गैर राजनीतिक घटनाले पनि बदलाव ल्याउन सक्छ

दिल्लीमा एउटी मेडिकलकी छात्रा दामिनीसंग बसमा सामुहिक बलात्कारको घटना भयो । पीडितालाई अस्पतालमा भर्ना गरियो । १७ दिसम्बरमा भएको घटनाको विरोधमा त्यसको भोली पल्टबाट नै छात्रछात्रालगायत विभिन्न संघ, संस्थाहरुले विरोध प्रदर्शन गर्न थाले । पीडिताको प्राथमिक उपचारमा स्थिति सामान्य भनिए पनि सुधारको लक्षण परिलक्षित भई रहेको थिएन । हेर्दा हेर्दै दामिनी गैंगरेप प्रकरण आगो झैं सल्किदै राष्ट्रिय मुद्दा बन्यो । उनको स्वास्थ्य लाभ तथा पीडिताको समर्थनमा देशका विभिन्न शहरहरुमा विरोध प्रदर्शन हुन थाल्यो । वर्तमान सरकारसंग चिढिएका कतिपय राजनीतिक दलहरुले पनि पीडिताको पक्षमा सरकारको कानून व्यवस्थाको जमेर विरोध गर्‍यो । दामिनीको गैंगरेप राष्ट्रिय इस्यू बनी रहेका बेला अमेरिका, लण्डन, क्यानाडा लगायत धेरैजसो देशमा रहेका भारतीयहरुले पनि पीडिताको समर्थनमा त्यो देशका राजदूत मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन थाल्यो । चारैतिरबाट घटनाको विरोध व्यापक हुँदै जाँदा तथा घटनाको नैतिकहीन प्रकृतिले सरकार पनि समर्थनमा आउन बाध्य भयो । दिनानुदिन विरोध प्रदर्शन बढदै गई रहेको थियो । सरकारले आफनो खर्चमा दामिनीलाई थप बेहतर उपचारका लागि थाइल्याण्ड लगियो । यसबारे भारतीय मिडियाले सरकार समक्ष धेरै प्रश्न खडा गरि दिए । थप राम्रो उपचारका लागि अमेरिका, लण्डन किन लगिएन, थाईल्याण्डमा किन राखियो आदि यस्ता प्रश्नहरु अहिले पनि अनुत्तरित छन् । प्रदर्शनकारीहरुले आरोपीलाई जहाँ मृत्युदण्डको माँग गरि रहेको थियो त्यहीं प्रधानमन्त्रीले समर्थनमा कडा कानूनी कार्रवाही गर्ने आश्वासन दिएको छ । पीडितालाई स्वास्थ्योपचार, क्षतिपूर्ति तथा आरोपीलाई फाँसी दिने प्रदर्शनकारीहरुको माँग अनुसार संसदमा पनि यसको समर्थनमा नै आवाज उठेकाले पनि सरकार आरोपीलाई कडा दण्ड दिने विधेयक ल्याउँदै छ । २८ दिसम्बरमा दामिनीलाई थप स्वाथ्योपचारका लागि थाईल्याण्ड लगियो र २९ दिसम्बरमा दामिनी मृत्युसंग लड्दा लड्दै देहावसान भयो । उनको मृत्युको समाचारले सारा भारत दुःखी भयो । उनको आत्माको चीरशान्तिका लागि सारा भारत मैनबत्ती बालेर शान्तिपूर्ण प्रदर्शनबाट श्रद्धाँजली र सम्बेदना प्रकट गर्‍यो । अन्तर्राष्ट्रिय स्तरबाट पनि त्यतिनै श्रद्धाँजली र सम्बेदना दामिनीले प्राप्त गरिन । २९ दिसम्बरकै दिन दामिनीको पार्थिव शरिर दिल्ली विमानस्थलमा ल्याउँदा प्रधानमन्त्री मनमोहन सिंह र काँग्रेस अध्यक्ष सोनिया गान्धीले अगुवाई गरेका थिए । सोही दिन नेपालका राष्ट्रपति पाँच दिने भारत भ्रमण सकेर नेपाल फिर्त्ता हुँदै हुनुहुन्थ्यो । दामिनीको शव फिर्त्ता ल्याउने दिन अर्थात् २९ दिसम्बरमा प्रदर्शनकारी उग्र हुन सक्ने आशंकाले दिल्ली सरकारले इण्डिया गेट, बारहखम्बा रोड, सदर बजार, मेट्रोका सबै स्टेशनहरु बन्द गरि कर्फ्यु लगाएको थियो । जन्तर मन्तर मैदान प्रदर्शनकारीको कब्जामा थियो । त्यहाँ दिनहुँ प्रदर्शन भई रहेको थियो । कहिले त्यो प्रदर्शन शिष्ट रहने त कहिले उग्र हुने क्रम अहिले पनि यथावत छ । सम्भवतः भारतीय दण्ड विधानको संशोधनसम्म यो प्रदर्शन जारी रहन्छ । भारत सरकारले पनि दण्डसंहिता संशोधन गर्ने विधेयक ल्याउने तयारी गर्दैछ ।
पीडिताको परिवारलाई उत्तर प्रदेश सरकारले २५ लाख दिल्ली सरकारले १५ लाखको आर्थिक सहायता उपलब्ध गराएको छ । भारतको बेटीको रुपमा मात्र दामिनी स्थापित भइनन देशमा बदलावको परिस्थितिको सृजना समेत गरिन । आफनो बलिदान दिएर बदलावको वातावरण निर्माण गरि मृत्यु वरण गरेकी दामिनीको आत्माको चीरशान्तिका लागि मेरो तर्फबाट श्रद्धा सुमन अर्पण गर्न चाहन्छु ।
परिस्थितिको गर्भमा छटपटाई रहेको परिवर्तन कसको नेतृत्वमा हुने हो भन्न सकिन्न । नेपालकै सन्दर्भमा हेर्ने हो भने नेकपा माओवादी र मधेश आन्दोलनले ल्याएको परिवर्तनको लहर जनताले त हेरे तर परिवर्तनलाई अनुभूत गर्न सकेन । चाहे जेजति कारणले होस् परिवर्तन विरामावस्थामा गई सकेको छ । राष्ट्रपतिको भारत भ्रमण पनि राजनीतिक नै थियो । तर मलाई के लाग्छ भने भारतीय नेताहरुले नेपालको राजनीतिक गतिरोधमा चिन्ता नै व्यक्त गरेका होलान् तथा आफनै मिलोमतोमा समस्याको छिनोफानो गर्ने सुझाव पाएर फेरि राजनीतिक दलहरुलाई पाँच दिनको म्याद जारी गर्नु भएको हो । भनिन्छ – “कस्तुरी कुण्डल बसे मृग ढूँढे वन माही” अर्थात् मृगको नाभिमा रहेको कस्तुरीको सुवास पाएर मृग कस्तुरी खोज्न वन वन भटकि रहन्छ, तर पाउँदैन । यही उखान अहिले नेपालको राजनीतिमा चरितार्थ भई रहेको छ । यो गतिरोधको अन्त र समस्याको समाधान यही तीन राजनीतिक दलहरुको मानसिकतासंग जोडिएको छ । समाधान गर्ने उपाय पनि छ । तर मृगकै जस्तो अरु ठाउँमा समस्याको समाधान खोज्नुको कुनै अर्थ छैन । आफैले जन्माएको राजनीतिक गतिरोधको दलदलमा फँसेर त्राहिमाम गर्ने राजनीतिक दलहरुले अरुले निकाल दिने सोच राख्नु शकुनीको सोचभन्दा फरक हुँदैन । समस्या समाधान गर्न सोचमा परिवर्तन ल्याउन जरुरी छ । मानसिकतामा परिवर्तन जरुरी छ । जनताले अब कुन राजनीतिक दलको कुन ठाउँमा कसरी कपट व्यवहार गरेको छ, बुझन थालेको छ । देश बर्बाद भई रहेको सबैले भन्दछन् तर अबाद गर्ने दिशातिर कोही अगाडी बढ्दैनन् । सबैको आफनै किसिमको मानसिकता छ । जनताले उठाएका सवाल आफनो मानसिकताको मापदण्डमा फीट बस्छ कि बस्दैन यही समीकरण मिलाउँदै गतिरोधलाई लम्ब्याइएको हो ।
गतिरोध खडा गरेर परिवर्तनलाई धेरै लामो समयसम्म छेक्न सकिदैन । कुनै पनि कुराको एउटा निश्चित अवधिभित्र अन्त हुन्छ । यो गतिरोध पनि अनादिकाल सम्म पक्कै पनि रहदैन । सर्वमान्य राष्ट्रिय चिन्तनको आधारमा यी दलहरु जन आवाजलाई सम्बोधन गर्‍यो भने सबैको प्रतिष्ठा बच्छ, होइन भने परिस्थितिले ल्याउने निकाश कसैको हितमा नहुने कुरा पनि निश्चित छ । भारतको अहिले सामान्य गैर राजनीतिक घटनाले जसरी बदलावको परिस्थिति निर्माण गर्‍यो त्यो परिस्थिति यहाँ न आउला भन्न सकिदैन । यहाँ पनि कुनै ठाउँबाट विस्फोट भयो भने सम्पूर्ण नेपाली जनता समर्थन दिएर होमिने छन् र त्यसपछि को कहाँ हुने कुरा स्पष्ट छ । देशमा राजनीतिक गतिरोधले जन्माएको अस्थिरता, अराजकता, असुरक्षा, गैर न्यायिक थुनछेक, मँहगाई, बेरोजगारी, mक्रयशत्तिको ह््रास, आदि सबै जन जीविकासंग सरोकार राख्ने कुरा हुन । जनता लामो समयदेखि यसमा पिल्सिएर जसोतसो जीवनयापन गरि रहेका छन् । यो पनि एउटा निश्चित सीमासम्म बर्दास्त गर्न सकिन्छ । अभावमा रहेको जीवन आक्रोशित अवस्थामा रहेकोले पनि राजनीतिका प्रकाण्ड ज्ञाताहरुले बुझनु पर्दछ । कसैको बन्धनमा बाँधिएको अबको नेपाली जनता होइन । आफनो अधिकारका लागि भीषण आन्दोलन गरेर आएका जनता फेरि पनि भेल नल्याउलान भन्न सकिन्न ।
२०६९ पौष २० गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!