दक्ष प्रजापतिको यज्ञमा महादेवकी पत्नि सतीले आत्मदाह गरेबाट महादेव सतीको मृत शरीरलाई काँखमा उठाएर रीसले चूर भई आकाश मार्गमा विचरण गर्न थाले । सारा ब्रह्माण्ड महादेवको कोपको भाजन हुन सक्ने भयले विष्णुले सुदर्शन चक्रले सतीको मृत शरीरको अंगलाई काटेर तल खसाले पछि महादेव काँख खाली भएको देख्दा शान्त भयो । धर्मग्रन्थको यो घटना मधेशमा अहिले चरितार्थ भएको देखिन्छ । आफ्नो प्राण भन्दा प्यारो समग्र मधेश एक प्रदेशको नारा लिएर दर्जनौं शहादत दिदै हिंडेका मधेशीहरुको संघर्षको उन्मादबाट भयभीत खसधर्मका त्रिदेवले सतीको मृत शरीरलाई काटेर खसाले जस्तै मधेशलाई पनि पाँच टुक्रामा विभाजित गरि मधेशी मोर्चा सम्मिलित चारदलको सहमतिको अवधारणा पत्र ज्येष्ठ ३ गतेको पत्र पत्रिकामा व्यापक रुपले प्रकाशित भएको छ । यद्यपि यो ११ प्रदेशको संघीय ढाँचा संविधान सभाबाट अनुमोदन भएको छैन ।
साधन स्रोत सम्पन्न मधेशबाट प्राण प्रतिष्ठा पाएका खसवादी राज्यसत्ता मधेशवासी प्रति कहिले पनि उदार हुन सकेन, सहिष्णु बन्न सकेन । बिल्कुल भिन्न संस्कृति तथा समग्र मधेशको समान संस्कृतिसंग खस वर्चस्वको राज्यसत्ताले तादात्म्य स्थापित गर्न सकेन । राज्य र मधेशबीच रहेको पारम्परिक अन्तर्विरोधलाई परिवर्तित परिवेशमा लोकतन्त्रका हिमायती उही खसवादी अवतारी राजनीतिक दलले ‘मधेशले आफै आफ्नो भाग्य लेख्न सक्दैन’ भन्ने कुटिल मानसिकताबाट प्रेरित मधेशलाई पाँच प्रदेशमा विभाजन गरि अन्तर्विरोधलाई अझ बढाउने प्रयास नै गरेका छन् । नेपालको राष्ट्रियताको पुनर्परिभाषा गर्न आएका मधेशीहरुलाई फेरि ठेलेर बाहिर पठाएका छन् । यो सोचेर कि आफ्नै आफ्नै प्रदेशमा रमाउने मधेशीले अब समग्रताको कुरा चीरकाल सम्म गर्न सक्दैन, मधेशमाथि जसरी पनि आफ्नो वर्चस्व कायम रहन्छ । मिथिलाबाहेक मधेशका चारै प्रदेशमाथि खसवादी वर्चस्व कायमै रह्ने कुरा स्पष्ट छ । मधेशमा सबैले आफ्नो प्रदेश पाएकोमा रमाउनेको कुनै आवश्यकता छैन । प्रदेशको हिसाबले मधेशमाथि गरिने शोषणको स्वरुप मात्र परिवर्तन हुन्छ, प्रक्रिया भने कायम नै रहने कुरा सम्पूर्ण मधेशवासीले बुझ्नु पर्दछ ।
संघीयता निर्माणमा पहिचान र सामर्थ्यलाई आधार बनाएपनि मधेशको संघीयतालाई प्रमुख राजनीतिक दलहरुले भारतीय सीमा नाकालाई नै आधार मानेर मधेशको संघीयता निर्माण गरेका हुन् । मधेशसंग सम्बन्ध बनाउन नचाहेका खसवादी राजनीतिक दलहरु सधैं मधेशसंग भयभीत भएरै मधेशप्रति गलत निर्णय लिएका छन् । मधेश साधन, स्रोत सम्पन्न छ, भारतका सबै सीमा मधेशमा छ, यसरी मधेशको कैदमा नै बस्नु पर्ने कुराले खसवादी प्रवृति बढी भयभीत देखियो । राज्य पुनर्संरचना गर्दा पनि मधेशको प्रदेशमा आफ्नो बर्चस्व कसरी कायम गर्न सकिन्छ भन्ने मानसिकताबाट प्रेरित भएर मधेशमा थारु आन्दोलन, कोचिला आन्दोलन, मिथिला राज्य आन्दोलन, भोजपुरा तथा अवधी आन्दोलनको नाटक खडा गरि आज मधेशलाई छिन्न भिन्न अवस्थामा पुर्याई धेरै हदसम्म आफ्नो वर्चस्व कायम गरेको देखिन्छ । महमा लटपटिएका मधेशका प्रतिनिधी पार्टी यिनीहरुको खतरनाक मानसिकताको तीक्ष्ण रण्नीतिको चाल नपाएर मधेशले यो दुर्घटना भोग्न बाध्य भएको हो । ११ प्रदेशको खाकामा मधेशलाई ५ प्रदेशमा विभाजित गरेको सम्बन्धमा मधेशी मोर्चाको असहमति रहेको कुरा सार्वजनिक भएको छ । मधेशी मोर्चाको निर्णायक घडीमा मधेशको ५ प्रदेशप्रति असहमति जनाउनु मधेशको लागि सुखद अनुभूति हो । मधेश बडो सम्बेदनशील भएर मधेशी मोर्चाको इमानदारीलाई नियाली रहेको छ । मधेशी मोर्चाको अहिले सानो भूलले मधेश ध्वस्त हुने अवस्था विद्यमान रहेकोले सारा मधेशको ध्यान मोर्चाप्रति केन्द्रीत छ । मधेशप्रति पहिले देखि आक्रामक बनेका प्रमुख तीन दल भूलले पनि मधेशको भलो नचिताउने कुरा विगतका क्रियाकलापले प्रष्ट पारि सकेको छ । मधेशी मोर्चाले अहिलेको घडीमा गम्भीर भई आउने दुर्घटनालाई रोक्न सक्नु पर्दछ । विगतमा भएको कमी कमजोरी सच्याउने र जनतामा प्रतिष्ठापित हुने यो बेला मधेशी मोर्चाका लागि अग्नि परिक्षा भन्दा कम छैन । यो बेलाको असफलता नेताहरुको लागि राजनीतिक जीवनको अन्त नै ठहरिनेछ र मधेश दुर्भाग्यवश ठूलो अन्धकारमा धकेलिने छ । शक्ति संचयको प्रयासमा लागेको मधेशी मोर्चा पहाडमा बोइंग उडाएको रिस्कमा छ । बुद्धि, विवेक, क्षमता र कुशलताले मात्र दुर्घटनाबाट जोगाएर सुरक्षित अवतरण दिन सक्छ । बन्द, हडतालबाट अभ्यस्त भई सकेको सरकारलाई सडकभन्दा पनि संविधान सभाको माध्यमबाट सिकस्त दिन अधिकार चाहने सबै सभासद्हरु एकजूट भई नीति निर्मातालाई घूँडा टेकाउनु पर्दछ ।
अधिकारवादी आन्दोलनमा लागेका प्रतिनिधी सभासद्हरुको शक्ति ध्रुवीकरणले एकतिर जनतामा खुशीको संचार गरेको छ भने अर्कोतिर प्रमुख तीन दल एक कदम पछाडि हट्न बाध्य भएको छ । मधेशी र सबै पार्टीका जनजातिहरुको शक्तिको ध्रुवीकरणले एउटा नयाँ आयाम थप्ने कुराको चारैतिर आशलाग्दो चर्चा भई रहेको बेला यसलाई जनआकाँक्षा अनुसार परिणाममा पुर्याउन पनि उत्तिकै आवश्यक छ । अधिकारप्रति सम्बेदनशील बनेका यी शक्तिले पार्टीको ह्विप पनि तोड्न सक्ने आशंकाले प्रमुख तीन दलले यो शक्तिलाई तोड्न अनेक विधी षडयन्त्र गर्न सक्ने अवस्था पनि विद्यमान छ । निर्णायक घडीको सम्बेदनशीलतालाई बुझेरै निर्माण भएको यो शक्ति असल परिणाम ल्याउन सक्ने कुरामा नेपाली जनता आशावान भई प्रतीक्षारत छन् ।
विजित क्षेत्रको नागरिक सरह कहिले पनि स्वीकार गर्न नसकिने मधेशीप्रतिको कट्टर मानसिकताले जन्माएको अन्तर्विरोधलाई दिनानुदिन बढाउने कामले मधेशको राजनीति पनि सोही अनुसारको स्वरुप लिने कुरा पनि स्पष्ट छ । समग्र मधेश एक प्रदेशको नारा लिएर उठेको मधेशको आन्दोलनले पनि राज्यप्रतिको कठोर रवैया देखाई सकेको छ । षडयन्त्रले भरेको संघीय संरचनाको खाका पनि मधेशप्रति घोर पुर्वाग्रही रहेकोले समग्र मधेश एक प्रदेशको आन्दोलन प्रखर रुपमा उर्जावान् बनेको छ । यसको औचित्यलाई समाप्त पार्न विगत चार वर्षमा गरिएको अनेकौं षडयन्त्रबाट समग्र मधेश एक प्रदेशको संघर्षलाई प्रष्ट दिशा दिएको छ । राज्यको सूक्ष्मतम देखि बृहत् षडयन्त्रको स्वरुपलाई मधेशले यो चारवर्षमा बडो गम्भीरतापूर्वक अध्ययन गरेको छ । मधेशलाई दास, गुलाम, दलाल, चाकर बनाएर शासन गर्ने राज्यको पौराणिक मानसिकतालाई अबको मधेश स्वीकार गर्न नसक्ने उदाहरण दिई नै सकेको छ । फेरि पनि टुटेको षडयन्त्रका अवयवहरुलाई जोडने प्रयास गरियो भने मधेश अझ परिष्कृत रुपमा आन्दोलन आउने प्रष्ट छ । राज्यको घृणित मनसायको निरन्तरताले नै मधेश आन्दोलनको स्वरुप निर्धारण गर्ने भएकोले आफ्ना अधिकार नपाए सम्म मधेश कुनै पनि हदसम्मको आन्दोलनमा जान तयार छ ।
२०६९ ज्येष्ठ ५ गते मधेशवाणीमा प्रकाशित
