मधेश शहीदको बलिदानको बलिदान

“बाघ र क्रान्तिकारी कहिले जमात खोज्दैन” भने झैं मधेशका वीर सपूतहरु अधिकारका आन्दोलनलाई उत्कर्षमा लैजान आफनो ज्यानको आहूति दिदै मधेशको पहिचानलाई स्थापित गरे । शदियौंदेखि आन्तरिक औपनिवेशक शोषण र दमनको उत्पीडन पुश्तौं पुश्ता भोग्दै मधेश आफनो पहिचानका लागि विद्रोह गरेको थियो । मधेशका ती वीर शहीदका बलिदानले आन्दोलनलाई सशक्त बनाई निष्कर्षमा लगेर संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरायो । निश्चय पनि मधेशका ती वीर सपूतहरु मधेश इतिहासका अमर पात्र बने । मधेश सधैं यी शहीदहरुलाई आदरका साथ सम्झि रहनेछ ।
आन्दोलनलाई परिणाममुखी बनाएर शहीदले हस्तान्तरण गरेको मधेशको नेतृत्व कुन दिशामा अगाडि बढ्यो, यो पनि उक्तिकै महत्वपूर्ण पक्ष हो । रगतको मूल्यमा प्राप्त संविधान सभा र त्यसबाट प्राप्त गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यभार सुम्पेर मधेशले अत्यधिक प्रतिनिधी संविधान सभामा पठायो । मधेश आन्दोलनको मर्म र शहीदको रगतको मूल्य नबुझने मधेशका प्रतिनिधीहरुले विगतमा गरेका क्रियाकलापका कारण मधेशको सिर मात्र निहूरिएन, शहीदको शहादतलाई पनि अवमूल्यन गरेको छ । मधेशका वीर शहीदहरुले मधेशलाई संविधान सभामा पुर्‍याए तर मधेशका नेतृत्वदायी प्रतिनिधीहरुको चिन्तन स्तर नै शिशुरुपमा रहेकोले यसले समग्र मधेशको व्यापक बोझलाई उठाउन सकेन । परिणामतः संविधान सभा अन्त गरेर मधेशलाई मात्र धपाईएन, मधेशको अखण्ड एकतालाई छिन्नभिन्न पार्‍यो । राज्यको विरुद्धमा उठेको मधेश आन्दोलन र यसले माँग गरेको संघीयता राज्यका लागि धेरै ठूलो चुनौती थियो ।
२४० वर्षको वर्गीय राज्यसत्ता आफनो अस्तित्व जोगाउन हरेक विप्लवमा खेलेको भूमिका र त्यसबाट खारिएको अनुभवले ०६२/०६३ को जनआन्दोलन र मधेश विद्रोहलाई जुन तरिकाले ट्याकल गर्‍यो त्यो आफैमा एउटा ठूलो उदाहरण हो । राज्यको षडयन्त्रका यी छद्म रुपहरुलाई वैचारिक दृढताको अभावमा मधेशी नेताको लागि बुझि नसक्नु बिषय थियो । बुझि नसक्ने बुद्धि बुझनेको गुलाम बन्नै पर्दछ । यही भयो । राज्यले मधेशको चुनौतीलाई बडो बुद्धिमानी तरिकाबाट न्यून गर्ने रणनीति बनाएर मधेशका प्रतिनिधी पार्टीलाई माध्यमको रुपमा प्रयोग गर्‍यो । गुलाम मानसिकताका मधेशका प्रतिनिधी जे जुन रुपमा भयो राज्यको षडयन्त्रका मतियार भएर मधेश आन्दोलनलाई विसर्जनमा पुर्‍याउने काम गर्‍यो । यहींबाट मधेश असन्तुष्ट भएको छ र नेतृत्व मण्डली अपराधी ठहरिएका छन् ।
मधेश आन्दोलन विपरित, राज्यका सहचरको रुपमा हिंडेका मधेशका नेतृत्व मण्डलीलाई व्यक्तिगत लाभको मदमा कुकर्म र सुकर्मको ज्ञान नै रहेन । मधेशका नाममा उच्च पदमा उक्लिन सफल यी प्रतिनिधी पार्टीहरुलाई आफू माध्यमको रुपमा प्रयोग भई रहेको आभास पनि भएन र आज मधेशमा आलोचनाको पात्र भए । राज्यले आफनो इच्छा अनुसार प्रयोग गरेर फाल्ने कुरा पनि नबुझने नेतृत्व मण्डलीले न्याउरी मूसो मारेर पछुताउनेको कुनै अर्थ छैन । आज जनताको अधिकार सुनिश्चित गर्ने संविधान सभा छैन । संविधान सभा पुनर्स्थापनाको आश पनि मेटिएको छ । संघीयता बहाल गर्न सभन्दा बढी जिम्मेवार मधेशको प्रतिनिधी पार्टी रहेकोले अकर्मण्यताका कारण निरीह रुप धारण गरेको छ । अर्थात् आन्दोलनले मधेशलाई जहाँ पुर्‍याएको थियो, त्यहाँभन्दा निकै तल धकेलिएको अवस्थामा प्रतिनिधी पार्टीहरुलाई न कुनै पाश्चाताप छ, न आत्म आलोचना गर्ने भाव नै । संविधान सभाका अस्थिपंजरलाई प्राणदान दिने बालहठ देखाएर जनमत आकर्षित गर्ने प्रयास तथा एकअर्का माथि दोषारोपण गरि गल्तीलाई ढाकछोप गर्ने अपराधरत छन् ।
आज समग्र मधेश माघ ५ गते शहीदहरुको सम्झनामा बलिदानी दिवस मनाई रहेका छन् । प्रतिनिधी पार्टीहरु मधेश आन्दोलन तथा शहीदहरुको रगतको अवमूल्यन गरि आज आफनो भव्य उपस्थिति देखाएर हाम्रो असफलताका कारण राज्य हो भन्दै गोहीको आँसू झार्न पछि परेनन् । यो आँसूबाट गरिएको अपराध मेटिएला ? शहीदहरुले मधेशलाई अधिकार दिलाउन प्राण बलिदान गरेका थिए । आफनो बलिदानको प्रभावबाट संविधान सभाको स्थापना पनि गरि दिएका थिए । तर प्रतिनिधीहरुको क्रियाकलाप……..? मधेशका सबै प्रतिनिधी पार्टीहरु हातेमालो गरि संविधान सभाको रक्षात्मक पंक्तिमा दृढतापूर्वक उभेर संविधान सभालाई सार्थक बनाएको भए यही शहीदहरुको सच्चा श्रद्धाँजली हुन्थ्यो । अपराध गरि शहीदको सालिकमा माला चढाउनु पनि ठूलो अपराध हो । यो ऐतिहासिक अपराधलाई मधेशले कहिले बिर्सिने छैन । जिम्मेवारी बोध नभएका, आफू मधेशका मसीहा बन्न प्राथमिक कर्त्तव्य पूरा गर्ने गैर जिम्मेवार पार्टीहरु मधेश आन्दोलनलाई प्रस्थान बिन्दुभन्दा तल पुर्‍याउँदा पनि अफसोच गरेन । संघीयता मधेशको लागि डेड लाइन भई सकेको छ । संघीयता प्राप्त गर्न अब आन्दोलनको कुनै विकल्प छैन । मधेशका प्रतिनिधी पार्टीहरुको कारण आन्दोलनमा जटिलता थपिएको छ । विगत पाँच बर्षको राजनीतिक परिस्थितिले समग्र रुपमा मधेशलाई आन्दोलनतिर नै धकेल्ने प्रयास गरेको छ । मधेशलाई संघीयता दिन न रुचाएको राज्य मधेशलाई संघीयता प्राप्त गर्न चुनौती नै दिएको छ । यसै पनि अधिकार आन्दोलन अधिकार प्राप्त नगरुञ्जेल सक्रिय नै रहन्छ । संघीयताकालागि राज्यले मधेशलाई दिएको चुनौती स्वीकार गर्नै पर्ने बाध्यता छ ।
मधेश आन्दोलन मार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मधेशको पहिचान भएको तर संस्थागत रुपमा यो पहिचान कायम हुन नसकेको अवस्था र यसलाई न्यून गर्ने राज्यको भरमग्दूर कुत्सित प्रयत्न अद्यावधि जारी रहेकोले पनि मधेश आन्दोलन अपरिहार्य बनेको छ । मधेशको आन्दोलनलाई संगठित गरिएन भने राज्यको विद्यमान आक्रामक व्यवहार र रक्षात्मक पंक्तिका गुलाम नेतृत्वले यसलाई शताब्दी पर धकेल्ने पुष्ट सम्भावना छ । मधेश जागृत अवस्थामा रहेको र अधिकार बहालीका तीब्रतर आकाँक्षा बोकेको कारणले पनि मधेश निर्णायक आन्दोलनको तयारी गर्नु पर्ने बाध्यता छ । मधेशको असन्तुष्टि र आक्रोशले निश्चय पनि आन्दोलनको सृजना गर्छ । यो नयाँ तरिकाको र अझ अनुशासित, संगठित र परिमार्जित भएर निस्कन्छ । विगतको असफलताले मधेशलाई धेरै पाठ सिकाएको छ । विभेदबाट मधेशको मुक्तिको तीब्र आकाँक्षा बोकि भौंतारि रहेका युवा पुश्ताले नै यो अभिभारा निर्वाह गर्नेछ । त्यहींबाट सशक्त, संगठित नेतृत्वको निर्माण हुने सम्भावना प्रवल छ । यही नेतृत्वले राज्यका मधेशमा बिछ्याईएका सबैखाले षडयन्त्र तथा शोषणका अवयवहरुलाई पहिचान गरि निष्क्रिय पार्नेछ र मधेशको अधिकारलाई स्थापित गर्नेछ । आफनै भित्रका आन्दोलनका अवरोधको रुपमा रहेका पुरातन तथा मक्किएका काम नलाग्ने चिन्तनको डुँगुरलाई सफा पार्दै अधिकारमुखी आन्दोलनको स्पष्ट दिशा तय गर्नेछ । मधेश आन्दोलनले धेरै मात्रामा युवा क्रान्तिकारी दस्ता तयार पारेको छ, जो आन्दोलनको सही दिशा दिन सक्दछ । मधेशभित्र छरिएर रहेका यी आन्दोलनकारीहरु संगठित हुन केही समय लाग्ला तर मधेशको आन्दोलन अगाडि आउने निश्चित छ ।
यो आन्दोलनलाई परिमार्जित बनाउन कुराहरुको चिन्तन गर्न आवश्यक छ – (क) संघीय लोकतान्त्रिक गणतन्त्रको स्पष्ट र सशक्त वैचारिक धरातल, (ख) मधेशको गम्भीर अध्ययन र निर्णायक आन्दोलनका लागि संगठित हुने क्रान्तिकारी शक्तिको छनौट, (ग) अनुशासन र त्यागको भावना, (घ) आन्दोलनप्रति समर्पित रहने निशर्त विचार, (ङ) सक्षम, सबल र त्यागी नेतृत्व, (च) मित्र शक्तिको पहिचान र सहकार्य, (छ) व्यापक जनसहभागिता हुने जन सवालका कार्यक्रम, आदि । यी कुराहरुको छनौटले आन्दोलनको स्पष्ट दिशा र दृढ आधार तयार पार्नेछ ।
मधेशको अगुवा शहीदहरुको सपना साकार पार्न र सच्चा श्रद्धाँजली अर्पण गर्न पनि आन्दोलनको अगुवाई गर्न आवश्यक छ ।
२०६९ माघ १९ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!