उन्मादित राष्ट्रवाद र मधेशका मानसिंहहरु

देश स्थानिय चुनावको तेश्रो चरणमा प्रवेश गरेको छ । प्रदेश नं. २ को ८ जिल्ला जसलाई मधेश भनेर छुट्याईएको छ, यही असोज २ गते चुनाव गराउने मिति निर्धारित छ । बाँकी ६७ जिल्लामा चुनाव भएर नतिजा पनि दिई सकेको छ । एमालेको सूर्य पूर्ण तेजका साथ क्षितिजमा उदाएको छ । रुखले पनि उसको प्रकाशलाई छेक्न सकि रहेको छैन । नतिजा अनुसार २० सीटले पछाडि परेको नेपाली काँग्रेस पार्टीभित्रको अन्तद्र्वन्द्वका कारण पनि प्राप्त गरेको २५६ सीट यथेष्ट नै हो । तर यहाँ त जो जसरी जितेर सिकन्दर बन्ने परम्परा छ ।
विगत दुई वर्षदेखि मधेशलाई गाली, गलौज गरेर भारतीयको संज्ञा दिएर आफ्नो राष्ट्रवादी खेमालाई हर्षित तुल्याउँदै आएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अपमानजनक व्यवहारबाट (मधेशका मानसिंहबाहेक) समग्र मधेश रुष्ट बनेको छ । रुष्टता नेपाली काँग्रेससंग पनि छ तर आलोचनात्मक सहानुभूति रहेकोले यहाँ नेपाली काँग्रेसको सीट बढ्ने सम्भावना छ । एमालेबाट क्षुब्ध रहेको प्रदेश नं. २ मा एमाले अझै यथेष्ट सीट थपेर नेपाली काँग्रेसलाई दोश्रो स्थानमा राख्न सफल नहोला । एमालेको बरावरीमा आउन तथा पहिलो स्थानमा उक्लिन नेपाली काँग्रेसलाई पनि कठीन मिहिनेत गर्ने चुनौती छ । काँग्रेसको प्रभाव बढी रहेको मधेशमा एमाले पनि प्रभावहीन त छैन तर विगतको व्यवहारले जनता रुष्ट अवस्थामा रहेकोले अपेक्षाकृत मत पाउन कठीन छ ।

जे गरेर भए पनि पहिलो पंक्तिमा जाने एमालेको अभिष्टको अगाडि आगामी दिनमा आउने नकारात्मक परिणामबारे एमाले बिल्कुल चिन्तित छैन । अब प्रदेश नं. २ मा जनाधार भएका व्यक्तिलाई प्रलोभनमा पारि आफ्नो उम्मेदवार बनाउने खतरनाक मनोकाँक्षा लिएर पस्ने रणनीति बनाएर नै “विपक्षीहरु जति गठबन्धन बनाए पनि एमाले एक्लै काफी छ” यस्तो अभिव्यक्ति दिन थालेको छ । प्रलोभनमा आफ्नो प्रतिष्ठा पनि कायम हुने देखेर मधेशका कतिपय व्यक्तिहरु एमालेको जालमा पर्ने सम्भावना छ । बिना कसैको सहयोग एमाले मधेश (भारतीयहरुको प्रदेश) मा सिक्का जमाउन चाहेको छ । मधेशलाई नेतृत्व गर्ने पार्टी नै एमालेको प्रभावलाई स्वीकार गरि पथभ्रष्ट भई सकेर हिंडी रहेको छ भने मधेशका आम जनताको के बिशात ।

नेपालमा सामन्ती राज्यसत्ताको विरुद्ध भएका भीषण आन्दोलनका बावजूद पनि नेपाली राजनीति सामन्ती शासकीय मनोवृतिको उच्छृँखल असामाजिक तत्वहरुको पञ्जाबाट मुक्त हुन सकेको छैन । भ्रष्ट, तस्कर, नाफाखोरले आफ्नो स्वार्थको अभेद्य दुर्ग बनाएर बसेको छ । परिवर्तनकारी शक्तिहरु पनि यी शक्तिहरुसंग अथक संघर्ष गर्दा आफै सिद्धिने अवस्था आएपछि आत्मसमर्पण गर्नुबाहेक कुनै विकल्प देखेन । विशाल शक्तिको रुपमा माओवादीको अवतरण त भयो तर राज्यसत्ताले हात्ती जस्तो विशालकाय माओवादीको आकारलाई काँटछाँट गरि मुसा जस्तो बनाएर राखेको छ । मधेशको पनि यही हाल भयो । ५३ सीट ल्याएर शासकवर्गबीच कालर ठाढो पारेर बस्ने फोरमको दशा पनि उस्तै छ । आफ्नै धरातलमा सिद्ध्याउने सत्ताको खेलको शिकार सबै आन्दोलनकारी भई रहेका छन् ।

अजेय रुपमा रहेको एकात्मक राज्यसत्ताको परम्परागत स्वरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको जामा मात्र पहिराएको छ । ब्रह्मा, विष्णु, महेशका रुपमा राज्यको शाश्वत स्वरुपको संरक्षण गर्न यी त्रिदेव विराजमान छ । यिनीहरुको परम्परागत सोचमा “नेपाल गोरखालीको हो । मधेशीहरु भारतीय हुन् । यिनलाई नेपालको पटक्कै माया छैन । राज्यमा यसलाई समावेश त गर्न सकिन्छ तर साझेदारी हक दिनु हुँदैन । नेपालको अस्तित्व नै समाप्त हुन्छ ।” मात्र रहेको छ । साम्यवाद र समाजवादको जतिसुकै दर्शन छाँटेपनि यिनीहरुको शासकीय मनोवृतिमा कुनै परिवर्तन भएको छैन । नेपालका शोषित पीडित जनताका लागि यही परम्परागत सोच भएका शासकीय प्रवृति मुख्य दुश्मन हुन् ।
०४६ सालको प्रजातन्त्र पुनस्र्थापना पश्चात् प्रजातान्त्रिक शक्ति कै शासनकालमा आन्दोलनका भीषण आँधीहरु आएका छन् । राजनीतिक दलहरु सत्ता खोसिएको अवस्थामा जनतालाई झुक्याउन आन्दोलनमा आउनु सत्ता प्राप्तिको उद्देश्य मात्र हो, जनाधिकार स्थापित गर्न होइन । विगत १० वर्षका घटनाहरु यिनको वर्गीय चरित्र उजागर गर्न यथेष्ठ प्रमाण हाम्रो सामू छ । रोल क्रम अनुसार पालै पालो सत्ता प्राप्त गर्ने सम्झौता अनुसार सबै कुरा चलि रहेको छ । मंसीरमा एमालेको पालो आउने अग्रिम घोषणा केपी ओलीले गरि सकेका छन् । सवाल उठ्छ – लोकतान्त्रिक शक्तिकै शासनकालमा यत्रा ठुल्ठूला आन्दोलन किन आए ? जनस्तरबाट राज्य पुनर्संरचनाका भीषण आवाज किन उठे ? जन अपेक्षा पूरा गर्न आएका पार्टीहरुमा जनताले के देखे कि सामुदायिक आन्दोलनको जन्म भयो । यी यावत् प्रश्नहरु शासकहरु समक्ष तेर्सिएका छन् ।

कम्युनिष्टहरुले आफ्नो जनतालाई “सबै सर्वहारा समान हुने” भनेर एकथरि निशाका इन्जेक्शन लगाई दिएको छ भने नेपाली काँग्रेसले “लोकतान्त्रिक समाजवाद” को कहिले नटुट्ने निशा दिएको छ । यही आडमा यिनी राज्यसत्ताको भोग गर्छन् । नेपाली काँग्रेस, एमाले, माओवादी, राप्रपा, राजावादी, हिन्दूवादी यिनी पारस्परिक रुपमा दुश्मन होइनन्, मधेशी, जनजाती, थारु, मुस्लिम यिनका दुश्मन हुन् । दुश्मन भएको भए राजाको पालामा गृहमन्त्री कमल थापा जन आन्दोलनलाई पेलेर सिद्ध्याउन खोजेको थियो । जनआन्दोलन सफल भएको अवस्थामा आफू कति दिन प्रहरीको संरक्षणमा रह्यो । पछि सबै एक भए । ०३६ साल ताका प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुट्टाको छिन्ताङमा कम्युनिष्टहरुलाई बम खसाएर मारे । सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दकै प्रधानमन्त्रीत्वकालमा नेपाल काँग्रेस र कम्युनिष्टलाई देश निकाला गरिएको थियो ।

याद गर्नोस्, ०४६ सालपछि नेपाली काँग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा र एमाले लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा सरकार बनाएर शासन चलाउने शिक्षा लिएका थिए । कसरी यिनी दुश्मन हुन् । राजनीति शास्त्रमा शासक र आन्दोलनकारी एक अर्काका दुश्मन ठहरेका छन् । आन्दोलनकारीले सत्ता कब्जा गरेपछि आत्म समर्पण गर्नेलाई जीवनदान तथा नगर्नेलाई जेल हाल्ने राजनीतिक विधी रहेपनि नेपालमा यी कुराहरु केही देखिएको छैन । बरु आफत परेको बेला मन्त्रणा लिने हिसाबले उसलाई राज्यकोषबाट भरण पोषणको व्यवस्था गरिएको देखिन्छ । मधेशी जनताले यही कुरा बुझ्न सकि रहेको छैन । यो राजनीतिको धरातलीय यथार्थ हो ।

प्रदेश नं.२ मा चुनाव गराउन राज्यको प्रतिष्ठाको विषय बनेको छ । दुई चारवटा आँप भाmर्न एमाले खप्पिस छ नै । यसपाली अलिक बढि झर्ला । झरोस् । व्यक्ति कोही ठूलो हुँदैन । कानून ठूलो हुन्छ । सोच यही हो । यो सोचले चुनाव हुने पक्का देखिन्छ । यहाँ त जो चोर उसैको ठूलो स्वर रहेको छ । तर काँग्रेस ? उसलाई त एमालेले पछि पारि सक्यो । यही प्रदेशमा नेपाली काँग्रेसले आफ्नो प्रतिष्ठा बचाउन सक्छ । एमाले जस्तो उपद्रव गरायो भने नेपाली काँग्रेसको शाख बच्दैन । यसपाली दोयम भयो भने नेपाली काँग्रेस कहिल्यै पनि अव्वल हुँदैन ।
शीर्ष ठाउँ प्राप्त गरेपनि नेपाली काँग्रेसको राष्ट्रिय राजनीतिमा पकड कमजोर देखिएको छ । कारण जेहोस् । नेपाली राजनीतिमा एमाले नै लिडिङ रोलमा रहेको तीतो यथार्थ छ । मधेश आन्दोलनबाट यिनी धेरै खेदिए । शक्ति क्षीण भएको अवस्थामा मधेशलाई खेद्ने काम अब यिनीहरुको हो । मधेशको समस्या हल गरिने संशोधन प्रस्ताव होईन । राजपा संशोधन प्रस्ताव पास गराउने अडान लिएको छ । यसै अडानमा राजपा प्रदेश नं. १, ५ र ७ को स्थानिय चुनावबाट बञ्चित भएका छन् । बाँकी रहेको प्रदेश नं. २ को चुनावमा बिना शर्त भाग लिने निर्णय आत्मघाती नै हुने निश्चित छ । नेपाली काँग्रेसले राजपा चुनावमा गएन भने त्यो भाग पनि काँग्रेस कै भाग्यमा पर्ने भएपछि एमालेलाई मज्जा चखाउने दाउलाई छोडेर संशोधन प्रस्तावतिर ध्यान केन्द्रित गरि रहेको छैन । सबै आफ्नै स्वार्थ पूरा गर्ने दाउमा लागेकोले संशोधन प्रस्ताव अर्थहीन भएको छ ।

संसफो, राजपा एक नदीको दुई किनारा बनेपछि आन्दोलन कमजोर भएको यथार्थ त छँदैछ । तर पनि राजपाको आह्वानमा भएको आन्दोलनले चुनावको मिति सार्न सफल भएको थियो । चारैतिर चुनाव सफल भएपपछि र त्यसको नतिजाले प्रदेश नं. २ को राजपाका कार्यकर्ताको मनःस्थिति परिवर्तन नगरेको होईन । राजपामा अहिले नै पूर्वेली पश्चिमेलीको ठूलो विवाद खडा हुनु दुर्भाग्यको कुरा हो । केन्द्रीय समिति र पदाधिकारीमा पूर्व पश्चिमको समान सहभागिताका लागि तछाड मछाड नगरि अहिले आन्दोलनको अपरिहार्यताबारे रणनीति बनाउने बेलामा पारस्परिक संघर्षबाट भर्खर प्रतिष्ठित भई रहेको राजपालाई शक्तिविहीन बनाउने निश्चित छ । फरक संस्कारका व्यक्तिहरुको भर्खर एकीकरण भएको, मधेश मुद्दाले एकठाउँमा उभ्याएपनि पारस्परिक सम्बन्ध सुधारका लागि समय लाग्ने आदि धेरै अभ्यासहरु बाँकी रहेको पार्टी जीवनको सम्बेदनशीलतालाई नेतृत्ववर्गले बुझ्न आवश्यक छ ।

राजपाको रुपमा मधेशको एउटा सशक्त नेतृत्वको विकास भएकोले विगतमा विश्वासघातमा परेका मधेशी जनता आशान्वित बनेका छन् । यसलाई तोड्न फोड्न राज्यशक्तिले मधेशका मानसिंहलाई पनि प्रयोग गरेका छन् । चारैतिरबाटको प्रहार झेल्दैको पीडा त छँदैछ, अन्तद्र्वन्द्वको पीडाले त राजपाको अस्तित्वलाई नै समाप्त पार्नेछ । राजपामा अनुभवी नेताहरुको जमात छ । १८ र २१ गतेको बैठकले बुद्धिमानीपूर्वक राजपाको अग्निपरीक्षाबाट सफलतापूर्वक पार लगाओस् हाम्रो शुभकामना छ ।
२०७४ श्रावण २० गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!