के मधेश आन्दोलन शिथिल हुन लागेको हो ?

मधेश आन्दोलन छैठौं महिना बिताई रहेको छ । मधेशको शान्तिपूर्ण आन्दोलन सम्भवतः संसारको सवभन्दा लामो अवधिको आन्दोलन भएको छ । अन्तरिम संविधान प्रदत्त मधेशको अधिकार कटौती गरि घोषणा गर्न लागिएको संविधानको विरुद्ध गरिएको आन्दोलनमा नयाँ कुनै माँग छैन । राज्यसत्ताको साजिशपूर्ण व्यवहारलाई सच्याउन आएको मधेश आन्दोलनलाई सरकारले मधेशी जस्तै भेदभावपूर्ण मनोभावबाट हेरि रहेको छ । श्रीलंकाको सत्तापक्ष सिंहली र तमिल जस्तै नेपालका शासकवर्गले मधेशसंग भेदभावपूर्ण व्यवहार गरि रहेको छ । अन्तरिम संविधानले दिएको अधिकारलाई बेवजह काटेर मधेशलाई पुनश्च गुलाम बनाउने खस शासकहरुको मानसिकता विरुद्ध आएको शान्तिपूर्ण आन्दोलनलाई आफनो राजनैतिक चुनौतीको विषय बनाएर सरकार अगाडि बढेको छ । वार्ताको नाटक गरेर समय काटि रहेको यो सरकार अन्ततः यो आन्दोलन आफै सेलाएर जाने विषयमा ढुक्क बसेको छ ।

मधेशलाई वेवास्ता गरेर, भारतलाई चिढाएर तथा देशलाई लामो समयसम्म संकटमा पारेर सरकार आफनो अडानबाट टस से मस नहुनु कतै न कतै आफ्नो विजय ठान्ने मनोभावबाट प्रेरित छ जस्तो लाग्छ । एमाओवादी पनि आफ्नो १० वर्षे संघर्षबाट थाकेको अनुभव ताजै छ । सोही प्रयोगलाई सत्यापन गर्न सरकार मधेशलाई आफनो प्रयोगशालामा ल्याएको छ । झण्डै ६० जनाको शहादत वेहोर्दै मधेश ओली सरकारको प्रयोगशालामा दम तोड्ने निश्चित रहेको सरकारको आकलन छ । मधेशको शल्यक्रियामा सरकार सफल हुनेमा ढुक्क छ भन्ने कुरा उसको गतिविधीले देखाई रहेको छ ।

बेईमानीपूर्ण व्यवहारबाट मधेश आन्दोलनलाई प्रेरित गर्ने यो सरकार छ महिनादेखि चलि रहेको आन्दोलनप्रति गम्भीर हुन नसक्नु राणा शासनकालीन प्रतिबिम्ब परिलक्षित भई रहेको छ । बेला मौकाको सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले के तपाईंहरु घुँडा टेकेर देशमा लादिएको संकटलाई हटाउन चाहनु हुन्छ भनेर आफनो पक्षमा समर्थन लिने सरकारले यो संकट हटाउन कतिको चिन्तित छ भन्ने कुरा स्पष्ट हुँदैन ? मधेशलाई देशको बैरिको रुपमा चित्रित गर्ने यो सरकार देशको हित चिन्तक कहलाउन सक्दैन ।

मधेशलाई तोड्ने, क्षतविक्षत पार्ने खस शासकवर्गको परम्परागत चरित्र रहेकोले यस क्षेत्रमा एउटा ठूलो संजाल सधैं सक्रिय रहेको छ । राणा, राजा वा प्रजातान्त्रिक सरकार जो आएपनि मधेशप्रतिको दृष्टिकोणमा कुनै फरक हुँदैन । रंगभेदी अमिट अन्तद्र्वन्द्वलाई चर्काएर मधेशलाई तर्साउने, तोड्नेबाहेक जोड्ने काम कहिल्यै भएन । मधेशप्रतिको उदासीनता सधैं कायम राखियो । मधेशको आन्दोलनलाई वेवास्ता गरि सरकार मधेशमा अनेक बिषालु पौधाको खेती गर्न थालेको छ । देशलाई बिखण्डन गराउने विचारको खेती गर्न लागेको सरकारका लागि मधेशलाई तोड्ने एउटा नयाँ प्रयोग सामुन्ने आएको छ । शान्तिपूर्ण आन्दोलनको निकाशलाई थुनेपछि बिखण्डनको बाटो नै खुल्छ । यही बाटो खोल्न मधेशका युवाहरुलाई प्रेरित गरि रहेको छ । सरकारको मधेशप्रतिको निकृष्ट र दुष्ट विचारको अर्को नमूना अरु के हुन सक्दछ ।

सत्तामा ओली जस्तै कठोर देखिने नेपाली काँग्रेस प्रतिपक्षको भूमिकामा मधेशप्रति उदार देखिएको अवस्थामा मधेशका राजनीतिक अगुवाहरुले यसलाई आफनो पक्षमा भरपूर प्रयोग गर्नु पथ्र्यो । गर्न सकेन । अहिले उसको महाधिवेशन भई रहेको अवस्थामा चिढाउने काम शुरु भयो । यसले मधेश आन्दोलनलाई क्षति पु¥याउने काम गरेको छ । एउटालाई हान्न अर्कोलाई मित्र शक्तिको रुपमा प्रयोग गर्नु रणनीति हुनु पथ्र्यो । भएन । मधेशका अगुवाहरुले जोशिला कार्यक्रमको क्षणिक प्रभाव भोग्दै आएको छ । थाक्दै आएको छ । सरकारले मधेश आन्दोलनप्रति राखेको आन्तरिक विचार सत्यापन हुने अवस्था पनि नआउने होईन । यसप्रति पनि सचेत हुन जरुरी छ ।

मधेश एकमुष्ट आन्दोलनमा होमिएका कारण अगुवाहरुको राजनैतिक प्रतिष्ठा पुनस्र्थापित भएको हो । फेरि मात्तिने अवस्थाले पतनको बाटो देखाउँछ । अहिले आन्दोलनमा आएको शिथिलता यसको प्रमाण साबित हुन सक्दछ । आन्दोलनको बेला पार्टी प्रवेश र पार्टी परित्यागको पनि होड चलेको छ । यसलाई पनि अन्वेषणात्मक रुपले हेर्नु पर्दछ । सम्पूर्ण मधेश आन्दोलनमा सक्रिय भएपनि मधेशमाथिको वर्चस्व भने कायम भएको छैन । आन्दोलनलाई विभिन्न दृष्टिकोणबाट अनेक शक्तिहरु प्रयोग गरि फायदा लिई रहेको हुन्छ । मधेशभित्रै आन्दोलनबाटै एउटा पक्ष तस्करी गरि पैसा कमाउन पछि परेको छैन भने ईमानदारहरु शहादत पनि दिई रहेको हुन्छ । आन्दोलनमा विभिन्न विचार समावेश भएपनि यो लडाईको ठूलो माध्यम हो र यसको उँचाईबाट नै सरकारसंग अधिकार लिन सकिन्छ भन्ने मान्यताका साथ आन्दोलन चलाईन्छ ।

राजनीतिको प्रतिगामी कदमबाट उठेको आन्दोलनको जिम्मेवारी पनि मधेशका अगुवाहरुमा निहित रहेकोले यसको कुशल संचालन हुनु पर्दछ । मधेशलाई पछाडि धकेलिएका कारण मधेश आन्दोलित भएको हो । पार्टीले सिटी बजाएर होईन । सरकारको अमिट विभेदपूर्ण व्यवहारलाई फेरि चुनौति दिन आन्दोलन उठेको हो र लामो समयदेखि बन्दको पीडा भोग्दै जनता आन्दोलनबाट पछि हटेको छैन । मधेशले यो आन्दोलनमा झण्डै ६० वटा वीर सपूतलाई गुमाई सकेर मधेशप्रति सरकारको दुष्टतालाई अन्तर्राष्ट्रिय जगत सामू उजागर गर्न सफल भएको छ । मधेशको यही साहसिक कदमले आन्दोलनको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाएको छ । लामो समयदेखि चल्दै आएको आन्दोलनको उँचाईबाट मधेशको सबलताले हौसला पनि बढाएको छ ।

नेपाल सरकारको अनेक लाञ्छना सहेर पनि भारत मधेश मुद्दाको पक्षमा दृढतापूर्वक अडेको ठूो कुरा हो । मानवाधिकार हनन भई रहेको विरुद्ध अडिनु पनि पर्दछ । भारतको केन्द्र सरकारको सम्पूर्ण समर्थन प्राप्त रहेको बेला मधेशका अगुवाहरुमा संयमताको अभाव देखिनु दुर्भाग्यको विषय हो । धेरै उँचाईमा पुगेपछि एउटा सानो भूले जीवन नै गुम्ने भयबाट मानिस पूर्ण सचेत अवस्थामा हुन्छ । त्यही सचेतता मानिसलाई सहज अवतरण गराउने भएकोले मानिस सतर्क रहन्छन । अहिले अगुवाहरुको संयमता अति आवश्यक रुपमा रहनु पर्दछ । मधेश आन्दोलन अन्तर्राष्ट्रिय जगतसामू स्पष्ट रुपमा राखिएकोले यसप्रतिको सरकारको उदासीनतालाई उनीहरु राम्ररी हेरि रहेका छन् । हामीले हाम्रो काम कुशलतापूर्वक संचालन गरि राख्नु पर्दछ । हाम्रो कारणले कुनै मित्र शक्ति चिढिनु हुँदैन ।

यता केही दिनदेखि आन्दोलनमा आएको शिथिलतालाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । मधेशका मित्र शक्तिहरुबीच महागठबन्धनको विचार विकसित भएको राम्रो कुरा हो । यो पंक्तिकारले पनि सधैं यसप्रति अगुवा दलहरुको ध्यानाकर्षण गराउँदै आएको थियो । अहिले सबै शक्तिलाई एउटै प्लेटफारममा ल्याउने प्रयास प्रशंसनीय कुरा हो । महागठबन्धन बनाउने उद्देश्य पनि आन्दोलनलाई सशक्त बनाउनु हो । तर यो प्रयासमा आन्दोलन नै शिथिल भई रहेकोप्रति पनि सचेत हुन जरुरी छ । आनदोलनको शिथिलताबाट पहिले कार्यकर्ता असन्तुष्ट हुन्छन् । त्यसपछि जनता । आन्दोलन एकपल्ट विरामावस्थामा गएपछि यो आत्मघात नै ठहरिन्छ ।

अहिले सबै नाका खुला रहेकोले दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध हुन लागेको छ । सरकारको आन्तरिक खुशी असीम रुपमा बढेको छ । टुटेको धागो बिना गाँठले जोड्न सकिन्न भन्ने सरकार पक्षको हर्षको सीमा छैन । कस्सिएको बेला त गम्भीर हुन नसकेको सरकार अहिले सामान्य स्थितिमा आन्दोलनप्रति के चासो राख्छ । सीमापारिका मित्र शक्तिले पनि खुलेरै नेपाल सरकारको विरोधमा बोली दिएपनि ओलीको गोलीलाई रोक्न सकि रहेको छैन । महागठबन्धन बनाउन सीमापारि गएका राजनीतिक अगुवाहरुको यो प्रयास हास्यास्पद नै भएको छ । समर्थन लिनु एउटा कुरा हो तर महागठबन्धन बनाई दिनु अशोभनीय कुरा सहज पाच्य हुँदैन ।

लालू प्रसाद यादब र मधेशका नेताहरुको भेंटघाटको तस्वीर फेसबुकमा सार्वजनिक भएपछि शिक्षकको रुपमा लालू र विद्यार्थीको मुद्रामा रहेका चारजना मधेशी नेताहरु पूर्ण अनुशासित र यो अवसर जुर्न सकेको सौभायमा मुस्कुराउँदै हेरेर मधेशलाई पनि हाँसो उठ्नु स्वाभाविक हो । यो सुखद घडीमा बनेको महागठबन्धन हाँसोको विषय नबनोस् ।

मधेश आन्दोलनको उँचाई घटि रहेको अवस्था मूल चिन्ताको विषय हो । आन्दोलनप्रति मधेशी मोर्चाको नरम रवैया केही दिनदेखि मधेशमा विभिन्न आशंकाको जन्म दिएको छ । कार्यकर्तामा नैराश्यता आउन थालेको छ । नेताहरु किन आन्दोलनप्रति उदासीन भए, जन गुनासो बढि रहेको छ । के नेताहरु थाकेको अनुभव गर्न थालेको हो ? वा कुनै प्रलोभनको प्रभाव फैलिएको हो ? अनेक थरिका प्रश्नहरु जन जिभ्रोमा अहिले व्याप्त छ । लालू यादब वा नितिश कसैले पनि मधेश आन्दोलन गर्दैन । गर्ने आफैले हो । यस किसिमका प्रश्नहरु फैलि रहेको आन्दोलनको लागि राम्रो होईन । मधेशका अगुवाहरु अविलम्व फैलि रहेको जहरलाई रोकेर आन्दोलनलाई पूर्वावस्थामा ल्याउनु पर्दछ ।
२०७२ माघ २२ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!