मधेशमा अधिकार प्राप्तिका लागि गरिएको संघर्षको इतिहास धेरै लामो छ । देशमा जहानियाँ राणा शासनको विरुद्ध उठि रहेको क्रान्तिका आवाजहरुबाट मधेश अछूता रह्न सकेन । निरंकूश राणा शासनको विरुद्ध देशमा क्रान्तिको मशाल बाल्ने मधेशीको इतिहास ७६ वर्ष पूर्वको देखिन्छ । वि. सं. १९९२ देखि अधिकार प्राप्तिका लागि मधेशले गरेको संघर्ष अहिले संविधान सभा सम्म आई पुग्दा पनि अधिकारविहीन अवस्थामै छन् । यहाँ मैले मधेशको संघर्षको इतिहास खोतल्ने प्रयास गरेको छु ।
५ मई १९३५ (वि.सं. १९९२) जनकपुरमा राणाहरुको निरंकूश शासन प्रणालीबाट देशलाई मुक्त गर्न पं. रामाकान्त झाको नेतृत्वमा २२ युवाहरुले पापमोचनीमा भेला भई “संघर्ष समिति” बनाएर आफ्नो रगतबाट हस्ताक्षर गरेर शपथ लिए । पं. रामाकान्त झा, अनिरुद्ध प्रसाद सिंह, बोध प्रसाद उपाध्याय, कमल कान्त चौधरी, देव शंकर गिरि, जमुना प्रसाद सिंह, श्रीकान्त ठाकुर, बलभद्र चौधरी, बौएलाल झा, राम दुलार साह, पं. रामचन्द्र झा, राजेश्वर निधि, महंथ गोकुल गिरि, गंगेश्वर झा, गुलाब नारायण झा, कुँवर झा, रामानन्द ठाकुर, पं. सूर्यकान्त झा लगायतका युवाहरु भूमिगत रुपमा संगठन विस्तार गर्दै संघर्षमा होमिएका थिए ।
१९३६ ई. (वि.सं. १९९३) मा विरगंज मोर्चाका क्रान्तिकारी युवक राजलाल कलवार गिरफ्तार भई ५ सालको लागि जेल चलान गरियो ।
१९३६ ई. (वि.सं. १९९३) मा काठमाण्डौका पहिलो मधेशी पत्रकार रघुनाथ प्रसाद गुप्ता राणा शासन विरुद्ध जन चेतना फैलाउने उद्देश्यले दिल्लीबाट पत्रिका प्रकाशन गरि काठमाण्डौमा प्रचार प्रसार गर्थे ।
१९४२ ई. (वि.सं. १९९९) मा ब्रिटीश सरकार विरुद्ध “भारत छोडो” आन्दोलन चलाई रहेका केही भारतीय स्वतन्त्रता सेनानीहरु भागेर नेपाल प्रवेश गर्दा सप्तरी कोईलाडीका पाँच विशिष्ट व्यक्तिहरु जयमंगल प्रसाद सिंह (जंगली बाबु), चतुरानन्द सिंह, रामेश्वर सिंह, तारणी प्रसाद सिंह र वीर बहादुर सिंहले एउटा समिति बनाएर उनीहरुको आवास, खानपानको व्यवस्था मिलाएका थिए । जयप्रकाश नारायणको नेतृत्वमा भागेर आएका स्वतन्त्रता सेनानीमा अच्युत पटवर्द्धन, बहिनी विजया पटवर्द्धन, डा. राम मनोहर लोहिया, डा. बैजनाथ झा, बाबा श्यामानन्द, ब्रजकिशोर शास्त्री र कार्त्तिक प्रसाद सिंह थिए । सरदार नित्यानन्द सिंहको नेतृत्वमा “आजाद दस्ता” गठन गरि कुशहा जंगलमा आर्म्स ट्रेनिङ दिलाउने व्यवस्था नेपाल सरकारका बागी जमिन्दार दलबहादुर सिंहलाई सुम्पियो ।
२० मई १९४२ ई. (वि.सं. १९९९) नेपालभित्र रहेका भारतीय नेताहरुलाई ब्रिटीश सरकारमा पिछलग्गू राणा सरकारले सप्तरीको कुशहा लक्ष्मीनियाँबाट गिरफ्तार गरि हनुमाननगर जेलमा राख्यो । जेलमा पर्ने भारतीय नेताहरुलाई छुटाउनका लागि गठन भएको पाँच सदस्यीय “संघर्ष समिति”का सदस्यहरुले नेताहरुलाई रिहा गर्नका लागि बडा हाकिमलाई रु. ५०,००० दिने निर्णय पनि गरे । बडा हाकिमले नमाने पछि जेल तोड्ने निर्णय भयो । सोही योजना बमोजिम कोईलाडीका रामेश्वर प्रसाद सिंह, जयमंगल प्रसाद सिंह र तारिणी प्रसाद सिंहको नेतृत्वमा सयकडौं मधेशी युवाहरुले जेल तोडेर भारतीय नेताहरुलाई आजाद गरायो । हनुमाननगरको यो घटनाबाट रीसले चूर भएका बडा हाकिमले व्यापक मात्रामा गिरफ्तार गर्यो । तारिणी प्रसाद सिंह, मीन बहादुर सिंह, सखडाो अब्दुल मियाँ, कुशहाको कृष्णवीर कामी, किसन दुसाध, शमशेरपुरको सेवक माझी लगायत धेरै गिरफ्तार भए । दल बहादुर सिंहको पोर्ताहाका कारिन्दा रामजी सिंह पनि समातियो । शत्रुध्न प्रसाद सिंहलाई सोम शमशेरले समात्यो । यस घटनामा २२ जनालाई काठमाण्डू चलान गर्यो भने १२७ जनालाई राजबिराज जेलमा राख्यो । काठमाण्डू चलान हुने व्यक्ति थिए—रामेश्वर प्रसाद सिंह, चतुरानन्द प्रसाद सिंह, जय मंगल प्रसाद सिंह, मीन बहादुर सिंह, शत्रुध्न प्रसाद सिंह, विन्देश्वरी प्रसाद सिंह, अखण्ड नारायण सिंह, रामदत्त कोईराला, जे.सी. समर बहादुर प्रजापति, कामानन्द मिश्र, नेबु मण्डल, अब्दुल मियाँ, कृष्णवीर कामी, किसन दुसाध, विष्णुध्वज श्रेष्ठ, बैजनाथ उपाध्याय, आनन्दी प्रसाद सिंह, चन्द्र नारायण सिंह, देव नारायण सिंह, सेवक माझी आदि । अब्दुल मियाँ र कृष्णवीर कामी सन् १९४४ अर्थात् वि.सं.२००१ म जेलमा शहीद भए । भारतको स्वतन्त्रता प्राप्त हुने पूर्व सन्ध्यामा महात्मा गाँधीको अनुरोधमा राणा सरकारले बाँकी सबैलाई रिहा गर्यो । मधेशका यी वीर सपूतहरुको कीर्त्ति राणकालीन “हनुमाननगर काण्ड” को इतिहासमा सजीव रुपमा विद्यमान छ ।
४ मार्च १९४९ (वि.सं. २००६) विराटनगरको मजदूर आन्दोलन र सत्याग्रहः– राणा क्रूरतन्त्रको विरुद्ध देशभरमा सल्किदै गई रहेको क्रान्तिको आगोको शुरुवात मधेशबाट नै प्रारम्भ भएको उदाहरणको एउटा कडीको रुपमा रहेको विराटनगरको ऐतिहासिक मजदूर आन्दोलन हो । नेपालको इतिहासमा पहिलो पटक वी.पी. कोइराला, जी.पी. कोइराला, मनमोहन अधिकारी, नैना बहादुर बोहरा, दिनेश दुबे, मुनीलाल चौधरी, इन्द्र प्रताप सेन, पंचानन दास र पुरण सिंहको नेतृत्वमा विराटनगरको जूट मील र मोरङ कटन मीलमा संयुक्त रुपले मजदूर आन्दोलन भयो । यस आन्दोलनमा ५ मजदूर शहीद भयो ।
यसै समय जोगबनीमा चैत्र २७ रु २८ गते नेपाली राष्ट्रिय काँग्रेसको सम्मेलन भयो । बैशाख १ गतेदेखि देशव्यापी सत्याग्रह आन्दोलनको घोषणा भयो । महेन्द्र नारायण निधि र रामाकान्त झा यसमा सामेल थिए । यो सम्मेलनमा मातृका प्रसाद कोइरालालाई सभापति बनाइएको थियो ।
लुम्बिनी अञ्चलको सत्याग्रह आन्दोलनमा भोलानाथ शर्मा, दयाशंकर मुन्शी, एवम् काशीनाथ गौतम गिरफ्तार भए ।
सत्याग्रह आन्दोलनको क्रममा जनकपुरमा सरयुग चौधरी, आशीष भगत, मिश्रीलाल गुप्ता, लक्ष्मण साह, मेघ प्रसाद उपाध्याय, भीष्म जंग केशरी, दिगम्बर झा, बच्चा झा, बाल बहादुर मगर, निर्गुण यादब, भारतीय कवि नरेन्द्र देव, मटिहानीमा सरोज कोईराला, महेन्द्र नारायण निधि, नकुल बहादुर सिंह र पं. रामाकान्त झा लगायत धेरैको गिरफ्तारी भयो । विरगञ्जमा पनि नथुनी साह लगायत दर्जनौं गिरफ्तार भए ।
३१ जनवरी १९५० (वि.सं. २००६ माघ १६ गते) भद्रकाली मिश्र, राम नारायण मिश्र, ज्ञानी शंकर गिरि, महावीर शर्मा, श्याम सुन्दर शर्मा, आनन्दीलाल झुनझुनवाला, राधा प्रसाद चौधरी, नथुनी साह समातियो । २००६ सालको होलीको अवसर पारेर जलेश्वर जेल तोडेर निर्गुण यादब कैद मुक्त भई कलकत्ता गएर बस्यो ।
१८ नवम्बर १९५० ई. (वि.सं. २००७ मंसीर १ गते) राणाशाही विरुद्ध रौतहटमा भएको किसान आन्दोलनमाथि सेनाको बर्बर आक्रमण भयो । निहत्था किसानहरुमाथि सेनाद्वारा बर्साइएको गोलीबाट शिव प्रसाद सहित दर्जनौं किसानहरुको हत्या भयो र सयकडौं किसानहरु घाइते भए ।
१९५३ ई. (वि.सं.२००९) रौतहटमा अशर्फी साह, २०११ सालमा सिरहाको बहादुर सदा, यही सालमा बाराको मुँगालाल महतो, २०१४ सालमा सप्तरीको अघोरी यादब किसान आन्दोलनलाई अगाडि बढाउँदा शहीद भए ।
यसरी क्रमिक रुपमा मधेशले जहानिया राणाशासनको विरुद्ध लड्दै आएपनि उसको अधिकारको सुनिश्चिता त्यस पछिका दिनमा पनि हुन नसकेको कारणले संघर्ष राजाको तथा त्यसपछिको शासकहरु विरुद्ध मुखरित हुन थाल्यो । २०११ सालको किसान आन्दोलन पनि यसैको परिणाम थियो । अर्कै स्वरुपमा आएको निरंकूश शासनको विरुद्ध २०१९ सालमा जनकपुरमा राजा महेन्द्रमाथि बम प्रहार गरि दुर्गानन्द झाले साबित गरि दियो कि मधेश कुनै किसिमको निरंकूशता सह्न सक्दैन ।
२०६९ बैशाख १५ गते मधेशवाणीमा प्रकाशित
