विशेष अधिवेशनले ल्याउने राजनीतिक आँधी

सम्पन्न र समृद्ध दुई महाशक्ति देश चीन र भारतको बीचमा रहेको गरीब मुलुक नेपाल सहयोग पाएर पनि आत्मनिर्भर हुन सकेन । पिढीदर पिढी राजनीतिक अभ्यासमा रहेका राजनीतिकर्मीहरुमा देश विकास गर्ने इच्छा जागृत भएन वा शक्तिकेन्द्रले पराश्रित बनाएर राख्यो । यो देशको दुर्भाग्य हो कि लोकतन्त्रको माध्यमले देशलाई समृद्ध बनाउने दावा गरेर आएका राजनीतिक अगुवाहरुले अपेक्षा अनुरुप कार्य गर्न असफल नै देखिए । असफलताका लागि आत्मालोचना गरेर किञ्चित नैतिक दायित्व देखाउनुको सट्टा असफलताको सारा दोष विपक्षीको टाउकोमा राखी उम्कने कथित राजनीतिकर्मीहरु आफ्नो स्वार्थपूर्ति गर्न यसरी लिप्त भए कि उनले राजनीतिको मूल्य र मान्यता बिर्सेर आफू अराजक त बने नै राजनीतिलाई पनि फोहोर बनाए ।

राजनीतिलाई आफ्नो स्वार्थपूर्तिका लागि अत्यधिक दुरुपयोग गरेका कारण अहिले असहज परिस्थितिले जन्म लिएको छ । यसमा देश र जनता असन्तुष्ट त छन् नै, सत्तापक्ष प्रतिपक्ष लगायत सम्पूर्ण राजनीतिक दलहरु असन्तुष्ट बनेका छन् । लोकतन्त्रबाट नै देशको कल्याण हुने गर्ने दाबेदारहरुले किन सबैलाई असन्तुष्ट बनाए यसका कारण पत्ता लगाएर सुधारको दिशामा अग्रसर हुन कोही चाहँदैन आफू सत्तासीन हुने र प्रतिपक्षलाई दबाउने जस्ता निरंकूश सामन्ती प्रवृति लोकतन्त्रमा पनि बलियो अवस्थामा रहेकोले यसले सबै कुरा बिगारेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेर दुई तिहाइको सरकार बनाएदेखि पार्टीभत्र विग्रह उत्पन्न भयो । चरमोत्कर्षमा पुगेको पारस्परिक झगडा मेटाउन सर्वोच्च अदालतले दुवै पार्टीलाई पूर्वावस्थाको अस्तित्व कायम गर्न आदेश अनुसार दुई पार्टी विभाजित त भए तर एकअर्काका नेता कार्यकर्ता दुवै पार्टीतिर विभाजित अवस्थामा रहेकोले झगडा साम्य हुन सकेन । खासगरी एमालेतिरका शीर्षस्थ नेताहरु माधव नेपाल, भीम रावल, झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायत धेरै नेताहरु आफ्ना समर्थकहरुलाई समेटेर अलग गुट निर्माण गरेकाले एमालेमा ठूलो समस्या उत्पन्न भएको छ । एमाले, माओवादी केन्द्र विभाजन भएपनि नेपाल खनाल गुट एमालेकै नेता मानिएका छन् । माओवादी केन्द्रमा बसे पनि वा पार्टी अलग गरेपनि नेपाल गुटलाई कल्याण भने देखिँदैन । एमालेको फुटको गति सबैले हेरिसकेका छन् । पार्टीको कारबाही गरिए पनि सांसद पदमुक्त गरिएको छैन ।

माधव नेपाल गुटलाई एमालेमा फर्काउन ओलीको प्रयास जारी छ । त्यसैले ओलीले नेपाल खनाल गुटलाई सांसद पदबाट मुक्त गरेको छैन । ओलीको पटक–पटकको अपमानजनक व्यवहारबाट दिक्क भएका नेपाल गुट अपमानको जहर पिएर ओलीको अगाडि आत्मसमर्पण गर्न जान उनको स्वाभिमानले इजाजत दिइरहेको छैन । अलग्गै अस्तित्व बनाउन पनि कठिन नै देखिएको छ । सत्ताको राजदण्ड पनि तेर्सिएको अवस्थामा नेपाल गुट किंकर्तव्यविमुख अवस्थामा परेको छ । प्रचण्डले ओलीको विरोधमा उत्रेपनि ओलीमोह उनले पनि छोडेका छैनन् । विरोध पनि गर्ने र सरकारलाई समर्थन दिइरहने ओली मोहबाट अन्ततः ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाए पछि नेकपा माओवादी पार्टीले ओली सरकारबाट समर्थन फिर्ता लिएको छ ।

जेठमा बजेट अधिवेशन बस्नुपूर्व संसदको विशेष अधिवेशन बोलाइनु राजनीतिक हलचल उत्पन्न हुने सम्भावना बढ्ने देखिन्छ । विश्वासको मत लिने बाहिर प्रचार गरिए पनि भित्र लुकेको अनेक आशंका विश्लेषण बुद्धिजीवी वृत्तमा देखिएको छ । एमालेका सम्पूर्ण सांसदलाई तथा जसपाको महन्थ ठाकुर पक्षलाई मिलाउँदा ओलीको बहुमत पुग्ने सम्भावना छ तर एमालेका विरोधी पक्ष मिल्न नआए ओली विश्वासको मत लिन असफल हुन्छ । सिंगो कांग्रेसलाई लिएर ओलीले सरकार बनाउन सक्छ । माओवादी, पूर्ण जसपा र कांग्रेसको समीकरणले वैकल्पिक सरकारको निर्माण गर्न पाए पनि नपाए पनि चुनावमा जाने उनको आन्तरिक मनसाय रहेको छ ।

ओलीलाई सघाउने र ओली सरकारको विकल्प खोज्ने जसपा यही दुई विचारमा विभक्त भएको छ । जसपा दुई पार्टीको एकीकरणलाई अन्तर्मनले स्वीकार गरेको छैन । ९ वटा अध्यक्षको संग्रहबाट बनेको जसपा कसैले कसैको नेतृत्वलाई मानिरहेको छैन । अथवा यसरी भनौं सबैको व्यक्तिगत नेतृत्वको स्वेच्छाचारिता अहिले नियन्त्रण रेखाभित्र पर्दा भएको असजिलोपनाबाट बाहिर निकल्ने कोशिस नै जसपालाई एक हुन नदिएको हो ।

विचार र मधेश मुद्दाभन्दा व्यक्तिगत स्वार्थ सर्वोपरि रहेकोले त्यसको पारस्परिक टकराव नै विखण्डनका अहम् कारण बनेको छ । ओलीलाई कोही मित्रशक्ति र कोही दुश्मन परिभाषा गर्ने बहाना मात्र हो । स्वार्थको टकरावभन्दा स्वार्थको स्वतन्त्रता रोज्ने मधेशका राजनीतिक अगुवाहरु मिलेर बस्ने, मिलेर लड्ने संस्कार नै बनाउन सकेन । करिब–करिब विभाजनको अन्तिम अवस्थामा पुगेको जसपामा पनि ओली पार्टीकै जस्तो दुर्दशामा पुगेको छ । राजेन्द्र महतो अहिले पनि जसपा फुट्दैन भनेर आफ्नो दावा सार्वजनिक गरेका छन् । लुम्बिनीको घटनाले आर कि पारको स्थिति सिर्जना गरी दिएको छ । पार्टीलाई बचाउने कि त उपेन्द्र यादव, महन्थ ठाकुरको कित्तामा आउनु प¥यो अथवा महन्थ ठाकुर खेमा उपेन्द्र यादवसमक्ष आत्मसमर्पण गर्नु प¥यो । एमालेको विरोधी नेपाल खनाल पक्ष नफुट्ने नजुट्ने जस्तो जसपाभित्र महन्थ ठाकुरलाई पनि दोधारमा राखि दिएको छ । फुटको औपचारिक घोषणा हुन बाँकी रहेको अवस्थामा जसपा फुट्दैन महतोको उद्घोषको अर्थ के हो ?

निजी स्वार्थमा अल्मलिएको राजनीति बैशाख २७ गते कुन दिशा लिने, को कहाँ रहने आदि सबै प्रष्ट हुने हुँदा सबैले त्यसको प्रतिक्षामा छन् । ओलीले के गर्ने भन्ने परिणाम हेर्न सबै आतुर छन् । कसलाई क्षति र कसलाई लाभ हुने त्यसपछि आँकलन गर्न सकिने अवस्था आउँछ । ओलीले जे कदम उठाएपनि निकास भने आवश्यक देखिएको छ ।

(२०७८साल बैशाख २४ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!