मधेश राजनीतिको स्खलन रोकिएन

शदियौँदेखि मधेशी समाजमा सल्किरहेको भेदभाव विरूद्धको क्रान्तिकारी भावना संगठित स्वरूप लिएर २०६३ मा विद्रोह ग¥यो । पूर्व मेचीदेखि महाकालीसम्मको मधेशको एकीकृत भावनाको परिणाम थियो मधेश आन्दोलन । वञ्चितीकरणमा राखेर शदियौँदेखि राज्यद्वारा गरिदै आएको दोहन शोषण विरूद्धको संगठित आवाज थियो मधेश आन्दोलन । यसमा जातीयता, साम्प्रादयिकताको कही ठाउँ थिएन । आन्तरिक औपनिवेशिक शोषणबाट मुक्ति र राज्यसत्तामा समान हक लिने मधेशको बलिदानी संघर्ष धेरै भयावह स्वरूपमा आएको थियो । यसमा शहादत दिने कुनै जातीको नभई मधेशका वीर सपूतहरू थिए । शहादत दिने क्रम नरोकिएपछि सरकारले मधेशको मागलाई सम्बोधन गर्न मध्यनजर ग¥यो र त्यसैको परिणाम हो संघीय लोकतान्त्रिक गणतन्त्र ।

मधेश आन्दोलनले मिल्काईएका, फालिएका पहिचान कायम हुन नसकेका, असक्षम र दलाल मनोवृतिका मधेश राजनीतिका अगुवाहरूको मान, प्रतिष्ठा र पहिचान स्थापित ग¥यो । जातीय भावना यहाँ पनि थिएन । मधेश विद्रोहबाट आतंकित शासकको मधेश राजनीतिको “माइक्रो मेनेजमेन्ट”प्रति काफी चिन्तित र गम्भीर बनेका थिए । मधेश आन्दोलन स्थगित भए पनि यसको राप र ताप जीवन्त थियो । यसको प्रभावलाई निस्तेज पार्न राज्यले मधेशका राजनीतिक अगुवाहरूको कमजोरी पत्ता लगाएर शिकार ग¥यो ।

भेदभावबाट मधेशलाई मुक्त पार्न आन्दोलनले जन्माएको समग्र मधेशको राजनीतिक एजेण्डामा दलाल राजनीति अगुवाहरूका कारण छिद्र हुन थालियो । समग्र मधेशको राजनीति जातीय राजनीतिमा रूपान्तरित भयो । यसरी मधेशमा यादव, बाहुन, मुसलमान, तेलीसुँडी आदिका साम्प्रदायिक पार्टीको जन्म भयो र राज्यसत्ताको इशारामा यी पार्टीहरू पारस्परिक रूपमा लड्न थाले । मधेश मुक्तिका लागि शुरू भएको राजनीति जाति सम्प्रदायमा आएर सीमित भयो । मधेशको यसरी राजनीतिक विखण्डन भएकोले राज्य केही राहतको साँस लियो । समग्र मधेशको अधिकारका कुरा गर्ने राजनीतिक अगुवाहरू आफ्नो जातका कुरा गर्न थालेपछि मधेश समाजमा जातीय घृणाका शिकार बहुसंख्यक र अल्पसंख्यक सबै हुन थाले । जातीय राजनीतिको विषवृक्ष पल्लवित, पुष्पित हुँदै जाँदा समग्र मधेशको एकता सैयौँ टुक्रामा विभक्त भयो । जातीय राजनीतिको जहरीला प्रभावले समग्र मधेश विषाक्त बन्यो र यही मौका छोपी संघीयताको माग गर्ने मधेशलाई ८ जिल्लामा सीमित रह्ने गरि प्रदेश विभाजन गरेको थियो । मेची महाकालीको २२ वटा मधेशका जिल्लालाई ६ टुक्रामा मधेश सरकार आनन्दपूर्वक रमाईरहेको छ ।

मधेशका राजनीतिक अगुवाहरूको व्यक्तिगत स्वार्थपूर्ति गर्ने सुखद अवसर प्रदान गरेर राज्यसताले कस्तो सूक्ष्म तरिकाले मानवीय मूल्यको ह्रास गरायो, स्वयं अगुवाहरूलाई पनि थाहा भएन । बहुसंख्यक जातीय अगुवाहरूले चीरकालसम्म राजनीतिमा आफ्नो वर्चस्व बनाई राख्न जातीय आधार नै रोजेपछि समग्र मधेशप्रतिको आस्था र दायित्व कसैमा रहेन । ८ जिल्ला बाहेकका मधेश आफ्नो मौलिकता छोड्न बाध्य भयो । समग्र मधेशको मुक्ति आन्दोलन “संघीय लोकतान्त्रिक गणतन्त्र”को यज्ञशालामा भष्मीभूत भएको छ । पुनश्चः यो पुस्ताले मधेश मुक्तिको कुरा गर्न नसक्ने गरी अपाङ्ग भएको छ ।

आन्दोलन पश्चात् मधेशको राजनीतिभन्दा व्यक्ति प्रधानको राजनीतिमा होमिएको तीनवटा पार्टी (मधेशी जनअधिकार फोरम, तमलोपा र सद्भावना) १३ वटा पार्टी बनाए । विभाजनमा बढी रमाउने मधेशका राजनीति अगुवाहरू पार्टी बनाएर अधिक से अधिक नेतृत्वकर्ता बने । विखण्डित अवस्थामा चुनावको कठोर प्रहारबाट आहत भई यिनले विभाजित पार्टीलाई जोड्ने प्रयासमा लागे । पार्टीको अध्यक्ष बनेर नाम चलाइसकेकाहरूको महत्वाकाँक्षा यति ठूलो थियो कि कोही कसैको मातहतमा वस्न चाहँदैन्थ्यो । अध्यक्षमण्डल बनाएर पालैपालो सबैले नेतृत्व गर्ने शर्तमा विभाजित रहेको ६ वटा पार्टी एकीकृत भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बन्यो । व्यक्तिगत राजनीतिका कुशल नेतृत्व गरेका यी अनुहारहरू मधेश मुद्दाबाट टाढिए पनि सत्तासँग दलीय स्वार्थ पूरा गराउन बेला मौका मधेशको मुद्दा उठाई रहन्थ्यो ।

जातीय बाहुल्यताको आधारमा पहिचान बनाउन सफल संघीय समाजवादी फोरमलाई राज्यले पनि अलि बढी आदरपूर्ण व्यवहार गरेका कारण उनी मधेशका मसीहा नै बने । संघीय समाजवादी फोरम र राजपाबीचको एकीकरण त कल्पना मात्र थियो । राजपालाई कुनै महत्व नदिने, मधेशको सर्वाधिकार आफ्नो हिस्सामा देख्ने संघीय समाजवादी फोरमको महत्वाकाँक्षा नै एकीकरणको बाधक देखिएको थियो ।

 

ओलीको दल विभाजन विधेयकले हठात् रातारात राजपा र समाजवादी पार्टीको एकीकरणको लगन गाँठो कसी दियो । समय, परिस्थितिले दुबै पार्टीलाई एकै रातमा एकीकरण गरी जनता समाजवादी पार्टीको नामले परिचित गरायो । राजनीतिक परिस्थितिले राज्यद्वारा तोडफोड गरिएको मधेशका पार्टीहरू एक भई तेश्रो शक्तिको रूपमा उदाएको जसपाबाट अरू शक्ति चिन्तित बनेको छ । जसपा अहिले पनि निश्चिन्त छ । जसपाभित्र अनेक जहरीला प्रवृतिको संकलन रहेको यसले आफ्नो विशालकाय आकार कायम राख्ला जस्तो लाग्दैन ।

स्वार्थै स्वार्थ र अवसरवादी चरित्रको समूहलाई गिरोह भनिन्छ, गुट भनिन्छ, पार्टी भनिदैन । मधेश मुक्तिको अभिभारा बोक्ने पार्टीको क्रान्तिकारी चरित्र तब धराशायी हुन्छ जब पार्टी व्यक्तिगत स्वार्थमा अगाडी बढ्छ । बढेको पनि छ । पार्टी चलाउन पैसा चाहिन्छ । पैसा दिएर गलत मानिस नीति निर्माणको तहमा आँउछन् । क्रान्तिकारी शक्तिको अवमूल्यन हुन्छ । ती शक्ति पार्टीबाट पलायन हुन्छ र सो पार्टीको क्रान्तिकारी छवि समाप्त हुन्छ । यही भएको छ । मौलिकता सबैको हराएको छ । मुखले क्रान्तिकारी भाषा जतिसुकै प्रयोग गरेपनि क्रान्तिकारी चरित्र छैन भने अधिकार आन्दोलन गतिशील हुन सक्दैन । हामीले अहिलसम्म के पायौँ र के गुमायौँ, ईमान्दारीपूर्वक समीक्षा गरौं । उत्तर निश्चय पाउनेछौं ।

साल बैशाख १० गते मधेश(२०७८ वाणीमा प्रकाशित)

 

Leave a Comment

error: Content is protected !!