राज्यबाट गरिएको विभेदका कारण राज्यविहीनताको अवस्थामा मधेशी समाज खस समाजको दाँजोमा अलि पिछडिएको भए पनि उनको आफनै विशिष्ट संस्कृति र लोक परम्पराले मधेशी समाज एउटा अनुपम उदाहरणको रुपमा प्रसिद्ध छ । विविधतालाई आफनो निश्छल भावनाले एउटै सूत्रमा बाँधेर भातृत्व प्रेमले सामाजिक सदभावलाई कहिले न टुट्ने गरि कायम राखेको छ । यही अनेकतामा एकता कायम राखी हजारौं वर्षदेखि यो मिश्रित मधेशी समाज भाईचाराको सशक्त बन्धनमा आवद्ध छ । खस जस्तै फिरन्ते जीवन न रुचाएका मधेशीहरु आफनो पुर्ख्यौली थलोमा नै सबैलाई समेटेर बसेका हुन्छन् । पैतृक वासमा पुर्वहरुको आत्माको वास रहेको मधेशी समाजको मान्यता अनुरुप मधेशीहरु ठूलो कारण नभई एकै ठाउँमा बस्न चाहन्छन् । आफना जीवनको अनेक संस्कारमा सिंगो परिवार र समाजको सहभागिता अनिवार्य रहेका कारण पनि उसको वासको स्थायित्वलाई प्रमाणित गर्दछ । मधेशीको पारस्परिक भावनात्मक सम्बन्धले जातीय भेदलाई पनि विर्सेको हुन्छ । सबै एक अर्काको सुख दुःख, सामाजिक, धार्मिक कृत्यमा सहभागी भई सो समारोह सम्पन्न गर्ने अभिभारा सम्भवतः अरु समाजमा पाउन कठीन छ ।
संयुक्त परिवारमा बस्न रुचाउने मधेशी समाजमा अहिले पनि संयुक्त परिवारका अवशेष कहीं कहीं हेर्न सकिन्छ । अरु समाजमा खास गरि खस समाजमा दशकौं पूर्व समाप्त भएको संयुक्त परिवार प्रणालीलाई मधेशी समाजले मात्र अवशेषको रुपमा राखेर अनुसन्धानकर्ताका लागि सहज बनाएको छ । हुनत सामाजिक परिवर्तनका तीब्रतर वेगले संयुक्त परिवारलाई धेरै पहिले समाजबाट विस्थापित गरे पनि मधेशी समाज अहिले पनि यसलाई नमूनाको लागि कायम राखेको छ । गैर मधेशी समाज आफनो मौलिकतालाई छोडदै द्रूत गतिले परिवर्तित हुँदै एकल परिवार प्रणालीमा आई पुगेको छ र यसलाई पनि विखण्डन गरि यूरोपीय शैलीको नितान्त व्यक्तिगत प्रणालीमा परिणत हुन प्रेरित भई रहेको छ । एकल परिवार पद्धतिमा आमाबाबु विस्थापित भई सकेको छ । अधिकाँश आमाबाबु अनाथाश्रममा एकाँकी जीवन व्यतीत गरि रहेका छन् । परिवर्तनले आफूसंगै ल्याएको यो प्रणालीलाई मधेशी समाजले स्वीकृत गर्न सकेको छैन । आफनो मौलिकताप्रति कट्टर रहेको मधेशी समाज आफनो परिवारसंग भावनात्मक सम्बन्ध रहेको र त्यसले दिएको जिम्मेवारीबाट पन्छिनु धेरै ठूलो अपराध ठहरिने भएकोले पनि परिवारसंग उसको सम्बन्ध अटूट हुन्छ । तर खस समाजलाई यो परिवर्तनले तहस नहस पारि सकेको छ । एकल परिवार पनि विघटनको संघारमा पुगेको देखिन्छ । यी सब फरक अवस्थाका कारण मधेशी राज्यद्वारा स्वीकृत हुन नसकेको हो । हिन्दू धर्मले मधेशीलाई खसवर्गसंग नजिक ल्याउन प्रयास गरे पनि दुबैको धार्मिक रीति रिवाज फरक भएको कारणले पनि एकाकार हुन असम्भव बनाई दिएको छ । अर्थात् त्वं शरणम्बाहेक मधेशीको खसवर्गसंग कुनै मेल नरहेकोले विभेदमा धकेलिएको हो । मधेशकै शोषणमा यो वर्ग अस्तित्वमान रहेकोले पनि विभेदलाई बढाईएको हो ।
(३) मधेशको सुगमताका कारण विभेद– मधेशको सुगमताको सुविधा मधेशीलाई मात्र प्राप्त भएका कारण पनि यो मधेशको विभेदको कारण बनेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको समथर भूमि नेपालको सिमानामा परे पनि यसलाई शासकहरु प्रत्यक्ष भोग्न नपाएर भारतीयहरु भोगी रहेको मानसिकता खसवर्गको रहेकोले मधेशसंग भेदभाव राखेको हो । मधेशको भूमिलाई प्रत्यक्ष भोग्न तथा मधेशीलाई खस संस्कृतिमा ढालेर नियन्त्रणमा राख्न राज्यले बहालवाला सैनिक, भु.पु. सैनिकहरु, जमीन्दार, पण्डित, पुरोहितलाई मधेशका जग्गा जमीन बिर्ता दिएर बसाउने प्रयास गर्यो । मधेशीलाई नियन्त्रण गर्न आप्रवासन शासकवर्गको अमोघ अस्त्र थियो र मधेशलाई नियन्त्रण गर्न यो प्रभावकारी साबित पनि भयो । गैर मधेशीको आन्तरिक बसाई सराईले मधेशीहरू गरिब, दरिद्र र कंगाल हुँदै हजारौंको संख्यामा बिस्थापित हुन बाध्य भयो । उनीहरूको घर, जग्गामा गैर मधेशीको कब्जा भयो । आप्रवासन स्वाभाविक रूपले आएको होइन, शासकवर्ग को शासकीय रणनीति तहत बदनियतपूर्ण ल्याइएको कार्यक्रम थियो । मधेशको गाउँ गाउँमा गैर मधेशीको अधिपत्य कायम भयो । गाउँ देखि दरवार सम्म उनीहरूको पहुँच भएकोले उनीहरूले सहजै मधेशमाथि कब्जा जमायो । राज्यविहिन मधेशीको कुनै पहुँच नभएकोले मधेशको प्रत्येक गाउँमा प्रकट भएको यो जिउँदो भगवानको स्तुति, यशोगान बाहेक मधेशीको लागि कुनै विकल्प रहेन । विस्थापित हुनेहरू विस्थापित भए, अरूहरू गुलामीको जीवन जिउन बाध्य पारिए ।
२०२३ साल सम्म मधेशको कुल क्षेत्रफलको ४० प्रतिशत वन जंगलले ओगटेको थियो । पहाडबाट बसाई सरेर आउनेहरूले व्यापक मात्रामा वन फडानी गरे । सरकारद्वारा अनुमोदित वन फडानी गर्ने यी आप्रवासीहरूको वसोवास गराउन सरकारले राप्ती भ्याली विकास योजना, कंचनपुर पुनर्वास आयोजना, कैलाली पुनर्वास आयोजना, ताराताल पुनर्वास आयोजना, नवलपरासी पुनर्वास आयोजना, सर्लाही पुनर्वास आयोजना, झापा पुनर्वास आयोजनाको नामबाट लाखौं बीघा जग्गा वन फडानी गरी वितरण गरियो । २०३६ सालको जनमत संग्रहमा निर्दलीय पंचायती व्यवस्थालाई जिताउन सुर्य बहादुर थापाको सरकारले मधेशमा लाखौं हेक्टर वन फडानी गरि पहाडबाट बसाई सरि आउनेलाई वितरण गर्यो ।
बर्मा, भुटान, तिब्बत र भारतको आसाम, नागाल्याण्ड, मेघालय, कालिङपोङ, वेस्ट बंगाल, देहरादून, हिमाचल प्रदेश आदि ठाउँबाट व्यापारी, सेवा निबृत सैनिकहरू तथा रोजगार खोज्नेहरू मधेशमा आफनो जातको बाहुल्यता हेरेर स्थाई बसोवास गर्न आए । मधेश नेपालको अन्य भागभन्दा सुविधा सम्पन्न अवस्थामा रहेकोले बसाई सराई तीब्र रुपमा बढेको हो । राजधानीको सत्तासुख र पहाडको दुर्गमवासले जीवन असहज भएर पनि सहजै सबै सुख प्राप्त गर्न र धनाढयताको मान सम्मान प्राप्त गर्न कतिपय बसाई सरेका हुन । मधेशमा हजारौं हजार बीघा जग्गा बनाएर टी स्टेट जस्ता उद्योगहरू सञ्चालन गरे । पहाडभन्दा यहाँको जीवन धेरै सरल भयो ।
पहाडमा भुमिको अभाव, कृषिकार्यमा कठिनाई सबै कुराको अभाव, कष्टपूर्ण जीवनको कारण, पनि बसाई सराईमा तीब्रता आएको देखिन्छ । मधेशमा सहजै जग्गा उपलब्ध हुन,े खरिद गर्दा अति सस्तोमा पाईने, यातायात, पानी, चरण लगायत विलासिताका सम्पूर्ण कुरा सरल रूपमै उपलब्ध हुने, प्रचार प्रसार गरेर पनि बसाई सराईलाई तीब्रता प्रदान गरिएको हो र मधेशमा बसाई सरि आाउनेहरू पनि आफनो सुरक्षाको दृष्टिकोणले संख्या बृद्धि गराएका हुन । मधेशीहरू धेरै सेवा गर्ने जात भएकोले त्यहाँ कुनै किसिमको खतरा छैन यस्तो प्रचार गरेर गैरमधेशीहरू व्यापकरूपमा आफनो संख्या बढाएको हो । समथर क्षेत्रको सुगमता मधेशमा मौजूद रहेका कारण मधेश आकर्षणको केन्द्र रहयो ।
मधेशलाई राज्यले विजित क्षेत्रको रूपमा र मधेशीलाई विदेशीको रूपमा बुझदै आई रहेकोले अनावश्यक शंकाको सिकार बनाएर राज्यले मधेशलाई नियन्त्रणमा लिन अनेक प्रपन्चको एउटा मुख्य कडी आन्तरिक आप्रवासनलाई बढावा दिएको हो । गैर मधेशीहरूको मधेशमा बसाई सराई गरी त्यहाँको जनसंख्याको ३८.५ प्रतिशत पुर्याएको हो । १९७१ मा यो संख्या १६.४% थियो । शासकीय प्रवृति तहत मधेशलाई कब्जा गर्ने रणनीतिलाई सूक्ष्मतापूर्वक लागू गर्ने प्रयास धेरै हदसम्म सफल पनि भयो । मधेशमा रहेका हरेक प्रशासनिक निकाय आफनै तरिकाले मधेशीलाई ट्रीट गरि रहेको थियो भने स्थानीय स्तरमा मधेशीलाई गाउँस्तरदेखि जिल्लास्तरसम्म नियन्त्रणमा राख्न यसै वर्गका मुखियाहरु सक्रिय थिए । एकजना खस मुखिया सयकडौं मधेशीभन्दा अधिक महत्वपूर्ण थियो । मधेशीको समूहमा एकजना खस बस्न आउँदा उसको महत्व बढाउन खस वर्चस्वका जिल्लाका सम्पूर्ण प्रशासनिक निकायहरु सहयोगी भूमिकामा सधैं प्रस्तुत हुन्थ्यो । मधेशीको कुनै पनि काम यिनको सहयोगबाट तुरुन्तै हुने, आफै गराउँदा नहुने प्रचलन मधेशका सबै जिल्लामा कायम थियो ।
मधेशको सुगमताको प्रत्यक्ष निर्वाध रुपले भोग्न नपाएको असन्तुष्ट मानसिकताले मधेशीप्रति विभेद जन्माएको हो । भारतसंग सिमाना जोडिएको सुविधा प्रत्यक्ष आफनो वर्गलाई प्राप्त हुन नसकेकोले पनि भेदभावले निरन्तरता पाएको हो ।
(४) मधेश साधनस्रोतबाट सम्पन्न भएकोले विभेद– भौगोलिकताले मधेशलाई प्राकृतिक रुपले प्रदान गरेको साधनस्रोतको सम्पन्नता भेदभावको अर्को ठूलो कारण हो । मधेशप्रति राज्यको विश्वसनीयता कायम नरहेको र सम्बन्ध सुधार्ने कहिल्यै कुनै आवश्यकता महसूस नभएकोले राज्यसंग मधेशको दूरी बढ्दै गएको छ । मित्रतापूर्ण सम्बन्ध बनाउनुको साटो राज्यले मधेशको दोहन र शोषण शत्रुतापूर्ण ढंगले गरि रहेकोले राज्य मधेशको लागि प्रधान शत्रुको रुपमा उभिएको छ । शत्रुता राख्ने, राष्ट्रिय मूलधारमा आउन नदिने, भेदभाव गरि घृणित अवस्थामा राख्ने आदि व्यवहारले राज्यविहीन भएर लामो समयसम्म बस्नु पर्दा मधेशलाई आफनो अधिकारका लागि लड्नुबाहेक अर्को कुनै विकल्प बाँकी बचेको छैन । साधनस्रोतको सम्पन्नताले मधेशको विकास तुलनात्मक रुपमा अधिक हुनु पर्दथ्यो, तर त्यसो केही देखिदैन । स्रोतसाधनमाथि राज्यको एकाधिकार रहेकोले मधेश त्यसको उपयोग गर्नबाट सधैं बञ्चित रह्यो । मधेश नेपालको सीमामा रहेकोले यसको भोगको सम्पूर्ण अधिकार राज्यसंग छ, तर मधेशका वासिन्दालाई संरक्षण दिने भन्ने राज्यको कहिले मानसिकता रहेन । मधेशको भूमिलाई नेपाली बुझ्ने तर मधेशवासीलाई भारतीय सरह व्यवहार गर्ने राज्यको शताब्दियौंदेखिको यो घृणित भदभाव मधेशीको लागि अक्षम्य भएको छ । आफनो साधनस्रोतको उपयोगले विकासको क्षेत्रमा मधेशको काया पलट हुन सक्दछ । मधेशको साधनस्रोतको उपयोग गरेर खस समाज आफूलाई विकासशील समाजको दाँजोमा उभ्याएको छ, तर मधेशी समाज अशिक्षित, अविकसित, अवसरहीन, बेरोजगार, गरिब, कातर, हीन भावनाले ग्रसित असभ्य मानवको रुपमा चित्रित छ । राज्यको प्रमुख आयस्रोत मधेश भएको तर मधेशीप्रति राज्यको कुनै दायित्वबोध नरहेको कारणले पनि मधेश राज्यविहीनताको अवस्थामा महसूस गरेको छ । राज्यको उपेक्षित व्यवहारको निरन्तरता, सामाजिक आवश्यकताले लामो समयदेखि मधेशीलाई घच्घचाई रहेको परिस्थिति र बदलिदो परिवेशमा आफू राज्यको शोषणको शिकार रहेको अनुभव गरि मधेश संगठित भएर विद्रोह गर्यो । साधनस्रोतको धनी भएर पनि दरिद्र अवस्थाको पीडा भोग्न बाध्य मधेश अब थप पीडा भोग्न चाहेको छैन । राज्यको शदियौंदेखिको उपेक्षाभावका कारण मधेश अब आफनो साधनस्रोतको उपयोग आफनो लागि गर्न चाहेको हो । मधेशको साधनस्रोतको उपयोग आफनो वर्गले नगरिकन मधेशको पञ्जामा रहेकोले यो सबभन्दा ठूलो अन्तर्विरोध हो । मधेशप्रति सधैं आक्रामक भूमिकामा रहेको राज्य यो अन्तर्विरोधलाई नरम तरिकाले साम्य गर्न सक्ने कुनै उपाय छैन । २४० वर्षदेखिको भेदभावपूर्ण व्यवहारले मधेशीमा ल्याएको आक्रोश अब संघीयता नलिई मेटिने अवस्था भने देखिदैन । बलिदानीपूर्ण संघर्षले मधेशीलाई अधिकार लिई छाड्ने बटमलाईनमा उभ्याएको छ । उत्कर्षमा पुगेको मधेशको बलिदानीपूर्ण विद्रोहको अवस्था देखेर उनको माँग “संघीयता” लाई अन्तरिम संविधानमा समावेश गरि संघीयतालाई संस्थागत गर्न संविधान सभाको स्थापना गर्न राज्य बाध्य भयो । आफनो अधिकार लिन मधेशको प्रकट भएको यो रुप कुनै हालतमा साम्य नहुने स्थितिले देखाएको छ ।
कृषि उत्पादकत्व, औद्योगिक उत्पादकत्व, वन पैदावार, जलश्रोतको उपयोग, भन्सार आदिका करीब ८० प्रतिशत भाग राज्य बिना शर्त उपयोग गरेकोले मधेशसंग केही बाँकी नरहने र मधेशप्रति देशको कुनै दायित्व नरशेको अवस्थामा मधेशमा गरिबी, बेरोजगारी हुनु स्वाभाविक हो । यी सबै अभावलाई मधेश आफनौ ढंगले म्यानेज गर्नु पर्ने स्थिति छ । मधेशप्रतिको उपेक्षा भाव, राज्यविहीनताको अवस्था, आन्तरिक उपनिवेश कायम गरि मधेशमा राज्यको दोहन र शोषणको व्यवहार, न्यायविहीन भएको अवस्थामा न्याय माग्ने ठाउँ नभएको, राज्यबाट नागरिक सरहको व्यवहार नपाएको आदि कारणले मधेशलाई राज्यले उपनिवेशनै बनाएको भान हुन्छ । राणा शासनकालदेखि मधेशलाई निरंकूशतापूर्वक दोहन गर्दै आउँदा मधेश राज्यमा आफनो पहुँच नरहेको, शिक्षाको अभावमा मानवाधिकार के हो त्यसको ज्ञान नभएकोले एकपक्षीय रुपमा राज्यको दमन सह्न बाध्य थियो । कहिले निरंकूश व्यवहार थियो भने अहिले उदार प्रकृतिको व्यवहार छ । तर दोहन र शोषणमा कुनै कमी आएको छैन ।
(५) भौगोलिक असमानताका कारण विभेद– नेपालको दक्षिणी समथर क्षेत्र मधेशको हावापानी उष्ण रहेकोले यहाँका वासी पहाडका वासिन्दाभन्दा धेरै कुरामा भिन्न रहेकोले विभेद गरिएको छ । भौगोलिक असमानताले रंगभेद जन्माएकोले यो पनि विभेदका कारण बनेको छ । उष्ण प्रदेशका मानिस स्वाभाविक रुपले श्यामवर्णको हुन्छ जो पहाडवासीको गोरो रंगभन्दा फरक छ । मधेशीको जीवनशैली नै भिन्न रहेकोले विभेदका अरु कारण मध्ये यो रंगभेद पनि एउटा कारण बनेको छ । खसवर्गमा सामन्तहरुको प्रकार बदलेर आएपनि राज्यको सामन्ती चरित्रमा भने न कम्युनिज्मको प्रभाव परेको. छ, न लोकतान्त्रिक प्रभाव । यी प्रभावबाट बिल्कुल अलग आफनै स्वरुपमा रहेकोले राज्य कसैप्रति सहिष्णु बन्न सकेको छैन । यहाँसम्म कि राज्य आफनो वर्गप्रति पनि सहिष्णु नदेखिएको धेरै उदाहरणहरु छन् । राजधानीमा विभन्न व्यवसायका नाममा भित्रिएका मधेशीहरु रंगभेदका कारण विभिन्न ठाउँमा खसहरुको प्रताडनाका शिकार हुँदै आएको छ । राजधानी वासीहरु व्यापार गर्न आउने मधेशीहरुलाई पहिले कुकुर सरहको व्यवहार गरि रहँदा पनि मधेशी कुनै प्रतिक्रिया नराखी आफनो कामलाई नै प्राथमिकता दिएर बस्थे । मधेशीहरुलाई काठमाण्डौं छिर्न राहदानीको कानूनी प्रावधान यही राज्यले गरेको थियो । राजधानीवासीहरुद्वारा घृणात्मक व्यवहार सहेर पनि मधेशीहरु आफनो देशको राजधानी घुम्न आउँथे । मधेश आफनै सीमामा रहेपनि मधेशी राजधानीमा स्वीकृत थिएन । अकारण नै कूटपीटको शिकार हुने मधेशीहरु तैपनि राजधानी आउन छाडेन । समय बदलिंदै गयो । रंगका कारण विभेदको पीडा भोग्दै, घृणात्मक व्यवहार सह्दै मनमा खसहरुप्रतिको घृणा संगाल्दै मधेशीहरु विद्रोहमा उत्रे । अहिले बाह्य रुपमा घृणात्मक व्यवहार नगरे पनि मधेशीप्रतिको घृणा आन्तरिक रुपमा द्विगुणाले बढेको छ । आन्दोलन पश्चात राजधानीमा स्थाई रुपमा बसोवास गर्न, व्यवसाय गर्न, आवत जावत गर्न सहज परिस्थिति मधेशीहरुले बनाए पनि भावनात्मक सम्बन्धको अभावमा स्थायित्वमा भने प्रशन चिह्न नै लागेको छ । राजधानीले मधेशीप्रति लिएको घृणा अहिले सतहमा नदेखिए पनि आन्तरिक रुपमा बसी रहेकोले समयको अनुकूलतामा यो ज्वालामुखी सरह फुट्ने निश्चत छ ।
२०७० भाद्र ७ गते मधेशवाणीमा प्रकाशित
