मधेशमा अपराधको ताण्डव

देशमा विद्यमान संक्रमण अवस्था र अन्योलग्रस्त राजनीतिक परिस्थितिको फायदा उठाउन उद्घत आपराधिक गिरोहहरू मधेशमा श्रृंखलाबद्घ रूपमा अपराधका घटनाहरू घटाउँदै आएका छन । क्रमिक रूपले घटि रहेको अमानवीय, आतंकपूर्ण घटनाहरूले मधेशमा दहशतको भयावह स्थिति सृजना गरेको छ । नाबालकहरूलाई अपहरण गरी फिरौती माग्ने हत्या गर्ने जस्ता जघन्य अपराधको श्रृंखलाले मधेश आक्रान्त भएको छ ।
यी अनैतिक क्रियाकलापबाट समाजलाई रक्षा गर्न खटिएका सुरक्षाकर्मीहरूको पनि यस्ता दुष्कर्ममा संलग्नता देखिनुबाट मधेशलाई बर्बाद गर्ने सुनियोजित षडयन्त्रको भान हुन्छ । मधेश आन्दोलनले स्थापित गरेको मधेशी एकतालाई तहस नहस गर्ने षडयन्त्र पनि मधेशमा छर्लङ हेर्न पाइन्छ । मधेशलाई अपराधको अडडा बनाउने आपराधिक गिरोहले कसलाई फायदा पुरयाई रहेको कुरा बुझनु पर्दछ । मधेशको गरिबी र बेरोजगारीबाट सृजित यस्ता अपराधमा युवाशक्तिले आफनो उर्जा खर्चिनुभन्दा मधेशलाई अधिकार समपन्न गर्नमा उपयोग गर्नु बेश हुनेछ । अपराध कुनै पनि व्यवस्थाका लागि अपराध नै ठहरिन्छ । यो जोशमा होश गुमाएको कुरा हो । आफनै घरलाई निशाना बनाएर अपराध गर्नु कुनै बहादुरी होइन । यस्ता अपराधलाई बढाबा दिन विभिन्न किसिमका शक्तिहरू आफनो स्वार्थसिद्घिका लागि प्रोत्साहन दिन आउँछ । मधेशलाई चारैतिरबाट तोडन ती शक्तिहरू लागि परेका छन । अनेक छद्यमवेशमा ती शक्तिहरू मधेशमा सक्रिय छन । युवाशक्ति जो मधेशको भावी कर्णधार हो, खासगरि युवावर्गलाई लक्षित गरि विभिन्न आपराधिक पेशामा संलग्न गराई मधेश आन्दोलनको अजेय शक्तिलाई नष्ट गर्ने कुत्सित मानसिकता बोकेका शक्तिलाई चिन्नु आवश्यक छ । मधेशका युवाशक्ति नै गुमराह भै सकेपछि मधेशको सपना कसले पूरा गर्ने ?
मधेशका युवाहरू ! मधेश आफनो प्यारो भूमि हो । यहाँका बासिन्दा मधेशी सबै भाई भाई हुन । यिनी शदियौंदेखि राज्यद्वारा पछाडि पारिएका पीडित हुन । हामी सबै संगठित भएर राज्यसंग लडेर आफनो अधिकार सुनिश्चित गर्नुको सट्टा आफनै घरमा आगो लगाएर आगो ताप्ने जघन्य अपराधमा लागेका छौं र हामीलाई विगार्ने शक्तिलाई फायदा दिइ राखेका छौं । अपराध कहिले पनि राम्रो मानिस बनाउँदैन । जागौं मधेशका युवाहरू ! आफनो घर मधेशलाई अधिकार दिलाउने अभियानमा जुटौं । यस्ता जघन्य अपराधलाई त्यागौं, अरूलाई पनि त्याग्न लगाऔं । मधेशलाई डर, त्रास, आतंकबाट मुक्त गरौं, गराऔं । आपसी राग, द्वेषलाई सहज ढंगले समाधान गरौं । हथियार उठाउनु कुनै समस्याको समाधान होइन । आफनो उर्जालाई मधेशको लागि संचित गरौं । मधेशलाई अधिकार सम्पन्न नगर्ने अनेक षडयन्त्र गरिदैछ । हाम्रो उर्जा त्यसको लागि संचित राख्नु पर्दछ । अपराधीको जीवन मर्नुभन्दा शहीदको मृत्यु श्रेयस्कर हो ।
मधेशमा आपराधिक घटनाबाट राजनीतिक लाभ लिने राजनीतिक दलहरू केन्द्रमा अपराध नियन्त्रण गर्न जति नीति नियम बनाउँछ त्यतिकै मात्रामा अपराध बढि रहेको छ । मधेशलाई भयाक्रान्त राखि राख्न र त्यसबाट अपेक्षित आकांक्षा प्राप्त गर्न केन्द्रका राजनीतिक दलहरू बहादुरीका साथ यतिमात्रामा अपराध नियन्त्रण भयो भनेर कथा सुनाउँछन । दिनहुँ सुरक्षा परिषदको बैठक बसेर नया नया नीति बनाउँछ, तर जेलभित्र गोली हानेर अपराधीले सुरक्षा व्यवस्थाको मुँह चिढाएर हिडछन । कतिपय अपराधमा सुरक्षा निकायको संलग्नता छापाहरूमा नित्यप्रति निस्कि रहेको खबरले सुरक्षा निकाय नै शंकाको घेरामा आएको छ । अपराधले देशमा पूरा संजाल फैलाएर आफनो काम गरि रहेको अवस्थामा हाम्रो सुरक्षा व्यवस्थाको दयनीयताले कसरी अपराध नियन्त्रण होला ?
दिनानुदिन मधेशलाई गाँजी रहेको अपराधको विषयमा मधेशका राजनीतिक दलहरू पनि केही बोल्ने आँट गर्दैन । मधेशलाई अपराध मुक्त गर्न सचेतना अभियान अथवा अरू कुनै कार्यक्रमहरू मधेशका राजनीतिक दलहरूको नैतिक दायित्व पनि हो । मधेश मुक्तिका तथाकथित दायित्व बोकेका दलहरू यस बारे केही नबोल्नु मधेशप्रतिको प्रतिबद्घतामाथि प्रश्न खडा गरि दिएको छ । जुन शक्तिको बलमा बलवान बनेका दलहरू मधेशमा अपराध न्यूनीकरण गर्ने दिशमा केही कार्यक्रम गर्नु नैतिक दायित्व बन्दैन । मधेशमा अपराध समाजीकरण भई रहेको बेला सबैशक्ति मिलेर अपराध न्यूनीकरण गर्नु पर्दछ ।
राज्यबाट बञ्चित मधेश गरिबी, बेरोजगारी तथा सम्पूर्ण अधिकारबाट बञ्चित भएर मधेश आन्दोलन पश्चात ८३ संख्यामा पनि जनप्रतिनिधी पठाए पनि केही राहत न पाउँदा मधेशमा अपराध जन्मिन थालेको हो र यसमा अराष्ट्रिय तत्वहरू यसलाई मलजल गर्न थालेको हो । बेरोजगार युवाहरूको यसमा आकर्षन बढनु स्वाभाविक हो । अपराध पनि पछि विकृत रूप लिन थालियो । नाबालक अपहरण, सार्वजनिक बसमा बम विस्फोट, बच्चालाई अपहरण गरि हत्या गर्ने आदि जघन्य अपराध बढन थालियो । यस्तो अमानवीय घटनाबारे सबै मिलेर प्रतिकार गर्नु पर्दछ । मानवमा मानवीय मूल्य र मान्यताको न्यूनीकरण भै रहेको यस भयावह अवस्थाप्रति राजनीतिक दलहरू कत्तिको संवेदनशील छन ।
२०६७ चैत १८ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!