आफ्नो पहिचान र अधिकारका लागि उठेको मधेश आन्दोलनले आफ्नै बलबूतामा पहिचान कायम गर्दै चौथो शक्तिको रूपमा उभियो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्ने सपना बोकेर आएको यो चौथो शक्ति, विल्कुल फरक विचार र संस्कृतिका कारण सबै शक्ति केन्द्रहरूको शिकार भयो । मधेशी जनताको जनादेश बमोजिम मधेशको सपना पूरा गर्ने प्रतिबद्धताका साथ ओठे क्रान्तिकारी अवसरवादीको ठूलो जमात नेतृत्व लिन पुगे । संविधान सभाको चुनाव पछि मधेशको नेतृत्व गर्ने मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टी लगायत तीनबटा पार्टी थियो । प्रारम्भमा मधेश मुद्दाको स्वच्छतापूर्ण वकालत गरे पनि तीनै पार्टी विस्तारै अवसरवादको चँगुलमा फँस्दै गए । पार्टीमा व्यक्तिगत स्वार्थ हावी भई सके पछि पद र पैसाका लागि प्रतिस्पर्धा शुरू भयो । पार्टीलाई संस्थागत गर्ने, शक्ति संतुलनको आधारमा मधेशले दिएको जनादेशको आधारमा जनतालाई अधिकार सम्पन्न गर्ने उद्देश्य गौण भयो । व्यक्तिगत स्वार्थ पूरा गर्ने पार्टीको धरातलीय उद्देश्य भई सकेपछि विधानका धाराहरू पार्टी विभाजनका लागि व्याख्या हुन थालिए । पार्टीभित्रको मर्यादा, अनुशासन भन्दा माथि रहेका सदस्यहरूको व्यक्तिगत महत्वाकाँक्षाको अगाडी यी सब कुराको केही महत्व रहेन । व्यक्तिगत स्वार्थ पूरा गर्ने फरक स्वाभावका, फरक चरित्रका मानिसहरूको जमातलाई पार्टीले एकाकार गर्न सकेन वा गर्न चाहेन । पार्टी महज मानिसहरूको भीडको रूपमा परिणत भएको अवस्थामा विखण्डन स्वाभिक पनि थियो । पार्टीभित्र क्रमबद्ध बस्न नचाहने सदस्यहरू आफ्नो स्टेटसलाई जहिले पनि पार्टीभन्दा माथि देख्ने, आफूलाई मधेशको विधाता मान्ने, पार्टीलाई आफ्नो इच्छानुसार चलाउन खोज्ने, उद्देश्यलाई बिर्सेर आफ्नो स्वार्थलाई नै पार्टीको उद्देश्य बनाउने आदि कारणहरू पनि विभाजनका कारक तत्व बन्यो । यी सबकुराको जन्म दिने नेतृत्व पंक्ति नै हो । यसरी पार्टी अराजक भीडमा परिणत हुँदा विखण्डन स्वाभाविक रूपमा आउने कुरा स्पष्ट छ । चरम अवसरवादिताको भुमरीमा परेका पार्टीहरू उद्देश्यविहीन हुँदै तीनबाट तेरह भएको कुरालाई आश्चर्य मान्नु हुँदैन । अवसरको खोजीमा आएकाहरूले अनेक तकनिकी प्रयोग गरेर अवसर प्राप्त गरे । संविधान सभा विघटन भएपनि मधेशको पार्टीको विभाजन रोकिएको छैन । फोरम लोकतान्त्रिक धेरै पहिलादेखि विभाजनका लागि छटपटाई रहेको थियो । संविधान सभा कालसम्म सूरवीरताका साथ यस विभाजनलाई औषधोपचारमा राखे पनि अन्ततोगत्वा यसले पनि विभाजनको दौडमा आफ्नो नाम लेखाउन सफल भयो । पालो पर्खिरहेको फोरम गणतान्त्रिक पालो आएपछि विभाजनको अभ्यासमा सक्रियतापूर्वक अघि बढिरहेको छ । ठीक साइत पारेर यसले पनि यो शुभकर्म सम्पन्न गर्ने निश्चित छ । यसरी मधेशलाई अधिकार सम्पन्न गर्ने प्रतिबद्धताका साथ संविधान सभाको यात्रामा हिंडेका मधेशका पार्टीहरू बाटोमा भेटाएका अवसरवादको विलासी रथको सुखद यात्रा पाएर औधि रमाए, र जीवनको चीर स्मरणीय घटनाको रूपमा चित्रित पनि गरे । मधेशीको जीवन सफल पार्न प्रसादको रूपमा अति दुर्लभ टीका लगाउन भष्म पनि ल्याए ।
राज्य र मधेशबीचको अन्तर्विरोध नेपालीत्वको जामा लगाएर अन्त गर्ने परम्परागत प्रयासलाई मधेश आन्दोलनले विफल पारि दिएको छ । शदियौंदेखि विभेद सहेर बस्ने मधेशीलाई आन्दोलनले अधिकार माँगेर होइन, संघर्षको आधारमा लिनु पर्दछ भन्ने शिक्षा दिएको हो । चाकडी, चापलुसीको भरमा राज्यलाई खुशी पारेर केही प्राप्त गर्ने प्रबृति मधेशमा व्याप्त रहेकोले सो प्रबृतिलाई समूल नष्ट गरी क्रान्तिकारी मनोवृति बसाल्न र यही मार्गबाट मधेशले अधिकार लिने शिक्षा आन्दोलनले दिएको छ । मधेशलाई चाकडी, चापलुसी, गुलामीको बाटो परित्याग गरि अधिकार प्राप्तिका लागि संघर्ष नै एकमात्र बाटो हो भनेर दर्जनौं वीर सपूतहरूले शहादत दिंदै मधेशको माटोमा संघर्षको बीजारोपण गरेको हो । संघर्षको मशाल बालेर मधेशलाई एकढिक्का पार्ने क्रान्तिकारीहरूको सपना साकार पार्ने ओठे क्रान्तिकारीहरूले सत्ताप्राप्तिका लागि गरेको चाकडी, चापलुसीले वीर सपूतहरूको सपनालाई खरानी बनाउने काम गरेको छ । मधेशका नवोदित क्रान्तिकारी छविलाई मेटाउने प्रयास गरेको छ । शहीदहरूले देखाएको संघर्षको बाटोलाई छोडी पुरानै बाटो अंगाल्न मधेशलाई बाध्य गरिएको छ ।
कुकुरले सुकेको हड्डीका लागि गरेको खतरनाक लडाई जस्तै मधेशी पार्टीहरूले गरेको शर्मनाक गतिविधीले मधेशको पहिचान, स्वाभिमानलाई लज्जित गरेको छ । मधेशलाई अधिकार दिलाउने उद्देश्यबाट प्रेरित पार्टीहरूले आचार, व्यवहारबाट मधेश आन्दोलनलाई धेरै टाढा ढकेलेको छ । आपसी घीनलाग्दो लडाई झगडाले लामो समय सम्म अधिकारका कुरा नगर्न मधेशलाई निराशाको अन्धकारमा फालि दिएको छ । सत्ता प्रलोभनमा फँसाएर मधेशका पार्टीहरूलाई कमजोर पारि संविधान सभालाई कपटपूर्ण ढंगले अन्त गर्ने राज्यशक्ति मधेशलाई फेरि एकपल्ट पुर्वावस्थामा फर्काएर चुनौती दिएको छ ।
ठुल्ठूला आन्दोलन गरेर प्राप्त गरेको संविधान सभा अधिकारको प्रत्याभूति नगरेरै अन्त हुनु नेपाली जनताको ठूलो असफलता हो । अब फेरि संविधान सभाको स्थापना हुन धेरै कठीन छ । यद्यपि संविधान सभाको चुनावको घोषणा गरिएको छ । यो आई.सी.यू.मा रहेको रोगी जस्तै हो जस्को फर्केर आउने सम्भावना कमै हुन्छ । यही झिनो आशको भरमा अधिकारवादी आन्दोलन शान्त भएर बसेको होला । आन्दोलन शान्त रहे पनि देश पूर्ण रूपमा अशान्त अवस्थामा रहेको छ । देशको बस्तुनिष्ठ समस्यालाई छलछामको भरमा पन्छाएर चीरकालीन शान्तिको कल्पना गर्नु राजनीतिक दिवालियापन हो ।
मधेशसंग मधेशी पार्टी तथा राज्यले जतिसुकै धोखा गरे पनि मधेश आन्दोलन पछि ४ वर्षको संघीयताबारे निरन्तर गहन अभ्यासमा रहेको मधेशले यति सजिलो किसिमले संघीयतालाई न त बिर्सिने छ, न छोडने छ । मधेशको संघीयता प्राप्त गर्ने क्रान्तिकारी धारलाई विपक्षी शक्तिहरूले एकछिनका लागि गतिहीन पारे पनि साजिशपूर्ण ढंगबाट संविधान सभाको अन्तले मधेशलाई पुनश्च संगठित भएर उठ्न प्रेरित गरि रहेको छ । नेपाली काँग्रेस र एमालेको संघीयता विरूद्धको कट्टर धारणा र मधेशको संघीयताप्रतिको दृढ अडानले निश्चय पनि मधेशलाई शक्ति प्रदर्शनमा उतार्ने छ ।
मधेशको आधी जनसंख्या सिद्धिए पनि मधेशलाई संघीयता नदिने अडानमा बसेका शक्तिहरूको शासकीय प्रवृतिलाई मधेशले नजिकबाट अध्ययन गरेको छ । मधेशी दलहरूको प्रवृतिलाई हेरी मधेश आन्दोलनलाई मूल्याँकन गर्ने विपक्षीहरूको अभीष्ट कहिले पूरा नहुने कुरा पनि सप्ष्ट छ । अधिकारवादी आन्दोलन केही कारणवश अवरूद्ध त हुन्छ तर उसको प्रवाह कहिले रोकिदैन । अवरोधले अझ बढी गतिशील हुने इतिहासले देखाएको छ । मधेशको प्रतिनिधी पार्टीको सैद्धान्तिक विचलन, सत्ता लोलुपता, उद्देश्यप्रतिको गतिहीनता आदि नै मधेश आन्दोलनको मूल्याँकन गर्ने पर्याप्त आधार हुन सक्दैन । आफ्नै प्रतिनिधी पार्टीको पथभ्रष्टताले मधेशलाई सजग र सचेत पनि बनाएको छ । मधेशलाई राज्यले अझ सशक्त र परिमार्जित आन्दोलन ल्याउनको अरू कुनै विकल्प नदिएकोले मधेश आन्दोलन अपरिहार्य बनेको छ ।
विगतका दिनमा अधिकारवादी आन्दोलनहरूमा देखिएको पारस्परिक तिक्ततालाई संविधान सभाको अन्तको पूर्वसन्ध्याको परिस्थितिले हटाएर सबै अधिकारवादीहरूलाई एकढिक्का बनाउने जुन प्रयास गर्यो, त्यो भविष्यको सुखद परिणामको द्योतक हो । अधिकारवादीहरूको शक्ति ध्रुवीकरण नै परिणाममुखी हुने कुरा परिस्थितिले सुझाएको छ । विगतमा प्रत्येक शक्तिलाईै एकअर्काको विरूद्ध प्रयोग गर्ने शक्ति नाँग्गिए पछि यो ध्रुवीकरणको परिस्थिति र्सजना भएको हो । सबै अधिकारवादी आन्दोलन एकाकार भएन भने बञ्चितीकरणमा परेकाहरू कहिले पनि अधिकार सम्पन्न नहुने कुरा संविधान सभाले देखाई सकेको छ । तसर्थ जुन कपटपूर्ण तरिकाले संविधान सभालाई अन्त गरियो, यसको विरूद्ध सबै अधिकारवादी शक्तिहरू एकढिक्का भई आन्दोलनमा आउन आवश्यक भएको छ ।
एकात्मक राज्यको शासकीय प्रवृतिले मधेश आन्दोलनलाई उपलब्धिविहीन बनाएर दुर्घटनाको रूपमा परिभाषित गरे पनि मधेश चाकडी, चापलुसीको अन्धकारबाट निस्केर आन्दोलन मार्फत राज्यलाई चुनौती दिन सक्षम भएको छ । अधिकारविहीन अन्धकारबाट मुक्त भएर आफूलाई चिन्न, आफ्नो माटोलाई चिन्न सक्षम भएको छ । सुसुप्तावस्थामा रहेको उर्जा गतिशील भएको छ । आफ्नो अस्मिताको रक्षा गर्न सचेत भएका छन् । यही कारण मधेश आन्दोलन मधेशीका लागि बरदान साबित भएको छ ।
२०६९ आषाढ २२ गते मधेशवाणीमा प्रकाशित
