अष्टावक्रको शरिर बाँगिएको भए पनि विचार पवित्र र भावना परोपकारी रहेकोले इतिहासले उनको “पवित्र छविको पात्र”को रुपमा संरक्षित राखेको छ । शारीरिक रुपमा अपाङ्ग रहेका पवित्र विचारवाला अष्टवक्र सधैं सबैका लागि स्मरणीय र अनुकरणीय पात्रको रुपमा प्रेरणा स्रोत बनेको छ । नेपालको राजनीतिमा मानसिक रुपले बाँगिएका असंख्य अष्टावक्रहरु प्रमुख भूमिकामा देखा परेका छन् । राज्यमाथि आफनोमात्र बर्चस्व कायम गर्ने एकमात्र उद्देश्य राखेका अष्टावक्रहरुको अपाङ्ग मानसिकताले न केवल राष्ट्रिय राजनीतिलाई अपाङ्ग बनाएको छ, बल्कि राष्ट्रलाई अति कमजोर अवस्थामा पुर्याएको छ । सत्ताप्राप्त गर्ने दलहरुको एकमात्र उद्देश्य रहेका कारण उत्पन्न दीर्घकालीन गतिरोधले देशलाई आन्तरिक र बाह्य दुबैतिरबाट कमजोर बनाएको छ । दलीय महत्वाकाँक्षाले राष्ट्रिय स्वार्थलाई सिर निहुँर्याउन बाध्य गरेको छ । गैर लोकतान्त्रिक चरित्रले कहिले पनि राष्ट्रिय समस्याप्रति गम्भीर बन्न सक्दैन र बनेको पनि छैन । संविधान सभामा उठेका आवाजहरु संविधान सभाको अन्तसंगै अनुत्तरित विलीन भए जस्तै अहिले राष्ट्रिय बहसको बिषय बन्न सकेको छैन । सत्ताप्राप्ति नै राष्ट्रिय मुद्दा बनाइएको कारणले असन्तुष्ट नेपाली जनता अग्रगमनको बाटो रोज्न बाध्य भ्एका छन् । देश बिगारेर भएपनि सत्ता प्राप्त गर्ने लक्ष्यमा आरुढ यी दलहरुप्रति नेपाली जनताको वितृष्णा पनि तीब्रगतिमा बढि रहेको छ ।
राजनीतिक निकाशको अभावमा संक्रमणकालीन अराजक अवस्था लम्बिदै जाँदा यसले हरेक क्षेत्रमा नराम्रो प्रभाव पारेको छ । यसको मारमा परेको नेपाली जनताको जीवनस्तर खस्किदो अवस्थामा पुगेको छ । महगाईको कारणले सर्व साधारण जनता एकछाक खान छोडेको स्थिति छ । जनतामा आक्रोश बढि रहेको छ । दलका कार्यकर्त्ता पनि आफनै नेतृत्वप्रति आक्रोशित बनेको छ । संक्रमणकालमा अनुचित फायदा उठाउने अराष्ट्रिय तत्वहरु पनि भारी मात्रामा सक्रिय छन् । आफनो फायदाका लागि अराजकता बढाउने यी तत्वहरुको सोझै मार जनतामा परेकोले जनता धेरै लामो समयसम्म यो प्रतिकूलतालाई धान्न सक्दैन । उच्चवर्गदेखि तल्लो स्तरसम्म असन्तुष्टताको बातावरण तयार भएको अवस्थामा यसको के परिणाम हुने भन्ने कुरा जान्दा जान्दै पनि राजनीतिक दलहरु सत्ताप्राप्तिको लागि थालिएको चारवर्षे युद्धलाई विराम दिन चाहेको छैन । उल्टै सत्ता पाउन नसकेको अवस्थामा देशलाई दुर्भाग्यको वरदान दिएको छ । सर्वशक्तिमान भगवान झैं श्राप र वरदानको शक्ति प्राप्त गरे जस्तै सत्ता न पाउँदा श्राप दिने यो अघोरीपनको ताण्डव हेर्न जनताले जनादेश दिएको पक्कै पनि होइन । जनताले उठाएका अधिकारका आवाजहरुलाई सम्बोधन गरि देशलाई अग्रगमनको दिशामा लैजान जनादेश दिएका थिए ।
के वास्तवमा देश दुर्भाग्यतिर उन्मुख भई रहेको छ ? राजनीतिक दलहरु सत्ता नपाउनु देश कै दुर्भाग्य ठहरिन्छ ? सम्भवतः देश कै दुर्भाग्य भन्नु पर्दछ । आफनो स्वार्थ पूर्त्तिका लागि राजनीतिलाई धमिल्याएर एक पाईला अगाडि बढ्न नदिने, यसबाट उत्पन्न संकटप्रति गम्भीर नबन्ने आदि कारणहरु त देशलाई दुर्भाग्यतिर नै डोर्याउँछ । अन्तर्राष्ट्रिय शक्तिहरुको नेपालमा असन्तुलित प्रभाव पनि देशमा राजनीतिक दयनीयतालाई बढाएको छ । पराश्रित राजनीतिक संस्कार बोकेका राजनीतिक दलहरु कोई कसैको प्रभावमा, कोई कसैको मोहरा बनेर विभिन्न वैचारिक प्रतिस्पर्धामा आफनो देशको मौलिकतालाई चटक्कै विर्सेको छ । नेपालमा लामो समयदेखि स्वाभाविक रुपमा भारतको प्रभाव रहेको अवस्थामा एक्कासी चीनको प्रत्यक्ष प्रभाव बढेर आउनु भारतको लागि नमिठो लाग्नुबाट हुने प्रतिक्रिया देशको हितमा नहुन सक्दछ । हुनत अन्ध अन्तर्राष्ट्रवाद पनि हाम्रो हितको होइन । तर राजनीतिक, आर्थिक रुपले लामै समयदेखि पराश्रित संस्कारले अन्तर्राष्ट्रिय शक्तिको प्रभावको प्रतिस्पर्धा गराउन आमंत्रित गर्यो । नेपाल गरिब मुलुक रहेको र आर्थिक सहायता माँग्ने नैसर्गिक अधिकार प्रयोग गर्दा तथा सत्तामा आफनो वर्चस्व कायम गराई दिन माँगेको सहयोगको कारण पनि अन्तर्राष्ट्रिय शक्तिको नेपालको आन्तरिक मामिलामा बलियो उपस्थिति सधैं देखिएको हो । सबै शक्ति एकनाशको हुँदैन । कोई कसैको पक्षमा कोई कसैको विपक्षमा रहेर आफनो प्रभावको सन्तुलन बनाएको हुन्छ । यी शक्तिहरुको प्रभावमा परेका राजनीतिक दलहरुको आफनो बिकाऊ विचारले केही सोच्नै सक्दैन । संविधान सभा निष्कर्षविहीन हुनु र राजनीतिक दलहरु जन आवाजप्रति गम्भीर नहुनु पनि यी शक्तिहरुकै प्रभावका कारण हो । जन आन्दोलन र मधेश आन्दोलनले माँग गरेको संघीयताप्रति प्रतिबद्ध रहेको राजनीतिक दलहरु एक्कासी यसबाट टाढा भाग्नुको अर्थ के हो ? यी शक्तिकेन्द्रको विभिन्न खेमामा विभक्त दलहरुले उत्पन्न गराएको चीरकालीन राजनीतिक गतिरोधमा (देशले जति दुर्भाग्य भोगे पनि नछाड्ने) आफना आफना मालिकको प्रभाव नरहेको भन्न सकिन्न । यी यावत कारणको समीकरणमा फँसेको देशले दुर्भाग्य भोग्ने अवस्था छ । देश जति कमजोर भयो, माँग्ने क्षमता बढ्छ, दास मनोवृति बढ्छ । यस्तै अवस्थामा शक्तिकेन्द्रको प्रभाव बढ्ने हुनाले यो अनुकूलता को प्राप्त गर्न चाहदैन ? राजनीतिक दलहरु न शक्तिकेन्द्रको प्रभावबाट मुक्त हुन सक्दछ, न शक्ति प्रभावलाई सन्तुलित पार्न सक्दछ । दलदलमा धसेको मानिसको यथास्थितिको अवस्थाले नै प्राण रक्षा गरेको हुन्छ ।
पंचायती व्यवस्थाकालदेखि संसारका सयकडौं देशको सहायता प्राप्त गरेका शासकहरुले स्वावलम्बी बन्ने कहिले चाहना राखेन । सगरमाथाको देश र गरिब देशको नाममा आएको सहयोगको अधिकाँश हिस्सा व्यक्तिगत रुपमा प्रयोग भई रहँदा एकातिर देशलाई पराश्रित नै बनायो भने सरकारलाई निकम्मा बनायो । सहयोग ल्याउने खाने प्रक्रियाले देशमा भ्रष्टाचारलाई निर्बाध रुपमा बढायो भने जन सरोकारका बिषयहरु ऋोझेलमा पर्दा समय समयमा त्यो समस्या आन्दोलनको रुप लियो । सरकार परिवर्तन भए पनि भ्रष्टाचारले निरन्तरता पायो । जन सरोकारका बिषय फेरि पनि सरकारको प्राथमिकतामा परेन । समय लाग्यो तर जनताका आन्दोलनहरु भीषण रुपमा सतहमा आयो । यो आन्दोलनले सतहमा धेरै परिवर्तन देखाए पनि गुणात्मक रुपमा उपलब्धि लिन सकेन । राज्य पुनर्संरचना गर्न गएका परिवर्तनकारी शक्तिहरुले पनि पौराणिक प्रचलनलाई नै अंगालेर धनोपार्जनमा सबैलाई मात गरि दिए । जन सरोकारका बिषयहरु विभिन्न बहानामा फेरि ओझेलमा पारिएको छ । जन आन्दोलन र मधेश आन्दोलनको औचित्यलाई समाप्त पार्दै टालटुले परिवर्तन देखाएर परिस्थितिको प्रतिकूलता भनी सफाई दिंदै फेरि जनतालाई ठग्ने रणनीति बनाएका छन् राजनीतिक दलहरु ।
तिहारको रौनकसंगै सरकारले बजेट ल्याएको बिषयले राजनीतिक वृतमा चहलपहल थपिएको छ । सरकार र प्रतिपक्षीबीच वाक्युद्ध घनीभूत भई रहेको तर यस बिषयमा कसैको चासो नरहेकोले पनि वाक्युद्ध महत्वहीन बनेको छ । जनादेश विपरितको गतिविधीले प्रभावहीन बन्दै गएको राजनीतिक दलहरुको दलीय स्वार्थभन्दा माथि नउठी केही नहुने निश्चित छ । न प्रतिपक्षले माओवादी सरकारलाई झार्न सक्दछ न सरकारलाई प्रतिपक्षले एक पाइला अगाडि बढ्न दिन्छ । प्रतिपक्षले आन्दोलनको माध्यमले सरकारलाई ढाल्ने भन्ने रणनीतिको प्रभाव पनि न्यून देखिएकोले यथास्थितिमा बस्नुबाहेक केही नहुने पक्का छ । यथास्थितिमा नै यी दलहरुलाई गल्ने बाध्यता रहेको र यसबाट मुक्त हुन पनि कुनै बाटो न रहेकोले राजनीति यही अवस्थामा रहि रहने सम्भावना छ ।
२०६९ मंसीर १५ गते मधेशवाणीमा प्रकाशित
