ ।
स्वाभिमान, पहिचान, हक र अधिकारप्रति राजनीतिक रुपमा चेतनशील भई सकेको मधेश अब शोषकको रुपमा होईन, शासकको काविलियत पाई सकेको छ । यही वास्तविकता शासकवर्गले स्वीकार गर्न तयार छैन । मधेशको यही वास्तविकताले एमालेलाई उदण्ड बनाएको छ । लोकतन्त्रको कुरा जनता झुक्याउने खेल मात्र हो । वर्गीय राज्यसत्ताले लोकतन्त्रको मूल्य र मान्यतालाई स्वीकार गर्न चाहदैन । वर्गीयसत्ताको मूल्य र मान्यतालाई लोकतन्त्रले स्वीकार गरेको छ । लोकतन्त्रको स्वतन्त्र अस्तित्वलाई शासकहरु कथमपि स्वीकार्दैन । यही कारण हो ०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना पश्चात् देश अस्थिरताको शिकार भयो । झण्डै ३ दशकदेखि देशले त्राण पाएको छैन । नित नवीन समस्याहरु जन्मेर देशलाई अस्थिर बनाउँदै अगाडि बढेको छ । संविधान सभा आएर देशमा झन् अस्थिरता ल्यायो ।
असलमा शासक बदलिए पनि राज्यसत्ताको वर्गीय संरचनामा कुनै परिवर्तन भएको छैन । एकात्मक र केन्द्रीकृत स्वरुप बदल्ने पक्षमा कोही छैन भन्ने कुरा संविधान सभाले स्पष्ट पारि दिएको छ । निरंकूश सामन्तको (राणा) पालामा तयार भएको राज्यसत्ताको निरंकूश, रक्तपिपाशु सामन्ती चरित्र अद्यावधि कायम छ । संकुचित र संकीर्णताको घेरामा रहेका निरंकूश शासकहरु विरुद्ध ठुल्ठूला आन्दोलन ल्याएर राज्यसत्ताबाट विस्थापित गरि आफनो प्रभूत्व जमाउन सफल कथित उदारवादी सामन्तहरुले लोकतन्त्रको जामा लगाएर शासन गर्न थाले । निरंकूशता, क्रूरतालाई दबाएर लोकतन्त्रको आवरणभित्र उदारताको सफल अभिनय गरि जनतालाई आफनो प्रभावमा पारेर ठुल्ठूला आन्दोलन गरे । निर्विकल्प रुपमा सत्तामा आफनो प्रभूत्व पनि कायम गरे । सत्ताप्राप्ति पछि लोकतन्त्रको जामाभित्र उदार चरित्रको अभिनय छाडे । दाविएर रहेको क्रूरता, निरंकूता विस्तारै बाहिर आउन थाल्यो । शासकहरुको नाङ्गो चरित्र बाहिर आउनको मूल कारण मधेश हो । मधेशले माँग गरेको समग्र मधेशको संघीयता हो ।
मधेशलाई स्वीकार गर्न नचाहने शासकीय मनोवृतिको नाङ्गो तस्वीर अहिले राजनीतिमा हावी भएको छ । जुन लोकतन्त्रको माध्यमबाट शासकहरुले मधेशमाथि मनोवाँछित अधिकार लाद्न खोजेको छ, त्यही लोकतन्त्रको कोर्रा देखाएर मधेशलाई पछाडि धकेल्दै गएको छ ।
राष्ट्रवादको नाउँमा मधेशप्रति एमालेको निरंकूश व्यवहार शैलीले नेपालको राजनीतिमा अन्तहीन द्वन्द्वको सृजना गरि दिएको छ । साम्प्रदायिक बैरभावलाई हावा दिएर राजनीतिमा प्रवेश गराई त्यसको आडमा एमाले पार्टीलाई सशक्त बनाउने रणनीति कति खतरनाक ढंगले अगाडि बढेको छ, यसलाई नेपाली काँग्रेस र माओवादी केन्द्रले अन्देखा गर्नु वर्गीय स्वार्थ त होईन ? यदि होईन भने एमालेको रणनीतिबाट सवभन्दा बढि बेफायदा नेपाली काँग्रेसलाई हुन्छ, त्यसपछि माओवादीलाई ।
मधेश र एमाले भिडन्तको स्थितिमा एकतिर सरकारको निरीहता देखिएको छ भने अर्कोतिर नेपाली काँग्रेसको राष्ट्रिय राजनीतिमा भूमिका गौण बनेको छ । गुटगत राजनीतिको आन्तरिक कलहमा फँसेको नेपाली काँग्रेस चाहेर पनि राजनीतिमा आफनो हस्तक्षेपकारी भूमिका बढाउन सकि रहेको छैन । नेपाली काँग्रेसको यही कमजोरीबाट एमालेले फायदा उठाएको छ । नेपाली काँग्रेससंग गठबन्धन बनाएर सरकार बनाउने प्रचण्ड पनि नेपाली काँग्रेसको सबल सहयोग नपाएर एमालेका अध्यक्ष के.पी.शर्मा ओलीसंग सम्बन्ध बनाउनुको बाध्यता छ । संशोधन प्रस्तावलाई निष्कर्षमा पु¥याएर निर्वाचन गराउने प्रचण्डको अडान विपरित दिशामा गएबाट एमालेसंग नयाँ सम्बन्ध विकास भएको कुरा यसै अनुमान गर्न सकिन्छ । मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिनु र एमालेको सरकारप्रतिको आक्रामक व्यवहारबाट प्रचण्डको सरकार गिरने सम्भावना बढाई दिएकोले आफनो सरकारलाई बचाउन अहिले राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा सामेल गराउने प्रचण्डको प्रयास भई रहेको छ । संविधान संशोधनको बहाना भने प्रचण्डले छोडेको छैन । दुईतिहाई पु¥याउने निहुँमा सबैलाई समेटेर आफनो सरकार टिकाई राख्ने प्रचण्डको रणनीति रहेको छ ।
मेची काली अभियानको क्रममा एमालेले सप्तरीमा नरसंहार मच्चाएदेखि समग्र मधेशमा आगो सल्केको छ । स्वतः सफूर्त आन्दोलनमा झण्डा लिएर आफनो आफनो उपस्थिति देखाउन मधेशका सबै पार्टीहरु सामेल देखिएपनि मोर्चाले आन्दोलनको निर्णय गर्न नसकेको अवस्था छ । मधेशी आम जनता एमालेको विरोधमा आफनै ढंगले प्रदर्शन गरि रहेको छ । एमाले र मधेश पारस्परिक भिडन्तको अवस्थामा एमाले राजनीतिक मर्यादालाई बिर्सेर मधेशका राजनीतिक अगुवाहरुलाई अश्लील गाली दिएर अझ आक्रामक हुन प्रेरित गरि रहेको छ । मधेशका दलहरुमा सहकार्यको संस्कार विकसित हुन नसकेको अवस्थामा पारस्परिक मिलनविन्दुको कुनै गुँजाईस देखिदैन । मधेशलाई आन्दोलन गर्ने बाध्यता छ । मधेशी मोर्चा द्वैध मानसिकतामा छ । आन्दोलनले राजीनामा गरेर मधेशमा आउन भनि रहेको छ भने मोर्चाको द्वैध मानसिकताले निर्णय गर्न विलम्ब भई रहेको छ ।
आन्दोलनको अपरिहार्यतालाई हृदयंगम गरि मधेशका राजनीतिक दलहरुको एकाकार शक्तिलाई मधेश हेर्न चाहेको छ । आन्दोलनको सवल नेतृत्व पनि यही शक्तिले गर्ने परिस्थितिको माँग छ । राज्यले फैलाई रहेको आतंकसंग जुझ्न मधेशी दलहरुको एकीकृत शक्तिको सशक्तता अनिवार्य रहेको आन्दोलनको परिस्थितिले जनाई रहेको छ । एकीकृत शक्ति बनाउन मोर्चा र संघीय गठबन्धनको बाध्यता पनि हो । मधेश आन्दोलित हुँदा सक्रियता गुम्न सक्ने सम्भावनालाई मधेशका तेज तर्रार नेतृत्वले बुझेकै हुनु पर्दछ । चरित्र नरहेपनि सहकार्य गर्ने परिस्थितिको बाध्यताबाट उम्कन सक्ने क्षमता कसैमा छैन । सरकारसंग समर्थन फिर्ता लिएर मोर्चाले मधेशको पक्षमा निर्णय गरेको छ । विगतको आन्दोलनबाट पाठ सिक्दै, त्रुटिहरुलाई सच्याउदै, अधिकारविहीनताको अवस्थामा रहेका सबै शक्तिसंग सहकार्य गर्दै मधेश आन्दोलनको सशक्त पृष्ठभूमि तयार गर्न आवश्यक भएको छ । चुनाव हुन नदिने आँट गरेपछि प्रतिरक्षा पंक्तिको सवलता निर्माणमा सबै शक्तिको सहभागिता आवश्यक रहेको देखिन्छ । सबै अधिकारवादीको एकमुष्ट आवाज प्रतिध्वनित हुने गरि सशक्त आन्दोलनको स्वरुप निर्धारण गर्न जरुरी छ ।
२०७३ चैत ४ गते मधेशवाणीमा प्रकाशित
