रैथाने मधेशी र भारतीय मधेशीको सर्वे गरि वर्गीकरण गर्न लगाएको एकवर्ष पछि ०७३ चैत २७ गते एमालेबाट राष्ट्रपति बन्नु भएकी विद्यादेवी भण्डारीले मधेशका बुद्धिजिवीलाई शीतल निवासमा डाक्नु भएको थियो । मधेशमा एमालेप्रतिको धारणाबारे बुझ्न राखिएको त्यो कार्यक्रममा एमाले नजिकका बुद्धिजिवीहरुको उपस्थिति रहेपनि स्वतन्त्र बुद्धिजिवीहरुले मधेशप्रति एमालेले गरि रहेको अपमानजनक व्यवहारलाई तत्काल रोकेर मधेशको मुद्दालाई सम्बोधन गर्न एमाले गम्भीर हुनु पर्ने सुझाव दिएका थिए । पहाड र मधेशको दूरी बढाउने एमालेको क्रियाकलापबाट देशलाई क्षति हुने आरोप लगाउँदै बुद्धिजिवीहरुले एमालेप्रति आक्रोश व्यक्त गरेका थिए ।
तीन महिनापछि ०७४ साल आषाढ २९ गते एमाले अध्यक्ष के.पी. शर्मा ओलीले पनि मधेशका बुद्धिजिवीहरुसंग अन्तक्र्रिया गर्ने उद्देश्यले गौशालाको एउटा होटलमा कार्यक्रम राखेको थियो । प्रदेश नं. २मा चुनाव हुन बाँकी रहेको कारणले पनि मधेशलाई रिझाउने उद्देश्यले ओलीले एमाले नजिकका बुद्धिजिवीहरुको भेला बोलाई मधेशको आवाज बुझ्न यो कार्यक्रम गरेको बुझिन्छ । एमाले प्रभावित मधेशीहरुको बाहुल्य देखिएको समूहमा मधेशप्रति आस्था राख्ने युवा बुद्धिजिवीहरुको जमात पनि देखिएको थियो । पक्षमा बोल्नेलाई समयको पाबन्दी थिएन । विपक्षमा बोल्ने मधेशी बुद्धिजिवीलाई दुई तीन मिनट पनि बोल्ने अवसर थिएन । तर पनि मधेशका युवा बुद्धिजिवीहरु विगतमा के.पी.शर्मा ओलीले मधेशलाई गरेको अपमानजनक व्यवहार र मधेश मुद्दालाई भारतीय प्रस्ताव भनेर संशोधन प्रस्तावको विरुद्धमा उभिने एमालेको अडानको विरुद्ध अनेकानेक प्रश्न गरेर जवाफ माँगेका थिए तर ती सबै प्रश्न अनुत्तरित नै रहे । ओलीले मधेशप्रति हामी समर्पित छौं भनेर गोहीको आँसू झार्न भ्याए ।
अन्यत्र ६ वटा प्रदेशमा स्थानिय चुनावमा नेपाली काँग्रेसभन्दा २० सीट बढि ल्याएर पहिलो पार्टी बन्न सफल एमाले प्रदेश नं. २ मा चुनाव हुन बाँकी रहेकाले मधेशको आक्रोशलाई शान्त पारि आफ्नो वर्चस्व कायम गर्ने प्रयासको यो एउटा श्रृँखला थियो बुद्धिजिवीको बैठक । मधेशलाई तोड्ने, फोड्ने, मधेशी नेताहरुलाई आफ्नो प्रभावमा लिने विभिन्न साजिश गरि मधेशलाई निस्तेज पारि शासन कायम राख्ने आदि कार्यमा पनि एमाले पहिलो पार्टी बनेको छ । मधेशको माँगलाई वेवास्ता गर्दै आज पुनश्च यो प्रदेशको चुनावमा पहिलो नम्बर ल्याउन षडयन्त्रको अनेक विधि अख्तियार गरेको छ । मधेशबाट नेपाली काँग्रेस र माओवादीलाई पनि एमालेले नै सुरक्षित राख्ने गरेको योगदानलाई उनीहरु पनि बिर्सेको छैन । जहाँ बसे पनि , जे गरे पनि एमालेको विरोधमा कोही जान सक्दैन । एमाले मात्र मधेशको विरोधमा रहि बदनाम भएर सबैलाई जोगाउने काम गरेपछि एमालेको योगदानलाई माओवादी र नेपाली काँग्रेस कहिल्यै बिर्सिन सक्दैन । यी दुई पार्टी मधेशसंग सहानुभूति देखाएर मधेशलाई आफ्नो पक्षमा पारेर उपद्रव गर्न दिंदैन र एमाले मधेशको मुद्दा सम्बोधन हुन दिंदैन । यी तीन दलको राजनीतिक साजिशको चक्रव्यूहमा मधेश फँसि सकेको छ । मित्र र दुश्मनको घेरा बनाएर मधेशलाई चारैतिरबाट घेरेर निस्तेज अवस्थामा राखेको, साजिशको यस्तो उदाहरण विरलै पाईन्छ ।
एक हप्तामा संशोधन प्रस्ताव पास गरेर चुनावमा जाने नेपाली काँग्रेसको सरकार चलन अनुसार वचन फेर्न लागेको कुनै नौलो कुरा होईन । अनुहार, व्यवहार फरक देखिए पनि वर्गीय सत्ता कायम राख्न तीनै दलहरुको चारित्रिक विशेषता एक समान छ । कसैले मित्रता गाँसेर र कसैले विरोध गरेर मधेशलाई अल्मल्याएको स्पष्ट छ । मधेशको एउटा कित्तालाई आफ्नो पक्षमा प्रयोग गरेर प्रदेश नं. १, ५ र ७ मा चुनावको परिणाम आफ्नो पक्षमा पार्न गरिएको मिहिन प्रयासमा एमाले सफल नै देखियो भने मधेश त्यो शातिरगिरीको सूक्ष्म प्रयासलाई बुझ्न सकेन । अब पालो २ नं. प्रदेशको हो । चुनावको प्रतिस्पर्धी दुई पार्टी मात्र हुन । नेपाली काँग्रेस र एमाले । बाँकी पार्टीहरु चुनावी दौडमा शक्तिहीन भएर धेरै पछाडि छुटि सके । संघीय समाजवादी फोरम, नेपालले आन्दोलन त्यागेर चुनावद्वारा मधेश कब्जा गर्ने रणनीति लिएर मैदानमा कूदेका थिए । यता मधेश आन्दोलन कमजोर पार्ने कलंक लाग्यो, उता प्रतिस्पर्धी पनि बन्न सकेन । मधेशका पार्टीहरुको फूटका कारण एमाले र काँग्रेसले राम्रो फायदा लिएको नतिजाले देखाएको छ ।
फोटो खिंचाएर सार्वजनिक गरि मधेशी जनतामा भ्रम फैलाउने उद्देश्यले गरिएको बुद्धिजिवीहरुको बैठक थियो । एमालेलाई मधेश प्यारो छैन, एकछिन प्रभावित गरेर मत लिने कामबाहेक उनीसंग किञ्चित पनि सम्बन्ध रहेको भए मधेशसंग यस्तो अपमानजनक व्यवहार किन गथ्र्यो ? नाकाबन्दी आन्दोलनताका एमालेको सरकारको पालादेखि मधेश र एमालेबीचको झगडाले मधेश र पहाडबीच स्पष्ट विभाजन रेखा कोरि दिएको छ । राज्यसत्ताको कट्टर व्यवहारले आगामी दिनमा भेदभावको यो सीमारेखा अझ प्रखर रुपमा देखिने छ ।
सामन्ती सत्ताको ठाढो आदेशमा चलेको शासन सत्तालाई जन आन्दोलनले ढालेपछि जनमुखी लोकतन्त्रको स्थापना गर्ने जनचाहना थियो । तर राजाले त्यो गर्न दिएन । पुनश्च जनमुखी लोकतन्त्रको स्थापना हेतु यिनले सयकडौं नेपाली जनताको शहादत दिएर लोकतन्त्र ल्याए । राजालाई फाले । जनमुखी भनिएको लोकतन्त्र आफ्नो वर्चस्व कायम गर्न मात्र प्रयोग गरे । एक दशकभन्दा बढि भयो, अहिलेसम्म जनमुखी लोकतन्त्रलाई अनुभूत गर्न सकेन ।
नेपाली राजनीतिमा सभ्यता, ईमान्दारिता, मानवाधिकार र लोकतान्त्रिक चरित्रको सर्वथा अभाव रहेकोले राजनीतिज्ञहरुको स्तरहीनताबाट त्यसै प्रष्ट हुन्छ । वर्गीय सत्ताले राजनीति गर्न छल, कपट, जाल, फरेब, धोखा अनिवार्य योग्यताका पूर्व शर्त निर्धारण गरेको छ । यही पंचतत्वबाट कायम रहेको वर्गीय सत्ताको अगाडि न कम्युनिष्टको साम्यवाद टिकेको छ न प्रजातान्त्रिक समाजवाद । न लोकतन्त्र, न गणतन्त्र, यसको अगाडि केही माने राख्दैन, न त्यसको मूल्य र मान्यता । वर्गीय सत्तालाई क्षति पु¥याउने लोकतन्त्र वा गणतन्त्रको कुनैै अर्थ छैन । लामो समयदेखि शासन गरेको खस वर्गीय शासकहरुले बनाएको अवधारणाको जगलाई नभत्काउने लोकतन्त्र मात्र यहाँ स्वीकृत र मान्य छ । जनमुखी लोकतन्त्रसंग यिनीहरुको केही लेनादेना छैन । लोकतन्त्र अंगाल्दा आफ्नो सामन्ती चरित्र पनि लुक्ने तथा अन्तर्राष्ट्रिय जगतले लोकतान्त्रिक शक्तिलाई सहयोग र समर्थन दिने भन्ने सोचका साथ शासकवर्गले रुढिवादी सत्तामा आफ्नै फायदा हुने गरि केही फेरबदल गरेको मात्र हो ।
अबको लडाई राज्यसत्ता र मधेशको लडाई प्रष्ट रुपमा देखिएकोले यही लडाई जित्न तीनै दलहरुले कल, बल, छलको प्रयोग गरि स्तरहीनता प्राप्त गरेका छन् । तर कहलाउन त राजनीतिका धुरंन्धर खेलाडी कहलाउँछन् । आफ्नो फायदाका लागि मात्र सोच्ने र सोही थिति लागू गर्ने एमालेका कट्टरपंथी चरित्रका कारण मधेशमा विभाजनका आवाजहरु पनि तीव्र रुपमा बढ्न थालेको छ । अनुकूलता प्राप्त गर्दै यसको विकास हुने बेर छैन ।
राजपाको पीडाः– संघर्षमा होमिएको राजपा दोश्रो चरणको चुनावभन्दा पहिले पार्टी दर्ता नरहेको, शर्त पूरा नभएको, मधेश शक्ति विभाजन भई आन्दोलनलाई कमजोर बनाएको, कार्यकर्ताहरु विद्रोह गरि चुनावमा भाग लिएको, पार्टी आन्दोलनमा रहेपनि नेताहरुको विभाजित मानसिकताका कारण दोश्रो चरणको चुनावलाई नरोक्न सक्यो, नभाग नै लिन सक्यो ।
दोश्रो चरणको नतिजा हेरेर ससफोले संशोधन प्रस्तावलाई सघाउने शीर्ष तीन दलको जस्तो झूठो आश्वासन दिन थालेको छ । संशोधन प्रस्ताव पास हुने नेपाली काँग्रेसको सरकारले देखाएको झूठो आश्वासनले पास हुने कुरा असम्भव भै सकेको छ । राजपाको पार्टी दर्ता भई सकेको छ । चुनाव चिन्ह “छाता” दिने पक्षमा निर्वाचन आयोग छैन । चारैतिरबाट घेरामा पारि राजपालाई थकाउने प्रयास गरिएको छ । अन्ततः आत्मसमर्पण गराउने रणनीतिमा लागेका शीर्ष तीन दल सफल भएको छ । चुनावमा भाग लिनै पर्ने बाध्यात्मक परिस्थितिको निर्माण गरि राजपालाई खोरमा हाल्ने कार्य भएको छ । वातावरण विल्कुल प्रतिकूल बनाईएको अवस्थामा आन्दोलन कतिको प्रभावकारी हुन सक्दछ, यसै पनि अनुमान गर्न सकिन्छ ।
संशोधन प्रस्ताव पास गराउने आश्वासन दिएर पनि पास नगरि राजपालाई जबरदस्ती चुनावमा धकेल्दा नेपाली काँग्रेसको यो धोखाले मधेशमा प्रतिकूल प्रभाव भोग्नु पर्ने स्थिति आउन सक्दछ । एमालेले दोश्रो नम्बरमा पारेको काँग्रेस यही प्रदेशमा पुनश्च आफ्नो हैसियत हासिल गर्न सक्दथ्यो । तर मधेशसंग भएको धोखाले चुनावमा प्रतिकूलता भोगेर एमाले कै नेतृत्वमा हिंड्नु पर्ने अवस्था आउन सक्ला । नेपाली काँग्रेसले मधेशी नेता विमलेन्द्र निधिको मुखबाट भन्न लगायो—संशोधन प्रस्ताव पास हुने अवस्था छैन । आफू झण्डै ३८८ मतबाट प्रधानमन्त्री बनेको शेरबहादुर देउवाको लागि मधेशभन्दा एमाले नजिक रहेकोले मधेशका लागि किन टाउको दुखाउने ?
मधेशको राजनीति सिद्धिएको छैन । मधेशको लागि छल, बल, कल प्रयोग गर्ने तीन दलको क्रियाकलाप अभिशापको रुपमा मधेशले लिएको छ । एमालेले खिंचेको विभाजन रेखा र त्यसमा सिमित गरेको मधेश, आफ्नो आकार कै कारण त्यहाँ सिमित रह्न सक्दैन । उसले आफ्नो भूमिका पुनश्च खोज्छ । त्यतिबेला परिष्कृत आन्दोलनको झंझावात शीर्ष तीन दलले झेल्न सक्छ वा सक्दैन । अहिले प्रदेश नं. २ को चुनावमा केन्द्रीत रहेको सबैको ध्यान चुनावलाई कति प्रभावकारी बनाउन सकिएला भन्ने समीकरण मिलाउन व्यस्त छ । एमालेले अपेक्षा गरेको स्थिति भने रह्न सक्दैन । एमालेले जनाधार भएका व्यक्तिलाई आफ्नो प्रभावमा ल्याउन हर सम्भव प्रयास गरि रहे पनि अपेक्षित सफलता मिल्न कठीन छ । २ नं. प्रदेशमा नेपाली काँग्रेस पछारिने कि एमाले ?
२०७४ श्रावण ६ गते मधेशवाणीमा प्रकाशित
