संविधान सभाको चुनावबाट जन अपेक्षित संविधान बनाउन छानिएका जन प्रतिनिधी तथा त्यसका पार्टीहरु जनादेश विपरित व्यक्तिगत लाभको गतिविधीमा देशको राजनीतिलाई केन्दीत गरि देशलाई समस्याको भूमरीमा धकेल्ने जुन प्रयास गरेको छ, यसले सहजै निकाश पाउन कठीन छ । केन्द्रमा ल्याईएको राजनीतिक गतिरोधको प्रभाव अन्य क्षेत्रमा भन्दा मधेशमा तीब्र रुपमा परेको छ । मधेश राजनीतिक रुपले दिशाविहीन भई नकारात्मक रुपले अगाडि बढेको कारण राज्यपक्ष जति हर्षित छ त्यति नै नकारात्मक रुपले मधेश अराजकताको शिकार भई हत्या, हिंसा, अपहरण, जबरन चन्दा असुलीबाट आक्रान्त भएको छ । मधेश आन्दोलन पछि मधेशका प्रतिनिधी पार्टीहरुको गतिविधीले मधेशको राजनीतिक बागडोर ढिला भई हातबाट छुटि सकेको अवस्थामा मधेश अराजक बन्नुमा राज्यको पनि अहम् भूमिका देखिन्छ । मधेशका प्रतिनिधी पार्टीहरु विगतको कमी कमजोरीलाई सच्याएर अगाडि बढ्ने प्रयास गरेको पनि देखिदैन ।
मधेशले भोगि रहेको निराशा, कुण्ठा, आक्रोश, अविश्वास, अराजकताकै गर्भबाट समाधानका उपाय पनि निस्कने, अन्तर्निहित सकारात्मक कुरालाई निकालेर जन समक्ष ल्याउँदा निश्चय पनि त्यो मान्यताले ठाउँ प्राप्त गर्दछ र एकदिन त्यो मान्यता मधेशमा स्थापित भएर राजनीतिक दिशाबोध गर्नेछ । इतिहासमा यस्ता घटनाहरु प्रशस्त पाइन्छ । हालै भारतको अन्ना हजारे प्रकरणमा व्यक्तिले जनताको व्यापक समर्थन प्राप्त गरेर केन्द्रीय सत्तालाई झुक्न बाध्य बनायो । मूल कुरा जनताको आवाजलाई निष्पक्षतापूर्वक उठाउने कुरा हो । मधेशको राजनीतिक बिषमता पर्याप्त मात्रामा देखिए पनि सकारात्मक दृष्टिकोण राख्ने चिन्तकहरुको पनि मधेशमा खडेरी परेको छैन । संख्या कम होला, बीऊ भनेको कमै हुन्छ । त्यही बीऊको खोजी गरि संग्रह गर्ने आवश्यकता छ । मधेश आन्दोलन मरेको छैन । दृढ ईच्छाशक्ति भएको नेतृत्वको प्रतीक्षामा सुसुप्तावस्थामा छ । यसले हावा पाउने बित्तिक्कै तेज ज्वालामुखीको रुप लिने निश्चित छ । मधेशको समस्या समाधान नहुन्जेलसम्म यसले भीषण हुँकार गरि रहने कुरा सबैले बुझ्नु पर्दर्छ ।
मधेश आन्दोलनले एउटा राजनीतिक उद्देश्य प्रखर रुपमा त ल्यायो तर संस्थागत रुपको सशक्त नेतृत्व गर्ने पार्टीको विकास गर्न सकेन । मधेशी जन अधिकार फोरम आन्दोलनको अगुवा पार्टीको रुपमा उभिए पनि भीडको आधारमा बनेको पार्टी भएकोले मधेश आन्दोलनलाई सम्हाल्ने कुरा त परै जाओस्, आफूलाई पनि सम्हाल्न सकेन । यसरी मधेश आन्दोलन नेतृत्वको अभावमा सुसुप्तावस्थामा पुग्यो । संघीयताको मशाल जलाउने गजेन्द्र नारायण सिंहको यही माघ १० गते स्मृति दिवस रहेकोले उहाँको मधेश आन्दोलनमा रहेको अमूल्य योगदानको स्मरण गर्दै श्रद्धा सुमन अर्पित गर्दछु । मधेशको आवाज बुलन्द गर्ने गजेन्द्र नारायण सिंह नरहेपनि मधेशले सोही आवाज उठाएर संविधान सभा स्थापित गर्यो । सवाल व्यक्तिको होइन, मधेश आन्दोलन कति गतिशील भयो त्यो महत्वपूर्ण कुरा हो । यहाँ कतिपय मधेशी नेताहरुले मधेश आन्दोलनलाई आफ्नै स्वामित्वमा रहेको कुरा गर्दछन् । मधेश आन्दोलनले मधेशकै महत्वाकाँक्षालाई तीब्र बनाएको छ भने नेताहरुमा असीमित रुपमा विकसित भएको महत्वाकाँक्षा अस्वाभाविक होइन । तर विकसित महत्वाकाँक्षा फेरि पतनको कारण बन्ने कुरा पनि उत्तिकै यथार्थ हो । जेहोस्, देशको भविष्य निधारण गर्ने प्रमुख राजनीतिक दलहरुको मधेशप्रतिको पूर्वाग्रही सोच, उद्देश्यविहीनताले जन्माएको अन्योलग्रस्त राजनीतिक अवस्था र मधेशका प्रतिनिधी पार्टीहरुको यथास्थितिवादी चिन्तनले मधेशको आन्दोलनलाई अवश्यम्भावी बनाएको छ । सकारात्मक चिन्तन राख्ने मधेशका राजनीतिक चिन्तकहरु यहींबाट आन्दोलनको शुरुवात हुने औंल्याएका छन् । राजनीतिक प्रवाह कहिल्यै रोकिदैन, जुनसुकै बाधा आएपनि । गन्तव्य खोजेर पुगी छाड्ने जलधारा सरह नै असन्तुष्टताको ओरालोमा परेको मधेश आन्दोलनले निश्चय पनि वेगवान हुने कुरा निश्चित छ ।
मधेशले भोगि रहेको राजनीतिक दिशाहीनता र गतिहीनताले मलाई बढी सम्बेदनशील बनायो । मैले राजनीतिक उद्देश्यले प्रेरित यही असोज १३ गतेदेखि एक महिना मधेशको समसामयिक विचार बुझ्न यात्रा गरें । मधेशवाणीको दुई अंकमा यात्रा विवरण छापिएको थियो । मधेशमा रहेको वितृष्णाले मलाई अगाडि बढ्न प्रेरणा दियो । त्यसपछि मधेशका सबै जिल्लाहरुबाट सेलेक्टेड प्रतिनिधीहरुको रोहवरमा मंसीर २७, २८ र २९ गते व्यापक छलफल चलाएर निष्कर्ष लिन खोजे । साथीहरुले एउटै स्वरमा वैकल्पिक राजनीतिक संगठन खडा गरेर अगाडि बढ्ने सुझाव दिए पछि एउटा राजनीतिक संगठनको जन्म दिन प्रेरित भएँ ।
मधेशको राजनीतिक पीडालाई यो राजनीतिक संगठनले निश्चय पनि कम गर्नेछ भन्ने आश लिएको छु । भनिन्छ– राजनीति गर्न साधन, स्रोतको आवश्यकता पर्छ । म यस कुरामा विश्वास गर्दिन । सुविधाभोगि राजनीतिको यो चिन्तन हो । विचारको प्रवाहमा केही कुरा चाहिंदैन । यो कुरा दीर्घकालीन रुपमा चलि रहन्छ । मधेशमा विचारको प्रवाह गर्नु र यसलाई संगठित रुपमा ल्याउन समय नै लाग्छ । समय जेसुकै लागेपनि मधेशलाई एकढिक्का बनाउने अभियान भने चलि रहन्छ । किनभने मधेशको एकताको अभावमा मधेश केही पाउन सक्दैन भन्ने कुरा पनि मधेश राम्ररी बुझेको छ ।
यही २०६८ माघ ५ र ६ गते बिरगंजबाट सार्वजनिक हुने यो राजनीतिक संगठनलाई मधेशका चिन्तक, शुभेच्छु, बुद्धिजीवि लगायत मधेशका किसान मजदूर, विद्यार्थी, युवावर्ग लगायत सबै समुदायको सल्लाह र सुझाव प्राप्त हुने अपेक्षा राखेका छौं ।
२०६८ माघ ६ गते मधेशवाणीमा प्रकाशित
