संविधान सभाको आरम्भकालदेखि दुई विपरित विचारका उग्र चिन्तनमा फँसेर नेपाली राजनीतिको स्तर घट्दै गएको सर्वविदित छ । स्तरहीनतामा राजनीतिको विकृत अवस्थाले विगतकालदेखि वर्तमानकालसम्म गतिरोधको भुमरीबाट देश, राजनीतिक दल र जनतालाई निकाल्न सकेको छैन । दिग्गज राजनीतिज्ञ भनाउँदाहरुको स्तरहीन सोचका कारण जनाधिकारको सुनिश्चितता गर्ने जनताको सपना चकनाचूर भएको छ । जनाधिकार सुनिश्चित गर्ने दिशामा अग्रसर राजनीतिलाई संविधान सभामा अनेक गतिरोध खडा गरि विपरित दिशामा राजनीतिलाई मोड्न बाध्य पारियो । संघीयतासहितको नव नेपाल निर्माण गर्ने जनअपेक्षित अवधारणा नै राजनीतिलाई अन्यत्र मोड्ने मुख्य कारण थियो । विकृत बनाइएको राजनीतिको परिणाम कहिले पनि जनअपेक्षित हुन सक्दैन, भएन पनि । विधि विधानको न्यूनतम मान्यतालाई लत्याउँदै राजनीति अगाडि बढि रहेको छ । सम्पूर्ण संवैधानिक निकायको अभावमा संक्रमणकालीन राप र तापबाट बच्न एकमात्र न्यायिक आश्रय स्थललाई पनि भत्काएर घोर अराजकतातिर देशलाई धकेलिएको छ । संविधान सभाको अन्तकालसम्म न्यायको चिन्तन स्तर पछिका दिनमा घट्दै गएको अभास पाइन्छ । बिकृत राजनीतिले न्यायिक विधान उल्लंघन गरि कतिपय घटनाहरु घटाएको छर्लङ्ग छ । विधी विधान मिच्दै माओवादी नेतृत्वको तीनदलीय एकाधिकारले ल्याएको अराजक स्थिति जुन प्रयोजनका लागि ल्याए पनि यसको दुष्प्रभाव सबैले भोग्नु पर्ने हुन्छ ।
संविधान सभालाई स्तरहीन बनाउने राजनीतिक दलहरुको असफलताले दलहरुको बुद्धि बिवेकलाई तिखार्न सकेन, बरु छलछामको प्रबृतिलाई अझ सशक्त पारि दिएको छ । त्यै छलछामको राजनीति तहत चुनावलाई उपयोग गरि अझ मजबूत भएर आउने र प्रतिस्पर्धीलाई ठेगान लगाउने योजना अनुरुप यी तीन दल अगाडि बढेको देखिन्छ । संविधान सभामा साख गुमाएका नेपाली काँग्रेस र एमाले मध्ये नेपाली काँग्रेससंग मैत्री सम्बन्ध राखेर एमालेलाई चुनावमै सिध्याउने योजनाका साथ माओवादी अगाडि बढेको छ । “एमाले पार्टी नै छैन” भन्ने प्रचण्डको अभिव्यक्ति यही कुरातिर संकेत गर्दछ । मधेशलाई कब्जा गर्ने माओवादी योजनाको प्रमुख बिषय पनि हो । एमालेको वैधानिकतालाई माओवादीले स्वीकार गर्न छाडे पछि एमाले जुर्मुराउन थालेको पनि छ । धमिलो पानीमा माछा मार्न माओवादीले परिस्थितिलाई अझ धमिल्याउन खोजेको छ । काँग्रेसप्रति सफ्ट रहेको माओवादी काँग्रेसलाई साथ लिएर एमालेलाई सिध्याउने योजनामा छन् । काँग्रेस पनि यो अवसरको फायदा उठाउन एमालेलाई झुण्ड्याएर राख्न सक्दैन । धेर थोरको समीकरण मिलाउँदै माओवादी काँग्रेस गठबन्धन मधेशमा पाइला हाल्नेछ । चुनावको मुखमा मधेशसंग प्रचण्डको लभ पर्ने बिषय र बाबुराम भट्टराईले मधेशमा नेपालीत्वको पाठ पढाउने उद्देश्यले “अब पहाडको मानिसलाई मधेशबाट र मधेशका मानिसलाई पहाडबाट जिताउने” दिएको अभिव्यक्तिबाट मधेश हान्ने योजना त्यसै पनि स्पष्ट हुन्छ । राप्रपा जनशक्तिको एकीकरण भएको छ । कमल थापा पनि हिन्दुवादीको नाममा भएपनि मधेशलाई ताकेको छ । मधेशलाई शिकार गर्न यत्तिका राजनीतिक शिकारीहरु तम्तयार रहेको अवस्थामा निःशस्त्र बनी बसेका मधेशका दलहरु तुलनात्मक रुपमा शिकार गर्न सक्दैन भाग्य भरोसे जती आउँछ त्यसैमा सन्तोष गर्ने अवस्थामा छ । “मधेश हाम्रो हो, यसमा हाम्रो वर्चस्व कायम हुनु पर्दछ” भन्ने उद्देश्यबाट प्रेरित कोही नभएको, मधेश आन्दोलनमा भाग खान आएको परजीवीको चरित्र अहिले उदाँगिएको छ । मधेश आन्दोलनलाई तहस नहस पार्न सहयोगी भूमिकामा रहेका मधेशका दलहरु मधेशको रक्षा त के गरुन्, आफनै अस्तित्व जोगाउन धौ धौ भई रहेको छ । कहिले नखाएको जस्तो गरेर मधेश आन्दोलनका भाग खाएर सत्ताका लागि मरिहत्ते गरेर गए । आज मधेशलाई हात पार्ने शक्तिहरुको प्रभावबाट मधेशलाई बचाउन अगाडि सर्ने मधेशका दलहरु “के गर्ने” दुविधामा अनिर्णित बनेका छन् । राजेन्द्र महतोको अनशन कार्यक्रम पनि मधेशलाई तताउन सकेन । अनशनमा बसाएर आफैले सरकारलाई वार्ता गर्न आह्वान गर्नु कस्तो नाटक हो । यो त भावी खतरालाई पर धकेल्न तथा चुनावमा आफनो आकर्षण बढाउन गरिएको आत्मरतिको असफल प्रयास हो । केही गर्न नसक्ने घाइते बाघको गुर्राहट जस्तै आफूलाई चर्चामा राख्ने मात्र हो । मधेशको अधिकारको सुनिश्चिता गराउन पाएको जनादेश विपरित अनैतिक रुपले सत्ताप्राप्त गर्ने निकृष्ट क्रियाकलापलाई मधेशले स्पष्ट भोगेको अवस्थामा विश्वास गुमाएको उही चरित्र मधेशमा कसरी प्रभावशाली बन्न सक्दछ ? मधेशले राज्यको होश उडाई दिएको अवस्थामा आफनै उपियाँलाई चिन्दैन र ? गैर मधेशी राजनीतिक पार्टीहरुको ध्रुवीकरण भई शक्ति निर्माण गर्ने अभियानबाट मधेशका दलहरुले शिक्षा लिनु पर्ने हो । यदि असलमा आफूलाई मधेशवादी रुपमा मधेशका दलहरु चिनाउन चाहन्छ भने सबै पार्टीहरु एक ढिक्का भई मधेशमा जानु पर्दछ । मधेशमा माओवादी रणनीतिको काट पनि यही हो । त्याग र निःस्वार्थ भावबाट राजनीति गतिशील हुन्छ । अरु प्रदर्शन गर्नुभन्दा निस्वार्थ भावले सबै पार्टीबीचको एकता कायम गराउन प्रयासले नै मधेशलाई उर्जा दिन सक्दछ र आफूमाथि लागेको दाग पनि मेटाउन सकिन्छ । आहत भई रहेको मधेशले पनि यही चाहेको छ । मिलेर आए कलंकित अनुहारलाई पनि माफ गरि दिने मधेशको चाहना छ । के मधेशको यो आकाँक्षा पूरा गर्ने मधेशवादीहरुमा साहस छ ?
छलछामकै राजनीतिबाट घोषित संविधान सभाको चुनावलाई पनि सहज ढंगले अगाडि बढ्न नदिने अर्को खेलका कारण परिस्थिति अझ दुषित हुँदै गएको छ । न्यायिक क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । दुषित र अराजक बनाइएको राजनीतिक माहौललाई सपार्नुभन्दा पनि अझ बिगारेर फायदा लिने राजनीतिक दलहरुको अभिष्ट परिस्थितिको प्रतिकूलतामा पूरा होला नहोला, आफनै ठाउँमा छ किन्तु जनताले पाउने कुरा पटक्कै छैन । संविधान सभालाई अवसान गराउने तीन दल (नेपाली काँग्रेस, एमाले र माओवादी) घोषित अर्को संविधान सभाको चुनाव गराउन सहमत भएको अवस्था र विकसित भई रहेको राजनीतिक गतिरोधमा चुनाव हुने नहुनेमा ठूलै शंका उब्जिएको छ । चारदलीय संयन्त्रको परिधीमा बसेको रोबोट सरकारले चुनाव गराउने डींग हाँके पनि अगाडि तेर्सिएको मोहन वैद्यको ३३ दलीय गठबन्धनको आन्दोलनलाई सम्बोधन गर्ने आँट भई रहेको छैन । विद्यमान सरकारको खारेजी लगायतका माँगहरु राखेर आन्दोलनरत् मोहन वैद्यलाई बाईपास गरेर चुनाव गराउने स्थिति छैन । हुनत, आन्दोलनलाई चाहिने उर्जा मोहन वैद्यको आन्दोलनमा हाल देखिएको छैन । यसको मुख्य कारण अधिकारवादी आन्दोलनसंग मोहन वैद्यको तादात्म्य स्थापित हुन सकेको छैन । वास्तवमा अधिकार आन्दोलन मोहन वैद्यको आन्दोलनलाई “हेर र पर्ख”को अवस्थामा राखेकोले सो आन्दोलन प्रभावकारी हुन सकेको छैन । चुनावभन्दा पूर्व यसको व्यवस्थित अवतरण हुने राजनीतिक विश्लेषकहरु त्था अधिकार आन्दोलनको ठम्याई छ । वास्तवमा यो अराजक र अवैधानिक क्रियाकलापलाई चिरेर जनतालाई अधिकार दिलाउने दिशामा अग्रसर देखिएको अवस्थामा यसलाई विभिन्न अधिकारवादी शक्तिहरुको समर्थन प्राप्त हुने कुरा पनि स्पष्ट छ । यदि त्यसो भयो भने यो आन्दोलन निर्णायक रुप लिनेमा दुई मत छैन । त्यसकारण धेरै शक्तिहरु ”सी एण्ड वाच” को स्थितिमा यो आन्दोलनलाई हेरि रहेको छ । तिकडमी चालमा महारथ हासिल गरेका शिखर खेलाडी प्रचण्डले वैद्यको आन्दोलनलाई तृणवत् पनि महत्व दिएको छैन । यहीं आन्दोलनप्रति ठूलो आशंका विद्यमान छ । यो आन्दोलन उनको दायाँ बायाँ हातको खेल हो, यसलाई सजिलै म्यानेज गर्न सकिन्छ, प्रचण्डको यस विचारलाई चिरेर आन्दोलन अगाडि बढ्न सक्यो भने मात्र यो प्रभावी बन्न सक्दछ नत्र भने यो प्रचण्डको हँडियाको माछा जस्तै हुन्छ ।
२०७० ज्येष्ठ १० गते मधेशवाणीमा प्रकाशित
