लामो समयदेखि राज्यविहीनताको पीडा भोग्दै आएको मधेश आफ्नो अधिकार लिन क्रान्तिकारी वीर सपूत जन्माएको छ भने सोभन्दा बढी अवसरवादी, व्यक्तिवादी राजनीतिक अगुवा हुर्काएको कारणले आज शहादत दिने वीर बलिदानी सपूतको रगत अवमूल्यन भएको छ । शहीदको सालिकमा फुलमाला चढाउने अवसरवादीबाहेक उनले देखाएको मार्गमा चल्ने विचारवान राजनीतिक शक्तिको अभावमा मधेश निराश बनेको छ । भेदभावको विरुद्ध आफनै धरातलबाट एकीकृत आवाज उठाउन मधेशको २४० वर्षको अनवरत प्रयास थियो । राज्यद्वारा विखण्डित पारिएको मधेशलाई आन्दोलनले भावनात्मक रुपमा सूत्रबद्ध गरि अखण्ड एकता प्रदर्शित गरेको थियो । यही एकता मधेश आन्दोलनको उत्कर्ष थियो र उपलब्धि पनि । मधेशको अखण्ड एकताबाहेक अधिकार लिन अरु कुनै विकल्प नरहेको मधेश आन्दोलनले यही शिक्षा दिएको थियो । मधेशको अखण्ड एकता नै समग्र मधेश एक प्रदेशको अवधारणालाई अगाडि बढायो । जूँकालाई नून हाले जस्तै राज्यलाई मधेश आन्दोलनबाट अभिव्यक्त माँगहरुमा आफनो पतनको कारण देखा पर्यो । यति सहज रुपमा मृत्यु कसले वरण गर्छ ? यहींबाट राज्य मधेशमाथि खनिएको हो ।
एकताबद्ध मधेश, मधेशीमा अधिकार लिने बलिदानी उन्माद, माँगप्रतिको सशक्त आवाज यी सबैकुराको सामुन्ने राज्य सिर निहुँरायो । मधेश आन्दोलनको अगाडि सिर निहुँराउँदाको लज्जाबोधले राज्यलाई मधेशप्रति आक्रामक बनायो । जसरी मधेश एकीकृत रुपमा अधिकारको आवाज उठाएको थियो, त्यसरी नै सबै गैर मधेशी राजनीतिक दलहरु एकीकृत रुपमा मधेशको माँगको विरुद्ध सशक्त रुपमा योजना बनाउन थाले । २४० वर्षको राज्य संचालनमा अति खप्पिस भई सकेकाहरुको कूटनीतिक चाललाई मधेशका अवसरवादी राजनीतिक अगुवाहरुले बुझ्न सकेन । अतिशय लाभ दिने राज्यको कूटनीतिक चालमा परेर मधेशका सबै राजनीतिक दलहरु लाभका अवसर प्राप्त गर्न खण्डित हुँदै मधेशलाई कमजोर पारे । षडयन्त्रको योजनाको परिधिमा स्वतन्त्र रुपले कमाउन दिए पनि मधेशलाई त कमजोर पारे, यिनी पनि राज्यको गिरफ्तभन्दा टाढा छैन । मित्रवत् आलिंगनबद्ध गरि मधेशका दलहरुलाई सु–स्वादु भोजनबाट स्वागत सत्कार गर्ने राज्य अहिले आफू र मधेशबाट समेत आलोचनाको पात्र बनाएको छ । मधेशको जनादेश विपरित व्यक्तिवादी राजनीतिलाई अगाडि बढाउँदा मधेशमा पार्टीहरुप्रति जन्मिएको वितृष्णाले सबैको महत्व घटेको तथ्य आगामी चुनावले देखाउने नै छ ।
चरमोत्कर्षमा रहेको व्यक्तिवादी चरित्रले मधेशका राजनीतिक अगुवाहरुलाई मधेशहितका लागि एउटै धरातलमा उभिन कठीन बनाएको छ जो अरु राजनीतिक दलहरुलाई मधेशमा प्रभाव जमाउन सहायक सिद्ध भई रहेको छ । अर्थात् मधेशलाई अझ टुक्रा गरि साना साना कित्तामा बाँडेर मधेशलाई दीर्घकालसम्म आवाज उठाउन नसकोस् भन्ने स्थितिमा एमाओवादी, एमाले र काँग्रेसको योजना रहेको स्पष्ट छ । मधेश काँग्रेस, एमालेको वोट बैंक रहेको र विगत संविधान सभामा मधेशमा गुमेको साखलाई पुनर्स्थापित गर्न योजनाबद्ध रुपमा अगाडि बढी रहेका छन् । मधेशी जनतालाई आकर्षित गर्न यसपाली यिनीहरुलाई मधेशका राजनीतिक दलहरुको आलोचना नै पर्याप्त हुनेछ । त्यस्तै माओवादीले पनि मधेशबाट धपाइएको घटनालाई बिर्सेको छैन र मधेशमा आफनो आधार शिविर स्थापना गर्न योजनाबद्ध रुपमा तयार छन् । मधेशलाई चीरफार गर्ने अन्य राजनीतिक दलको योजनाले पनि मधेशका राजनीतिक अगुवाहरुलाई सम्बेदनशील बनाउन सकेको छैन । न मधेश आन्दोलनको मर्मले यसलाई प्रभावित गर्न सकेको छ । एकपल्ट स्वर्गमा खुट्टा टेक्दा आफूलाई महाप्रभू ठान्ने यि राजनीतिक अगुवाहरुको राजनीतिक चिन्तन कति तल रहेको छ भन्ने कुरा स्पष्ट देखाई रहेको छ । विगतमा झैं यिनीहरुको विध्वंशक गतिविधीमा अहिले पनि कुनै सुधार नआउनु व्यक्तिवादी चरित्रको चरमोत्कर्ष नै हो । यो विध्वंशक चरित्रले मधेशलाई कथमपि हित गर्दैन । बरु ठूलो नभए फूटपाथमा नाङ्लो पसल राखेर पनि व्यापार चलाउने योजनामा छन् मधेशका दलहरु ।
मधेशका दलहरुलाई मधेश मुद्दाप्रति गम्भीर बनाउन छलफलका लागि तराई मधेश लोकतान्त्रिक पार्टीले यही ज्येष्ठ ११ गते अमृतभोगमा चियापान कार्यक्रममा भेला हुन आमन्त्रित गरेको थियो । यसमा मधेशका साना पार्टी (संविधान सभाभन्दा बाहिरका) लगायत ठूला दलहरु पनि आमन्त्रित थिए । हुनत यसमा ब्राण्ड पार्टीका महाप्रभूहरुको अनुपस्थिति रहे पनि मधेशको हित चिन्तनका लागि तमलोपाको यो प्रशंसनीय प्रयास थियो । पारस्परिक तिक्ततालाई चिर्दै महन्थ ठाकुरले सबैलाई एक ठाउँमा उभ्याउने दुस्साहस देखाउनु भयो यो धेरै सराहनीय छ र यसले मधेशमा राम्रो सन्देश पनि दिएको छ । यस्तो प्रयासलाई अझ निरन्तरता दिई सार्थक निष्कर्षमा पुर्याउनु मधेश चिन्तकको दायित्व पनि हो । यस्तो प्रयासबाट मृतप्राय भएको मधेशको अधिकार आन्दोलनका लागि एकातिर यदि संजीवनी प्राप्त हुन्छ भने चुनावका लागि पनि एउटा सशक्त बल तयार हुन्छ । मधेशको नाममा राजनीति गर्नेहरुले मधेशका लागि पनि न्यून नैतिकता दर्शाउँदा मधेशको हित हुने भएकोले यस सत्कर्ममा उन्मुख गराउने प्रयासको खाँचो रहेको अवस्थामा यस तर्फ पाइला सार्ने महन्थ ठाकुरजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
समयलाई आफनो अनुकूल बनाउँदै राज्यले मधेशको मुद्दालाई नियतबश पछाडि धकेल्दै आउँदा निश्चय पनि मधेशलाई पुनश्च आन्दोलनमा धकेल्ने प्रयास गरेको छ र मधेशको यो प्रयास सफल नहोस् भनेर मधेशलाई टुक्रा टुक्रा पार्ने षडयन्त्र पनि गरेको छ । मधेशमा ल्याइएको व्यापक जन असन्तोषमा मधेशका दलहरुको चिन्ताको बिषय हुनु पर्दथ्यो, तर यसप्रति दलहरु भने गम्भीर देखिई रहेको छैन । तमलोपाले थालेको प्रयास जारी राख्नु पर्छ । कति हदसम्म यो मोर्चा बन्न सक्छ, उपलब्धि नै मान्न सकिन्छ । तमलोपाले जारी राखेको यो प्रयास मधेशको घावमा मलहम लगाउने काम भने अवश्य गर्छ । चुनाव होस् अथवा नहोस् मधेशका महाप्रभू दलहरुले आफूमात्र बढी सीट ल्याएर ठूलो बन्ने र राज्यको भाग खाने सिमित चाहना राखेकाले यसले मधेशको अभिभारा पूरा गर्न सक्दैन । सिद्धान्त र विचारलाई आफनो व्यक्तिगत स्वार्थमा उपयोग गर्ने यी दलहरु व्यावसायिक मानसिकता बनाएकाले पनि मधेशको अधिकारबारे चिन्तन गर्ने यसको अधिकार क्षेत्रभित्र पर्दैन । जसले यसबारे चिन्ता राख्छ, उसैले यो अभिभारा पूरा गर्न सक्दछ ।
देशमा एकातिर संविधान सभा चुनावको घोषणा गरिएको छ भने अर्कोतिर चार दलीय संयन्त्रले फैलाई रहेको राजनीतिक प्रदूषणले आन्दोलनको रुप लिई रहेको अवस्था छ । यस्तो विरोधाभासको अवस्थामा चुनाव पनि सहज रुपमा सम्पन्न हुने छाँट छैन । चार दलीय संयन्त्रले ल्याएको राजनीतिक अराजकता पराकाष्ठामा जान लागेको हो । मोहन वैद्यको ३३ दलीय गठबन्धनले गरेको आन्दोलन प्रभावकारी हुन नसकेकोले पनि चार दलीय संयन्त्रलाई उन्मादित बनाएको छ । “यो आन्दोलनलाई जतिबेला पनि म म्यानेज गर्न सक्छु” भन्ने आश प्रचण्डमा हुन सक्दछ । यही विश्वासको भरमा उनले आन्दोलनलाई खासै महत्व नदिएको हुन सक्दछ । आन्दोलनलाई नजीकबाट नियाली रहेका अरु पनि धेरै आन्दोलनकारी शक्तिहरु यसको प्रभावकारितामाथि शंका गर्दै प्रतीक्षारत् छन् । चुनावभन्दा पूर्व प्रचण्डले यो आन्दोलनलाई शान्त पार्न सकेन भने फेरि सबै शक्ति मिलेर यो निर्णायक आन्दोलनको रुप लिनेछ । यो निर्णायक आन्दोलनले कसलाई कहाँ लाने भन्ने कुरा सहज रुपमा भन्न कठीन छ । संविधान सभाको चुनाव गराउने नाममा अघि सारिएका जतिसुकै षडयन्त्रका योजनाहरु सबै भताभुँग हुने सम्भावना पनि उक्तिकै प्रबल छ । राजनीतिमा जित्यो भने शीर्ष स्थानमा होइन भने पातालमा जाने सम्भावना रहेकोले आउने दिनको परिणाम भाग्नै पर्ने हुन्छ । विधी विधानलाई मासेर गरेको राजनीतिक हस्तक्षेप र सोबाट उब्जिएको असन्तुष्टता र आक्रोश समय पर्खि रहेको कुरालाई नजर अन्दाज गर्न मिल्दैन । समग्रमा अराजक स्तिथिमा रहेको राजनीतिक अवस्थाले सहज निकाश दिन कठीन छ ।
२०७० ज्येष्ठ २४ गते मधेशवाणीमा प्रकाशित
